coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

वर्ण कसरी वंशानुगत भयो ?

नेपालमा वर्ण र जातको विषयमा जे/जति अध्ययन भएका छन् त्यो मूलभूतरूपमा सतही नै देखिन्छ। यस विषयमा ठूलो भ्रम छ। वर्ण र जातलाई पर्यायवाचीरूपमा बुझ्ने प्रचलन छ। वर्ण कसरी जातमा रूपान्तरण भए भन्ने विषयमा ठोसरूपमा अनुसन्धानमूलक खोज तथा अध्ययन पर्याप्त भएको जस्तो लाग्दैन। वर्ण कसरी वंशानुगत भए भने विषयमा बहस होस् भन्ने उद्देश्यले यो आलेख तयार पार्ने जमर्को गरिएको छ। प्राचीन इतिहासको जुन विन्दुमा वर्ण र जात निर्माण भयो त्यो विन्दुसम्म पुग्ने प्रयास गरिएको छ।  

पुष्यमित्र सुङ् र प्रतिक्रान्ति

इतिहास बदल्न सकिँदैन तर इतिहासलाई हेर्ने/बुझ्ने दृष्टिकोण बदल्न सकिन्छ। दक्षिण एसियाको प्राचीन इतिहास अरु केही होइन, बौद्ध धर्म र ब्राह्मणवादबीच जातीय संघर्षको इतिहास हो। यो ऐतिहासिक सत्यलाई सवर्ण इतिहासकारले अवहेलना गर्दै आइरहेका छन्। आमबहसमा पनि यो दृष्टिकोण कहीँ कतै सुनिँदैन। जात–व्यवस्थाका विषयमा अध्ययन गर्ने जोकोहीले बुझ्न जरुरी छ कि प्राचीन इतिहास ब्राह्मणवाद र बौद्ध धर्मको बीचमा श्रेष्ठताको संघर्षको इतिहास हो। उक्त प्राचीन इतिहास मौर्य सम्राट (चन्द्रगुप्त मौर्यदेखि बृहद्रथ मौर्य) को इतिहाससँग जोडिएको छ जसको ज्ञानको आभावमा वर्णको रूपान्तरण जातिमा कसरी भयो भन्ने कुरा बुझ्न कठिन हुन्छ। मौर्य साम्राज्यको इतिहासलाई संक्षेपमा चर्चा गराैँ।  

वर्ण पद र व्यवसाय दुवै दृष्टिकोणबाट वंशानुगत छैन् तर जातिमा पद र व्यवसाय दुवै वंशानुगत हुन्छ।

 

चन्द्रगुप्त मौर्यले जुन क्रान्ति गरेका थिए त्यो मूलतः मगधको नाग साम्राज्यको पुनस्र्थापना थियो। पछि अशोक सम्राटले आफ्नो पराक्रमबाट विशाल साम्राज्य निर्माण गरे। अशोकले आफ्नो साम्राज्यभरि बौद्ध धर्मलाई राजकीय धर्म घोषित गरे जसको कारण ब्राह्मणवादलाई ठूलो आघात भयो। ब्राह्मण समाजले राज्यको संरक्षण गुमायो। ब्राह्मणको दर्जा गौण तथा अधीनस्त हुन गयो। अशोकले सबै प्रकारको पशुबलिमाथि रोक लगाए। पशुबलि ब्राह्मणको जीविकोपार्जनको मूल आधार थियो। ब्राह्मणको यज्ञ कर्मको व्यवसायमाथि पनि प्रतिबन्ध लाग्यो। मौर्य साम्राज्यको शासनकाल लगभग १४० वर्षसम्म चल्यो। समता, स्वतन्त्रता र भातृत्वको वैचारिक मूल्यको आधारमा शासन सञ्चालन हुन्थ्यो। मौर्य शासनकाललाई स्वर्ण युगका रूपमा व्याख्या गरिन्छ। ब्राह्मणवादी विचारधारालाई लगभग नेस्तनामुद गरिदिएको थियो। जसले गर्दा ब्राह्मण समाजसँग विद्रोह गर्ने विकल्प मात्र शेष थियो।  

मौर्य साम्राज्यविरुद्ध विद्रोहको नेतृत्व पुष्यमित्र सुङ्ले गरे। पुष्यमित्र सुङ् गोत्रका थिए। सुङ्हरू सामवेदी ब्राह्मण हुन्थे जसले पशुबलि र सोमबलिमा विश्वास गर्थे। पशुबलि प्रतिबन्ध भएको हुनाले सुङ्हरूलाई अनेकौँ कष्ट सामना गर्नुप¥यो। पुष्यमित्रले बौद्ध साम्राज्यविरुद्ध विद्रोह गरी बृहद्रथलाई छलपूर्वक राज्यहत्या गरी प्रतिक्रान्तिको सुरुवात गरे। पुष्यमित्रले बौद्ध साम्राज्य र बौद्ध धर्मलाई निर्ममतापूर्वक दमन गरे। दमनको पुष्टि बौद्ध भिक्षुको विरुद्धमा गरेको घोषणाबाट सहजै अनुमान लगाउन सकिन्छ। पुष्यमित्रको प्रतिक्रान्तिको उद्देश्य बौद्ध धर्मको विनाश र त्यसको स्थानमा ब्राह्मणवाद स्थापना गर्नु थियो। ब्राह्मणवादको विधि–संहिताका रूपमा मनुस्मृति लागु गर्नु थियो। मनुस्मृति ब्राह्मणवादको दर्शण–ग्रन्थका रूपमा मान्यता प्राप्त छ।

मनुस्मृतिको रचनाकाल  

मनुस्मृतिलाई ईश्वरीय कृति भन्छन्। भनिन्छ, स्वयंभू (अर्थात ब्रह्मा) ले मनुलाई सुनायो र पछि मनुले मनुष्यलाई सुनायो। उक्त दाबी मनुस्मृतिमै गरिएको छ। प्राचीन इतिहासमा मनु आदरका पात्र थिए। मनुस्मृतिलाई गौरव प्रदान गर्ने उद्देश्यअनुरूप मनुलाई यसको रचयिता भनेको हुनुपर्छ जबकि मनुस्मृतिका रचयिता सुमित भागर्व थिए। सुमित काल्पनिक नभई ऐतिहासिक व्यक्ति थिए। मनु सुमित भार्गवको छद्म नाम हो। सुमित भार्गव मनुस्मृतिको रचना इसापूर्व १७० र १५० को बीचमा गरे। यसको नाम जानीबुझी मनुस्मृति राखियो। पुष्यमित्रले बौद्धका विरुद्ध ब्राह्मणवादी प्रतिक्रान्ति सुरुवात इसापूर्व १८५ मा गरेका थिए। बौद्ध राज्यविरुद्ध प्रतिक्रान्तिको सिद्धान्तलाई मनुस्मृतिले मुर्त रूप प्रदान गरे। पुष्यमित्र सुङ्को आदेशमा सुमित भार्गवले मनुस्मृति रचेका थिए।  

पुष्यमित्रको प्रतिक्रान्तिपश्चातको घटनाक्रम चाखलाग्दो हुन सक्छ। विजयको उन्मादमा ब्राह्मणवादको दुष्कर्मबारे बाबासाहेब डा. अम्बेडकर लेख्छन्– १) प्रतिक्रान्तिले ब्राह्मणलई शासन गर्न र राज्यहत्या गर्ने अधिकार प्रदान गर्‍यो, २) ब्राह्णलाई विशेषाधिकार प्राप्त वर्ग निर्माण गर्‍यो, ३) वर्णलाई जातिमा रूपान्तरण गर्‍यो, ४) विभिन्न जातिबीच संघर्ष र समाज विरोधी भावनाको जन्म दियो, ५) शुद्र र महिलालाई निम्न दर्जा प्रदान गरे, ६) वर्णमा आधारित असमान प्रणाली निर्माण र ७) समाज–व्यवस्थालाई कानुनी र कट्टर बनाए जुन पहिला पारम्परिक तथा परिवर्तनशील थियो। यो आलेखमा वर्णलाई जाति (वंशानुगत) मा कसरी रूपान्तरण गरे भने विषय उठाउन खोजिएको छ।  

वर्ण कसरी वंशानुगत भयो ?  

वर्णलाई जातिमा परिवर्तन गर्ने काम विशाल तथा स्वार्थपूर्ण थियो। वर्णलाई जातिमा परिवर्तन गर्ने उद्देश्यलाई गौण राखियो। वर्ण र जातिको सम्बन्धमा मान्छेमा ठूलो भ्रम छ। कतिपय वर्ण र जातिलाई एउटै मान्छन् भने कतिपयले फरक मान्छन्। फरक दृष्टिकोणको पछाडि अन्तरविवाह निषेधको तर्कले काम गरेको देखिन्छ। वर्ण र जातबीच समानता र असमानताको तत्वमाथि विचार गरौँ। वर्ण र जाति कानुनी अर्थमा एकअर्काका पर्यायवाची हुन्। दुवैको अभिप्राय पद र व्यवसायसँग छ। पद र व्यवसाय दुवै यस्तो अवधारणा हो जुन वर्ण र जाति दुवैमा अन्तरनिहित छ। साथै, वर्ण र जाति दुवैको विशेष महत्व पनि छ जसका कारण एउटा अर्र्कोसँग भिन्न पनि छ। वर्ण पद र व्यवसाय दुवै दृष्टिकोणबाट वंशानुगत छैन् तर जातिमा पद र व्यवसाय दुवै वंशानुगत हुन्छ। पुत्रले आफ्नो पिताबाट प्राप्त गर्छ। ब्राह्मणवादले वर्णलाई जातिमा परिवर्तन गर्नुको मूल उद्देश्य पद र व्यवसायलाई वंशानुगत बनाउनु थियो।  

जातिका रूपमा वर्णको रूपान्तरण तीन चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा व्यक्तिको वर्ण अर्थात पद र व्यवसाय निश्चित अवधिका लागि हुन्थ्यो। दास्रो चरणमा व्यक्तिको वर्णमा निहीत पद र व्यवसाय जीवनकालसम्म रहन्थ्यो। तेस्रो चरणमा वर्णको पद र व्यवसाय वंशानुगतमा रूपान्तरण भयो। कानुनी शब्दमा भन्नुपर्दा वर्णद्वारा प्रदत्त सम्पदा सुरुमा मात्र एउटा निश्चित अवधिका लागि थियो। त्यसपछि जीवनभरि लागु भयो र अन्तमा संपदा वंशानुगत भयो।  

वर्णको वंशानुगत प्रक्रिया  

वर्णको वंशानुगत प्रक्रिया अधिकारीको टोलीद्वारा निर्धारण गर्ने चलन थियो जसलाई मनु र सप्तर्षि भन्थे। मनुले क्षत्रीय र वैश्यका लागि योग्य हुने व्यक्ति छनोट गर्थे भने सप्तर्षिले ब्राह्मण हुन योग्य व्यक्ति छनोट गर्थे। मनु र सप्तर्षिले ब्राह्मण, क्षत्रीय र वैश्यका लागि योग्य हुने व्यक्ति छनोट गरेपछि बाँकी छनोटमा नपरेकालाई शुद्रको दर्जा प्राप्त हुन्थ्यो। यस प्रक्रियाबाट जुन वर्ण–व्यवस्था निर्माण हुन्थ्यो त्यसको अवधि एक युग अर्थात चार वर्षको हुन्थ्यो।  

हरेक चार वर्षमा अधिकारीको नयाँ दल नयाँ चुनाव गर्नका लागि नियुक्ति हुन्थ्यो। अधिकारीको पद संज्ञा मनु र सप्तर्षि नै राख्ने चलन थियो। पहिला छनोटमा नपरेका शुद्र ब्राह्मण, क्षत्रीय र वैश्यका रूपमा छनोट हुन्थे र ब्राह्मण, क्षत्रीय र वैश्यका रूपमा छनोट भएकाहरू शुद्र हुन्थे। यस प्रक्रियाबाट निर्माण भएको वर्णको अवधि चार वर्षका लागि हुन्थे। हरेक चार वर्षपछि मान्छेको वर्ण परिवर्तन हुन्थ्यो। व्यक्तिको चुनाव उसको मानसिक, शारीरिक अभिरुचि तथा व्यवसायका आधारमा हुन्थ्यो। निश्चित समयसीमामा वर्णको अदला–बदलीलाई ‘मन्वन्तर’ भन्ने चलन थियो।

मन्वन्तरपछि गुरुकल–पद्धति सुरु भयो। गुरुकूल एक किसिमको विद्यालय जस्तै थियो। गुरुकूलको जिम्मेवारी गुरुमाथि हुन्थ्यो जसलाई आचार्य भन्थे। गुरुकूल शिक्षा प्राप्तिको केन्द्र थियो। गुरुकूल सबैका लागि खुला थियो। शिक्षाको अवधि १२ वर्षसम्म हुन्थ्यो। शिक्षा अवधि पूरा भएपछि महत्वपूर्ण उपनयन समारोह आयोजना हुन्थ्यो। उपनयन समारोहमा आचार्यले प्रत्येकको वर्ण निश्चित गरी आफ्नो वर्णको कर्तव्य पूरा गर्न समाजमा पठाइन्थ्यो। मनु र सप्तर्षिको ठाउँमा गुरुकूल पद्धति श्रेष्ठ थियो। यो प्रक्रियामा पनि वर्ण निर्धारण तटस्थ तथा स्वतन्त्र सत्ताद्वारा हुन्थ्यो। यसमा पूर्व प्रशिक्षणको प्रक्रिया नयाँ थियो। प्रशिक्षणबाट व्यक्तिको व्यक्तित्व निर्माण हुन्थ्यो। गुरुकूल पद्धतिमा वर्णको अवधि जीवनपर्यन्तका लागि थियो तर तर वंशानुगत थिएन।

ब्राह्मणवादी गुरुकूल पद्धतिबाट सन्तुष्ट थिएन। यस पद्धतिमा ब्राह्णलाई शुद्र घोषित गर्ने परम्परा नियमित नै थियो। वर्णलाई वंशानुगत बनाउन चाहन्थे। वर्णको वंशानुगतबाट मात्र ब्राह्मणको बच्चालाई शुद्र हुनबाट बचाउन सकिन्थ्यो। जसका कारण सबभन्दा पहिला गुरुकूल पद्धति खारेज गरे। गुरुकूलमा बच्चालाई प्रशिक्षण दिने काम हुन्थ्यो। प्रशिक्षण गराउन सक्ने सक्षम अधिकारीका रूपमा गुरुको सत्तालाई समाप्त गरी गुरुको स्थानमा बालकका पिताबाट उपनयन कार्य सुरु गरे। मनुको विधानमा उपनयनको अर्थ र संस्थाको प्रयोजन परिवर्तन भयो। उपनयनको साथ–साथ प्रशिक्षणको मूल उद्देश्य उल्टाइयो।  

उपनयनको विषयमा जुन मुख्य परिवर्तन गरे त्यो उपनयन गराउने अधिकार गुरुबाट खोसेर पिताबाट गर्न लगाइयो। पितालाई आफ्नो पुत्रको उपनयन गर्ने अधिकार प्राप्त भइसकेपछि पुत्रलाई आफ्नै वर्ण दिने चलन सुरु भयो। वर्ण निर्धारण पिताबाट हुन थाल्यो। यसरी ब्राह्मणवादले उपनयनको अधिकार गुरुबाट खोसेर पितालाई दिएर वर्णलाई वंशानुगत जातिमा रूपान्तरण गर्न सफल भए। पुष्यमित्रको उद्देश्य बौद्ध शासनकालमा पतन भएको वर्ण–व्यवस्थालाई उद्धार गरी अझ अगाडि बढेर वर्णलाई जातिमा परिवर्तन गरी वंशानुगत बनाए र ब्राह्मणलाई गैरब्राह्मणको प्रभावबाट मुक्त गरे। मूल निवासी गैरब्राह्मणलाई विभिन्न जातिमा विभाजन गरी क्रमिक असमानताको बीऊ रोप्न सफल भए।  

(अम्बेडकरी तथा बहुजन अध्येता) 

प्रकाशित: ३० वैशाख २०७७ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App