२६ श्रावण २०७७ सोमबार
विचार

स्वास्थ्य संकटकाल

सरकारले मंगलबार बिहानदेखि साताव्यापी बन्दाबन्दी अर्थात् ‘लकडाउन’ गरेपछि नागरिक कार्यालय सुन्धारा पुग्न सडकमा निस्कँदा यो सम्पूर्णरूपमा शून्य देखियो । ठाउँठाउँमा रहेका सुरक्षाकर्मीले यदाकदा हिडिँरहेका सवारीलाई रोक्ने र सोध्ने काम गरिरहेका थिए । यस्तो बन्द स्थिति विगतका विभिन्न राजनीतिक उथलपुथलमा ३० वर्षदेखि देख्दै आएको छु । तर यस्तो शून्यता यसअघि देखिएको थिएन ।

हामीले बन्दाबन्दीको स्थितिलाई कोरोना संक्रमणबाट जोगिने तयारीका रूपमा लिनुपर्छ । हामीले विगतमा धेरै किसिमका अप्रिय राजनीतिक संकटकाल बेहोरेका छौँ । अहिलेको यो स्वास्थ्य संकटकाललाई आफू, परिवार र मुलुकको स्वास्थ्यका निम्ति हो भन्ने ठानेर घरै बसौँ ।

स्वास्थ्यका कारण यस्तो बन्द समकालीन विश्वकै निम्ति नयाँ हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिने उपाय ‘सामाजिक दूरी’ अर्थात् सोसल डिस्टान्सिङ भएपछि घरभित्र बस्नुको विकल्प रहेन । सडकमा तिनै मानिस निस्कन बाध्य भएका छन्, जो आफ्नो निर्धारित दायित्वले बाँधिएका छन् ।

म जतिजति सडकमा गुडिरहेको थिएँ, त्यतित्यति नै मनमा विगतमा देखिएका यस्ता सुनसान परिस्थिति झुत्ति खेल्न आइरहे । वास्तवमा कुनै बेला बन्द हाम्रो जीवन पद्धति जस्तो बन्न पुगेको थियो । कहिले कुन समूहले कहिले कुन वादले बन्द गराइरहन्थ्यो । मानिस वाक्क भएर ‘गरिखान देऊ’ भन्ने अभियानसमेत सञ्चालन गर्न बाध्य भएको हाम्रो स्मृतिमा छ ।

भन्ने हो भने एक हिसाबले हाम्रो जीवन बन्दाबन्दीमै बितेको छ । खासगरी ३० र ४० सालताका अनेकन आन्दोलनले हाम्रो पढाइलाई जहिल्यै बाधा पथ्र्यो । स्कुलबाट कैयन् पटक दौडँदै भागेका दिनको पनि यतिबेला सम्झना भइरहेको छ । आन्दोलनका क्रममा दुई पक्षबीचका झडपले समेत हामीलाई भागाभाग गर्न बाध्य पाथ्र्यो ।

२०४६ सालको आन्दोलनताका आन्दोलन र कफ्र्यु पनि हामीले भोग्यौँ । ‘आयो आयो’ भन्दै प्रजातन्त्र आगमनका निम्ति आकास गुञ्जायमान बनाएको त्यो समयलाई अझै बिर्सन सकिएको छैन । पछि फेरि माओवादी ‘जनयुद्ध’को समयमा पटक–पटक बन्द आयोजना भए । जनआन्दोलन २०६२/०६३ ताका कैयन् दिन त्यतिबेला हामी कार्यरत ‘कान्तिपुर दैनिक’ को कार्यालयमै बास बसेका थियौँ ।

अबको एक साता अहिलेकै जस्तो सडक शून्यताले भरिएको हुनेछ । सर्वसाधारणले यसको महत्व बुझेर घरैमा बसिदिनु झनै ठूलो सहयोग हुन्छ । जो व्यक्ति सार्वजनिक सेवाका निम्ति घरबाट बाहिर निस्कन बाध्य छन्, तिनीबाहेक अरुले शान्त भएर बस्नु नै अहिलेको संक्रमणको बलियो रोकथाम हो ।

इराकमा १२ जना नेपालीको हत्या भएपछि ‘तीन एम’ अर्थात् मिडिया, म्यानपावर र मस्जिदमा खोजीखोजी आक्रमण भयो । कतैबाट हारगुहार गर्दा पनि ती आक्रमणकारी रोकिएनन् । एकै दिनमा काठमाडौँलाई अँगारजस्तो बनाइएको भयाबह अवस्थासमेत त्यो थियो । सडकमा डढेका टायर र फर्निचर आदिका किलाले सडक हिँडिनसक्नु भएको थियो । ती रातहरूमा हामी गाडी लिएर हिँड्दा पटक–पटक पन्चर भएर घर पुग्नसमेत कठीन भएको थियो ।

तारन्तारका बन्दबाट वाक्क भएर अबदेखि यसबाट मुक्त हुन सबैको पहल भयो । बन्द हुन छाड्यो । एक हिसाबले काठमाडौँका खाली सडक निर्वाचन वा दसैँका बेलामा मात्र देख्न थाल्यौँ । तर कोरोनाको कहर चीनको बुहानबाट सुरु भई इटाली, स्पेन, अमेरिका आदिलगायतका ठाउँमा पुगेपछि साँच्चिकै भयाबह देखिन थालेको छ । यसलाई नियन्त्रण गर्न चीनले अपनाएको पूर्ण बन्दाबन्दीको अभ्यासलाई आज सबैले प्रयोग गरेका छन् ।

चीनले गरेको यो अभ्यासलाई अन्य मुलुकले समयमै नअपनाउँदा अहिले यसको विस्तार भयाबहरूपमा भइरहेको छ । दक्षिण कोरिया र जापानले भने एक एक संक्रमणका घटना खोजेर उपचारमा जोड दिएका कारण नियन्त्रणमा आएको छ । कोरोना नियन्त्रणमा भने पूर्णतः एकांकीपूर्ण जीवन घरमै बिताएर मात्र सम्भव हुने रहेछ भन्ने अरुको अभ्यासबाट अनुभव भएको छ ।

चीनमा कोरोना संक्रमण भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गत डिसेम्बरमा सार्वजनिक गरेयता अहिलेसम्म विश्वव्यवस्थामै सर्वाधिक प्रभाव पर्ने विषय बनेको छ । वर्तमान विश्वव्यवस्थाका कारण चारैतिर फैलिन सकेको छ । हामी नेपालीसमेत संसारका कुनाकुनामा फैलिएका छौँ । र, यो संक्रमण हामीकहाँ पनि यात्रा गर्दै आइपुगेको छ ।

यसअघि एकजनामा संक्रमण देखिएर पनि उपचार भइसकेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आइतबार जानकारी गराएअनुसार अर्को एकजनामा संक्रमण भई उपचार भइरहेको छ । हामीकहाँ अहिलेसम्म यसबाट मरण भएको छैन । अहिलेसम्म विश्वमा करिब १६ हजारको मृत्यु, ३ लाख ६० हजारलाई संक्रमण भइसकेको कोरोना विषाणुले सबै मुलुकलाई अहिले आफूलाई सुरक्षित गर्नुपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ । यो संक्रमणमा परेर पनि एक लाख भन्दा बढी निको भइसकेका छन् । आमनागरिकले सामाजिक दूरी कायम गर्ने, बिरामीलाई एक्ल्याएर उपचार गर्ने र सीमाहरूलाई बन्द गरेर उपचार तयारी गर्नुपर्ने यस्तो अवस्था आफैँमा हाम्रा निम्ति अद्वितीय छ ।  

कोरोनाले आगामी दिनमा हाम्रा धेरै व्यवहारमा परिवर्तन ल्याउने अनुमान अहिल्यै गर्न सकिन्छ । पहिलो, व्यक्तिले स्वास्थ्य र स्वच्छतालाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । भविष्यमा पनि कोरोनाअघि जस्तो मानिसले हात मिलाउने, अंकमाल गर्ने प्रक्रियाहरूमा सावधान अपनाउन बाध्य बनाउनेछ । दोस्रो, पहिले विषाणुका बारेमा धेरै मानिसले जानकारी राख्ने गरेको देखिँदैनथ्यो । अब मानिसले यसबारे जान्ने, आफूलाई स्वस्थ बनाउने र लड्ने विषयमा सोच राख्नेछन् । मानिस लड्खडायो भने विषाणुले विजय पाउने भय हुन्छ भनेर त्यस दिशामा सोच्ने जमात ठूलो हुन थालेको छ ।

त्यसैगरी कोरोनाका कारण कूटनीतिमा पनि परिवर्तन आउने देखिन्छ । कसैले सोचेको समेत थिएन  विश्वका विकसित मुलुकका नागरिकलाई हाम्रो जस्तो मुलुकले समेत आगमनमा रोक लगाउने दिन आउन सक्छ । वास्तवमा कोरोनाले सबैको हैसियत उस्तै बनाइदिएको छ । देशको जनसंख्यालाई बचाउन पनि यस्ता उपाय अपनाउनुपर्ने देखिएको छ । कोरोना संक्रमण रोक्न नेपालले सफलता पाउँदा विश्व मानचित्रमा यसको उपस्थिति नै भिन्न हुनेछ ।
हाम्रो जीवन कोरोना प्रभावमा त्यतिबेला आइपुगेको छ, जतिबेला ‘भर्चुअल वल्र्ड’ (अनलाइन संसार) पनि विद्यमान छ । थोरैमात्र काम छन्, जसका लागि मानिसले भेटघाटै गरिरहनु पर्छ ।

वास्तवमा मोबाइल फोन र इन्टरनेटका कारण हरेक व्यक्ति आफैंँमा सीमित भइरहेको बेला पनि हो । व्यक्ति–व्यक्ति कुराकानी गर्नेभन्दा पनि ‘भर्चुअल वल्र्ड’ मै रमाउन पनि सकिने अवस्था छ । यस्तो बेलामा बाह्य संसारबारे जानकारी राख्न अनलाइन संसार पर्याप्त भएको छ । इन्टरनेट र स्मार्ट फोन प्रयोग गर्न नपाएको हामीभन्दा अगाडिको पुस्ताका निम्ति अहिलेको जस्तो अप्ठ्यारो अवस्था सामना गर्न सहज थिएन । सँगै अहिले हामीलाई धेरै किसिमका सूचना पाएर पनि उद्वेलित हुन बाध्य पारेको छ ।

अबको एक साता अहिलेकै जस्तो सडक शून्यताले भरिएको हुनेछ । सर्वसाधारणले यसको महत्व बुझेर घरैमा बसिदिनु झनै ठूलो सहयोग हुन्छ । जो व्यक्ति सार्वजनिक सेवाका निम्ति घरबाट बाहिर निस्कन बाध्य छन्, तिनीबाहेक अरुले शान्त भएर बस्नु नै अहिलेको संक्रमणको बलियो रोकथाम हो । यो संक्रमण नियन्त्रणको सिलसिलामा केपी शर्मा ओली सरकारले गरेको पहलकदमी यथार्थमै प्रशंसनीय छ ।

अझ अहिलेको जस्तो यो बन्दाबन्दीको स्थिति केहीअघि नै कार्यान्वयनमा आउनुपर्ने थियो भन्ने अहिले लाग्दैछ । अमेरिका, इटालीजस्ता विकसित मुलुकलाई समेत नियन्त्रण गर्न असजिलो यो संक्रमण हामीकहाँ अनियन्त्रितरूपमा फैलिनु भनेको निःसन्देह असहज परिस्थिति हो । त्यसलाई सामान्य अवस्थामा ल्याउने हाम्रो क्षमता छैन । अहिले एक/दुई बिरामीमा शंकाको स्थिति हुँदासमेत उपचार गर्न प्रदेश तहमा कुनै व्यवस्था भएको देखिएको छैन ।

यी पंक्ति लेख्दै गर्दा राजविराजबाट मेरा सहकर्मी मिथिलेश यादवले उनको नजिकै गाउँका युवाले जनकपुरमा समेत उपचार गराउन नसकेर काठमाडौँ लैजानुपरेको कथा सुनाउँदै गर्दा भयाबह स्थिति सामना गर्न हामी तयार छैनौँ भन्ने लागिरहेको छ । यस्तो स्थितिमा हामीले बन्दाबन्दीको स्थितिलाई कोरोना संक्रमणबाट जोगिने तयारीका रूपमा लिनुपर्छ । हामीले विगतमा धेरै किसिमका अप्रिय राजनीतिक संकटकाल बेहोरेका छौँ । अहिलेको यो स्वास्थ्य संकटकाललाई आफू, परिवार र मुलुकको स्वास्थ्यका निम्ति हो भन्ने ठानेर घरै बसौँ ।

 

प्रकाशित: १२ चैत्र २०७६ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App