१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

कोभिड–१९ को सन्देश : स्वस्थ प्रकृति स्वस्थ मानव

डा. प्रभु बुढाथोकी

अहिले सम्पूर्ण विश्व कोभिड–१९ को कहरबाट आक्रान्त छ । यस महाव्याधिको उपचारका लागि हालसम्म कुनै औषधि उपलब्ध छैन । यो एक मानिसबाट अर्कोमा द्रूत गतिमा सर्ने भएकाले अनावश्यक मानव संसर्गमा नियन्त्रण (सोसियल डिसट्यान्सिङ) र उचित सरसफाइ नै यसको नियन्त्रण र यसबाट बच्ने उत्तम उपाय मानिएको छ । अहिले नेपाललगायत विश्वका थुप्रै देश पूर्ण वा अर्ध बन्दाबन्दीको (लकडाउन) स्थितिमा छन् ।  

यस महामारीका कारण विश्वमा आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भएका छन् । संसारका १८८ देशले अध्ययन संस्थान बन्द गर्नाले एक अर्ब ५० करोडभन्दा बढी विद्यार्थीको पढाइ अवरुद्ध भएको छ । २५ करोड मानिसले आफ्नो रोजगार गुमाउन सक्ने देखिएको छ । अमेरिकामा झन्डै चार करोड ७० लाख र भारतमा १३ करोड ६० लाख मानिस कामविहीन हुने अनुमान गरिएको छ । सन् २०२० मा कोभिड–१९ ले विश्व अर्थतन्त्रमा दुई ट्रिलियन डलरसम्मको क्षति पुर्याउन सक्ने युएनको प्रारम्भिक अनुमान छ । 

विश्वमा पुनः आर्थिक मन्दी हुने सम्भावना प्रस्ट देखिन्छ । करिब ८० देशहरूले कोरोना भाइरसको कारण फैलिएको महाव्याधिका कारणबाट आइपर्ने आर्थिक समस्यासँग जुध्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोगका लागि अनुरोध गरिसकेका छन् । कोभिड–१९ बाट प्रभावित विश्व अर्थव्यवस्थालाई पुनः ठीक लयमा फर्काउन सात ट्रिलियन डलरभन्दा बढी खर्च हुन सक्ने अनुमान गरिँदै छ ।  

विभिन्न अध्ययनले देखाउँछ कि मानिसमा हुने संक्रामक रोगको ६५ प्रतिशत जनावरबाट उत्पन्न हुन्छ र जनावरजन्य (जुनोटिक) संक्रामक रोगको ७१ प्रतिशत जति जंगली जनावरसँग सम्बन्धित पाइन्छ । उदाहरणका लागि एचआइभी एड्सको संक्रमण गुरिल्ला र चिम्पान्जीबाट उत्पन्न भाइरसबाट, एभियन फ्लुको महामारी जंगली जल पक्षीबाट र जंगलमा हुने टिक्स्बाट सुँगुर हँुदै स्वाइन फ्लुको महामारी भएको पाइन्छ ।

एसियाली विकास बैंकको एक अध्ययनले नेपाललाई कोभिड–१९ समस्याबाट ३२२ मिलियन अमेरिकी डलरसम्मको क्षति हुने अनुमान गरेको छ । २९ मिलियन डलर त पर्यटक राजस्व मात्र गुम्ने आकलन छ ।  

विश्वका नेताहरू कोभिड–१९ सरुवा रोगको महामारीलाई दोस्रो विश्वयुद्धपछि संसारले सामना गर्नुपरेको सबैभन्दा ठूलो समस्या हो भन्छन् । हामीलाई थाहा छैन कोभिड–१९ को महामारीको अन्तिम प्रभाव कस्तो हुनेछ भन्ने । तर विगतमा भएका केही ठूलो र लामो महामारी रोमन साम्राज्य जस्तो विशाल र बलियो साम्राज्यको विखण्डनको कारण बनेको तथा जलवायु परिवर्तन भई युरोपमा सानो हिमयुग (लिटिल आइस एज) ल्याएको इतिहासिक तथ्य हाम्रा सामु छन्, जे भए पनि हामीले कोभिड–१९ पछिको विश्व अहिलेको भन्दा पक्कै फरक पाउनेछौं ।

मानव सभ्यताको विकास क्रममा मानव समाजले समय–समयमा यस्ता सरुवा रोगको महामारीको सामना गर्दै आएको पाइन्छ । इतिहासका विभिन्न कालखण्डमा बिफर, प्लेग, दादुरा, रेबिज, फ्लु, हैजा आदि सरुवा रोगको महामारीले विश्वलाई आक्रान्त पारेको पाइन्छ । हालसम्म यस्ता महामारीले विश्वको कुनै सभ्यता, शताब्दी, साम्राज्य र समाजलाई छाडेका छैनन् ।  

आजको २१औं शताब्दीको मानव समाजसँग पर्याप्त स्रोत–साधन, ज्ञान, विज्ञान र प्रविधि उपलब्ध भए पनि सरुवा रोगको महामारीबाट हामी मुक्त हुन सकेका छैनौँ । यो शताब्दीको विगत २० वर्षमा पनि हामी एचआइभी एड्स, स्वाइन फ्युल, सार्स, मेर्स, इबोला र कोभिड–१९ जस्ता सरुवा रोगबाट पीडित हुँदै आएक छौं । गम्भीर हुनुपर्ने त के छ भने यस्ता संक्रमित रोगहरूको प्रकोप अझ बढ्ने क्रममा मात्रै होइन, नयाँनयाँ अझ डरलाग्दा र छिटोछिटो फैलिन सक्ने भाइरस पनि देखापर्दै छन् ।  

विभिन्न अध्ययनले देखाउँछ कि मानिसमा हुने संक्रामक रोगको ६५ प्रतिशत जनावरबाट उत्पन्न हुन्छ र जनावरजन्य (जुनोटिक) संक्रामक रोगको ७१ प्रतिशत जति जंगली जनावरसँग सम्बन्धित पाइन्छ । उदाहरणका लागि एचआइभी एड्सको संक्रमण गुरिल्ला र चिम्पान्जीबाट उत्पन्न भाइरसबाट, एभियन फ्लुको महामारी जंगली जल पक्षीबाट र जंगलमा हुने टिक्स्बाट सुँगुर हुँदै स्वाइन फ्लुको महामारी भएको पाइन्छ । मेर्स ऊँटबाट, सार्स महामारीको भाइरस फल खाने एक किसिमको चमेरोबाट नीर बिरालो प्रजाति (सिभेट्स क्याट) मार्फत मानिसमा पुग्यो भने चमेरोबाटै इबोलाको महामारी फैलिएको पाइन्छ । हाल विश्वलाई नै त्रस्त बनाइरहेको कोभिड–१९ को स्रोत पनि चमेरोमा पाइने उच्च ताप सहन सक्ने भाइरस सालक या सर्पमार्फत मानिसमा सरेको हुन सक्ने शंका गरिएको छ ।

घातक सरुवा रोगको महामारीको आपतकालीन समयमा हरेक सरकार र सम्बन्धित संस्थाहरूका लागि संक्रमितलाई बचाउनु र रोगको संक्रमणलाई फैलिन नदिनु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ । तत्काललाई कोभिड–१९ रोगीको उपचार र रोगको रोकथाममा केन्द्रित हुनु स्वाभाविक भए पनि दीर्घकालमा यो र यस्ताखाले रोगबाट मानव जीवनको रक्षा गर्न यस्ता रोगका मुख्य कारण र मूल स्रोतको बारेमा विशेष ध्यान दिनु बढी आवश्यक देखिन्छ ।  

सरुवा रोगहरूको महामारीको मूल कारण र स्रोतबारेमा बुझ्न मानव समाजको विकास प्रक्रिया, पथ, मानव जीवनशैली तथा संस्कृतिहरूको गहिरो अध्ययन र विश्लेषण जरुरी हुन्छ । घुमन्ते र सिकारी जीवनशैली त्यागेर मानव कृषि युगमा प्रवेश गरेदेखि हालसम्मका अधिकांश महामारी फैलाउने जीवाणु या विषाणुको उद्गम स्रोत भनेको पाल्तु या जंगली जनावर भएको पाइन्छ । त्यसैले जनावरजन्य (जुनोटिक) रोगबाट हजारौं वर्षदेखि मानव समुदाय परिचित र पीडित छ । मानिसको सबैभन्दा पहिलो पाल्तु जनावर कुकुरलाई मानिन्छ, जसबाट मानव समाजले रेबिज उपहार पायो, जसको वर्णन अर्थववेदमा समेत पाइन्छ । 

यस्ता रोगलाई चर्चित पुस्तक गन, जम्र्स र स्टिलका लेखक जारेड  डाइमन्ड ‘घरपालुवा जनावरबाट प्राप्त घातक उपहार’को संज्ञा दिन्छन् । प्रिय र उपयोगी जनावर सुँगुरबाट प्राप्त अर्को ठूलो अप्रिय उपहार स्पानिस इन्फ्लुयन्जालाई आजभन्दा दुई सय वर्ष (१८१९) पहिले १० करोडसम्म मानिसको मृत्युको कारक मानिन्छ । त्यस्तै, स्वाद र सोखको लालचमा विभिन्न जंगली जनावर उपभोग गर्दा मानव समुदायले एड्स, एभियन फ्लु, मेर्स, सार्स, इबोला र हाल आएर कोभिड–१९ को कहर भोग्नुपरिरहेको छ । सोचनीय कुरा के छ भने हालसम्म हामीलाई वन्यजन्तु भाइरसको केवल एक प्रतिशत मात्र थाहा छ । त्यसैले जे जस्तो उद्देश्यले वन्यजन्तुको पालन, बेचबिखन, ओसारपसार, उपभोग गर्नु या संर्सगमा आउनु भनेको अपरिचित रोगहरू भरिएको प्यान्डोरा बाकस खोल्नुजस्तै हो, जुन अहिले कोभिड–१९ को महामारीले देखाइरहेको छ ।  

पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एकआपसमा बलियोसँग जोडिएको शाश्वत सत्यलाई हामी सबैले बुझ्न जरुरी छ । न्युयोर्कस्थित इको स्वास्थ्य गठबन्धन भन्ने संस्थाको विश्लेषण अनुसार संसारमा नयाँ र सम्भावित रोगको ३३ प्रतिशतदेखि ५० प्रतिशतभन्दा बढी प्रकोप वन फँडानीसँग जोडिएको छ । सन् २०१२ मा जनावरजन्य रोगको महामारीबारे ‘स्पिलवोभर’ पुस्तकका लेखक डेभिड क्वामिनका विचारमा देखिने र नदेखिने असंख्य जैविक विभिन्नताले भरिएको उष्ण प्रदेशीय जंगलहरू राम्रो पुराना घरजस्तै हुन्, फँडानी (बुलडोज) गरे घर भत्कँदा आकाशमा धुलो उडेजस्तै गरी भाइरसहरू बाहिरिन्छन् । जंगली जनावरजस्ता आफ्नो प्राकृतिक होस्टहरूका लागि भाइरस कुनै समस्या हँुदैन, तर जब तिनीहरू मानवजस्ता नयाँ होस्टमा पुग्छन्, ज्यादै घातक हुन्छन् । हजारौं होइन, लाखौँ लाख मानिसको मृत्युको कारण हुन्छ ।  

जलवायु परिवर्तन, बाक्लो बसोबास (हाइ डेन्सिटी लिभिङ) र मानिस तथा विभिन्न सरसामानको दूत आवागमन र ओसारपसारले विभिन्न सरुवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिएको छ । विचार गरौं, हाम्रो संसार कति अन्तरजडित र असुरक्षित रहेछ, केही व्यक्तिहरूको खानपानको रोजाइ र अन्धविश्वासले गुफामा रहने चमेरोमा पाइने भाइरस मानिसमा सर्दा जंगलको डढेलोजस्तो केही महिनामै विश्वव्यापी महामारी सिर्जना गर्न सक्ने रहेछ । त्यसैले होला जारेड डाइमन्ड सरुवा रोगहरूलाई ‘भीड रोग’ (क्राउड डिजिज) भन्छन् ।

हजारौं वर्षदेखि विभिन्न महामारीले लाखौँ प्रियजनको मृत्यु र अर्बौं, खर्बौं आर्थिक क्षति बेहोर्नुपरे पनि मानव समुदायले हालसम्म केही खोपको आविष्कार बाहेक यस्ता महामारीबाट खास कुनै ठोस शिक्षा सिकेकोजस्तो लाग्दैन । उदाहरणका लागि यदि चीनले २००३ को सार्स महामारीको समयमा बन्द गरेको जंगली जनावरको बेच–बिखन र ओसारपसारलाई निरन्तरता दिइरहेको भए उस्तै प्रकृतिको हालको कोभिड–१९ महामारीको समस्या आउने थिएन कि !  

समस्याको तत्कालीन नियन्त्रणमा विभिन्न कोसिस भए पनि समस्याको दीर्घकालीन समाधानमा वास्तविक पहल भएको पाइँदैन । अनुभव र अध्ययनबाट प्राप्त प्रस्ट तीन शिक्षा (पहिलो, वनको जथाभावी विनाश रोक्ने । दोस्रो, जनावर विशेष गरेर जंगली जनावरको मासुको उपभोग तथा ओसारपसारमा नियन्त्रण गर्ने । तेस्रो, व्यवस्थित सहरको विकास गर्ने) बाट विभिन्न किसिमका सरुवा रोगहरूको महामारीबाट मानव समुदायलाई बचाउन सजिलै सकिने देखिन्छ ।  

तर, हजारौँ वर्ष पुराना हाम्रा विभिन्न धार्मिक ग्रन्थ र दर्शनहरू, जस्तै : वेदका ऋचामा उल्लेख ‘संरक्षित प्रकृतिले संरक्षण गर्छ’, बौद्ध ग्रन्थमा लेखिएका मानवको लोभको कारणबाट अनिकाल, अज्ञानताका कारण महामारी र घृणाको कारणबाट व्यापक हिंसा सिर्जना हुन्छ भन्ने ज्ञान वाणी, कुरान र बाइबल आदि ग्रन्थमा व्यक्त मानिस प्रकृति र भगवानका सृष्टिका प्रबन्धक मात्र हो भन्ने विचारको गहनता, मानव क्रियाकलापहरू प्रकृतिसँग सन्तुलित, सामञ्जस्य र सहअस्तित्वको आधारमा हुनुपर्छ भन्ने चिनियाँ दर्शन आदि कसैले पनि वर्तमान मानव क्रियाकलापलाई प्रभावकारी प्रभाव पार्न सकेको जस्तो पाइँदैन ।  

त्यस्तै, गान्धीको ‘प्रकृतिले मानिसको आवश्यकता मात्र पूरा गर्न सक्छ न कि लोभ’, अरिस्टोटलको ‘प्रकृतिको हरेक कार्यको पछाडि कारण हुन्छ’ भन्ने उक्ति, त् चिनियाँ दार्शनिक लाओ जुको ‘प्रकृति हतार गर्दैन, तैपनि सबै पूरा गर्छ’ भन्ने भनाइ, प्राचीन ग्रिकका फिजिसियन हिप्पोक्रेट्सको ‘कुनै पनि चिजमा अति हुनु प्रकृतिको नजरमा उल्टो मानिन्छ’, या संस्कृत उक्ति ‘अति सर्वत वर्जयतः’ साथै हालका वैज्ञानिक अध्ययनले सुझावका मानव र प्रकृतिबीचको अन्तर्सम्बन्ध र सहअस्तित्वको मह्टत्व र वास्तविकताले पनि हाम्रा विकासका नायक, नीति र निकायहरूलाई पनि खास प्रभाव पार्न र दिशानिर्देश गर्न सकेको देखिँदैन । आफू प्रकृतिको एउटा अंश मात्र हो भन्ने वास्तविकतालाई भुलेर आजको मानव आफ्नै धुनमा पृथ्वीको अधिकांश क्षेत्रको सबैजसो स्रोतको अन्धाघुन्ध दोहनमा व्यस्त छ ।  

हालको मानव समाजमा प्रकृति माथिको जित नै मानवको हीत भन्ने सोच बढी हाबी भएको पाइन्छ । संसारभरि नै मानव समुदाय र प्रकृतिको दीर्घकालीन हितभन्दा अल्पकालीन राजनीतिक र आर्थिक स्वार्थले प्राथमिकतामा पाउनु नै हाल विश्वमा हुने यस्ता महामारी लगायत अधिकांश अन्य समस्याको मूल कारण हो भन्नु अतिशयोक्ति नहोला । तर, बिडम्बना आज आफूलाई अति शक्तिशाली ठान्ने ‘मानव’ जीवलाई आँखाले देख्न नसकिने एउटा अति सूक्ष्मजीव ‘कोरोना’ले बन्धकजस्तै बनाउने सफल भएको छ । यो सूक्ष्म जीव (भाइरस)ले मानव शक्तिलाई चुनौती र सभ्यताको जगलाई नै हल्लाइदिएको छ । युएन ग्लोबल कम्पाक्टका सह–अध्यक्ष पोल पोलम्यानका विचारमा यो एक ब्युँझाउने सन्देश (वेक अप कल) मात्र हो । यदि समयमै हामीले प्रकृतिप्रतिको हाम्रो दृष्टिकोण र व्यवहार र हाम्रा विकासका तौरतरिकाहरूमा व्यापक पुनर्विचार नगर्ने हो भने प्रकृतिको विनाश र जलवायु परिवर्तनका कारणबाट सिर्जित कहरहरू भोग्नका लागि पनि हामी तयार रहनुपर्छ ।  

कोभिड–१९ को महामारीको संकटले मानव सभ्यता र समाजको भविष्य कति असुरक्षित रहेछ भन्ने कुरा उजागर गरेको छ । त्यस्तै, आगामी दिनमा विश्वलाई यस समस्याले मानव समाजका अन्तरनिर्भरता र अन्तरसम्बन्ध साथै हाम्रा विकासका तौरतरिका बारेमा वस्तुनिष्ठ समीक्षा गर्न प्रेरित गर्ने देखिन्छ । हालको विश्वमा नीति निर्माणमा विज्ञान, विज्ञ र विद्वानहरूभन्दा अर्थ र व्यापारले समग्र, सन्तुलित र दिगो विकासभन्दा आर्थिक र भौतिक विकासले मात्र बढी प्राथमिकता पाउने परिपाटीमा परिवर्तन ल्याउनु नै यस्ता समस्या समाधानतर्फको राम्रो सुरुवात हुन सक्दछ । 

डा. चिन्तामणि शर्माजस्ता केही विद्वानहरू त हामीले प्रकृतिलाई यति गिजोली सक्यौं कि अब हामीले पश्चाताप गरेर पुग्दैन प्रायश्चित गर्नुपर्छ भन्नु हुन्छ । स्वस्थ प्रकृतिमा मात्र मानव स्वस्थ रहन सक्छ, स्वस्थ मानवले मात्र सभ्य र समृद्ध समाज निर्माण गर्न सक्छ भन्ने कुरा सबैले बुझ्नु अपरिहार्य छ । मानव र प्रकृतिको स्वस्थ सम्बन्धबाट मात्र स्वस्थ, सभ्य र समृृद्धि समाजको निरन्तरता सम्भव छ । त्यसैले प्रकृतिमाथिको मानव सोच र व्यवहारमा परिवर्तन गरौं ।

जसरी संसारमा हामी मानिसले कोरोना भाइरसलाई महामारी बनायौं । त्यसैगरी विभिन्न देशमा मानिसहरू कोभिड–१९ को बिमारीले होइन, बिमार सरकारका अर्कमण्यताका कारण मर्दैछन् । वैज्ञानिक र विज्ञले कोभिड–१९ जस्ता भाइरसको महामारी हुन सक्ने कुरा दशकौँ अगाडिदेखि भन्दै र लेख्दै आएका थिए तर समस्या आउन नदिनु नै समस्याको सबैभन्दा सही व्यवस्थापन हो भन्ने सुझ सरकार र सत्तासीनहरूमा आउन सकेन । त्यसैले मानव र प्रकृतिको स्वस्थताका लागि स्वस्थ सरकार र जनसेवामा सर्मपित स्वस्थ नेतृत्वको अपरिहार्यता हुन्छ भन्ने पनि सबैले सदैव हेक्का राखौँ ।  

(लेखक राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् ।)

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App