६ कार्तिक २०७७ बिहीबार
विचार

के नेहरुले राजा महेन्द्रलाई मात्र चिट्ठी लेख्थे ?

सन् १९६२ तिर कालापानीको सम्बन्धमा राजा महेन्द्रलाई नेहरूको चिट्ठी प्राप्त भएको अनुमान गर्नु अनुचित हुँदैन।

आगो ताप्नू मूढाको, कुरा सुन्नू बूढाको। पूर्वजहरूको यही मान्यतालाई हेक्का गरेर होला, हालै ईमेज, योहो र एपी १ गरी तीनटा टेलिभिजन प्रसारण संस्थाले विश्वबन्धु थापालाई जनसमक्ष प्रस्तुत गरेका थिए। राजा महेन्द्रको प्रत्यक्ष शासनकालको आरम्भताका गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थापाबाट कालापानी क्षेत्रमा नेपालको स्वामित्वबारे प्रश्नोत्तर चलेको थियो। निर्णायक प्रमाण मान्न सकिने सूत्रसहितको उत्तर खोज्ने ती प्रसारण संस्थाका अन्तर्वार्ताकारहरूको प्रयत्न देखियो। यस हरफको लेखकले यिनै तीनबाट प्रसारित संवाद हेरेको हुनाले चर्चा तिनैको सेरोफेरोमा गरिँदैछ।  

तीनवटा संवादमध्ये पहिलो ‘ईमेज’ का जगदीश खरेलले र दोस्रो ‘योहो’ का जीवराम भण्डारीले विश्वबन्धु थापा (९३ वर्ष) लाई झण्डै १–१ घण्टा लामो वार्तालापमा सक्रीय राखेको देखियो भने ‘एपी १’ को भेटघाटलाई टीकाराम यात्रीले एकालाप रहन दिनु उपयुक्त ठानेको पाइयो। परिपक्व उमेरका व्यक्तित्वबाट जतिसक्यो धेरै जानकारी र प्रसङ्गहरू दर्शकसामु पुञ्याउने उनको रहर भएको बुझियो। इतिहासको लागि कामलाग्ने श्रव्य–दृश्य सामग्री  जतिसकेको बढी अभिलेखमा राखौं भन्ने मनसुवा सबै तीन प्रसारकमा रहेको हुँदो हो। दृश्याङ्कनका उपकरण र प्राविधिक सहयोगी लिएर थापाज्यूको निवास पुगेबाट यो अनुमान गर्न सकिन्छ। यो प्रशंसनीय प्रयास हो।

सन् १९६२ तिर कालापानीको सम्बन्धमा राजा महेन्द्रलाई नेहरूको चिट्ठी प्राप्त भएको अनुमान गर्नु अनुचित हुँदैन।   

लिम्पियाधुर–लिपुलेक–कालापानी क्षेत्रमा नेपालको साविकको स्वामित्व वि.सं.२०१९र२० को हाराहारीमा राजा महेन्द्रबाट जानी–बुझीकन त्यागेर त्यस ठाउँमा भारतीय सेनालाई छाउनी खडा गर्न दिएका हुन् भन्ने एकथरी मानिस (खासगरी गणतन्त्रवादी) को अड्कलका आधारमा चलेका हल्ला, चर्चा बाक्लो भएका बखत राजा महेन्द्रका विश्वासिलामध्येका एक मन्त्रीको जानकारी र विचार जान्न खोजिनु सर्वथा स्वाभाविक हो। संवादका क्रममा आउने सूचना तथा विश्लेषणहरूले मामिला निरुपण गर्न सघाउ पुग्ने अन्तर्वार्ताकारहरूको अपेक्षा हुँदो हो। खोतल्ने प्रयास भयो, जसले जति सक्यो बटुलबाटुल ग¥यो। नजिकैको खोलामा पानी लिन जाने मानिसले गाग्रो, बाल्टिन वा अम्खोरा जे लगेको हुन्छ त्यही भाँडोमा अट्ने जल उबाएको हुन्छ, देखिएकै कुरो हो।

छिमेकीको पत्र  
विश्वबन्धु थापाले उस बखतका भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले लेखेको चिट्ठीको उल्लेख गर्नुभयो। ‘नेहरूको चिट्ठी’ आएको थियो राजा महेन्द्रलाई। पञ्चायत व्यवस्थामा राजा नै सर्वेसर्वा हुने परिपाटी थियो। अर्थात् नेपाल राजतन्त्र भएको अधिराज्य मात्र थिएन राजाले नै प्रत्यक्ष शासन चलाएको मुलुक समेत थियो। त्यसो हुनाले छिमेकी देशका सरकारप्रमुखले पठाएको चिट्ठी स्वभावतः राजाकहाँ आयो। राजाले आफ्नो पत्यारका मन्त्रीहरूलाई वरिपरि राखेर आफूले पढेको चिट्ठीको मजबुन सुनाए र तिनको विचार जान्न खोजे। विश्वबन्धु थापाका अनुसार, नेहरूले आफ्ना केही सैनिकहरू नेपाल सरहदको भूमिमा शिविर हालेर बसेको जानकारी दिँदै एक छोटो अवधिपछि तिनलाई हटाउने वचन दिएका थिए। यो भारत–चीन युद्ध (सन् १९६२) को लगत्तै पछि लडाञीको मोर्चाबाट पछि हट्दै गरेको भारतीय सेना तत्काल शिविर हाल्न कुनै एक सामरिक गौंडोको खोजीमा रहेको समयको सन्दर्भ हो।

जे होस, राजालाई प्राप्त नेहरूको चिट्ठीलाई आधार मानेर त्यो क्षेत्र (कालापानी) तत्काललाई भारतलाई उपयोग गर्न दिने निधो भयो। दिल्लीस्थित् राजदूत प्रोफेसर यदुनाथ खनालको पनि यसमा अनुकूल विचार नै आयो र तदनुसार लेखापढी गरी भारतीय पक्षलाई जानकारी दिन निर्देशन गयो। तर नेहरूको चिट्ठी लगायतका त्यस बेलाका कागजपत्रबारे विश्वबन्धु थापालाई अन्य जानकारी छैन। भन्नै परेन, नेहरूको चिट्ठी फेला परे त्यो अहिलेको सन्दर्भमा महत्वपूर्ण प्रमाण हुनेछ। अग्रज पत्रकार भैरव रिसालले १८ जेठको लेखद्वारा (नागरिक) देखाएको चासो पनि यसैको सेरोफेरोमा छ। किनभने त्यो भू–भाग नेपालको भएको हुनाले नै नेहरूले अनुमति मागेको हुनुपर्छ। उतैको हुँदो हो त सोध्ने–साध्ने आवश्यकता नै थिएन।  

राजालाई प्राप्त नेहरूको चिट्ठीलाई आधार मानेर त्यो क्षेत्र (कालापानी) तत्काललाई भारतलाई उपयोग गर्न दिने निधो भयो। दिल्लीस्थित् राजदूत प्रोफेसर यदुनाथ खनालको पनि यसमा अनुकूल विचार नै आयो र तदनुसार लेखापढी गरी भारतीय पक्षलाई जानकारी दिन निर्देशन गयो।

नेहरूले त्यस्तो पत्र राजा महेन्द्रलाई लेखे होलान् त ? आजको समयमा बाँचेका कतिपय मानिसलाई सन्देह पनि लाग्न सक्छ। तर यथार्थमा यस्तो शङ्का गर्नु पर्दैन मूलतः दुइटा कारणले। पहिलो हो, सूचना सञ्चार प्रविधिको विकासको त्यस बेलाको अवस्था। अहिले हात–हातमा मोबाइल लिएर हिँड्ने युवक÷युवतीलाई टेलिग्राम र वायरलेस युगको सञ्चार प्रणाली दन्त्यकथा लाग्न सक्छ। उस बखत छोटा सन्देश आकासवाणीका माध्यमबाट ओहोरदोहर गरे पनि विस्तृत प्रस्ताव, उत्तर र प्रति–उत्तर आदि पत्राचारको माध्यमबाट सम्पन्न गरिन्थ्यो। सरकारप्रमुख र राष्ट्रप्रमुखहरू चिट्ठी लेखेर औपचारिक सम्बन्ध काम गर्थे, कूटनीतिक पुलिन्दा (डिप्लोम्याटिक ब्याग) को माध्यमबाट गन्तव्यमा पत्र पठाउने चलन थियो। त्यसो त चिट्ठीपत्रको प्रचलन पूरै हराइसकेको पनि छैन।  

चर्चित चिट्ठी–लेखक    
नेहरूले राजा महेन्द्रलाई चिट्ठी लेखेको हुन सक्ने दोस्रो आधार के हो भने उनी पत्र–लेखनमा पर्याप्त रुचि र अभ्यास भएका विद्वान् पनि मानिन्थे। सन् १९४७ पछिको स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री हुनुभन्दा अघि (अंग्रेजको ‘राज’ कायम छँदै) नेहरूले छोरीलाई लेखेका पत्रहरूको सङ्ग्रह ‘नेहरू’ज लेटर्स’ नामबाट सन् १९२९ मै प्रकाशित भएको थियो।  छोरी इन्दिरा १० वर्षकी छँदा उनलाई विश्व र ब्रह्माण्डबारे जानकार तुल्याउन सन् १९२८ मा लेखेका ३० वटा पत्रहरूको यो सङ्कलन एक समय नेपालका कलेज, महाविद्यालयमा समेत अग्रेजी पाठ्य–सामग्री हुने गथ्र्यो।

राजनीतिमा लागेर राजकाज चलाउने प्रधानमन्त्रीको पदमा पुगेपछि पनि नेहरूले पत्रलेखनको अभ्यास कायम राखे, तीव्रता दिएको कुराको पुष्टि कतिपय पुस्तकहरूमा प्रकाशित पत्रहरूले गरेका छन्। देशभित्र उनका सहकर्मी, सहयोगी भएर काम गर्ने काँग्रेस नेताहरूसँग पत्रकै माध्यमबाट गम्भीर बहस गर्थे भने देशबाहिर उच्चस्तरमा विचार–विमर्श गर्नुपर्दा पनि चिट्ठी नै लेख्ने गर्थे। प्रधानमन्त्री त थिए नै, परराष्ट्र मामिला पनि धेरैजसो आफैं हेर्थे। त्यस  क्रममा लामा–लामा पत्र लेख्थे। यस लेखमा त्यसको प्रमाणको रूपमा मातृकाप्रसाद कोइरालाको आत्मकथा (२०६५ साल कार्तिकमा प्रकाशित अङ्ग्रेजी पुस्तक) मा समावेश भएका केही पत्रहरूको चर्चा गर्नु उपयुक्त लागेको छ। ख्यातिप्राप्त वकिल गणेशराज शर्माको गहन भूमिका सहित निस्केको ‘ए रोल इन् ए रिभोल्युसन’ नामक यस पुस्तकमा नेहरूले राजा त्रिभुवनलाई लेखेका पत्रहरू पनि भेटिन्छन् जसको आरम्भमा राजालाई ‘प्रिय मित्र’ (माई डियर फ्रेण्ड) भनेर सम्बोधन गरिएको हुन्छ। यो निकटता जनाउने शैली हो। अङ्ग्रेजको सङ्गत थियो, तदनुसारको शैली, शिष्टाचार सिकेकै थिए।

२५ अप्रिल १९५२ मा लेखिएको एउटा यस्तै चिट्ठीमा नेहरूले त्रिभुवनलाई नेपालमा त्यतिखेर बहाल भारतीय राजदूत सीपीएन् सिंहलाई अन्यत्र  खटाएर नयाँ राजदूत पठाउने कुरा लेखेका छन्। तीन–तीन वर्षमा राजदूत फेर्ने चलनको पनि उल्लेख छ।  तथापि नयाँ राजदूत को हुने हो उसको नाम भने प्रस्तावित गरेका छैनन्। र, भन्छन्– यो कुरा व्यक्तिगत जानकारीको लागि मात्र लेखेको हो, औपचारिक घोषणा नहुँदासम्म गोप्य राखिदिन अनुरोध गर्छु। उही मितिमा लेखेको अर्को पत्रमा नेपालले अमेरिकासँग सिधा सम्पर्क राखेकोमा असन्तोष प्रकट गर्दै परराष्ट्र सम्बन्धमा ‘सामञ्जस्य’ गरिनु पर्ने भनेर राजालाई  सन्धि–सम्झौताका दायित्व सम्झाइएको छ। प्रधानमन्त्री कोइरालासँगको पत्राचार त झन् बाक्लो हुने नै भयो। नेहरूले निर्धारित समकक्षी उनैलाई मानेको देखिन्छ।    

नेहरू सिपालु पत्र–लेखक थिए। त्यसो हुनाले उनले बाठा राजा महेन्द्रलाई भारतबाट  बिच्किन, भड्किन नदिन शिष्टाचार दर्शाउँदै कालापानीबारे चिट्ठी लेखेको अनुमान गर्न सकिन्छ। विश्वबन्धु थापाले राजाको मुखबाट सुनेको हो भनेर आजका जनसाधारणलाई  सुनाएको  कुरा नपत्याउने पनि कसरी ?

नेहरू नेपालबारे निकै संवेदनशील रहने गर्थे भन्ने कुराको एक झलक के.नटवर सिंहको संस्मरण (‘वन् लाइफ इज नट एनफ’—सन् २०१४) मा पनि फेला पर्छ। सन् १९६० को जुलाईको एक घटनाको चर्चा गर्दै लेखक भन्छन् : ‘नेपाल फाइल’ झट्ट फेला नपर्दा मैले एकपल्ट नेहरूको कोपभाजन हुनुपरेको थियो। त्यसमा चार पृष्ठको चिट्ठी पनि थियो जुन नेपालका राजालाई पठाउन नेहरूले मसौदा गरेका थिए। त्यो मसौदा विदेश सचिव (नटवरका हाकिम) ले पढेर प्रतिक्रिया दिउन् भन्ने नेहरूको अपेक्षा रहेछ। तर नटवरको लापरवाहीले सचिवले त्यो मसौदा बेलैमा हेर्नै पाएका रहेनछन्। ढिलाइ भएकोमा नेहरू रिसाएका थिए। यसरी, मसौदा (चिट्ठी) को चर्चा गरे तापनि नटवरले त्यसको बेहोरा वा विषयबारे भने केही खुलाएका छैनन्। मुख्य कुरो, यस घटनाबाट नेहरू नेपालका राजालाई बरोबर चिट्ठी लेख्दा रहेछन् भन्ने कुराको पुष्टि हुन्छ। तसर्थ सन् १९६२ तिर कालापानीको सम्बन्धमा राजा महेन्द्रलाई नेहरूको चिट्ठी प्राप्त भएको अनुमान गर्नु अनुचित हुँदैन।

प्रकाशित: २१ जेष्ठ २०७७ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App