२८ असार २०७७ आइतबार
विचार

मृत्युपछि मात्रै कोरोना पुष्टि किन ?

अहिले विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ। विश्वका विकसित राष्ट्रमा समेत यो सहाल्नै नसकिने गरी फैलिरहेको छ। नेपालमा पनि यसको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ। यसबाट मृत्यु हुनेको संख्या पनि बिस्तारै उकालो लागेको देखिन्छ। यो लेख्दासम्म नेपालमा ३ हजार हाराहारीमा संक्रमित देखिसकिएको छ भने निको भएर घर फर्किनेको संख्या न्यून छ। यस्तै नेपालमा शनिबारसम्म कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भइसकेको छ। यी १२ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यी १२ जनाको मृत्युको कारण कोरोना नै हो भन्ने सरकारले पुष्टि गरिसकेको त छ, तर पनि मृत्युपछि मात्रै कोरोना पुष्टि हुने गरेका कारण यसको वास्तविक कारण खोज्नु स्वाभाविक नै हुन्छ।  

किन मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि गर्ने गरिएको  छ त ? किन हामीले मृत्यु हुनुअघि नै संक्रमण भए/नभए पत्ता लगाउने संयन्त्र विकास गर्न सकिरहेका छैनौं ? अब यसरी मृत्यु भइसकेपछि मात्रै कोरोना पुष्टि हुने हो भने सर्वप्रथम उपचारमा संलग्न स्वास्थ्यकर्मीमा संक्रमण फैलिने खतरा छ भने दोस्रोमा मृतकका परिवार र आफन्तमा संक्रमण हुने जोखिम कसरी गर्ने ? बिरामीको मृत्यु हुनेबित्तिकै अस्पताल र सम्बन्धित क्षेत्र सिल गर्दै जाने हो भने दिनदिनै थपिँदै गएका संक्रमितलाई कहाँ लाने ? यी यावत् प्रश्नको उत्तर अहिल्यै खोजेनौं भने नेपालमा कोरोना संक्रमणले भयावह रूप लिने जोखिम प्रबल छ।

संक्रमण दर घटाउन देशभर लागू गरिएको बन्दाबन्दी (लकडाउन) साढे २ महिना भइसकेको छ। हामीसँग यसबाहेक अन्य विकल्प पनि छैन। तर बन्दाबन्दी गर्नु मात्रै महामारी रोकथाम र नियन्त्रण गर्नु हो त ? यस अवधिमा हामीले यसविरुद्ध के, कति तयारी ग-यौं ? बन्दाबन्दी कहिलेसम्म ? यसको स्पष्ट खाका बनाउन आवश्यक छ। देशमा उपलब्ध सीमित स्रोत÷साधनको अधिकतम सदुपयोग गर्ने प्रयत्न त भइरहेको देखिन्छ, तर पनि संक्रमितको संख्या बढ्दै गएकाले  त्यसको व्यवस्थापनबारे पनि तत्काल सोच्नुपर्ने अवस्था छ।  

नेपालमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएका व्यक्तिमा गरिएको कोरोना पुष्टिलाई एकपटक मूल्यांकन गर्ने हो कि ? जसबाट मृत्युको वास्तविक कारण के हो भन्ने एउटा आँकडा आओस्। नेपालमा कोरोनाका कारण सबैभन्दा पहिला सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्यु भएको थियो। त्यसको तेस्रो दिनमा मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। यस्तै दोस्रो मृतक बाँकेका २४ वर्षीय युवकको भोलिपल्ट, यस्तै बुटवलको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरुषको संक्रमण पुष्टि पनि उपचार केन्द्रमा भएको देखिँदैन, चौथा मृतक बाराका ७० वर्षीय पुरुषको त झन् दाहसंकार गरिसकेपछि (मृत्युुपछि शंका लागेर स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो) मात्र कोरोना पुष्टि भएको थियो। यस्ते यसपछि क्रमशः ललितपुरको किस्ट अस्पतालमा उपचारत ५६ वर्षीय पुरुष, अर्घाखाँचीका ३५ वर्षीय युवक, दैलेखका ३५ वर्षीय व्यक्ति तथा बाजुराकी २ वर्षीया बालिकाको पनि मृत्युपछि मात्रै कोरोना पुष्टि गरिएको थियो।

अनि मृत्युको कारण कोरोना मात्रै हो वा अन्य रोग र समस्या पनि ? यस विषयमा गहन अध्ययन/अनुसन्धान गरी आगामी योजना बनाउन आवश्यक छैन र ?  

आखिर यस्तो किन भइरहेको छ ? हाम्रो उपचार प्रणाली र पद्धति नै यस्तो हो ? अनि मृत्युको कारण कोरोना मात्रै हो वा अन्य रोग र समस्या पनि ? यस विषयमा गहन अध्ययन/अनुसन्धान गरी आगामी योजना बनाउन आवश्यक छैन र ? कतिपय मृतकमा कोरोना संक्रमण देखिए तापनि उनीहरूमा अन्य घातक रोग नदेखिएका पनि होइनन्। यसर्थ विशेषज्ञले यसतर्फ ध्यान दिँदै आवश्यक अध्ययन/अनुसन्धान गरी संयन्त्र निर्माण गर्ने निकायलाई सुझाव दिन आवश्यक पो हो कि ?  

अनि अर्को महत्वपूर्ण पक्ष– यसरी हरेक संक्रमितको मृत्यु भइसकेपछि मात्रै कोरोना पत्ता लाग्ने हो भने यसको संक्रमण दर कल्पना गरेभन्दा निकै जटिल हुने देखिन्छ र यसका लागि संयन्त्र निर्माण गनुपर्ने पो हो कि ?  

हालका क्वारेन्टिन तथा आइसोलेसनमा पनि संक्रमितको भिडभाड देख्दा हामीले निर्माण गरेका यस्ता स्थल मापदण्डअनुसारकै छन् त ? कतै संक्रमण फैलिने पहिलो स्थान यिनै पो हुन् कि भन्नेतर्फ पनि गम्भीर विचार गर्न आवश्यक छ।  

अनि अब हामीले यस्ता महामारीको दीर्घकालीन समाधानका लागि यथेष्ट पूर्वाधार तथा उपकरण व्यवस्था गर्नुपर्छ भन्नेमा दुईमत नहोला। यस्तै यस्ता महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पताल तथा निकाय मात्र लागेर पुग्ने अवस्था पनि छैन। अहिलेको अनुभवले के बताउँछ भने यस कार्यमा निजी तथा सामुदायिक अस्पतालको पनि महत्वपूर्ण भूमिका छ/हुन्छ। तसर्थ सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गर्दा सरकारी अस्पतालका लागि मात्र गर्नुपर्छ भन्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक देखिन्छ। स्वास्थ्यमा पहुँच हरेक नागरिककको अधिकार हो भन्ने मान्यता नीति निर्माण तहमा रहनेहरूले स्वीकार्ने हो भन्ने नेपालको क्षेत्रगत अध्ययन गरी त्यस भेगका सरकारी तथा निजी अस्पतालका पूर्वाधार र सेवा विस्तारका लागि सरकारले लगानी गर्न जरुरी छ।  

दीर्घकालीन योजनामा क्षेत्रगत कोभिड अस्पताल निर्माण गर्ने लक्ष्य रहेको भए तापनि कोभिड बिरामीको आकस्मिक उपचारका लागि सरकारी तथा निजी अस्पतालमा आवश्यक पूर्वाधार निर्माणका योजना पनि ल्याउन आवश्यक छ। जसले गर्दा कुनै पनि कोभिडका लक्षण देखिएका बिरामीको आकस्मिक व्यवस्थापन र उपचार गर्न सकियोस्, अन्यत्र रिफर गर्न नपरोस्। कोभिडका लागि क्षेत्रगत आकस्मिक कक्ष निर्माण नगर्ने हो भने संक्रमण पत्ता नलागेका तर लक्षण देखिएका बिरामीको सही समयमा उपचार नहुने, अहिलेजस्तै मृत्युपछि मात्रै संक्रमण पुष्टि हुने र जोखिम लिएर उपचार गर्नेहरू नै संक्रमित हुने अवस्था आउन सक्छ। 
(काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेल अस्पताल)

प्रकाशित: २५ जेष्ठ २०७७ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App