१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

भाइरल ज्वरोको प्रकोप

भाइरल ज्वरो भाइरसको संक्रमणले उत्पन्न हुने ज्वरो हो। नेपालमा विगत केही वर्षदेखि ज्वरोका प्रकोप बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । ज्वरो संक्रामक रोगको प्रमुख एक लक्षण हो। संक्रामक रोग वर्षको कुनै पनि समयमा देखिने भए पनि गर्मी तथा वर्षाको मौसममा बढी देखा पर्छ। अहिले नेपालका विभिन्न क्षेत्रमा ज्वरोको प्रकोप छ।

सूक्ष्म जीवाणु संक्रमण हुँदा देखिने प्रमुख लक्षणमध्ये ज्वरो एक हो। यसमा पनि विशेष गरी विभिन्न भाइरसका कारण देखिने सुरुका लक्षण एक अर्कोसँगै धेरै हदसम्म मिल्दोजुल्दा छन्। त्यसो हुनाले बिरामीमा यस्ता लक्षण देखिँदा निदान प्रयोगशालाको नतिजामा भर पर्नुपर्ने हुन्छ। तर, नेपालको धेरैजसो अस्पताल तथा स्वास्थ्य केन्द्रमा स्तरीय प्रयोगशाला नभएकाले रोगको उपचार गर्न लक्षणमा भर पर्नुपर्छ। अकस्मात् ज्वरो आउनु, टाउको दुख्नु, पानीजस्तो सिँगान बग्नु, सुख्खा खोकी लाग्नु तथा कहिलेकाहीँ पखाला लाग्नु भाइरल संक्रमणको प्रमुख लक्षण हुन्।
ज्वरो सामान्यतया तीनदेखि सात दिनसम्म रहन्छ। अहिले नेपालमा ज्वरोको प्रकोप भएका धेरैजसो गाउँका बिरामीको भाइरल संक्रमण मिल्दाजुल्दा छन्। यी बिरामीलाई भाइरल ज्वरो भएको हुन सक्छ। भर्खरैमात्र इपिडियोमोलोजी शाखाअन्तर्गत र्‍यापिड रेस्पोन्स टिम (द्रूत तयारी समूह) द्वारा गरिएको अन्वेषणले पनि तीन ठाउँमा भाइरल ज्वरो खास गरी इन्फुलुन्जा एच-३ भएको प्रमाणित गरिसकेको छ। त्यस्तै भाइरल ज्वरोले विशेष गरी छोटो समयमा एउटै ठाउँमा धेरैलाई संक्रमण गर्ने भएकाले अहिले नेपालका विभिन्न ठाउँमा देखिएको प्रकोप भाइरल ज्वरो हो भन्ने अनुमानलाई बल पुगेको छ।
नेपालको एकमात्र केन्द्रीय स्तरको सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभागमा औसत ५५ जना बिरामी भाइरल संक्रमणको लक्षणसँगै मिल्दोजुल्दो लक्षण लिएर आउँछन्। त्यस्तै अस्पतालको अन्तरंग विभागमा बहुसंख्यक बिरामीमा ज्वरोको लक्षण छ।

बहिरंग विभागमा उपचारपछि फर्केका बिरामी पाँच दिनपछि थप उपचारका लागि आउँदा स्वास्थ्यमा क्रमिक सुधार देखिएकाले बिरामीमा भाइरल संक्रमणका कारण ज्वरो आएको हुनसक्छ। तर, भाइरसै हो भनेर किटानी गर्न चिकित्सा प्रणालीमा प्रयोगशालाको नतिजा बलियो आधार मानिन्छ। ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधि सर्वसुलभ भए पनि भाइरसविरुद्ध औषधि भने विकासको क्रममै छ। तसर्थ भाइरल रोगको उपचार लक्षणको आधारमा गर्नुपर्ने बाध्यता छ। रोग लाग्न नदिनु यसबाट बच्ने उपयुक्त उपाय हो। त्यसका लागि केही भाइरसविरुद्ध खोपहरु विकसित भइसकेका छन् भने केही विकासका क्रममा छन्।

भाइरस संक्रमणसँगै मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकको सल्लाह लिई घरैमा बसी उपचार गर्न सकिन्छ। आराम गराएर बिरामीलाई प्रशस्त ताजा फलफूलको रस, गेडागुडीको झोल बिरामीलाई प्रशस्त दिनुपर्छ। भाइरस संक्रमणमा एन्टिबायोटिकको कुनै भूमिका हुँदैन। तथापि बिरामीमा एक हप्ताभन्दा बढीसम्म ज्वरोको लक्षण देखिए ब्याक्टेरिया संक्रमण हुने सम्भावना भएकाले ढिलो नगरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ। केही भाइरस जस्तै, डेंगु, ऐलो फिभरको भाइरस, क्रिमियन कंगो हेमोरेजिक फिभरको भाइरसले बिरामीमा रक्तश्राव गराउने सम्भावना हुन्छ। यस्तो बेला बु्रफिन, एस्पिरिन, फेलेक्सोनजस्ता नदुख्ने औषधि जथाभावी प्रयोग गर्नु हुँदैन। भाइरल ज्वरो आयो भन्दैमा जथाभावी औषधि प्रयोग गर्नु हुँदैन।
पछिल्लो वर्षदेखि भाइरल ज्वरोको संक्रमणसँग मिल्दोजुल्दो लक्षण प्रकोपका रुपमा देखा परेको छ। नेपालमा भाइरस पहिचानका लागि अनुसन्धान आवश्यक छ। यस्ता रोग देखा परे पनि रोगको निदान भने भएको पाइँदैन। यस्तो स्थितिमा नेपाल सरकार अज्ञात रोग भनेर पन्छिने गरेको छ। इन्फुजिया तथा डेगुंजस्ता भाइरस नेपालमा पाइएको प्रमाणित भइसके पनि प्रकोपको पछि अन्य भाइरस पनि नहोला भन्न सकिन्न। उदाहरणका लागि चिकनगुनियाँ, क्रिमियन कंगो भाइरस आदि। यी भाइरस भारतमा विगत केही वर्षदेखि देखिँदै आएको र खुला सिमानाका कारण नेपालमा पनि नहोला भन्ने अवस्था छैन । तसर्थ स्वास्थ्य मन्त्रालयले आवश्यक अनुसन्धान अघि बढाउनु जरुरी छ।
कुनै पनि ज्वरोको प्रकोप भाइरल ज्वरोमात्र हुन सक्दैन। तर, प्रकोप भएको परिस्थतिलाई शंकास्पद भाइरल ज्वरो भन्न सकिन्छ। भाइरल ज्वरो भनेर निदान गर्न प्रयोगशाला परीक्षणबाट प्रमाणित भएको हुनुपर्छ। तसर्थ भाइरल ज्वरोको उपचार गर्दा ब्याक्टेरियल वा प्रोटोजोल संक्रमणलाई पनि तुलना गर्न बिर्सनु हुँदैन । यी जीवाणु पनि गर्मी तथा वर्षाको समयमा बढी देखिन्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च इकाईले गरेको अनुसन्धानमा ११ प्रतिशत ज्वरोको बिरामी पाइएको थियो। यो सानो तर महत्वपूर्ण अनुसन्धानले ज्वरोको सबै प्रकार भाइरलमात्र हुन सक्दैन भन्ने देखाउँछ।
ज्वरो आफैँमा लक्षणमात्र हो। यो लक्षण कुनै पनि जीवाणुका कारण देखिन सक्छ। यसलाई हेलचक्राइँ नगरी जतिसक्दो छिटो चिकित्सकको सल्लाह लिनु जरुरी छ।

लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक हुन्।

 

प्रकाशित: १८ भाद्र २०६८ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App