१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

कस्तो कोरोना रहेछ यो !

केही दिनअगाडि यो पंक्तिकारले मनमनै कोरोना भाइरस (सार्स कोभ–२) को विश्लेषण गरिरहेका बेला अचानक एक मित्रले ‘यो कस्तो कोरोना भाइरस रहेछ, अहिलेसम्म मानवीय क्षति गरेको देखिँदैन नि ?’ भन्दै मेरो एकाग्रता भंग गरे। कुनै पनि संक्रमितको मृत्यु हुनु पटक्कै राम्रो होइन तर यो जिज्ञासा थियो जुन हाल आएर बिस्तारै सबैको चासोको विषय बन्दै गइरहेको छ। विशेषतः विकसित देशहरूमा कोरोना भाइरसले व्यापक मानवीय क्षति गराइरहँदा नेपालमा यस्तो चासो विकसित हुनु आफैँमा नौलो भने होइन। तर यो पंक्तिकारले नेपालमा विभिन्न कारणले गर्दा कोरोना संक्रमणले विशेष गरेर चीन, युरोप र अमेरिकामा गरिएको जस्तो स्तरको मानवीय क्षति बेहोर्नुपर्दैन भन्ने अनुमान गर्दै आइरहेको थियो।  

तर यस्तै अनुमान गरिएका यो पंक्तिकारका लेख तथा अन्तर्वार्ताहरू पटक्कैपिच्छे आलोचित हँुदै जानुपरेको थियो र छ। यस्तो आलोचना सर्वसाधारण मात्र नभई सम्बन्धित विषयमा सरोकार राख्ने विज्ञहरूले समेत गर्दै आइरहेकामा आजको मितिसम्म आइपुग्दा नेपालमा मानवीय क्षति शून्य देख्दा आश्चर्यचकित र चासो लिँदै भाइरसको बनावट र प्रकृतिमाथि नै अनुसन्धान गर्ने पहल गरिरहेको सार्वजनिक भइसकेको छ। यद्यपि यही अरू कारणहरू जस्तै रोग प्रतिरोधात्मक क्षमता, जिनमा (नेपालीको) देखिने फरकपन, जलवायुको प्रभाव, संस्कृति, परम्परागत आनीबानी आदिलाई पनि खोज अनुसन्धानको विषय बनाउन सकिन्छ। यस्ता खोजबाट आउने नतिजा पक्कै पनि विश्वका लागि उपयोगी हुनेछन्।  

हालसम्म नेपालमा देखिएको कोरोना प्रमाणित १३४ जना सबैमा कडा कोभिड–१९ का लक्षण देखा परेको छैन।  

कोरोना भाइरस संक्रमित विजयीहरूका कथामध्ये ६५ वर्षीया बाग्लुङ निवासीको स्वास्थ्य अवस्था र द्रुत सुधार सबैका लागि चासो र प्रेरणादायक देखिएको थियो। ती संक्रमित १६ दिनसम्म अस्पताल रहँदा स्वास्थ्यमा जटिलता देखिन सक्ने अनुमान गरिएको थियो। हालसम्म विश्वमा कोरोना संक्रमित मृत्युसम्बन्धी उमेर समूहको तथ्यांक हेर्ने हो भने वृद्धवृद्धाको नै मृत्यु बढी भएको देखिन्छ। त्यसमा पनि दीर्घरोगीहरू बढी जोखिममा देखिन्छन्। यी बाग्लुङ निवासी संक्रमित उमेर हदले वृद्ध र लामो समयदेखि दीर्घ रोगसमेत भएकाले (उच्च रक्तचाप तथा दम) पनि स्वास्थ्यमा जटिलता आउन सक्ने अनुमान गर्नु स्वाभाविक पनि थियो।  

ती बाग्लुङ निवासी संक्रमितबाहेक नेपालमा अरु धेरै ६० वर्षमाथिका वृद्धवृद्धामा कोरोनाको संक्रमण देखापरेका भए पनि उनीहरू स्वयम् आफूलाई संक्रमित भएको वा बिरामी भएको अनुभूति गरेका देखिँदैनथे। अर्थात् उनीहरू आफूलाई संक्रमित भएको थाहा नपाएसम्म दैनिक क्रियाकलापमा नै ब्यस्त देखिन्थे। अर्को पक्ष, कतिपय कोरोना संक्रमित ज्येष्ठ नागरिकको परीक्षण गर्दा शरीरमा भाइरसको उपस्थिति युवाहरूको तुलनामा छोटो समय मात्र देखिएका थिए अर्थात् कतिपय संक्रमित युवाहरूको शरीरमा झण्डै एक महिनाको हाराहारीसम्म भाइरसको उपस्थिति निरन्तर पाइएको थियो।

विश्वमा दुई सय भन्दा बढी देशमा यो भाइरस पुगेसकेको भए तापनि विशेषतः युरोप तथा अमेरिकामा देखिएको कोरोना भाइरसले द्रुतगतिमा लाखौँलाई संक्रमित गरिरहेको र हजाराैँको मृत्यु गराइरहेकाले पनि त्यहाँको कोरोना भाइरस (स्ट्रेंन) बढी आक्रामक र मानवीय क्षति गराउने प्रकृतिको हो कि भन्ने अनुमान छ। हाल विश्वमा देखिएको कोरोना भाइरसको जिनको अध्ययन नतिजा हेर्दा पनि समयक्रमअनुसार थोरै थोरै परिवर्तन हुँदै गएको पनि देखिएका छन्। र, ठाउँअनुसार मृत्यु दर पनि कहीँ अत्यधिक त कतै शून्य दरमा हँुदा यस्ता अनुमान गर्नमा थप बल मिलेको पनि देखिन्छ।

आजको मितिसम्म आइपुग्दा न कसैलाई आइसियु र भेन्टिलेटरको आवश्यकता प¥यो न त कसैको यो संक्रमणको जटिलताको कारणले मृत्यु नै भयो।

तसर्थ ती बाग्लुङ निवासी संक्रमित युरोपबाट आएको, उमेर हदले ज्येष्ठ नागरिक र दीर्घरोगी पनि भएकाले स्वास्थ्यमा जटिलता आउन सक्ने सम्भावना अत्यधिक हुन सक्ने अनुमान स्वाभाविक पनि थियो। तर यसको ठीकविपरीत ती ज्येष्ठ संक्रमितको उपचारको अवधिभरि कुनै समस्या नदेखी अस्पतालबाट डिस्चार्ज हुँदा धेरैले यो कस्तो प्रकृतिको भाइरस रहेछ भनी जिज्ञासा राखेका थिए।  हालसम्म नेपालमा देखिएको कोरोना प्रमाणित १३४ जना सबैमा कडा कोभिड–१९ का लक्षण देखा परेको छैन। आजको मितिसम्म आइपुग्दा न कसैलाई आइसियु र भेन्टिलेटरको आवश्यकता पर्‍यो न त कसैको यो संक्रमणको जटिलताको कारणले मृत्यु नै भयो। यी अधिकांश संक्रमित कन्त्यक ट्रेसिङ गर्दै जाँदा कोरोना संक्रमण भएको पत्ता लागेका थिए। 

उनीहरूलाई उपचारका क्रममा कुनै विशेष औषधि दिइएको थिएन अर्थात् लक्षणका आधारमा उपचार गरिएको थियो। अझ केहीलाई त कुनै पनि औषधि नै नदिइकन पनि शरीरबाट भाइरस बिलिन भएको सार्वजनिक भएको थियो। तर कोरोना अति प्रभावित विकशित देशहरू भने कोभिड–१९ को लडाइँमा औषधिको खोजीमा भौतारिइरहेका छन्। हाल चीन, युरोप र अमेरिकामा कोरोनाको कारणले देखिएको भयाबह मानवीय क्षति र नेपालमा कोरोना संक्रमितहरूमा देखिएको सामान्य अवस्थाले पनि नेपालमा कस्तो कोरोना भाइरस देखिएको रहेछ भनेर सर्वत्र चासो बढेको छ।                      

हालै सफल उपचारपश्चात वा शरीरबाट कोरोना भाइरस बिलिन भयो भनेर पिसिआर प्रमाणित भई अस्पताल डिस्चार्ज भइसकेको अवस्थामा केहीमा भने भाइरस शरीरमा पुनः देखिँदा नयाँ बहस सुरु भएको छ। मानिसमा विशेष गरेर पुनः देखिएको भाइरस अरूमा पनि सर्ने त होइन भन्ने त्रास सिर्जना भएको छ। तर वैज्ञानिकहरू त्यस्तो अवस्थामा भाइरस पुनः देखा परे अर्को व्यक्तिमा नसर्नेमा विश्वस्त देखिन्छन् अर्थात् केही अनुसन्धानले त्यस्तो अवस्थामा देखेको भाइरस निष्क्रिय हुने गरेको नतिजाहरू प्रकाशित भएका थिए। यसबारे अझै विस्तृत अनुसन्धानका नतिजा आउन बाँकी हुँदै गर्दा यो भाइरसको यस्तो व्यवहारप्रति सबैको चासो बढेको छ।    

अन्तमा, एकपटक कल्पना गरौँ, आजको मितिसम्म कसैलाई पनि कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो देखिए मात्र प्रयोगशाला परीक्षण गर्ने भनिएको भए कोरोनाको अवस्था नेपालमा कस्तो देखिन्थ्यो होला ? त्यस्तो निर्देशिका नेपालमा पहिलो कोभिड–१९ को बिरामी पत्ता लागिसक्दासम्म पनि थियो। त्यस्तो निर्देशिका आजको मितिसम्म यथावत नै रहेको भए शायद कोरोनाको संख्या नेपालमा शून्य हुने थियो होला। किनभने नेपालमा हालसम्म देखिएका कोरोना संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य वा लक्षणविहीन थिए/छन्। याद राखौँ, अधिकांश नेपाली सामान्य लक्षण देखिए उपचारका लागि अस्पतालसम्म जाने चलन अहिले पनि छैन। अस्पताल नगए परीक्षण हुँदैनथ्यो र परीक्षण नभएको भए संक्रमण पत्ता लाग्दैनथ्यो। र, पत्ता नलागी आजको मितिसम्म आइपुगेको भए नेपाल विश्वको नक्सामा कोरोना मुक्त देशको लहरमा उभिने थियो होला। अनि आज हामी सबैले ‘कस्तो कोरोना रहेछ यो !’ भनेर बहस गरिरहेका हुन्थ्यौँ होला।

(संयोजक– क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल)  

प्रकाशित: ३१ वैशाख २०७७ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App