१८ असार २०८१ मंगलबार
image/svg+xml
विचार

उज्यालो दिनको अपेक्षा

लोकतन्त्र दिवसको अवसर पारेर स्थापना भएको मुलुकको अग्रणी प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ११ वर्ष लामो यात्रा पूरा गरेको छ। नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दूरगामी महत्वका यी वर्षमा हाम्रा प्रकाशनहरूले नजिकैबाट साक्षी बन्ने अवसर पाएका छन्। जनआन्दोलन २०६२/०६३ को समाप्तिसँगै मुलुकबाट १० वर्षे ‘जनयुद्ध’ समेत अन्त्य भएपछि उदाएको एउटा भिन्न परिवेशमा हामी यो प्रकाशन संस्थालाई लिएर पत्रकारिता क्षेत्रमा आएका हौं। त्यसअघि पनि हाम्रो पत्रकारिता क्षेत्रमा अर्कै प्रकाशन संस्था मार्फत क्रियाशीलता रहेको विज्ञ पाठकलाई थाहै छ।

लामो समय लोकतान्त्रिक आन्दोलनमा सक्रिय दल र सशस्त्र विद्रोहबाट शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरेका शक्तिको पहलमा मुलुकमा नयाँ संविधान लेख्ने बेलाको सकसलाई समेत हामीले निकटबाट नियालेका छौं। यसबीच हामीले महाभूकम्पको सामना गर्नुप¥यो। भूकम्पले अत्यास लागेकै बेलामा संविधान जारी गर्नेतर्फ सबै दलहरूको सहकार्य सुरु हुँदा पनि हामीले रचनात्मक योगदान गरेका छौं।  ढिलो–चाँडो मुलुक सकारात्मक बाटोतर्फ उन्मुख भएकै हो। संविधान जारी भई राज्य पुनर्संरचनाका काम मात्र भएनन् सँगै पुनर्निर्माणका काम पनि जारी रहे। भूकम्प र संविधान निर्माण दुवै घटना समकालीन नेपालका सर्वाधिक प्रभाव पार्ने घटना हुन्। यी दुवै घटना भएको पनि आज पाँच वर्ष पूरा भएको छ। 

हामी हाम्रो ११औं वार्षिकोत्सव यस्तो विषम परिस्थितिमा मनाउँदैछौं जतिबेला व्यक्ति–व्यक्तिबीच समेत भौतिक दूरी कायम गर्नुपर्ने अवस्था छ। कोरोना भाइरस संक्रमणका कारण मुलुक ‘लकडाउन’ मा रहेको महिना दिन पुगेको छ। यो अवस्थामा हामीले हाम्रा प्रकाशनलाई निरन्तरता दिनु नै चुनौतीपूर्ण भएको छ। संक्रमणका बेला भ्रमपूर्ण सामग्रीको आधिक्य हुन्छ। त्यसकारण पनि हामीले हाम्रा समाचार र विचारलाई तथ्यपूर्ण बनाउन निरन्तर कोसिस गरेका छौं। हाम्रा अनलाइन संस्करणलाई सशक्त तुल्याउँदै छापा प्रकाशनलाई समेत निरन्तरता दिएका छौं। 

विगतमा हामीले प्रत्येक वार्षिकोत्सवका बेला पत्रकारिता क्षेत्रको विकासका निम्ति कुनै न कुनै कोसेढुंगा स्थापित गर्दै आएका थियौं। यसपटक हामी नयाँ योजना प्रस्तुत गर्न सक्ने अवस्थामा छैनौं। तथापि, पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील भई योगदान गर्ने प्रतिबद्धतामा हाम्रो कुनै कमी आएको छैन। हामी यस क्षेत्रमा हामीले बसाएको जग थप बलियो बनाउन आगामी दिनमा क्रियाशील हुनेछौं। स्थिति अनुकूल भएपछि हाम्रो गति अझै बढ्ने निश्चित छ। 

सुशासनबिना लोकतन्त्र फस्टाउन सक्दैन। यसकारण हामीले निरन्तर भ्रष्टाचारविरुद्ध नागरिक खबरदारी गर्दै आएका छौं। नेपाल आयल निगमको जग्गा खरिददेखि वालुबाटारको सार्वजनिक जग्गा व्यक्तिका नाममा गरिएको प्रकरणसम्ममा हामीले आफूलाई अग्रपंक्तिमा राखेका छौं। नीतिगत भ्रष्टाचारका अनेकन घटना यसबीचमा हामीले उजागर गरेका छौं। भ्रष्टाचारविरुद्धको हाम्रो खबरदारी निरन्तर छ, रहिरनेछ। लोकतन्त्रको सच्चा पहरेदारका रुपमा आगामी दिनमा समेत हामी क्रियाशील रहनेछौं। 

वार्षिकोत्सवका अवसमा हामीले विगतमा देशका विभिन्न क्षेत्रमा क्रियाशील भई समाजमा योगदान पु¥याइरहेका ‘नागरिक नायक’को खोजी गर्दै आएका थियौं। तिनलाई राष्ट्रसामु प्रस्तुत गर्ने हाम्रो योजनामा यसपटक परिस्थिति प्रतिकूल बन्यो। हामी समय अनुकूल हुनासाथ यो कार्यक्रम आयोजना गर्न प्रतिबद्ध छौं। ‘नागरिक नायक’ खोजीलाई हामीले यो असजिलो अवस्थामा पनि निरन्तरता दिइरहेका छौं। 

कोरोना भाइरस (कोभिड– १९) सिर्जित लकडाउनका बेला थोरै भए पनि आशाको लक्षण देखिनुपर्छ भन्ने हाम्रो मान्यता छ। यो असजिलो लामो समय नजाओस् यही कामना छ। फेरि हामी विगतमा जस्तै सक्रिय हुन सकौं। यही उद्देश्य साथ वार्षिकोत्सवका अवसरमा आशाको सन्देश दिने सामग्री ‘जागृति’ शीर्षकमा प्रकाशित गरेका छौं। 

वार्षिकोत्सवको यो पुनीत घडीमा हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, पत्रकार तथा सहकर्मीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं। लोकतन्त्र दिवसको शुभकामना !

विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक

प्रकाशित: ११ वैशाख २०७७ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App