१७ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

कोभिड परीक्षणमा प्राविधिक विज्ञता

सन् २०२० जनवरीको १८ मा चीनको वुहानबाट पहिलो शंकास्पद संक्रमित व्यक्ति नेपाल आए । त्यसपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आनुवंशिक अनुसन्धान गर्ने निजी संस्था, सेन्टर फर मलिक्युलर डायनामिक्स नेपाल (सिएमडिएन)लाई परीक्षण गर्न अनुरोध गरेको थियो । सिएमडिएनले कोरोनाभाइरस प्रजातिको विषाणु हो भनेर पत्ता लगाएको थियो । अन्य केही देशमा जस्तै नेपालमा पनि नोभेल कोरोना भाइरसको पहिलो संक्रमण भएको शंका गरिएको थियो । यो नमुनालाई थप पुष्टि गर्न आवश्यक भएकाले हङकङमा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को प्रयोगशालामा पठाइएको थियो । त्यसले जनवरी २४, २०२० मा पुष्टि गरेको थियो । सिएमडिएनको प्रयोगशालामा गरिएको डिएनए सिक्वेन्सिङले पनि स्वतन्त्ररूपमा त्यही निष्कर्ष निकाल्न पहल गरेको थियो । जनवरीको अन्त्यतिर सिएमडिएनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) का कर्मचारीलाई सार्स सिओभी–२ पत्ता लगाउन आरटी–पिसिआर परीक्षण विधि सञ्चालन गर्न मद्दत गरेको थियो ।

‘प्रेडिक्ट’ युएसएआइडीबाट सहयोग प्राप्त अनुसन्धान परियोजना हो । यो विश्वव्यापी पहलस्वरूप हामी बस्ने वातावरणको सन्दर्भमा जनावरबाट मानवमा सर्ने (र यसको विपरीत) रोगको बारेमा जानकारी राख्दै सार्स, मर्स, इबोला जस्ता रोगको महामारीको भविष्यवाणी गर्न, त्यस्ताको सामना गर्न तयार रहन र नियन्त्रण गर्न आएको थियो ।  प्रेडिक्ट–नेपालले नेपालमा सन् २००९  देखि ८  वर्षभन्दा बढी समयसम्म विश्वव्यापी महामारी जोखिम अनुसन्धानमा काम गरेको छ । त्यस समयमा, सिएमडिएनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय पशु चिकित्सा प्रयोगशाला (सिभिएल) र एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) सँग राष्ट्रिय साझेदारीमा काम गरेको थियो ।

सिएमडिएनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) का कर्मचारीलाई सार्स सिओभी–२ पत्ता लगाउन आरटी–पिसिआर परीक्षण विधि सञ्चालन गर्न मद्दत गरेको थियो ।

एनपिएचएलले आफ्नो पूर्ण क्षमताका साथ कोभिड–१९ को संक्रमण गर्ने सार्स–सिओभी–२पत्ता लगाउन अथक प्रयास गरिरहेको छ र सोको परीक्षण आफ्नो क्षमता भन्दा बाहिरको भएमा थप मद्दत चाहिन्छ भनेर स्वीकारेको छ । डब्ल्युएचओका दिशा निर्देशनहरू र अमेरिकाको सिडिसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र) को सिफारिसअनुसार भाइरसलाई निष्क्रिय पार्न जैविक सुरक्षा विधि अपनाइएको कोठामा गर्न सकिन्छ । त्यसैले बायोसेफ्टी लेभेल (बिएसएल) २ मापदण्ड भएको संरचना पर्याप्त छ ।  देशमा  बिएसएल २ मापदण्ड लागु भएका केही प्रयोगशाला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), सिभिएल, वारुण, त्रिभुवन विश्वविद्यालय र सिएमडिएन हुन् जसले थप परीक्षणका लागि मद्दत गर्न सक्छ।

सिएमडिएनसँग जैविक सुरक्षा विधि अपनाइएको साथै विशेषज्ञ र जनावरबाट मानिसमा हुने संक्रमण गर्ने जीवाणु÷विषाणुको नमुना संकलन गर्न, पत्ता लगाउन र यसको चरित्रचित्रण गर्न आवश्यक उचित व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को प्रयोगदेखि लिएर अनुवांशिक उपकरण ( डिएनए सिक्वेन्सिङ) हरू प्रयोग गरी जीवाणु÷विषाणुको प्रजाति पत्ता लगाउने काममा धेरै वर्षको अनुभव छ । यसबाहेक त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा बिएसएल–२ प्रयोगशालासहितको भाइरोलोजी प्रयोगशाला रहेको छ जहाँ नेपालको डेँगुको पहिलो केसको आनुवांशिक विश्लेषण गरिएको थियो । हाम्रो परीक्षण गर्ने क्षमता डब्ल्युएचओको निर्धारित दिशा निर्देशनअनुसार मात्रै सीमित हुनुहुँदैन । एकद्वार नीति महत्वपूर्ण छ तर अन्य संस्थालाई व्यापक परीक्षणको अनुमति दिइ हाम्रो कार्यलाई सहयोगको साथ दोहोरो जाँच गर्न  र सम्भव भएसम्म प्रमाणका साथ रोगलाई समावेश गर्न  हामीमा विश्वास हुनुपर्छ ।

यसबाहेक, नेपालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र  सिएमडिएन जस्ता सार्वजनिक र निजी निकायमा भाइरल आरएनए वा डिएनएको अनुवंश अनुक्रमण (डिएनए सिक्वेन्सिङ) गर्ने क्षमता उपलब्ध छ। हामीले सेङ्गर सिक्वेन्सिङ, नेक्स्ट जेनरेसन सिक्वेन्सिङ (एनजिएस) वा अक्सफोर्ड नानोपोर टेक्नोलोजी मिनायोन जस्ता सिक्वेन्सिङ उपकरणहरू प्रयोग गरी संक्रमणको अत्यधिक शंका गरिएको र मृत्यु भएको व्यक्तिको संक्रमणको स्थिति पत्ता लगाउन सक्छौँ । यदि भाइरसको अनुवंश सिक्वेन्सिङ गर्न सकेमा र सार्स–सिओभी–२ को प्रजाति हो भन्ने प्रमाण भएमा यो संक्रमण पुष्टि गर्ने अर्को विधि हो।

एनपिएचएलले आफ्नो पूर्ण क्षमताका साथ कोभिड–१९ को संक्रमण गर्ने सार्स–सिओभी–२पत्ता लगाउन अथक प्रयास गरिरहेको छ र सोको परीक्षण आफ्नो क्षमता भन्दा बाहिरको भएमा थप मद्दत चाहिन्छ भनेर स्वीकारेको छ ।

हामीले संक्रमित नमुनाहरूको सम्पूर्ण अनुवंश सिक्वेन्सिङ र फाइलोजिनी अध्ययन गरेर भाइरसको उत्पत्ति र विकासर विस्तारका बारेमा पत्ता लगाउन सक्छौँ । हामीले फ्रान्सको विद्यार्थीलाई भाइरसले फ्रान्समै संक्रमण ग¥यो वा कतारको ट्रान्जिटमा ग¥यो भनेर बुझ्ने प्रयास गर्न सक्छौँ । देशभरमा आपत्कालीन रोगको प्रतिक्रिया सुविधा स्थापना गरेमा यो अनुसन्धान समानरूपमा गर्न सकिन्छ ।

संक्रामक रोग विशेषज्ञहरूले चेतावनी दिएअनुसार स्रोतहरूको अभावका कारणले गर्दा केही प्रोटोकल मात्र अपनाउनु भन्दा प्रारम्भिक रोकथाम गर्नु नै उचित हुन्छ । जुन देशले सुरुमा महामारीलाई गम्भीरताका साथ लिएका थिएनन्, त्यस्ता देशले जसरी आपत्कालीन कदम चालेका थिए, नेपाल त्यो हैसियतमा  छैन । 

अन्ततः जो वास्तवमै बिरामी छन् उनीहरूलाई अस्पतालको विशेष सहयोग आवश्यक पर्छ । र, त्यस विन्दुमा उनीहरूका क्लिनिकल लक्षणहरूबाट मात्र पनि सम्भावित पोजेटिभ कोभिड–१९ का रूपमा लिनुपर्छ । तथापि मानिस जसको लक्षण देखिएको छैन वा  हल्का लक्षण देखाएको छ  तर परीक्षण प्राप्त गरेको छैन वा गलतरूपमा संक्रमण नभएको परिणाम प्राप्त गरेको छ, उनीहरू कोभिड–१९ संक्रमित छन् भनेर सोच्दैनन् । उनीहरू नै आफ्नो दैनिकीमा बढी लापरबाह हुन सक्छन् ।

सातवटा प्रान्तको प्रयोगशालाहरूमा आरटी–पिसिआर स्थापना गरेर र द्रुत परीक्षण किटहरूको प्रयोग गर्दै कोभिड–१९ का परीक्षणहरू सञ्चालन गर्नु समयको आवश्यकता हो । यद्यपि यसलाई सफल बनाउनका लागि चिकित्सक र प्राविधिकहरूसँग पर्याप्त परीक्षण र त्रुटिमा आधारित प्रशिक्षण हुनु उत्तिकै महत्वपूर्ण छ । त्यसैगरी, पिपिइ र बिएसएल २ का उचित जैविक सुरक्षा विधिका सतर्कताको सकेसम्म कडारूपमा पालना गर्नुपर्छ । कुनै पनि त्रुटिपूर्णरूपमा संक्रमण नदेखिएको नतिजा (फल्स नेगेटिभ) वा संक्रमण भएको अत्यधिक सम्भावना भएको व्यक्तिको संक्रमण नभएको भनी नतिजा आएको अवस्थामा दोस्रो पटक पनि परीक्षण गर्नुपर्छ । त्यसका लागि उचित नमुना संकलन, सेरोलोजिकल परीक्षण, आनुवंशिक अनुक्रमण (डिएनए सिक्वेन्सिङ) जस्ता विभिन्न विधि प्रयोग गरी पुनः प्रमाणित गर्न पठाउनुपर्छ । नेपालमा बन्दाबन्दी समाप्त भएपछि अचानक रोगको महामारीको सामना गर्न नपरोस् भनेर सार्वजनिकरूपमा यो देशको यथार्थपरक अवस्था बुझ्न र सक्रिय रोगको रोकथामका लागि अहिलेको महत्वपूर्ण समयमा सही जानकारी अति आवश्यक छ ।

देशले यस महामारीको अनुभवबाट यो महसुस गर्न आवश्यक छ कि परीक्षणहरू सञ्चालन गर्न उपकरणहरूले मात्रै पर्याप्त हुँदैन तर यसका लागि भाइरोलोजिस्ट, मोलिक्युलर बायोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, भौतिकशास्त्री, इपिडिमियोलोजिस्ट र बायोइन्फर्मेिट्रसिएन जस्ता उच्च कुशल वैज्ञानिकहरूमा र अनुसन्धानमा लगानी गर्नुपर्छ  जसले  पूर्वाधारको उद्देश्य पूरा र सही उपयोग गरी सक्षम हुन्छन् । यसबाहेक, भविष्यको प्रकोपको तयारीका लागि हामीले बायोइन्फमेट्रिसिएन वा कम्प्युटेसनल बायोलोजिस्टको एक अग्रसर टोली खडा गर्नु आवश्यक छ जसले नयाँ रोगको विश्लेषणसहितको अनुवांशिक प्रजाति र उत्पत्तिसम्बन्धी सही सूचना प्रवाह गरी सोको सकेसम्म छोटो अवधिमा जनतालाई तत्काल सचेत गर्न सक्छ । 

अन्य नीति विज्ञहरूले आवाज उठाएअनुसार नेपाललाई सरकारी र निजी क्षेत्र दुवै पक्षका विभिन्न वैज्ञानिक पृष्ठभूमिहरूका वैज्ञानिक समावेश भएको समुदाय चाहिन्छ जसले देशको हितका लागि स्वस्थ छलफल गर्न सक्षम हुन्छ। नीति स्तरमा पर्याप्त अनुसन्धानको भाषिक अनुवादले ज्ञानमा आधारित निर्णय गर्न सक्नुपर्छ । हाम्रो सरकार अन्तिम निर्णयकर्ता भएकाले विज्ञको अनुसन्धानमा आधारित भएर दिएको सुझावलाई विश्वास गर्नुपर्छ । हाम्रो राष्ट्रिय स्वास्थ्य सुरक्षाको प्राथमिकता यी प्रयत्नमाथि गरिने निरन्तरको लगानीसँग मिल्नुपर्छ। र, यसलाई वैज्ञानिक समुदायको आवश्यकताका रूपमा मात्र लिनुहुँदैन ।

चीन आफैँले एकदमै कठोर उपायहरू निकालेर ७६ दिनमा नै वुहानमा रोग फैलिनबाट रोक्न सक्षम भयो । इटालीमा बन्दाबन्दी भएको एक महिना भन्दा बढी भएतापनि मृत्युदरमा थोरै मात्रै सुधार भएको छ । विश्वको  शक्तिशाली देश अमेरिका आफैँ महामारीलाई नियन्त्रण गर्न कडा संघर्ष गरिरहेको छ । विडम्बनाको कुरा के छ भने ट्रम्प प्रशासनले सन् २०१८ मा राष्ट्रिय सुरक्षा परिषद्भित्र रहेको महामारीको प्रतिकार्य संयोजन टोली हटाएको थियो। यति धेरै चुनौती आउन सक्ने महामारीमा नेपाल जस्तो विकासोन्मुख देशले बढी सतर्कता अपनाएन भने त्यसबाट जोगिन सक्ला त ?
(बायोकेमेस्ट्रीमा विद्यावारिधि तथा बायोभ्याक नेपालसँग आबद्ध)

प्रकाशित: १५ वैशाख २०७७ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App