२० श्रावण २०७७ मंगलबार
विचार

नयाँ गभर्नरसँग अपेक्षा

आफ्नो कद बढाएर करिब चार वर्षपछि राष्ट्र बैंक नेतृत्वमा फर्किएका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार सम्हाल्दै आफू भुङ्ग्रोका बेला राष्ट्र बैंक छिरेको बताएका छन्। उनको यो अभिव्यक्तिले अहिले मुलुकको अर्थतन्त्रको अवस्था र भावी कठिनाइ संकेत गरेको छ। कोरोना भाइरसका कारण विश्वका दुई सयभन्दा बढी मुलुक प्रभावित बनेका छन्। विश्वभरमा १६ लाखभन्दा बढी मानिसमा भाइरस संक्रमित भएको छ भने यसैका कारण करिव ८८ हजार व्यक्तिले ज्यान गुमाएका छन्। यो अकल्पनीय मानवीय क्षतिसँगै विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ। जसबाट नेपाल पनि अछूतो छैन।

कोरोना भाइरसका कारण अर्थतन्त्रमा आन्तरिक समस्या देखिन सुरु भइसकेको छ नै। त्योभन्दा डरलाग्दो समस्या बाह्य हुनेछ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २० प्रतिशत योगदान गर्ने विप्रेषण घट्न थालिसकेको छ। नेपाली युवाले काम गर्ने खाडी मुलुकसँगै मलेसिया, दक्षिण कोरिया र जापान नराम्रोसँग कोरोना प्रभावमा छन्। अमेरिका, युरोप, अस्ट्रेलियालगायतका मुलुकमा पनि कोरोना भाइरसले रोजगारी गुमेको छ। काम पाएकाले पनि ओभर टाइमको पारिश्रमिक पाउन छाडेका छन्। समग्रमा तलब र आम्दानी घटेको छ। यसले ती देशमा काम गर्ने लाखौँ नेपाली आफैँ समस्यामा परेका छन्। यसको असर रेमिटेन्समा पर्ने पक्का छ। अहिलेसम्म रेमिट्यान्सकै कारण वित्तीय संस्थामा बचत बढेको हो। कर्जा लगानी गर्ने पैसा प्राप्त भएको पनि यसैकारण हो। आयातित सामान बिक्री गर्ने वातावरण यसैले बनाएको हो। सरकारले राजस्व बढाएको र फेरि उपभोग बढाउन सहयोग पुगेको पनि। विप्रेषण कम भएपछि यो शृंखला परिवर्तन हुने भएको छ।

कोरोनाले वैदेशिक व्यापारमा पनि समस्या पार्नेछ। चालु वर्ष निर्यातमा देखिएको सुधार आगामी दिनमा कायम रहने छैन। आयातमा केही कमी आए पनि घट्दो विप्रेषण आय त्यसको भुक्तानीका लागि पर्याप्त हुने छैन। विदेशी विनिमय सञ्चितिमा कमी आउने र शोधनान्तर घाटा बढ्दै गए मुलुक समस्यामा फस्नेछ। यस्तो बेला सन्तुलन कायम गर्न गभर्नरको भूमिका बढी हुनेछ। अर्कोतिर कोरोनाका कारण वित्तीय संस्थाहरूमा आइपर्ने समस्या पार लगाउने जिम्मेवारी पनि गभर्नरकै काँधमा आउनेछ।

सामान्य अवस्थामा राष्ट्र बैंक चलाउन अधिकारीलाई खासै असजिलो छैन। मिलेर काम गर्ने खुबी उनीसँग छ। त्यसको संकेत गभर्नरका रूपमा राष्ट्र बैंक प्रवेश गर्दा गरेका सम्बोधनले पनि गर्छ। उनले सम्बोधनका क्रममा गभर्नरका अर्का प्रतिस्पर्धी चिन्तामणि शिवाकोटीलाई मिलेर काम गर्न पटक–पटक आग्रह गरेका थिए। उनीसँग राष्ट्र बैंकका विभिन्न विभागमा काम गरेको अनुभव छ। बैंक तथा वित्तीय संस्था कसरी चलिरहेका छन्, ती निकायमा कस्ता प्रकृतिको नेतृत्व छ, कहाँ कहाँ कमजोरी छन् भन्ने यावत पक्षमा नवनियुक्त गभर्नर जानकार छन्। ३० वर्ष लामो कामको अनुभवले अधिकारीलाई राष्ट्र बैंक नौलो हुने छैन।

तर अधिकारीमा रहेको अनुभवले मात्र सबै काम गर्छ भन्ने छैन। हुन त उनी विभिन्न समस्यामा जुझ्दै आएका व्यक्ति हुन्। तत्कालीन नेपाल बंगलादेश बैंक समस्यामा पर्दा त्यहाँ गएर काम गर्ने जिम्मेवारी पाएका थिए। जागिरे जीवनमा आएका विभिन्न संकटमा पनि उनीसँग काम गरेको अनुभव छ। २०७२ सालको भूकम्पका बेला पनि उनी राष्ट्र बैंकको डेपुटी गभर्नरका रूपमा कार्यरत थिए। राष्ट्र बैंकबाट अनिवार्य अवकाश पाएपछि लगानी बोर्डको नेतृत्व गरेको अनुभव पनि उनमा छ। उनले लगानी सम्मेलनसमेत सफलपूर्वक सम्पन्न गरेका कारण काम गर्न सक्ने व्यक्तिका रूपमा उनी खरो मानिएका छन्। अरुको नेतृत्वमा काम गर्नु र आफैँले नेतृत्व लिएर काम गर्नुमा धेरै फरक छ। अनुभवमा मात्र भर पर्दा नयाँपन नआउने र यथास्थितिमा रमाउने अवस्था आउन सक्छ। त्यसैले नयाँ परिस्थितिमा परम्परागत शैलीमै राष्ट्र बैंकलाई सञ्चालन गर्न खोजे भने अहिलेको जाखिमको सही सम्बोधन हुन गाह्रो पर्नेछ। जसरी कोरोना भाइरसले अर्थतन्त्रमा नयाँ संकट ल्यायो, त्यसको औषधोपचार पनि नयाँ ढंगले गर्न राष्ट्र बैंक नेतृत्वले आफूलाई तयार पार्नुको विकल्प छैन।

कोरोनाका कारण अर्थतन्त्रको आन्तरिक र बाह्य समस्यासँग जुझ्न सरकारले विस्तारकारी मौद्रिक नीति लिन सक्छ। यस्तोमा राष्ट्र बैंकले नयाँ ढंगबाट काम गर्नुपर्ने हुन्छ। सरकारलाई वित्तीय अनुशासनमा राख्ने जिम्मेवारी पनि राष्ट्र बैंक र यसको नेतृत्व गर्ने व्यक्तिको हो। यही कारण ऐनबाटै राष्ट्र बैंकलाई स्वायत्त बनाइएको हो। राष्ट्र बैंकलाई सरकारको अनावश्यक हस्तक्षेप हुन नदिई रचनात्मक ढंगले काम गर्नु चुनौतीको विषय हुन सक्छ। अर्थमन्त्रीसँग मिलेर गभर्नरले काम गर्नुपर्ने हुन्छ। वर्तमान अर्थमन्त्री युवराज खतिवडासँग उनलाई काम गर्न अप्ठ्यारो हुने छैन। यस अर्थमा राष्ट्र बैंकको भूमिकाका निम्ति अर्थमन्त्रीको सद्भाव प्राप्त गर्न र अनावश्यक हस्तक्षेपबाट टाढा राख्ने सफलता पनि उनले प्राप्त गर्ने अपेक्षा छ।

प्रकाशित: २८ चैत्र २०७६ १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App