७ वैशाख २०८१ शुक्रबार
विचार

विपद् व्यवस्थापनमा सरकारी संयन्त्र र कामकारबाही कस्तो छ ?

 

विपद् व्यवस्थापनमा नेपाल सरकारको ऐन–नियम

विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा निर्देशिका–२०७०,  

विपद् जोखिम न्यूनीकरण तथा ऐन, २०७४,  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापान नियमावली– २०७६ ।

 

कृष्णप्रसाद पौडेल

विपद्का बेला आफ्ना नागरिकलाई सुरक्षित राख्न हरेक देशको सरकारले केही व्यवस्थापन गर्नुपर्ने हुन्छ, जस्तो ः खानेपानी, बिजुली, दैनिक उपभोग्य सामग्री, स्वास्थ्य सेवा आदि । नेपाल सरकारले सर्वप्रथम त विपद् व्यवस्थापन गर्न विभिन्न ऐन, नियम तथा कानुनको व्यवस्था गरेको छ । जस्तो ः विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा निर्देशिका–२०७०, विपद् जोखिम न्यूनीकरण तथा ऐन, २०७४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापान नियमावली– २०७६ ।  

विपद् जोखिम न्यूनीकरण तथा ऐन–२०७४ ले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्’को व्यवस्था गरेको छ । जुन परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्छन् भने सदस्यका रूपमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारको मुख्यसचिव, प्रधान सेनापति, मन्त्रालयको सचिव, विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्ति (३ जना एक महिलासहित) रहन्छन् । त्यस्तै, परिषद्को कार्यकारी प्रमुख सदस्यसचिवको रूपमा रहने व्यवस्था छ । विपद् जोखिम न्यूनीकरण तथा ऐन–२०७४ ले आवश्यक अनुसार कार्यकारी समिति, विशेषज्ञ समिति, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको गठन साथै सुरक्षा निकायको परिचालन गर्न सक्छ ।  

कुनै प्रकारको विपत् प्राकृतिक प्रकोप तथा स्वयं मानव जातिमार्फत नै आउने गर्छ । विपत्का बेला देश तथा सरकारको दायित्व सम्पूर्ण नागरिकलाई सुरक्षित राख्नु हो । यस्तो अवस्थामा नागरिकलाई सुरक्षित राख्न त्यस देशको सरकारले विविध कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । जस्तो ः खानेपानी, बिजुली, दैनिक उपभोग्य सामग्री, स्वास्थ्य सेवा, आवश्यक अनुसार यातायातको व्यवस्था, विपद्को समयमा अपनाइने तरिका तथा उपाय, सरकारद्वारा अपनाइएको विपद् व्यवस्थापन तरिका, नागरिकका लागि आवश्यक सूचना प्रसारण तथा प्रवाह, आवश्यक अनुसारको विपद् व्यवस्थापन समूह, विपद् व्यवस्थापन कोष, विपद् न्यूनीकरणका लागि राज्यको तयारी आदि रहन्छन् । प्रायः विपद्का बेला के गर्ने के नगर्ने भन्ने सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ । अतः यस्ता कुरालाई ध्यानमा राखी सरकारले विपद् व्यवस्थापन परिषद्को व्यवस्थापन गर्छ । विपद् व्यवस्थापन परिषद्ले गर्नुपर्ने काम र यसको एकीकृत रुप निम्न प्रकारका छन् ।  

 प्रायः विपद्का बेला के गर्ने के नगर्ने भन्ने सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ । अतः यस्ता कुरालाई ध्यानमा राखी सरकारले विपद् व्यवस्थापन परिषद्को व्यवस्थापन गर्छ ।

 

विपद् व्यवस्थापन परिषद्  : माथि उल्लेख गरिए बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा गठित ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापान परिषद’ नै विपद् व्यवस्थापन परिषद् हो । यस परिषद्को मुख्य काम देहाय बमोजिमको चित्रमा प्रस्तुत गरिए बमोजिमको हुनेछ ।  

कार्यकारी समिति  : विपद् न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन परिषद्द्वारा स्थापना गरिएको अख्तियार प्राप्त यस समितिले आवश्यक अनुसार कार्यकारी रुपमा काम गर्छ । यसले विशेषज्ञ समिति, प्रदेश, जिल्ला तथा स्थानीय तह विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय परिचालन समिति, मिडिया अभियान प्रणाली, ज्ञान आधारित प्रणालीका साथै विपद्को समय आमनागरिकलाई आवश्यक पर्ने सेवा, सुविधा, सूचना तथा जानकारी प्रदान गर्ने अख्तियार प्राप्त संघ–संस्था तथा व्यक्तिसँग समन्वय गरी कार्य गर्दछ । आफूले गरेको कार्यको जानकारी विपद् व्यवस्थापन परिषद्लाई गराउँछ ।  

विशेषज्ञ समिति : यसले विपद् व्यवस्थापन परिषद्लाई आवश्यक पर्ने विभिन्न प्रकारका सल्लाह तथा सुझाव प्रदान गर्दछ ।  

प्रदेश विपद् व्यवस्थापन समिति  ः प्रदेश विपद् व्यवस्थापन समितिको दायित्व आफ्नो प्रदेशको यथार्थ जानकारी विपद् व्यवस्थापन परिषद्लाई गराउनु रहन्छ ।  

जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति : यस समितिको दायित्व यो हो कि आफ्नो जिल्ला तथा स्थानीय तहको यथार्थ जानकारी प्रदेश विपद् व्यवस्थापन समिति र आवश्यक परेको अवस्थामा विपद् व्यवस्थापन परिषदलाई गराउनु ।  

सुरक्षा निकाय परिचालन समिति : यस समितिले विपद् व्यवस्थापन परिषद्बाट प्राप्त निर्देशन बमोजिम मातहतका सुरक्षा निकायलाई आवश्यक ठाउँमा परिचालन गर्ने गर्छ ।  

मिडिया अभियान प्रणाली : अहिलेको समय भनेको सूचना प्रविधिको हो । देशमा रहेका हरेक कोहीले सामाजिक सञ्जालको प्रयोग गरिरहेको हुन्छ । विपत्का बेलामा सामाजिक सञ्जाललाई जनचेतना बढाउन एउटा माध्यमका रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न प्रकारका सामाजिक सञ्जालमार्फत विपद्को जोखिमबाट बच्ने र यसका न्यूनीकरणका उपायका बारेमा छोटो भिडियो बनाई त्यसलाई प्रसारण गर्न सकिन्छ ।

ज्ञान आधारित प्रणाली  ः ज्ञान आधारित प्रणालीका माध्यमबाट विभिन्न प्रकारका सूचना सजिलै प्राप्त गर्न सकिन्छ । यस प्रणालीले आपतकालीन अवस्थामा विपद्को प्रकृति हेरेर त्यससम्बन्धी सम्पूर्ण जानकारी तथा सूचना प्रदान गर्दछ ।

अहिले सारा संसार कोरोना भाइरसको प्रकोपको कारण प्रायः ठप्प जस्तै छ । यस्तो विषम परिस्थितिमा सरकारले कोरोना संक्रमणलाई न्यूनीकरण गर्न चित्रमा प्रस्तुत गरिएझैँ विपद् व्यवस्थापन केन्द्रलाई प्रयोग गर्न सक्दछ । विपद् व्यवस्थापन परिषद्ले कोभिड–१९ को व्यवस्थापनका लागि आवश्यक ठानेमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग समन्वय गर्न सक्छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ–संस्थाले स्वास्थ्य सामग्री, स्वास्थ्य विज्ञ, स्वयंसेवक, जोखिम न्यूनीकरणका लागि अपनाइने विधि तथा उपायको पुस्तिका आदि प्रदान गर्न सक्छन् ।

कार्यकारी समितिको प्रमुख दायित्व भनेको कोभिड–१९ को उपचार तथा त्यससँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी आमनागरिकलाई प्रदान गर्नु रहन्छ । यस समितिले कोभिड–१९ को प्रकोपलाई न्यूनीकरण गर्न सरकारका विभिन्न अंगको बीचमा सहकार्य र समन्वय गर्नुपर्छ । यी अंगको प्रमुख कार्य भनेको विपद् व्यवस्थापनलाई न्यूनीकरण गर्नका लागि गरिने योजना रहन्छन् । यो योजनामार्फत कोभिड–१९ का लागि चाहिने आपतकालीन सेवा, सुविधा, उद्धार, आवश्यक सामग्रीको व्यवस्थापन, विपद् कोषको स्थापना लगायत अनुगमन तथा निरीक्षण गरी सोको जानकारी विपद् व्यवस्थापन केन्द्रलाई पुर्याउनुपर्छ ।  

मिडिया अभियान प्रणालीमार्फत कोभिड–१९ बाट बच्ने उपाय तथा तरिकाबारे सचेतना फैलाउने तथा सर्वसाधारणलाई जानकारी प्रदान गर्दछ । यो प्रणालीमार्फत साबुन पानीले हात धुने, भीडभाडमा नजाने, आफ्नै घरमा बस्ने, आफ्नो परिवारमा कोही बिरामी भएमा सो को जानकारी सम्बन्धित ठाउँमा दिने लगायत विविध कुरा पर्छन । दूर–सञ्चार, मोबाइल एसएमएस, टेलिभिजन, रेडियो आदिले सार्वजनिक जागरुकता प्रणालीको रुपमा कार्य गर्दै आइरहेका छन् ।  

ज्ञान आधारित प्रणालीले कोभिड–१९ को प्रकोप रहेका व्यक्ति तथा स्थानलाई उच्च जोखिम, जोखिम, न्यून जोखिम र जोखिम रहितको रुपमा पत्ता लगाई कुन–कुन व्यक्ति र स्थानमा तुरुन्त सेवा तथा सुविधा पुर्याउनुपर्ने हो, सोको जानकारी विपद् व्यवस्थापन परिषद्लाई पुर्याउँछ ।  

अन्तमा माथि उल्लेख गरिएको विपद् व्यवस्थापन परिषद्को फ्रेमवर्कले भनेबमोजिम कार्य गरेमा कोभिड–१९ को जोखिमलाई धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ । साथै जनस्तरमा पनि कोभिड–१९ को बारेमा पनि सचेतना फैलाउनेछ भन्ने विश्वास लिएको छु । नेपाल सरकारले यो फ्रेमवर्कलाई विभिन्न प्रकारका विपद्लाई न्यूनीकरण गर्न पनि प्रयोग गर्न सक्छ ।

प्रकाशित: २ असार २०७७ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App