२३ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

किन सुस्तायो नेकपा ?

नेपाल कम्युनिस्ट पार्टी किन ‘पार्टी’ हुन सकिरहेको छैन ? दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी पाइएको छ। तर राजनीति अझै सामान्यतर्फ फर्किन सकेको छैन। नेकपाको राजनीति किन फर्किंदैन सामान्यतर्फ ? यसको सही उत्तर दिने हैसियतमा कुनै नेता छैनन्। कथं कुनै नेताले उत्तर दिइहाले पनि त्यो पत्याउने मान्छे छैनन्। अवस्था गम्भीर छ। नेकपाका एक अध्यक्ष उपचारार्थ अस्पताल प्रवेश गरेपछि त पार्टीको कुनै तहको बैठकसम्म बोलाइएन। अध्यक्ष ओलीले स्पष्ट भनेका रहेछन्– ‘मेरो अस्पताल बसाइका बेला पार्टी र सांसद दुवैतिर आवश्यक कार्य–सम्पादन गर्न जिम्मेदार नेता÷कार्यकर्ता, सांसद र लाखौं पार्टी सदस्य निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु।’

तर पार्टीका जिम्मेदार नेता÷कार्यकर्ता, सांसद र पार्टी सदस्यमा प्रधानमन्त्रीलाई हेर्न वा उनको स्वास्थ्य स्थिति बुझ्न त्रिवि शिक्षण अस्पताल जानेबाहेक अन्य काममा क्रियाशीलता देखापरेन। केही माथिल्ला तहका नेता यसो काठमाडौंबाहिर गैटोपले पनि एउटा झिंगो पनि मारिएन। कार्यकर्ता परिचालन नभए पनि कमसेकम पार्टीको सचिवालय बैठक बस्नुपर्ने, त्यो पनि बस्न सकेन। माघ तेस्रो साता काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा पनि पार्टी एकीकरणका बाँकी काम १५ दिनमा सक्ने भनिएको थियो। तर अझै थालिएकै छैन। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको त मिर्गाैला प्रत्यारोपण गरिएको होइन नि !

यही गतिले पार्टी बलियो हुन्छ र ?
पार्टी एकता किन यति लामो समयसम्म टुंगिएन, जवाफ दिने को छ ? पार्टीका नेता÷कार्यकर्ता गुनासो गर्न लागेकै छन्। पार्टी संगठनका हिसाबले सामूहिकतामा भन्दा पनि नेताहरूको व्यक्तिगत चाहनामा चल्न लागेको छ। यो त्यसैको परिणाम हो। पार्टीका संगठनात्मक एकताका थुप्रै काम बाँकी नै छन्। तर मूल नेतृत्व तह उदासीन छ। एउटा मूल नेता बिरामी छन्, सबैलाई थाहा छ। यस्तो स्थितिमा मूल नेताले जिम्मेदारी कार्यकारी अध्यक्षलाई दिएको भए हुँदैनथ्यो र ? प्रधानमन्त्रीले पार्टीको काम निकै अघिदेखि नै अर्का अध्यक्षलाई दिएका थिए। तर अर्का अध्यक्ष किन उदासीन भए, त्यो बुझ्न सकिएन।

आफू भने चुरोट, खैनी खाने, जाँडरक्सी धोक्ने, अनि परिवारका अन्य सदस्यलाई त्यही चिज खानु हुँदैन भनेर उपदेश दिने ! यो त सुहाएन है काम्रेड प्रचण्ड।

यो स्थिति त आफू नहुँदा पार्टी चलाउन नदिए जस्तो पो देखियो ! यो राम्रो भएन। अधिकार पाएर पनि काम नगरेको भए, किन ? त्यो पनि सार्वजनिक हुनुप-यो। गत माघ १५–१९ सम्म ५ दिन भएको बैठकले व्यापक छलफल गरी नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो। तर डेढ महिना हुन लाग्यो, छानबिन त परै जाओस्, निर्णायक तहमा छलफलसम्म पनि भएको छैन। यसरी कसरी पार्टी बलियो हुन्छ ? पार्टी बरु राष्ट्रियसभाको रिक्त एक सदस्यमा उपाध्यक्ष वामदेव गौतम वा अर्थमन्त्री युवराज खतिवडा कसलाई सिफारिस गर्ने भन्ने दंगाफसादमै अलमलियो। सचिवालयका नेताहरू पार्टी क्रियाशील छ, परिणाम आउन मात्र बाँकी छ भनेर बेतुकका तर्क गरिरहेका छन्। जनताले पार्टी र नेतृत्वकर्ताका कामको ‘लेखा परीक्षण’ सुरु गरिसकेका छन्। नेताहरू ! अबका दिन सजिला छैनन्, राजनीति गर्न।

यता पातलियो, उता बाक्लियो
सत्तामा गएपछि र पार्टी एकता भएपछि नेकपा सप्रेको हो कि बिग्रेको हो वा बिग्रिन लागेको हो ? म ‘कन्फ्युज’ भएको छु। वर्तमानमा जब कम्युनिस्ट पार्टी सत्तामा गयो, तब हुँदाखानेहरूको बोलीले मान्यता पाउन छाड्यो। पार्टीका नेता, हुनेखानेहरूकै कुरा बढी सुन्न लागे।  नेतृत्वकर्ता र पार्टी सदस्यबीचको सम्बन्ध पनि आत्मीय÷आदरणीय हुनुपर्नेमा औपचारिकतातर्फ जान लाग्यो।

सरकारमा गएकाहरूको लवाइखवाइ भड्किलो मात्र भएन, व्यवहार पनि रुखो–रुखो हुन लाग्यो। मन्त्री भएका नेताले पार्टी कार्यकर्तालाई आफूमातहतका कर्मचारीजस्तै ठान्न थाले। मन्त्री भएका नेतासँग कार्यकर्ता नजिक हुने क्रम पातलिँदै गयो। मन्त्री भएका नेता, जनताका नभई सिंहदरबारको हुन थाले। परिणाम– शक्तिमा पुगेकाहरू पैसा कमाउन लागे। उनीहरूका छोराछारी, श्रीमतीको संगत पनि पार्टी कार्यकर्तासँग पातलिँदै गयो। साहु, महाजन, ठेकदारका परिवार÷छोराछोरीसँग बाक्लिँदै जान लाग्यो।

दाहाल कमजोर, ओली बलवान् !
अनुशासन आयोगका प्रमुख परिपक्व कम्युनिस्ट नेता अमृतकुमार बोहोरा छन्। पार्टीको नयाँ विधानअनुसार अनुशासन आयोग ३० सदस्यीय हुन्छ रे। तर अहिलेसम्म आयोगले पूर्णता पाउन सकेको छैन। यस्तोमा कताको नेताहरूको सम्पत्ति छानबिन गर्नु ! केन्द्रीय समिति बैठकमा चर्को रूपमा उठाइएको भ्रष्टाचार र सम्पत्ति छानबिनको कुरा त एकादेशको दन्त्यकथा भएको छ। गत मंसिर ४ गते नेकपाका दुई अध्यक्षबीच कार्य–विभाजन हुँदा ओलीले बाँकी ३ वर्ष सरकार चलाउने र प्रचण्डले महाधिवेशनसम्म पार्टी चलाउने निर्णय भएको छ। यो अवस्थामा प्रचण्ड किन पार्टीका यावत् काम तदारुकतासाथ अघि बढाउन अग्रसर हुदैनन् ? यसमा पक्कै केही रहस्य छ।

पार्टी एकता किन यति लामो समयसम्म टुंगिएन, जवाफ दिने को छ ?

ओलीले अस्पताल भर्ना हुनुअघि सचिवालय बैठक बोलाई कतिपय निर्णय गराएका थिए। उनले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने, विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने निर्णय एकलौटी रूपमा गरेपछि दाहालले सक्रियता देखाउन छाडेका हुन्। तर उनको चरित्र र केही अन्तर्विरोधले गर्दा दाहाल हच्केको भन्ने विश्लेषण पनि कतिपयको छ। तीभन्दा चर्का अरू मुद्दा पनि असरल्ल छन्। एमसिसी अलपत्र छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक जना राष्ट्रियसभा सदस्यमा को भन्ने पनि टुंगो लागेको छैन। फेरि सुरु भएको छ– दुई अध्यक्षबीचको तानातान। तर समग्रमा हेर्दा पुष्पकमल दाहाल कमजोर साबित हँुदैछन्, ओली बलवान् भइरहेका छन्।

राजनीतिको लेखा परीक्षण
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ के बोल्ने के नबोल्ने, निकै अप्ठेरोमा छन्। एकताको काम १५ दिनमा सक्ने भनेका थिए। किन भएन भन्ने प्रश्नमा– ‘सांगठनिक एकताको गृहकार्य अन्तिम चरणमा पुगेका बेला पार्टीको आन्तरिक छलफल अन्य विषयमा केन्द्रित भए। त्यसपछि प्रधानमन्त्री अस्पताल जानुभो। त्यसकारण रोकिएको छ। सांगठनिक एकताको काम छिटै्ट सकिन्छ।’ प्रधानमन्त्री अस्पताल जाँदा मबिना पार्टीको काम रोकिँदैन भनेका थिए। अर्को अध्यक्षले केही काम गर्न नसक्ने भन्ने हुन्छ र भन्ने अर्को प्रश्नमा– ‘त्यो हुनुपर्ने जस्तो लाग्दैन। किन के कारणले काम हुन सकेको छैन। मैले अध्यक्ष र महासचिवलाई पार्टीको सांगठनिक एकताको काम पूरा गर्न छलफल गरौं भनिसकेको छु पो भन्छन्।

प्रधानमन्त्री आराम गरिरहेका बेला पार्टीको आन्तरिक काम गर्ने सम्भावना कति छ भन्ने प्रश्नमा नारायणकाजी ढुक्कसँग भन्छन्, ‘सम्भावना छ, त्यसबारे मैले चासो देखाएको छु, छिटै बैठक बस्ला।’ तर ‘बैठक बस्छ’ भन्न सक्तैनन्। एउटा अर्को जिज्ञासामा प्रवक्ता श्रेष्ठ– ‘सांगठनिक एकीकरणका बाँकी काम धेरै ठूलो कुरा त होइन र त्यसले अरू काम रोक्छ भन्ने छैन। त्यसैले अरू काम अब रोकिने स्थिति छैन। जे भए पनि समयमै एकीकरणको काम नसकिनु राम्रो होइन।’ तर अरू काम छाडेर राष्ट्रियसभामा कसलाई पठाउने भन्नेमै अलमलिनुभो। केन्द्रीय कमिटीका निर्णयप्रति पनि आँखा चिम्लिनुभएको त होइन भन्ने प्रश्नमा– ‘केन्द्रीय कमिटीका निर्णय कार्यान्वयन गर्ने दिशामा जाँदै छौं। कतिपय विषयमा कमजोरी देखियो। सांगठनिक काम समयमै पूरा नगरेर कमजोरी गर्दै छौं। अब कमिटीको निर्णयअनुसार पार्टी अघि बढ्छ।’

समयमा सांगठनिक एकीकरण नटुंगिँदा पार्टीभित्र सम्पत्ति कमाउने एकप्रकारको होड नै चलेको छ। राम्रा इमान्दार, कर्तव्यनिष्ठ पार्टी कार्यकर्ता मात्र हो र, नेतासमेत निर्वाचन नलडी त्यसै लाखापाखा लाग्दै छन्। यही खर्चिलो निर्वाचन प्रणाली यही सुकिलामुकिला र राता गालावालाहरूको कब्जामा पार्टी प¥यो भने इतिहासले कठोर निर्णय लेख्ने पक्का छ। एकदिन त जनताले राजनीतिको लेखा परीक्षण गर्छन्।

यो तर्कसंगत लागेन
केन्द्रीय तहमा अध्यक्षसँग समेत बेला न कुबेला कुकुर–बिरालोझैं झगडा गर्ने बानी नै बसेका एक जना पार्टी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि आफ्नो गृहजिल्ला चितवनमा रमाइलो गरे। जहाँ उनले ‘हामी नेता केन्द्रमा बाझ्यौं भनेर तपाईंहरू बाझ्नुभएन। हामी थोरै छौं। आज बाझ्छौं, भोलि मिलिहाल्छौं। तर त्यही बाझ्ने प्रवृत्ति तल तलसम्म भो भने मिलाउन सजिलो हुँदैन’ भने। कस्तो कुरा हो यो ! घरका मूली बाबुआमा नै बाझे भने, झगडा गरे भने छोराछोरी, बुहारीहरू के गर्ने ? टुलुटुलु हेरिरहने कि भाग्ने ? के सिक्ने अभिभावकबाट ? आफू भने चुरोट, खैनी खाने, जाँडरक्सी धोक्ने, अनि परिवारका अन्य सदस्यलाई त्यही चिज खानु हुँदैन भनेर उपदेश दिने ! यो त सुहाएन है काम्रेड प्रचण्ड।

तपाईंहरू सर्वप्रथम केन्द्रमै, अध्यक्ष तहमा, सचिवालय तहमा, स्थायी समिति तहमा झगडा नगर्नुहोस्, नबाझ्नुहोस्। होला मतभेद, होला दृष्टिकोणमा अन्तर। यो अस्वाभाविक होइन। कहिले–कहिले आफैंभित्र त मन बाझ्छ। यो गरौं कि त्यो गरौं लाग्छ। तपाईंहरू दुईधारबाट आउनुभएको हो। जनताको बहुदलीय जनवादबाट एउटा, अर्कोबाट एउटा। यो गाँठी कुरा बुझिएकै छ। यो सैद्धान्तिक मुद्दा नेकपाको २०७७ चैतभित्र आयोजना गरिने भनिएको महाधिवेशनले निर्णय गर्ला वा थाँती राख्ला, अहिल्यै भन्न सकिने कुरा भएन। तर त्यो राजनीतिक मुद्दा किनारा नलाग्दासम्म ओली–प्रचण्डबीचको सम्बन्ध प्रेमविवाह भएका दम्पत्तिबीचको सम्बन्धजस्तो कहिले चिसो, कहिले तातो भई नै रहन्छजस्तो लाग्छ। तर तपाईंहरूको तहमा झगडा भए मिलाउन त्यति सहज छैन भन्ने लाग्छ।

प्रकाशित: २ चैत्र २०७६ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App