१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

खुसीको रङ

नवीनता नाच्दछ पुष्प–पुञ्जमा
कुहू कुहू कोकिल बोल्दछ कुञ्जमा
प्रमोदले हृद्तल पार्छ शीतल
वसन्त मेरै हितमा छ तत्पर
सिद्धिचरण श्रेष्ठले काव्यमार्फत वर्णन गरेजस्तै जीवनमा सधैं वसन्तको अनुभूति गर्न सक्नु मानिसको गुणवत्ता हो, यो उमंग फागुपूर्णिमामा मात्र सीमित हुनु हुँदैन। हृदयदेखि नै उल्लासमय भएर आत्मैदेखि आनन्दित हुनु उमंग हो। हरेक व्यक्ति आफूमा भित्रैबाट प्रसन्न, प्रफुल्ल, आनन्दित र उमंग चाहन्छ। तर उसका कामकाज, नोकरी र जिम्मेवारीले उसलाई सधैं यो स्थितिमा रहन दिँदैन।

बेलामौकामा आउने पर्वका माध्यमबाट मानिस मनका चिन्ता र विचारको भिडबाट टाढा भएर उमंगमा जिउने प्रयास गर्छन्।  पर्वमध्ये होली अर्थात् फागुपूर्णिमाको उत्सवमा सामेल हुने व्यक्तिले संसारको आपाधापी, कामको चाप, बाहिरी उथलपुथलबाट थकित शरीरलाई ऊर्जावान् बनाउने कोसिस गर्दै, टुटिसकेको मनमा उत्साह भर्दै, हृदयदेखि नै उल्लासमय बन्दै आत्माको तलसम्म पुग्दा उमंगपूर्ण भएको अनुभूति गर्छ।

मानिस प्राकृतिक प्राणी हो। प्रकृतिको प्रेम र प्रकृतिसँग रमाउने स्वभावले ऊ सधैं उमंगले भरिन्छ। तर आजका मानिसमा यो कुराको अभाव छ। त्यसैले ऊ बेहोसीमा जिउन बाध्य छ। ओशो भन्नुहुन्छ– प्रकृतिमा प्रत्येक दिन होली पर्व हुन्छ। हरेक वृक्ष खुसीले नाचिरहेका हुन्छन्। पुराना पात झर्छन्, नयाँ पलाउँछन्। पुराना फूल झर्छन्, नयाँ फक्रन्छन्। नदी आफ्नो आवाजमा बहिरहन्छ, पहाड, हिमाल आफ्नै रङमा दंग हुन्छन्। आकाश, तारा, चन्द्रमा, सूर्य आफ्नै मस्तीमा, आफ्नो समयमा चलेकै छन्। हरेक क्षण उत्सवमय छ, हरेक दिन होली छ, प्रकृतिमा। प्रकृतिका कुनै वस्तुले एकअर्कासँग प्रतिस्पर्धा पनि गर्नुपर्दैन। सूर्य र चन्द्रबीच प्रतिस्पर्धा भयो भने हाम्रो हालत के होला ? प्रकृति आफ्नो नियममा चलिदिएन हाम्रो हविगत कस्तो होला ? तर मानिस ठान्छन्– यी सब व्यवस्था, भौतिक प्रगति हाम्रा प्रयासले भएका हुन्। त्यसमै हामी भागदौड गर्दैछौंजस्तो लाग्छ।

सुख र दुःख जीवनका बाहिरी रङ हुन्, जुन आउने/जाने भइरहन्छ। तर आनन्द भित्री रङ हो, जुन आत्माभित्र स्थायी रूपमा रहन्छ।

प्राकृतिक स्वभावसँग रम्ने फुर्सद कहाँ छ र मानिसलाई ? यही एकदिनको होलीले मानिसलाइ हरेक समस्याबाट एकछिन भए पनि पर राख्न मद्दत गर्छ। आज ९९ प्रतिशत व्यक्ति बेहोसीमा बाँचिरहेका छन्। अहिलेका मानिसलाई आधुनिक जीवनशैली, कामकाज र दौडधूपले आफ्नो ख्याल गर्ने फुर्सदै छैन। वर्षमा एकपटक आउने होलीले मानिसलाई एकअर्काबीच फागु÷रङ दलेर मनका सबै विकार फ्याँक्ने अवसर दिन्छ। रङलाई उत्सव बनाउँदै मानिसलाई आफ्ना विकृत विचार र तनाव विसर्जन गर्ने मौका मिल्छ। नृत्य, संगीत र उत्सवले समाजका तथाकथित नियम र आचरणलाई प्रेममा बदल्छन्। जहाँ प्रेम हुन्छ त्यहाँ तनावले ठाउँ पाउँदैन। तनाव विसर्जनपछि मात्र मान्छे आत्मवान् भएर जागृत अवस्थामा रहन सक्छ। जब जागृत हुन्छ तब उसको बेहोसी हट्छ। जागृति नै समझ, सहज, सरल र प्रेमपूर्ण जीवनको आधार बन्छ।

प्रकृतिमा जति पनि चिज छन्, हरेकका आआफ्नै विशेषता छन्।  चराचुरुंगी, फूल, रुखबिरुवा, हिमाल, पहाड, किराफट्यांग्राको रङ हामीले ख्याल गरेका छौं भने हरियो, रातो, नीलो, बैजनी, पहेंलो हरेक किसिमका पाउँछौं। त्यसरी नै होलीमा खेलिने अनेक रङले वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन्। रातो रङ प्रेम, शक्ति र साहस, सेतो रङ पवित्रता, हरियो रङ प्रकृति र आत्मीयताका प्रतिक हुन् भने पहेलो बौद्धिकता, नीलो शान्ति, सुन्तला रचनात्मक शक्ति तथा बैजनी रङ होस र ध्यानका प्रतीक मानिन्छन्। त्यसैले जीवन, जगत् र पदार्थमा रङहरूको प्रभाव रहन्छ।

प्रकृतिप्रदत्त हरेक वस्तुको रङको मौलिक महत्व भएजस्तै मानिसलाई पनि रङकै आधारमा व्यवहार नगरिने होइन। तर गजबको कुरा– मानिसको छालाको रङ फरक–फरक भए पनि मुटु, मन र रगत एकै रङका छन्। तर पनि मानिस धन, प्रेम, पद, सम्मान, क्रोध, मोह र लोभ आदि इत्यादि रङमा आफूलाई चिनाउन खोज्छन्। जसका कारण मानिस कहिले सुखी त कहिले दुःखी बन्छन्। वास्तवमा प्रेम र करुणाको रङमा जिउन सकेमा सुख र दुःखभन्दा पर आनन्दको जीवन जिउनस सकिन्छ।

त्यति मात्र कहाँ  हो र ! मानिस आफ्नै साथीभाइ र इष्टमित्रसँग खुलेर कमजोरी स्वीकार गर्न र  माफÞ माग्न सक्दैनन्,  होलीले यसलाइ सहज बनाइदिएको छ। होलीमा रङ साटासाट गरेर आपसी मनमुटाव हटाउन र प्रेम÷सद्भाव बढाउन एउटा अवसर होलीले दिएको छ। व्यस्त मात्र होइन, अस्तव्यस्त जीवन जिरहेका मानिसलाई एकदिन भए पनि खुसीको रङमा रमाउने अवसर हो– होली। वर्षभरिका तनाव रङमार्फत फ्याँक्ने अवसर हो– होली। तराई र पहाड़ गरेर २ दिन मनाइने होली कुनै रङ, जात र वर्णको मात्र नभई सिंगो मानव–समुदायले मनाउने पर्व हो। होलीको  बहानामा  प्रेम साटासाट  गर्ने  र शुभकामना व्यक्त गर्ने पर्व हो– होली।

आपसी सहमति र खुसीले फागु तथा रङ दलेर मनाइने वसन्त उत्सव हो– होली। कुनै पनि प्रकारका उच्छृंखलता देखाउने  र जबर्जस्ती गरेर मनाइने पर्व होइन होली। जीवनलाई कुण्ठा  र तनावरहित बनाउने  र वसन्त ऋतुजस्तै सधैं शान्त, शीतल र आनन्द अनुभूति गर्ने सन्देश दिन्छ होली पर्वले। आनन्द प्राप्तिका लागि धेरै धन वा ठूलो पद नै चाहिन्छ भन्ने छैन। आफूसँग जे छ त्यसमा रमाउन सके, आफ्नो यथार्थलाई स्वीकार गर्न  सके आनन्द मिल्छ।

सुख र दुःख बाहिरी कर्मबाट प्राप्त हुने अनभूति हुन् भने आनन्द स्वीकार भाव हो। स्वीकार भावमा  रहने कला नजान्दा सम्म सुख र दुःखका कथाबाट मुक्त हुन सकिन्न। न त आत्मशान्ति नै पाउन सकिन्छ। सुख र दुःख जीवनका बाहिरी रङ हुन्, जुन आउने÷जाने भइरहन्छ। तर आनन्द भित्री रङ हो, जुन आत्माभित्र स्थायी रूपमा रहन्छ। यही रङमा डुब्ने कला जाने जीवनमा कहिले दुःखरूपी रङले ठाउँ पाउँदैन।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App