१९ जेष्ठ २०७७ सोमबार
विचार

‘मङ्गलमान’ मा प्रतिविम्बित युगकवि सिद्धिचरण

सन्दर्भ: युगकवि सिद्धिचरणको १०९ औँ जन्मजयन्ती

सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) नेपाली कवितामा क्रान्ति शब्दको प्रयोग गर्ने प्रथम क्रान्तिकारी कवि हुन्। क्रान्ति, परिवर्तन र समतामूलक समाजको निर्माण उनका कविताका केन्द्र हुन्। देशको माटो, नागरिकले लिएको बाटो र राजनीतिमा फैलिएको विकृतिको पाटोलाई केन्द्रमा राखेर चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा जति ठूलो योगदान दिए त्यो उल्लेखनीय छ। परिवर्तित समाजमा क्रान्तिको उद्घोष गर्ने स्रष्टाहरू जति पनि हुन सक्छन् तर स्रष्टाको मूल्याङ्कन ऊ बाँचेको युग वा उसले गरेको सिर्जनाको युगीन धरातलबाट हुनुपर्छ। यस आधारमा हेर्दा कवि सिद्धिचरणले राणा काल, प्रजातन्त्र काल र पञ्चायत काल तीनै समयमा एउटै आवाज उठाएको पाइन्छ। त्यो आवाज हो, क्रान्ति, परिवर्तन, जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृति आदि सबैखाले विभेदरहित समतामूलक समाजको स्थापना र प्रत्येक नागरिकमा परिवर्तनको अनुभूति तथा स्वाधीनतापूर्ण नेपाली जीवनको पहिचान।

नेपाली भाषा र नेपाल भाषाका गरी दुई दर्जनभन्दा बढी कृतिहरूका रचनाकार सिद्धिचरणको सफलता पद्य विधामा बढी देखिन्छ। कवि सिद्धिचरणले कविताका विविध रूपअन्तर्गत लघुतम रूप (मुक्तकीय रचना), लघु रूप (फुटकर कविता) र मध्यम रूप (खण्डकाव्य) गरी तीन ओटा रूपमा विशिष्ट कलम चलाएका छन्। त्यसमा पनि उनी फुटकर कवितामा र खण्डकाव्यमा अत्यन्त सफल बन्न पुगेका छन्। उनको कवित्वको चरम प्राप्ति फुटकर रचनामा पाइन्छ भने आख्यान र कवित्वको सन्तुलित मिश्रण खण्डकाव्यमा पाइन्छ। कवि सिद्धिचरण श्रेष्ठको ‘मङ्गलमान’ वैचारिक दृष्टिले सर्वोत्कृष्ट खण्डकाव्य हो। असनको त्यौडटोल निवासी मङ्गलमान नेपाली अछुतहरूको प्रिय नेताका रूपमा खण्डकाव्यमा उपस्थित छ। एउटा सामान्य मान्छे सामाजिक चेतना र जागरणका लागि कति फलदायी हुन्छ भन्ने कुराको जीवन्त उदाहरण मङ्गलमान हो। मङ्गलमान सामाजिक यथार्थ, वर्गीय समाजमा हेपिएको चरित्र, स्पष्ट विचार र दृढ अठोटको उदाहरण हो। यसका साथै न्याय निसाफ र जनविश्वासको केन्द्र हो। कामले मान्छेलाई तौलने हो भने मङ्गलमान एउटा उच्च, सम्मानित एवम् ऐतिहासिक व्यक्तित्व हो। तत्कालीन परिवेशमा हेपिएको यस चरित्रको महत्त्वलाई कवि सिद्धिचरणले बुझेर अगाडि सारेका छन्। असमान सामाजिक संरचनालाई पूर्णरूपमा भत्काएर तल्लो वर्गका लागि अनकूल हुने समाजको निर्माणमा लागेको मङ्गलमान निम्न वर्गीय जनताको आशाको केन्द्र बनेर समाजसेवामा लागेको देखिन्छ।  

युगौँयुगदेखि नेपाली समाजले यसको समूल अन्त्य चाहेको छ र त्यही समाजले यसलाई संरक्षण पनि गरिरहेको छ। यस्तो विकराल घडीमा मङ्गलमानले उठाएको छुवाछुत अन्त्यको आवाज नै कविको आवाज हो।

मङ्गलमान धेरै यथार्थ र थोरै काल्पनिक चरित्र हो तर उसको सामाजिक, सांस्कृतिक तथा क्रान्तिकारी चरित्रमा स्वयं सिद्धिचरण प्रतिविम्बित भएर आएका छन्। मङ्गलमान इतिहास, राजनीति, मानवीय संवेदना र करुणाको उदाहरण हो। तत्कालीन राजनीति, नेपाली समाज र मानवीय संवेदनाको अन्तिम रूप यसमार्फत पोखिएको छ। मङ्गलमान तल्लो वर्गका लागि उत्प्रेरक हो, आस्थाको केन्द्र हो, त्यागीहरूका लागि सचेतताको उद्बोधक हो, नेपाली राजनीतिको प्रतिविम्ब हो र सिद्धान्तनिष्ठ जनताका लागि एउटा तितो यथार्थ हो। नेपाली कविता परम्परामा कवि सिद्धिचरणको भूमिका पनि त्यही हो। मङ्गलमानले चाहेको समतामूलक समाज प्राप्तिको लडाइँ नेपाली भूमिमा आजसम्म पनि पूरा भएको छैन। फुलेपछि गमला बिर्सिने अथवा माथि पुगेपछि टेक्ने धर्ती बिर्सिने नेतृत्ववर्गको प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन। मङ्गलमानले छोडेर गएको भताभुङ्ग देश अहिले पनि जस्ताको तस्तै छ। विकृतिको समाप्तिका लागि एउटा झिल्को नै काफी हुन्छ तर विकृतिले संवेदनाशून्य शासकहरू जन्माउन थाल्यो, जड हृदय भएका मान्छेहरू जन्माउन थाल्यो र धोकापूर्ण राजनीतिको जाँतोले सिद्धान्त र नैतिकतालाई पिस्न थाल्यो भने मङ्गलमानजस्ता देशभक्तहरूले यसरी नै मर्नुपर्छ भन्ने कारुणिक यथार्थको उद्घाटन गरेर कवि सिद्धिचरणले साँच्चै युगीन आवाजको सम्प्रेषण यस काव्यमार्फत गरेका छन्। यही उनको तत्कालीन समाज र वर्तमान युगप्रतिको आफ्नो मुखबोली हो।  

कवि सिद्धिचरण श्रेष्ठले मङ्गलमानको कारुणिक मृत्युको कथा लेखेर उनलाई सधैँका लागि अजर–अमर बनाइदिएका छन्। यस्ता मङ्गलमानहरू अस्तित्वमा नआई अँध्यारोमा हराएर जान्छन्। कतिपयको नेपाली इतिहासमा नामोनिसान देखिँदैन। फूल, नदी, पहाड र गुलावी ओठहरूमा रमाउने कविकलमहरू मङ्गलमानको जीवन लेख्न भ्याउँदैनन्। यस अर्थमा पनि सिद्धिचरणको कलम न्यायदाता मात्र होइन, जीवनदाता पनि बन्न पुगेको छ। एउटा सिर्जनाले स्रष्टालाई जीवित बनाउँछ भने एउटा स्रष्टाले एउटा इतिहास वा यथार्थलाई युगौँयुगसम्म जिउँदो बनाइदिन्छ। कवि सिद्धिचरणले मङ्गलमानलाई साँच्चै जिउँदो बनाइदिएका छन्। एउटा चरित्रभित्र लुकेको अनन्त शक्ति वा सामथ्र्यले युगलाई नै ब्युँझाइदिन सक्छ, मान्छेलाई नैतिकता र संवेदनाको पाठ पढाउन सक्छ र सिङ्गो विश्वलाई राजनीतिक इमानदारिता र सुशासनको मार्गनिर्देश गर्न सक्छ भन्ने कुराको जीवन्त प्रमाण मङ्गलमान हो। यिनै भावगत व्यापकताभित्र कवि सिद्धिचरणको वैचारिक धरातल फैलिएको देखिन्छ।                

कवि सिद्धिचरण जनमुखी एवं लोककल्याणकारी राजनीतिक परिवेशका पक्षधर हुन्। ‘शक्ति र सामथ्र्य छउन्जेलसम्म प्रयोग गर र अशक्त भएपछि छाडिदेऊ’ यो नेपाली राजनीतिको सर्वमान्य दर्शन बन्दै गएको देखिन्छ। यही तितो धरातलमा नेपाली राजनीतिका कर्मठ कार्यकर्ता बाँचेका छन्। आशा र आश्वासन ती कार्यकर्ताको बाँच्ने आधार हो। यस्ता घटना नेपाली भूमिमा पटक पटक दोहोरिएका छन् तर नेतृत्ववर्गमा कुनै संवेदनशीलताको आभास पनि देखिँदैन। एक खुड्किलो माथि चढ्नासाथ तल्लो खुड्किलोमा रहेको आफ्नै साथीलाई समेत तुच्छ र क्षमताहीन देख्नु मानवीय चरित्रको घिनलाग्दो पक्ष हो। चाहे एउटा गाउँको मुखिया होस्, चाहे जेलको जेलर होस्, चाहे एउटा पार्टीको नेतृत्व तहमा बसेको व्यक्ति होस्, चाहे उच्च घरानियाँ वा जहानियाँ ठालुहरू हुन्, चाहे मन्त्री होस् र चाहे प्रधानमन्त्री नै किन नहोस् एउटा मान्छेले अर्को मान्छेलाई मान्छेको व्यवहार नगरेसम्म मानवताको मलामी मान्छे आफैँ हुन्छ भन्ने विचारका पक्षमा कवि सिद्धिचरण निर्भीकरूपमा उभिएका देखिन्छन्। नेपाली राजनीतिले जन्माएको यही मानवताको सङ्कटबाट नै कविमा मानवतावादी जीवन दर्शन जन्मिएको कुरा स्पष्ट थाहा पाइन्छ। शान्ति, न्याय र सुरक्षाको जिम्मा लिएर बसेका सेना र प्रहरीहरूले नै अमानवीय क्रियाकलापलाई बहन गर्न र प्रोत्साहन दिन थालेपछि अब मानवताको रक्षा कसले गर्छ भन्ने एउटा गम्भीर प्रश्न कविले मङ्गलमानमार्फत उठाएका छन्।

चेतनशील नेपाली युवाहरू वा सशक्त कार्यकर्ताहरू निरन्तर प्रयोग मात्र भइरहन्छन्। आन्दोलन, हडताल र जुलुसमा तिनीहरू राम्ररी प्रयोग हुन्छन्। कतिको ज्यान नै जान्छ, कति घाइते हुन्छन्, कति अङ्गभङ्ग हुन्छन् र कतिले जेलको कालकोठरीमा जीवन बिताउनुपर्छ तर त्यही त्यागको प्रतिफलस्वरूप आएको परिवर्तनमा खुसी मनाउनेहरू अरू नै हुन्छन् र ती त्यागका नमुनाहरू रछ्यानमा फ्याँकिन्छन्। एउटा निरङ्कुश शासकको अन्त्यका लागि वर्षौँ आन्दोलन गरिन्छ, हजारौँको ज्यान जान्छ र त्यो शासकको अन्त्य हुन्छ तर त्योभन्दा डरलाग्दा अरू दर्जनौँ शासकहरू जन्मिन्छन् भन्ने यथार्थलाई ‘ब्याक टु मङ्गलमान’ उखानको जन्मले अझै स्पष्ट पारेको छ।

नेपाली भूमिमा राजनीतिक परिवर्तनहरू नभएका होइनन्। राणाशासनको अन्त्य भएर प्रथम प्रजातन्त्र जन्मियो, प्रजातन्त्रको हत्या गरी पञ्चायतको आगमन भयो, पञ्चायती व्यवस्थाको अन्त्य गरी पुनः प्रजातन्त्रको आगन भयो। कवि सिद्धिचरणले यी सबै राजनीतिक आन्दोलन र परिवर्तनहरूलाई आफ्नै आँखाले देखे र आफ्नै जीवनले भोगे। यति मात्र होइन, सिद्धिचरणको अवसानपछि पनि नेपाली राजनीतिमा निकै ठुला ठुला जनयुद्ध र जनआन्दोलन पनि भए, साढे दुई शतकको इतिहास बोकेको राजसंस्था ढल्यो, लोकतन्त्र आयो र अहिले नेपाल गणतान्त्रिक शासनव्यवस्थाअन्तर्गत सञ्चालित छ तर कवि सिद्धिचरणले २०१८ मा गरेको यो उद्घोष जस्ताको तस्तै छ।

मन्त्रिमण्डल फेरिँदै गो फेरिएन देश
मेटिएन दुःखकष्ट मेटिएन क्लेष।  

कवि सिद्धिचरण समतामूलक नेपाली समाजका परिकल्पनाकार हुन्। तर, वर्गीय असमानता नेपाली समाज विभाजनको सबैभन्दा घिनलाग्दो र रिसउठ्दो पक्ष हो। उच्च वर्गले निम्न वर्गलाई गर्ने थिचोमिचो, अन्याय, अत्याचार र अमानवीय क्रियाकलापप्रति कवि सिद्धिचरणको सदैव विमति रहेको देखिन्छ। मङ्गलमानभित्र झाँगिएको विद्रोहको वृक्ष वर्गीय असमानताको बिउबाट उम्रिएको हो। गरिबप्रति सहानुभूति राख्ने र सबैका लागि समतामूलक समाजको सपना देख्ने मङ्गलमान शासकवर्गका लागि अभिशाप हो भने निम्नवर्गीय नेपाली जनताका लागि वरदान हो। पैसाका आधारमा मान्छेलाई तौलने र सम्पत्तिको विभाजक रेखा कोरेर मानवीय अस्तित्व र मर्यादामाथि शोषकीय धब्बा लगाउने उच्चवर्गीय परम्पराको कालो वर्तमान मङ्गलमानले भोगिरहेको छ। यदि मङ्गलमान उच्चवर्गको प्रशंसक, चाकरीवाज, सेवक र दासमनोवृत्ति भएको व्यक्ति थियो भने उसले यस प्रकारको कुनै पनि समस्या भोग्नुपर्ने थिएन तर ऊभित्र यस्तो सपना जागृत भयो जसभित्र निम्नवर्गका तमाम इच्छाहरू सल्बलाउन थाले र उसले पनि तिनै इच्छाहरूको स्वर्णिम अवतरणमा आफ्नो सुन्दर भविष्य देख्यो। त्यसैले कवि सिद्धिचरणको निष्ठाको प्रतिविम्ब त्यही मङ्गलमान हो।  

कवि सिद्धिचरण नेपाली समाजमा कलङ्कको रूपमा रहेको जातीय विभेद वा छुवाछुत प्रथाका घोर विरोधी हुन्। मङ्गलमान कविको मुखपात्र हो त्यसैले मङ्गलमानका मुखबाट कविका यसप्रकारका विचार प्रवाहित भएका छन्। नेपाली समाजबाट जातभात, छुवाछुत वा भेदभाव अन्त्य आवश्यक छ तर सम्भावना न्यून छ। युगौँयुगदेखि नेपाली समाजले यसको समूल अन्त्य चाहेको छ र त्यही समाजले यसलाई संरक्षण पनि गरिरहेको छ। यस्तो विकराल घडीमा मङ्गलमानले उठाएको छुवाछुत अन्त्यको आवाज नै कविको आवाज हो।  

नेपाली समाजका कथित उच्च जातिहरूले दलित वर्गलाई अछुत भनी पानी नै बारबार गर्ने परम्परा जहिल्यै जीवित छ। मङ्गलमानले यस कुप्रथाको अन्त्य गरेर मानवतापूर्ण नेपाली समाज स्थापनाको अभियान मात्र चालेको हो। अछुत भनी समाजबाट बहिष्कार गरिएका मानवहरूलाई उच्च सम्मान दिन सकियो भने त्यही धर्म हो, त्यही नै पूजा हो र मान्छे मान्छेमा बराबरीको भावना जागृत हुनु र मानवीय व्यवहार देखिनु नै मानव जीवनको सफलता हो भन्ने आफ्नो विचार स्थापनाका लागि कवि सिद्धिचरणले मङ्गलमानलाई मुखपात्रका रूपमा रोजेका हुन्।  
(प्राज्ञ परिषद् सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान)

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:५० शुक्रबार

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल