७ वैशाख २०८१ शुक्रबार
विचार

कोभिड–१९ परीक्षणमा अनिश्चितताको हद !

कोभिड–१९ को रेपिड टेस्ट शतप्रतिशत सही हुने गर्दैन । त्यसको मतलब हो, न नेगेटिभ देखिएका सबै कोरोना नभएको प्रमाणित हुने गर्छ न त पोजेटिभ देखिँदैमा कोरोना भएको नै निश्चित बन्छ ।

आज संसारमा हामीलाई उपलब्ध रेपिड किटको कुरै छाड्नुस्, संसारले तुलनात्मकरूपमा अलि भरपर्दो ठानी प्रयोग गरिरहेको कोभिड–१९ को ल्याबमा हुने पिसिआर टेस्टको समेत नतिजा शतप्रतिशत सही नहुने मेसिन निर्माणका समयमा एकिन गरी बजारमा पठाइएको यथार्थता कसैमा छिपेको छैन न त छिप्न जरुरी नै । 

संसारको अनुभवले बताएको सत्य के हो भने सुरुका दिनमा विकसित रेपिड टेस्टले मात्र ६०–७० प्रतिशत र पिसिआर टेस्टको ९० प्रतिशतको हाराहारीमा सही नतिजा दिन सक्ने क्षमता थियो । आज ९९ प्रतिशतसम्म सही नतिजा दिन सक्ने रेपिड टेस्ट र प्रतिहजारमा १–२ वटा भन्दा गलत नतिजा नदिने पिसिआर टेस्ट प्रविधिको विकास गर्न सकिएको छ । 

त्यति हुँदाहुँदै पनि दुवै टेस्टले जब परीक्षणका लागि तयार गरिएका नमुना त्रुटिरहित रहन्छन् तबमात्र आफ्नो क्षमताको नतिजा दिन सक्छन् । त्रुटिरहित नमुना सङ्कलनका लागि मानवीय पक्ष, प्रविधि र सङ्कलनको तरिका सबै त्रुटिरहित हुन अनिवार्य हुन्छ ।

हामीसँग कोभिड–१९ को टेस्टमा यसको विकल्प उपलब्ध भइसकेको छैन । ‘खाए खा, नखाए घिच !’ भने जस्तै जे छ त्यसैबाट काम चलाउनुपर्ने बाध्यता हामीलाई आइलागेको छ ।

यसलाई आपतको घडीमा विज्ञानले उपलब्ध गराउन सकेको उत्कृष्ट समाधानका रूपमा लिनुको अन्य विकल्प संसारसँग आज छैन ।  नियमित भएका अनुसन्धानले हालका भरोसालायक मापन यन्त्र बनाउँदै जाने र काम विश्वसनीय यन्त्रलाई उच्च विश्वसनीय यन्त्रबाट नियमित प्रतिस्थापन गर्दै जानेछ । 

तत्कालका लागि भएको मेसिनबाट जरुरतको काम चलाउँदै जाने र यसको क्षमता वृद्धि गरी कुशलतामा सुधार ल्याउँदै अझ प्रभावकारी मेसिनको विकास गर्दै जाने विज्ञानको नियमित कार्य गर्ने काइदा नै हो । 

कसैलाई मन परोस् वा नपरोस्, हाललाई हामीसँग कोभिड–१९ को टेस्टमा यसको विकल्प उपलब्ध भइसकेको छैन । ‘खाए खा, नखाए घिच !’ भने जस्तै जे छ त्यसैबाट काम चलाउनुपर्ने बाध्यता हामीलाई आइलागेको छ ।

विज्ञानमा कुनै पनि यान्त्रिक मापन कति सही हुन्छ भन्ने कुरालाई उक्त मापन यन्त्रको अनसर्टेनिटीको इस्टिमेसन गरी बताइन्छ । त्यो भनेको वास्तविक टेस्टको आधारमा उक्त उपकरणले दिएको नतिजा कति प्रतिशत सही हुने गर्छ भनी त्यस्तो मेसिनले परीक्षण गर्दा देखाएको नतिजाको तथ्यहरूको मूल्याङ्कनपश्चात् गरिएको अनुमानका आधारमा उपकरण बनाउने कम्पनीले तोकिदिने क्षमताको मापदण्ड हो । जसलाई सरल भाषामा उपकारको अनिश्चितताको हद भन्दा हुन्छ ।  

आज संसारले प्रयोग गर्ने कोभिड–१९ को रेपिड टेस्ट र पिसिआर टेस्ट दुवै बायोकेमेस्ट्री क्षेत्रका मापनको उपाय रहेकाले जतिसुकै महँगो मेसिन किन नहोस्, हामीले सोचेजस्तो शतप्रतिशत सही नतिजा दिने रामवाण मेसिन उपलब्ध हुन तत्काल सम्भव छैन ।

आजसम्म संसारमा अनिश्चितताको हद जिरो भएको अथवा शतप्रतिशत सही नतिजा दिने एउटा पनि मापन यन्त्र विकास गर्न सकिएको छैन । चलनचल्तीको लम्बाइ नाप्न प्रयोग गर्ने सामान्य रुलर होस् वा चिनी जोख्ने किलोको ढ्याक अथवा असामान्य मङ्गल ग्रहमा रकेट पठाउँदा एङ्गल र दूरी नाप्न प्रयोग गरिने ट्रिगोनोमेट्रिक प्यार्याल्याक्स, सबैको आफ्नै अनिश्चितताको हद रहन्छ । 

विज्ञानमा कुनै पनि कार्यमा पूर्णता वा शतप्रतिशत निपूर्णता खोज्नु भनेको उक्त काम नगर्न बनाइने सजिलो बहानामात्र हो । त्यो सम्भव छैन । खरो कुरो गर्ने हो भने जरुरी पनि छैन । किनकि परीक्षणका उपकरणहरू निर्माण र छनोटमा अनिश्चितताको हद रहँदारहँदै पनि हाम्रा तमाम काममा हामीलाई क्रमशः सफलता हात लाग्दै गरेको छ । भविष्यमा पनि लाग्नेछ ।
कहिलेकाहीँ सही अनुमान गर्न चुक्दा परीक्षणहरूले ठूलो क्षतिसमेत दिने गर्छन् । यसरी पटक पटक लड्दै र फेरि उठ्दै विज्ञानका गतिविधिहरू नियमित अगाडि बढिरहेका हुन्छन् ।

मापन गर्ने नियतमा विकास गरिएका परीक्षणका उपकरणहरूको निश्चितताको हद जति बनाउन सक्दा त्यो दैनिक व्यवहार चल्ने गरी तयार भएको वैज्ञानिक परीक्षणले पुष्टि गर्छ तब ती मापनका यन्त्रहरू बजारमा पठाइने गरिन्छ । मापन यन्त्रले दिने निश्चितताको हद कति कायम हुन सफल भएपछि यसलाई योग्य मापन यन्त्र मान्ने भन्ने मापदण्ड मापनका यन्त्र निर्माणमा लाग्ने लागत र त्यसबाट आशा गरिएको सकारात्मक नतिजाले निर्धारण गर्छ । 

आज एक जना स्मार्टफोन बोक्ने मानिसको हातमा जुन स्तरको प्राविधिक सुविधा उपलब्ध छ, त्यसको आधाजसो सुविधा नहुँदाको परिस्थितिमा समेत हिजो वैज्ञानिकहरू चन्द्रमामा रकेट उतार्न सफल बनेकै हुन् । उक्त समयमा खगोल क्षेत्रमा विशाल अनिश्चितताको हद रहँदारहँदै मानिसको अन्तरिक्ष यात्रा सफल बन्यो । योबाट विज्ञानले सिकेको पाठ के हो भने तपाईँको हातमा जे उपकरण छ त्यसको खुबीका आधारमा जरुरी कार्यहरू सम्पन्न गर्दै जाने विकल्प छान्नु तपाईँको तत्कालको सबैभन्दा चातुर्यपूर्ण निर्णय हुनेछ । 

जब तपाईँ तपाईँलाई उपलब्ध उपकरणले दिने अनिश्चितताको हद पहिचान गरी त्यसको समुचित प्रयोग गर्दै आफ्नो गतिविधि चलाउँदै अघि बढ्नुहुन्छ, तपाईँ तपाईँको लक्ष्योन्मुख बन्न सक्नुहुन्छ । कुनै व्यक्तिमा कोभिड–१९ भए÷नभएको एकिन गर्न आज हामीसँग जुन जुन परीक्षणको उपाय उपलब्ध छ ती विकल्पका सम्पूर्ण फाइदा र बेफाइदालाई स्वीकार्दै अघि बढ्ने कार्य नियमित गर्दा मात्र हामी हाम्रो लक्ष्योन्मुख हुन सक्ने अवस्था छ । सोचे जस्तो निश्चित नतिजा दिने कीट र मेसिनरी छैन भन्दैमा लकडाउनका बेला शङ्कास्पद व्यक्तिमा भइरहेको कोभिड–१९ को परीक्षण यात्रा रोकिनुहुन्न । आशा गरौँ, रोकिने पनि छैन । विज्ञान त्यसरी नै आफ्ना सम्पूर्ण सफलता प्राप्त गर्दै आजको अवस्थामा आइपुगेको हो । हामीले पनि विज्ञानकै बाटो समातेमा सफलता प्राप्त हुने निश्चित छ ।  

अनिश्चितताको हदलाई अलि गहिरो गरी कोट्टाउँदा बायोकेमेस्ट्री क्षेत्रमा प्रयोग हुने उपकरणका अनिश्चितताको हद भौतिक विज्ञान र गणित क्षेत्रका उपकरणका भन्दा चार सय गुणा धेरै हुने गरेको देखिन्छ । किनकि बायोकेमेस्ट्रीमा भौतिक विज्ञान र गणितको क्षेत्रमा जस्तो अनिश्चितता दिने प्यारामिटरहरू रेखीय नभएर ज्यामितीय हुने गर्छन् । आज संसारले प्रयोग गर्ने कोभिड–१९ को रेपिड टेस्ट र पिसिआर टेस्ट दुवै बायोकेमेस्ट्री क्षेत्रका मापनको उपाय रहेकाले जतिसुकै महँगो मेसिन किन नहोस्, हामीले सोचेजस्तो शतप्रतिशत सही नतिजा दिने रामवाण मेसिन उपलब्ध हुन तत्काल सम्भव छैन । रेपिड टेस्ट र पिसिआर टेस्टका कमजोरीले दिने राम्रा÷नराम्रा परिणाम स्वीकारेर अलि मिजासपूर्णरूपमा समाधान खोज्नुबाहेक संसारसँग अर्को विकल्प छैन । तपाईँ हामीसँग समेत हुने कुरै भएन । 

यहाँनेर हामीले सुझबुझ देखाउनुपर्ने कुरा के हो भने हाम्रा स्वास्थ्यकर्मीहरूलाई उपलब्ध परीक्षणको रेपिड कीट तरिका र ल्याबको पिसिआर टेस्ट तरिका दुवैले उनीहरूलाई त्रुटिरहित नतिजा दिने निश्चित छैन । बिरामी कोभिड–१९ ले संक्रमित हुँदै गरेको अवस्थामा समेत बिरामीबाट लिइएको स्वाबको स्याम्पलमा कोभिड–१९ को भाइरस आउँछ नै भन्नेसमेत ग्यारेन्टी छैन । 

स्वाबमा भाइरस सोहोरिएर आएकै खण्डमा पनि सङ्कलित स्वाबमा भएको भाइरस ढुवानी गर्दा र परीक्षणका लागि तयारी गर्दा निष्क्रिय भएर पहिचान गर्न सकिने अवस्थामै रहन्छ भन्ने पनि जरुरी छैन । परीक्षणका लागि उपलब्ध सामग्रीले आशा गरेअनुरूप काम गर्छ भन्ने पनि जरुरी छैन । यस्ता प्रकारका सबै अनिश्चितताका बीच काम गर्नुपर्ने बाध्यता हाम्रा स्वास्थयकर्मीहरूसँग छ । 

दैनिकका यति धेरै अनिश्चितताबीच पनि संसारमा यिनै तरिकाहरू अपनाएर सम्भावित संक्रमण रोक्न र ठूलो महामारीको सम्भावना तार्न किन र कसरी संसारभर सम्भव बनिरहेको छ ? यसको चुरो नबुझ्दा समाजले विवेक गुमाउन पुग्छ । आज हाम्रो समाज सोही मार्ग उन्मुख हुन खोजेको त हैन भन्ने गम्भीर शङ्का जन्मिरहेको देखिन्छ ।
दैनिकका धेरै अनिश्चितताबीच संसारभर सम्भावित ठूलो संक्रमण रोक्न सम्भव हुनुको प्रमुख कारण उक्त क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरू यस्ता अनिश्चितताबारे पूर्णरूपमा परिचित रहनु नै हो । जसका कारण सबै प्रकारका अनिश्चिततामा समेत उनीहरूले मिजासपूर्णरूपले परिस्थिति आकलन गरी सही समाधानको तरिका अवलम्बन गर्न सक्ने अनुभव र क्षमता प्रदर्शन गरिरहेका छन् । 

यो अर्थमा हेर्दा संसारले जित्दै गरेको कोभिड–१९ विरुद्धको युद्ध नेपालले पनि पक्कै जित्नेछ तर एउटा अनिवार्य सर्तमा । त्यो हो– स्वास्थ्यकर्मीलाई बिनारोकटोक आफ्नो कार्य गर्ने वातावरण तयार गर्ने ।

जुन धेरै भन्दा धेरै सहरबासीलाई केही समयका लागि विकल्प छ भने छिटो भन्दा छिटो आफ्नो पुख्र्याैली गाउँमा रहेको घरमा आरामका लागि जान प्रेरित गर्ने, अत्यावश्यक सामग्रीको सहज उपलब्धता बढाउने, मानव–मानवबीच सामाजिक दूरी कायम गर्ने, स्वास्थ्यकर्मीको काम स्वास्थ्यकर्मीलाई गर्न दिने, पुलिस÷प्रशासनको काम पुलिस÷प्रशासनलाई गर्न दिने, सरकारको काम सरकारलाई गर्न दिने, सस्तो लोकप्रियताका लागि एलोजर्नालिज्म नगर्ने, समाजमा गलत सन्देश जाने सूचनाहरू रोक्ने, संक्रमण छोपेर राजनीतिक स्वार्थ पूरा गर्ने नियत रोक्ने, सम्पूर्ण देशबासीलाई यो युद्ध जितिने युद्ध हो भनी आश्वस्त पार्ने जस्ता गतिविधिहरूबाट सम्भव बन्छ । 

सरकार र जनतामध्ये कुनै एकले मात्र यो वातावरण दिनबाट चुके भने यसको नतिजाले निम्त्याउने परिस्थितिमा पश्चाताप गर्नुबाहेक अन्य विकल्प बाँकी रहने छैन ।   
(क्यानेडियन खाद्य तथा औषधिविज्ञ)

प्रकाशित: ९ वैशाख २०७७ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App