१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

कोरोना प्रकृतिको चेतावनी

कोरोना प्रकृतिले प्राणीलाई दिएको मिस्डकल हो भने मान्छे पनि निस्कन लागे। म भ्रममा छु, यो कोरोना त्राण हो कि त्रास हो भन्ने। समग्रमा भन्नुपर्दा यो कोरोना एक दृष्टिबाट त्रास हो भने अर्को दृष्टिबाट त्राण। ज्ञान, विज्ञान र प्रविधिको विकास र संश्लेषणबाट प्रकृति र प्राणी जगतबीच प्रणय हुनुपर्ने, सरल सौहाद्र्ध हुनुपर्ने, मैत्री हुनुपर्ने। तर व्यवहारमा त्यसो हुन सकेन। बरु उल्टो हुन लाग्यो। प्रकृतिले सह्यो, सारै सह्यो। प्राणी–मान्छेलाई जति भए पनि पुगेन। मान्छेले प्रकृतिलाई निरावरण बनाउने दुःसाहस गर्न लाग्यो। महाभारतमा दुःशासनले द्रौपदीको निन्दनीय चिरहरण गर्न खोजे जस्तै। यो भूलोकमा ७१ प्र्रतिशत पानी छ पृथ्वी–माटो त २९ प्रतिशतमात्र छ। त्यो माटो, त्यो पानी प्रकृति हो।  

ढाड सोझो पारेर दुई खुट्टाले हिँड्न थालेपछि मान्छे जाति प्रकृतिका अनेकानेक व्यवधान एवं अवरोधहरूसँग जुध्दै कहिले जित्दै र कहिले हार्दै यो पृथ्वीमा एक अर्ब पुग्न २ लाख वर्ष लागेछ। तर मान्छे यति चलाख भयो नगण्य समयमा अर्बको संख्या थप्ने भयो। प्रकृति शान्त स्वभावको छ। अब मान्छे प्रकृतिउपर यति आक्रामक भयो प्रकृतिलाई नङ्ग्याउन लाग्यो। तब प्रकृतिको धैर्य टुट्न लाग्यो। अब मान्छे जातिलाई प्रकृतिउपर जाइलाग्न छोड भनी कोरोना नामको चेतावनी दिन बाध्य भयो। पृथ्वीको आजको मान्छे जातले यसलाई उपेक्षा गरे आक्रमण नै गर्न सक्छ। कोरोनाको सन्देश हो यो ?  

क्षतविक्षत प्रकृतिको प्रहार
आजको मान्छेले प्रकृतिको भौतिक स्वरूप माटोलाई ७५ प्रतिशत आफ्नो अनुकूल बनाइसकेछ। सीमसार क्षेत्र त ८५ प्रतिशत मासिसकेछ। सीमसार क्षेत्र वस्तुतः जल र थलको सुन्दर एवं बहुउपयोगी उपहार थियो। मान्छे जातिलाई नभचरहरूलाई जलचर, थलचर एवं उभयचरहरूलाई। तर आजको एक्काइसौँ शताब्दीको मान्छेले प्रकृतिको मौन संकेत, सांकेतिक सन्देश सुन्न मन गरेन। प्रकृतिलाई जति पेले पनि फरक पर्दैन भन्ने मूढाग्रह राख्यो। अरू पेल्न लाग्यो। मान्छेले माटोमात्र बिगारेनछ, सीमसारमात्र मासेनछ, ६६ प्रतिशत पानीसमेत प्रदूषित बनाइसकेछ। भरखरै सन् २०१० र २०१५ को ५ वर्षमा ३ करोड २० लाख हेक्टर वन मासेछ मान्छे जातले। मान्छे जातिको यस्ता प्रकृतिमाथिको निर्मम प्रहार भइरहने हो भने यो शान्त स्वभावको पृथ्वी केही अवधिमै सूर्यबाट चोइटिएर आउँदाको राप र तापको अवस्थामा जान थाल्नेछ। चुन ढुङ्गा झिक्ने, पेट्रोलियम पदार्थ, कोइला, फलाम, अरू धातुका धाउ झिक्ने नाममा। यो शान्त पृथ्वीलाई मान्छेको जातले क्षत विक्षप्त पारिरहेछ। तब असह्य भएपछि प्रकृतिले कोरोनाको चेतावनी दिएको भन्न लागिएको छ।  

प्रकृतिले सह्यो, सारै सह्यो। प्राणी–मान्छेलाई जति भए पनि पुगेन। मान्छेले प्रकृतिलाई निरावरण बनाउने दुःसाहस गर्न लाग्यो।

भँगेरो, सारौँका लागि खटप्वाल !
यी सम्पूर्ण प्राणी जातकी आमा प्रकृति, प्रकृतिको पनि भौतिक रूप वा स्वरूप पृथ्वीलाई चाहिने खुराक अक्सिजन उत्सर्जन गर्ने वृक्ष, वन, वनस्पतिलाई मान्छेले नै बेमाख पारिरहेछ र कार्बनडाइअक्साइड उत्सर्जन निःसीम बढाइरहेको छ। यसखालको मानव गतिविधिलाई एउटा हदभित्र राख्न क्योटो प्रोटोकल नामको जालमा विश्व झण्डै २०  वर्षसम्म अलमलियो। संयुक्त राज्य अमेरिका आज पनि पत्थर कोइलाबाट बिजुली बाल्दैछ। विशाल चीनको ऊर्जाको आवश्यकता कोइलाबाट आपूर्ति गर्दैछ। प्रकृतिलाई क्रूद्ध र आक्रोशमा तान्ने नकाम विकसित मुलुकहरू बढी मात्रामा गर्दैछन्। नेपालमा पनि बन्दाबन्दीका बेला गाडीहरू, औद्योगिक कारखाना नचल्दा आकाश उज्यालो भो। हावा स्वच्छ भयो। हिमाल देखिन थाल्यो। दम खोकीका बिरामी सजिलोसँग बाँचे। नयाँ बिरामी थपिएनन्। खनिज इन्धनको विषाक्तता मत्थर जस्तो भयो। आकाशका फूल चराचुरुङ्गी उडेका र आकाश प्रणय साटासाट गरेको परिदृष्य धेरैपछि देखापरे। आजको मान्छेले आफ्नो भौतिक सुख÷सुविधाका निम्ति माटो, पानीमात्र विकृत बनाएनछ, आकाश पनि बिगार्न बाँकी राखेनछ। यसै कारण आज मान्छे बन्दाबन्दीमा कुर्चा खाएर बस्न बाध्य छ। डेढ दुई पुस्ताअघिसम्म वास्तुकला प्रकृतिमैत्री थियो। घर बनाउँदा आफ्नो बासस्थानको मात्र बन्दोबस्त गर्दैनथ्यो। भँगेराका लागि खटप्वाल बनाउँथ्यो, सारौँटेका लागि अलि ठूला खटप्वाल बनाउँथ्यौँ।

कोरोना गौँथली युग ल्याउन त होइन ?
गौँथली मान्छेकै परिवार मैत्रीमा पर्थे। खास–खास ऋतु ऋतुमा प्रायः मान्छेका मतानमा आफ्नो चुच्चोमा ल्याएको हिलो माटोले कलात्मक गुण बनाउँथे। भाले÷पोथी दुवै खटिन्थे आफ्नो बास बनाउन। यसै समयमा त्यो जोडीबीच प्रणयलीला पनि चल्थ्यो। पुस्ता एवं आफ्नो जाति उन्मूलन नगर्न र सृष्टि एवं सिर्जनालाई निरन्तरता दिन पोथी गौँथलीले फूल पार्थी। त्यसअघि नै त्यो चराको जोडीले आफ्ना बचेरा हुर्काउन, नरमखालका धुस्नु, सुकेको घाँस चुच्चोले नै ओसारेर सेया बनाउँथे। कति सफा चाहिने गौँथलीलाई ओ हो ! बिष्ट्याउनुपर्दा गुँडको छेउमा आइ बिष्ट्याउने गर्थे। हामी मान्छेले सिक्नुपर्ने। फूल पारेपछि भाले पोथीले आलोपालो गरी फूल परिपक्व पार्थे। चल्ला कोरल्यो। आफ्ना सन्तान उड्न सक्ने नहुँदासम्म त्यो गौँथली जोडीले आफ्नो चुच्चोले दानापानी ल्याएर आफ्ना प्रिय नानी हुर्काउँथे, उड्न सिकाउँथे। अनि गौँथलीका जोडी कता जान्थ्यो। शायद वानप्रस्थ जान्थ्यो थाहा छैन। अर्को वर्ष फेरि गौँथलीको जोडी आउँथ्यो। पहिलेकै ठाउँमा पहिलेकै प्रक्रियाले गुण बनाउँथे, बस्थे। पुरानै भाले पोथी हुन् कि नयाँ ! हामी भेउ पाउँदैनथ्यौँ। पुरानो गुँड बिग्रिसकेको हुन्थ्यो। नयाँ बनाउँथे। त्यो गौँथली युग लोप भैसकेको थियो। यो कोरोना भाइरस कतै गौँथली युग पुनःस्थापनाका लागि त आएको हैन ? कति राम्रो परिकल्पना, सन्तुलित वातावरणको !

प्रकृति शान्त स्वभावको छ। अब मान्छे प्रकृतिउपर यति आक्रामक भयो प्रकृतिलाई नङ्ग्याउन लाग्यो। तब प्रकृतिको धैर्य टुट्न लाग्यो। अब मान्छे जातिलाई प्रकृतिउपर जाइलाग्न छोड भनी कोरोना नामको मिस्डकल दिन बाध्य भयो।

किन यस्तो भो बीस वर्षमा ?  
एकपल्ट पछिल्तिर फर्कौँ। २० वर्षअघि २०५७ माघ २३ मा चीनका हालका विदेशमन्त्री वाङयी सहायक मन्त्री थिए। नेपाल सरकारले वाङयीलाई त्यो बेलाको अवस्थामा पनि राख्न सकेन। २०५७ माघमा गिरिजाप्रसाद हाम्रो प्रधानमन्त्री थिए भने परराष्ट्र मन्त्री थिए चक्रप्रसाद बास्तोला। परराष्ट्र सचिव नारायणशमशेर थापा। नेपाल र चीनबीच परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँमा बसेको थियो। त्यो बैठकमा यीले कालापानीबारे भारतले चीनलाई दुइटा प्रस्ताव गरेछ। एउटा प्रस्ताव भारतले चीन–भारतले फ्रन्टियरमा कालापानीलाई पनि व्यापार विन्दु बनाउने। त्यो प्रस्ताव चीनले ठाडै अस्वीकार गरेछ। अर्को प्रस्ताव गरेछ– कालापानीमा चीन–भारतबीच सीमासम्बन्धी बैठक गर्ने। त्यो प्रस्ताव पनि चीनले मानेनछ।  

नेपाल र भारतबीच कालापानी प्रश्नको समाधान निस्कियुन्जेल भारतको यस्तो प्रस्ताव चीनले स्वीकार गर्ने कुरै आउँदैन। नेपाल र भारतले योे विषय समाधान गर्ने विश्वास गरेछन्। उनले फेरि नेपाललाई आश्वस्त पारेछन्– चीन र भारतबीचको सम्बन्ध सुधार नेपालको हितको विपक्षमा हुने छैन। यसरी यस्तो भरपर्दो आश्वासन दिने वाङ यीलाई अहिलेको नेपालले त्यो ठाउँमा उभिने पनि गराउन सकेन। नेपालको कूटनीति दूरदराजमा झनै प्रवल एवं प्रगाढ हुनुपर्ने। तर नेपालको अनुपस्थितिमा नै लिपुलेकलाई चीन–भारतबीचको व्यापार केन्द्र बनाउने बैठकमा सम्झौता गरे। नेपाल कति कमजोर भएछ बीस वर्षमै। २०५७ माघमा लिपुलेकलाई चीन–भारत व्यापार विन्दु बनाउन ठाडै अस्वीकार गर्ने वाङ यी सन् १९१५ मा चीन–भारत व्यापार विन्दु लिपुलेकलाई बनाउने सम्झौतामा कसरी हस्ताक्षर ग-यो नेपालको अनुपस्थितिमा ? यो प्रश्न बडो गम्भीर छ।  

तोकिएको छैन त्रिदेशीय विन्दु  
त्यसो भए भारत र चीनबीच आदान–प्रदान भएको नक्सामा त्रिदेशीय विन्दु छैन, होइन त ? भन्ने नेपालका परराष्ट्र सचिव थापाको प्रश्नमा यीको जवाफ रहेछ– हामीले आदान–प्रदान गरेको नक्सामा त्रिदेशीय विन्दु छैन। सुरुआती विन्दुले चीन र भारतको सीमा मध्यक्षेत्र ( उत्तराखण्ड र हिमालय) को ६७९५ मीटर उचाइ केबाट सुरु हुन्छ ? यो कालापानी भन्दा पश्चिमतिर पर्छ। त्रिदेशीय विन्दु त्यसमा उल्लेख छैन। त्रिदेशीय विन्दु कहाँ पर्छ भन्ने हामी भन्न सक्तैनौँ। नेपाल, भारत र चीनबीच टुङ्ग्याउनुपर्छ। परराष्ट्र सचिव नारायणशमशेरले के त्रिदेशीय विन्दु थाहा छैन भन्ने चिनियाँ दृष्टिकोण हो ? भन्ने प्रतिप्रश्न गरेछन्। त्यसको उत्तरमा यीले भनेका थिए– चिनियाँ दृष्टिकोण यो हो कि नेपाल र भारतबीच कालापानीका बारेमा विवाद छ। यसमा चीनलाई केही गर्नु छैन। (भारत र चीनले) आदान–प्रदान गरेको नक्सामा त्रिदेशीय विन्दुमा टुंगिन्छ तर त्यो कहाँ हो भन्ने थाहा छैन। हामी यस सन्दर्भमा नेपालको चासो राम्रोसँग बुझ्छौँ।  

मेरो सरोकार यस्तो स्पष्ट, दृष्टिकोण २० वर्षअघिसम्म भएको चीनलाई किन हामीले हाम्रो अनुपस्थितिमा हाम्रो भूमि चीन अमेरिका व्यापार केन्द्र हुने बुँदामा चीनले हस्ताक्षर ठोक्यो त ? निकै भो चीनको व्यापार युद्ध अमेरिकासँग छ। यस्तो अवस्थामा १ अर्ब ३० करोड झण्डै जनसंख्या भएको भारतीय बजारलाई चीनले हेरेको हुनुपर्छ। यो चीनको दक्षिण एशियाको महत्वपूर्ण चासो हो। नेपालको सन्दर्भमा चिनियाँ हेराइ यही परिप्रेक्ष्यमा तय भएको हुन सक्छ भन्नेहरू थुप्रै छन्।  

अन्तरसम्बन्ध र अन्तर्विरोध बुझैनौँ  
मुलुक आज धेरैवटा खड्गोबाट आक्रान्त छ। कोरोना ल्याउन नेपालको पनि हात छ। नेपालमा औलो उन्मूलनपछि लामखुट्टेको प्रकोप पनि कम भयो। फलस्वरूप तराईको चारकोशे झाडी मासियो। यसको नतिजा वनहात्ती मासिए। अनि पाटेबाघ मासिन लागे। गैँडा झण्डै सकिएका। अजिङ्गर अब बीउ पनि छ/छैन, टुङ्गो छैन। चुरेको विशाल भूभागमा चुरेको परिचय त छैन, चुरेको बास्नासमेत छैन। प्रकृतिको संवेदनशीलता त बुझेन बुझेन मान्छेले भने वन वनस्पति, जङ्गली जनावरहरू, तिनीहरूमा मांसाहारी, शाकाहारी प्राणीबीचको अन्तरसम्बन्ध र अन्तर्विरोधबारे अध्ययन भएन। फलतः सबै पूर्वाधार नासिए, मासिए।  

तै के भएर हो राष्ट्रिय निकुञ्जको अवधारणा आएछ र चितवनमा यस्तो निकुञ्ज स्थापना भयो। फलस्वरूप एक सिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, चितुवा जस्ता जनावर मासिन पाएनन्। निकुञ्ज, आरक्ष, सिकार आरक्षको नाउँमा ठाउँठाउँमा वन, वनस्पति, जनावर र पक्षी जोगिए। मान्छे आज तत्कालै आफ्नै लागि मात्र सुख सुविधा  उपयोग र उपभोग गर्न हतारियो। छोराछोरी जन्माउँछन् मान्छे। तर आफ्ना सन्तानका लागि सुरक्षित पृथ्वी छाड्नुपर्छ भन्ने मूल कुरो भने भुल्छ मान्छे। वन, वनस्पति, जङ्गली जनावर मासिने काम गर्छ। तर निरापद जीवन अझ दीर्घ जीवनको आकांक्षा राख्छ। मान्छे स्वच्छ हावामा सास फेर्न चाहन्छ तर हावा स्वच्छ हुने पूर्वाधारहरू निर्मम प्रहारबाट मास्न उद्यत छ। अनि कोरोना आयो भन्छ। प्रकृतिले उपहारस्वरूप पारिस्थितिक प्रणालीहरू निर्माण ग-यो तर हाम्रो पुस्ता त्यो मास्दैछ।  

प्रकृतिलाई नपेलौँ  
अब यस्ता ज्ञानी, वैज्ञानिक र प्राविधिक चाहियो जो प्रचलित सुख र सुविधाको परम्परागत प्रहार रोक्न सक्षम होस् र यो पृथ्वीलाई अरू सहस्राब्दी सहस्राब्दीसम्म सुरक्षित राख्ने उपाय, उपचार खोज्न र प्रयोग गर्न सफल होस्। आजको मान्छे धेरै बाँच्न चाहन्छ। तर पृथ्वीलाई धेरै बाँच्ने गुणस्तरको राख्न भने सक्तैन। पृथ्वीलाई तातो बनाउने गतिविधि गर्छ। पानी प्रदूषित पार्ने, हावा विषाक्त बनाउँछ, माटो अम्लीय, आकाश धमिलो हुने गतिविधि गर्छ। तरकारीमा विषादि बढी हाल्छ। दूध बढी दुहुन गाई भैँसीलाई के के खुवाउँछ। तर त्यस्तो दूधमा न सक्कली स्वाद हुन्छ न त हुन्छ बास्ना नै।  

आजको मान्छेले यस्तै यस्तै नकाम गरेर विभिन्न भाइरस जन्माउँछ। वर्तमानमा कोरोना भाइरस नामको उपाधि सिर्जिएको छ। यसको विरुद्ध औषधिको व्यापक एवं गम्भीर खोज भइरहेको छ। एकथरी रोग प्रतिरोधी क्षमता बढाउँदैछन्। यसरी पत्ता लाग्ने औषधिले अति धेरै, धेरै कमाउँछ। प्रकृति अर्को महामारी सृष्टि गर्छ, मान्छे उपचार पत्ता लगाउछ। यो क्रम मान्छेको जात छउञ्जेल चलिरहन्छ। अब बुद्धिमान मान्छेहरू यो कोरोना चेतावनी बुझेर टिप्पणी गर्न लागेका छन्।

प्रकाशित: १ असार २०७७ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App