एउटा कुमालेले काँचो माटोलाई जस्तो भाँडा बनाउन चाहन्छ, त्यस्तै बनाउन सक्छ। किनकि माटो कुमालेको हातमा हुन्छ। त्यसैगरी एउटी आमाले आफ्नो कलिलो बच्चालाई जुन तरिकाले हुर्काउँछिन्, त्यो बच्चा त्यस्तै हुन्छ। बच्चाको भविष्य निर्माणमा आमाको सबैभन्दा ठूलो योगदान हुने भएकाले आमा शिक्षित हुन एकदमै जरुरी छ । किनकि साना बच्चाले नै पछि समाज र देश बनाउने हुन्। त्यसलै आमाहरूलाई शिक्षा दिनु भनेको देशको भविष्य बनाउनु हो।
प्रश्न आउन सक्छ– प्राचीनकालदेखि नै आमाले बच्चा हुर्काइरहेका छैनन् र ? उनीहरूमा शिक्षा नभए पनि असल बच्चा हुर्काएका थिएनन् र ? किन अबचाहिँ बच्चा हुर्काउन आमा शिक्षित हुनप¥यो ? प्रश्न जायज छ। तर विचार गरौं– आजको समाज ४०–५० वर्षअघिको जस्तै छ त ? बच्चा हुर्काउने तरिका उस्तै छ त ? त्यतिबेलाको समाजमा आजका जस्ता चुनौती थिए ? छैन/थिएन। पहिलाका बच्चा कस्तो वातावरणमा हुर्किन्थे र अहिले कस्तो वातावरणमा हुर्किरहेका छन् ? विचार गर्न आवश्यक छ।
पहिला बच्चालाई खानेकुरा खुवाउँदा आमाले ‘को खाई को खाई नानी हाम्म’ भनेर खुवाउँथिन्। बच्चा हाँस्दै दौडेर भाग्थ्यो। आमा बच्चाको पछिपछि दौडिँदै जान्थिन्। यसले आमा र बच्चाबीच मातृत्व–प्रेम बढाउँछ। बच्चालाई पढ्न सिकाउँदा रामायण र पुराणका नैतिक कथा सुनाइन्थ्यो र त्यसबाट पाइने शिक्षा दिइन्थ्यो। आमा बच्चालाई लिएर मन्दिर जान्थिन् र बच्चाले आमाले गरेका पूजाअर्चना हेर्थे। आमाले धूप बाल्दा, पैसा चढाउँदा बच्चा पनि त्यस्तै गर्न खोज्थे। आमाले आफ्नो हातले समातेर धूप बाल्न सहयोग गर्थिन्। बच्चाले पनि आमासँग पैसा मागेर चढाउँथे। बच्चाले आमालाई पूजा किन गरेको, पैसा किन चढाएको र किन धूप बालेको आदि जिज्ञासा राख्थे। यहाँ आमा र बच्चाबीच धार्मिक वार्तालाप हुन्थ्यो।
अनुसन्धान भन्छ– आमाले जति बढी समय आफ्ना बच्चासँग बिताउँछन्, बच्चा त्यति नै बढी असल र अनुशासित बन्छन्।
बच्चाहरू बाबु, आमा, हजुरबुबा, हजुरआमाको सम्पर्कबाट सानैदेखि आध्यात्मिक जीवनबाट परिचित हुन्थे। बच्चाहरू बाहिर चौरमा दौडिने साथीहरूसँग खेल्थे। यसरी बच्चाहरू पारिवारिक प्रेममा हुर्किन्थे। यहाँ विचार गर्नुपर्ने कुरा के छ भने त्यसबेलाका आमाले स्कुल शिक्षा हासिल नगरे पनि घरमा भएका बूढाबूढीको सहयोग र अनुभवले बच्चाहरू राम्रोसँग हुर्किन्थे।
तर आजको समाजमा बच्चा हुर्काउने तरिकामा आमूल परिवर्तन आएको छ। जुन परिवर्तनले भयावह स्थिति सिर्जना गरिरहेको छ। त्यो के भने अहिलेको युग प्रविधिको हो। नयाँ प्रविधिमा आफूलाई अभ्यस्त बनाउन खोज्नु त नराम्रो होइन, तर नयाँ आविष्कारका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन्। नकारात्मकताको क्षणिक आकर्षणमा परेर त्यतातिर लाग्यौं भने हामीलाई त्यसले स्वाहा पार्छ र सकारात्मकतातिर लाग्यौं भने सफलता मिल्छ। यही प्रविधिको सहयोगमा आजका आमाहरूले आफ्नो जीवन धेरै सहज बनाएका छन्।
आमा दिनभरि अफिसको काम सकेर घर फर्किंदा शरीर थाकिसकेको हुन्छ। दिनभर अरूका भरमा छाडेको बच्चा आमा देख्नासाथ झुम्मिन आउँछ, तर आमा भने थाकेकी हुन्छिन्। खाना बनाउन बाँकी नै हुन्छ। यस्तो अवस्थामा बच्चालाई मोबाइल फोन दिएर आमा बच्चाबाट छुटकारा पाउँछिन्। बच्चा पनि रमाएर खेल्न थाल्छ।
खाना पकाइसकेपछि बच्चाले खान मानेन भने फेरि सबैभन्दा छिटो र सजिलो उपाय त्यही मोबाइल फोन नै हो। कार्टुन देखाइदिएपछि बच्चा तुरुन्तै खान थाल्छ। यसरी मोबाइल फोन, भिडियो गेम, टिभीले गर्दा बच्चा हुर्काउन एकदमै सजिलो भएको छ। सुत्ने बेलामा पनि कार्टुन हेरेर बच्चा सुत्छ।
जो आमा बाहिर काम गर्न जाँदैनन्, उनीहरू पनि फेसबुक र टिभी सिरियलमा व्यस्त हुन्छन्। उनीहरू भन्छन्– ‘सिरियल र फेसबुकले गर्दा समय कटेको थाहै हुँदैन। समय काट्न धेरै सजिलो भएको छ।’ वास्तवमा सिरियल र फेसबुकजस्ता मनोरञ्जनका माध्यमले मानिसमा प्रतिस्पर्धाको भावना जगाउँछ, जुन हितकारी हुँदैन।
जब साना बच्चा यस्तो वातावरणमा हुर्किन्छन् तब उनीहरू पछि कस्ता होलान् ? बाबुु,आमा, छोरा, छोरी सबै आआफ्ना मोबाइलमा व्यस्त हुन्छन्। उनीहरू त्यसमा के हेर्छन, के खोज्छन्, ती कुरा सम्बन्धित व्यक्तिमा मात्र सीमित हुन्छन्। बाबुआमा र छोराछोरीबीचको दूरी बढ्दै गएको छ। वार्तालापमा– हो÷होइन, छ÷छैन, हुन्छ÷हुँदेन भन्दा बढी हुँदैन। वार्तालाप लम्ब्याउन खोज्यो भने क्रोध उत्पन्न हुन्छ। यो लामो समयसम्म इन्टरनेट प्रयोगको परिणाम पनि हो। बाबुआमा आफ्ना छोराछोरीको एक्लोपनबाट चिन्तित छन्। नराम्रा बानी÷व्यवहार घरघरमा भित्रिँदै छन्। पढाइमा भन्दा मोबाइल फोनमा छोराछोरीको ध्यान बढी केन्द्रित हुन्छ। खाना खाँदा पनि हातमा मोबाइल, बसेको ठाँउमा पनि मोबाइल, दिनभरि मोबाइल, अनि सुत्न जाँदा पनि हातमा मोबाइल नै। जीवन कस्तो होला !
मोबाइल फोनले नयाँ युगको सिर्जना गरेको छ। क्षणिक आकर्षणले मानिसलाई दास बनाएको छ। किन मानिसलाई मोबाइल फोनप्रति यति लगाव छ ? यसभित्र संसार छ, तर सबैले आआफ्ना आवश्यकताअनुसार यसको प्रयोग गर्छन्, राम्रो वा नराम्रो।
एकपटक इन्टरनेटमा सबैभन्दा बढी के खोजिन्छ भन्ने विषयमा अनुसन्धान भएको थियो। जसको रिपोर्टअनुसार सन् २०१७ मा एउटा प्रसिद्ध वेबसाइट, जसले अश्लील फोटो र भिडियो प्रदर्शन गर्छ, त्यो हेर्नेको संख्या २८.५ बिलियन थियो (१ बिलियन भनेको १ अर्ब हुन्छ)। १ सेकेन्डमा हजार जनाले यो साइट खोल्छन्। सन् २०१८ मा यो संख्या बढेर ३३.५ बिलियन पुगेको छ। यो त एउटा साइटको मात्र कुरा भयो, यस्ता साइट अन्य कैयौं छन्। यसबाट यो पनि पत्ता लागेको थियो कि साना बच्चाहरूले पनि कसैगरी पत्ता लगाएर त्यस्तो साइट हेर्ने गरेका छन्।
सन् २०१९ को रिपोर्टअनुसार १ महिनामा २.४५ बिलियन मानिस फेसबुकमा सक्रिय रूपमा सहभागी भएको पाइएको छ। यसअतिरिक्त अरू कैयौं सोसल मिडिया छन्, जहाँ च्याट गर्ने, सूचना लेनदेन इत्यादि भइरहेको हुन्छ। केही अनुसन्धानले नेपालमा आएको विकृति पहिल्याएको छ, जस्तो ः २०६९ सालमा नेपालका १४ जिल्लामा गरिएको अनुसन्धानअनुसार ९१ ह्जार ५ सय ३४ व्यक्तिले लागुऔषध खाने गरेका छन्। नेपाल स्वास्थ्य सेवाद्वारा गरिएको अनुसन्धानअनुसार सन् २००७ देखि किशोरीले गर्ने गर्भपतन संख्या ४२ प्रतिशत बढेको छ।
सुनौलो परिवार नेपालका अनुसार स्कुलमा पढ्ने १५–१८ वर्षका १८ हजार किशोरीले गर्भपतन गरेका छन्। डब्ल्युएचओका अनुसार विकासशील देशमा १६ वर्षभन्दा मुनिका २.५ मिलियन किशोरी आमा बनेका छन्। एकातिर लामो समयसम्म मोबाइल चलाउँदा हुने शारीरिक कठिनाइहरू, जस्तो ः आँखा दुख्ने, टाउको दुख्ने, गर्धन दुख्ने, हड्डी खिइने, रिसाउने, निद्रा नलाग्ने समस्या हुन्छन् भने अर्कातिर मानिसमा संवेदनशीलता घट्दै जानु, बच्चाहरूमा ध्यान दिने शक्ति कम हुँदै जानु, स्मरण शक्ति ह्रास, पढ्ने÷सिक्ने तथा रचनात्मक क्षमता नै घटेर जाने कुरा अनुसन्धानले देखाएको छ।
हामी आमाले आफ्ना बच्चा हुर्काउँदा आफू ‘रोल मोडल’ (उदाहरणीय व्यक्ति) भएर छोराछोरीलाई बाटो देखाउनु उचित हुन्छ। उनीहरूलाई जुन काम÷कुरा गर्न निषेध गरिन्छ, आमाले पनि ती काम÷कुरा गर्नुभएन। किनकि बच्चाले कुनै पनि कुरा देखेर जति चाँडो सिक्छन्, त्यति सुनेर सिक्दैनन्। आमाको व्यवहार, बोली, अरूसँगको सम्बन्ध आदिबाट बच्चाको विचार निर्माण हुन्छ, जसले उसको भविष्य निर्धारण गर्छ।
अनुसन्धानले देखाएको छ– आमाले जति बढी समय आफ्ना बच्चासँग बिताउँछन्, बच्चा त्यति नै बढी असल र अनुशासित बन्छन्। सानो बच्चालाई आमाले सजिलै असल बाटोमा लान सक्छन्। तर जुन बच्चा किशोर अवस्थामा पुगेको छ र उसको बानी बिग्रिसकेको छ, उसलाई सही बाटोमा ल्याउन धेरै गाह्रो हुन्छ। त्यसैले साना बच्चाका आमाहरूले अहिलेदेखि नै आफ्ना छोराछोरीको सुनौलो भविष्यका लागि आफ्नो क्षणिक चाख, खुसी तथा इच्छा त्यागेर बच्चालाई सही बाटो देखाउनु नै जीवनभरका लागि शान्ति र सुखको बाटो बन्छ।
प्रकाशित: २२ फाल्गुन २०७६ ०२:३३ बिहीबार

