७ वैशाख २०८१ शुक्रबार
विचार

सभ्यताको द्वन्द्व !

प्रसिद्ध विश्वविद्यालय हार्वर्डका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक स्यामुयल हन्टिङटनले सन् १९९३ को ‘फरेन अफेयर्स’ पत्रिकामा अनौठो एउटा लेख छपाए। शीर्षक थियो– ‘दि क्लास अफ सिभिलाइजेसन्स’ अर्थात् ‘सभ्यताको द्वन्द्व’। उत्तर शीतयुद्धको विश्वलाई केन्द्रित गरेर लेखिएको लेखले विश्व बौद्धिक जगत्मा नयाँ विवाद ल्यायो। एउटा पनि गोली नचली अन्त्य भएको शीतयुद्धपश्चात् विश्व राजनीतिको रूपरेखा केलाउन खोजिएको त्यस लेखमा अब विश्व वैचारिक द्वन्द्ववाद सभ्यताको द्वन्द्वमा प्रवेश गरेको दाबी गरिएको थियो। शीतयुद्धमा साम्यवादी विचारधारा पराजित भएपछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले नयाँ विश्व–व्यवस्था उदय भएको दाबी गरेका थिए। यो नयाँ विश्व–व्यवस्थामा अमेरिका र युरोप, जसलाई स्वतन्त्र विश्व भनिन्थ्यो, त्यो विजय भएको थियो।

अर्को अर्थमा– सर्वसत्तावादी साम्यवादलाई प्रजातन्त्र र उदार अर्थ–व्यवस्थाले पराजित गरेको थियो। पूर्व र पश्चिम जर्मनी छुट्याउने बर्लिनको पर्खाल ढलेको थियो। साम्यवादी सोभियत संघ विघटन भयो। पूर्वी युरोपबाट साम्यवादी सत्ताहरू तासको पत्ता ढलेजस्तै ढले। विश्वमा युगान्तकारी घटना भयो। यसलाई शीतयुद्धको विधिवत् अन्त्य मानियो। जसबारे स्वयं विद्वान् हन्टिङटनले प्रजातन्त्रको तेस्रो लहर भन्ने पुस्तक लेखे। त्यसबेला नेपाललगायत विश्वका सम्भवतः इतिहासमै धेरै राष्ट्र प्रजातान्त्रिक बने। यो प्रजातन्त्रको तेस्रो लहरलाई विचार गरी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य भने। उनको भनाइअनुसार इतिहास भनेको विचारधाराहरूको लडाइँ हो। यो लडाइँमा प्रजातन्त्रले वंशीय राजतन्त्र, फाँसीवाद हुँदै साम्यवादलाई पनि पराजित गरेको छ। अब विश्वमा प्रजातन्त्र र उदार अर्थ–व्यवस्था मानव समाजको अन्तिम निकास हो भनी  दाबी गरे। पुँजीवादी विचारधारको भूस्वर्ग निर्माण हुने भविष्यवाणी गरे। यही इतिहास अन्त्य भएको विवादस्पद अवधारणालाई कतिपय विद्वान्ले मूर्खताको संज्ञा थिए।

सभ्यताको द्वन्द्व हुन्थ्यो भने दुवै मुस्लिम–राष्ट्र हुँदाहुँदै इरान र साउदी अरेबियाबीच किन द्वन्द्व हुन्थ्यो ?

अहिले विचार गर्दा फुकुयामा गलत लाग्छन्। यो उत्तर शीतयुद्धको अवस्थालाई ध्यानमा राख्दै हन्टिङटनले अब विश्व विचारधाराको होइन, सभ्यताको द्वन्द्वमा जाने भविष्यवाणी गरे। जुन फुकुयामाको प्रस्तावनापश्चात् नयाँ सिद्धान्त दिने प्रयत्न गरिएको थियो। जसलाई भारतका रक्षा विश्लेषक के. सुब्रमन्यमले फुकयामाको प्रस्तावनाको पूरक भनी टिप्पणी गरेका थिए। कारण अमेरिका, शीतयुद्धपछि नयाँ शत्रुको खोजीमा थियो। त्यो शत्रु सभ्यताको द्वन्द्वका नाममा हन्टिङटनले इस्लाम हुने बताए। जसमा उनले कन्फुसियाली चीनलाई पनि पश्चिमसँग वैरभाव राख्ने सभ्यताका रूपमा चित्रण गरे। यो सभ्यताको द्वन्द्व अवधारणा पश्चिमको रणनीतिक सोचाइलाई ध्यानमा राखेर ल्याइएको थियो। हुन त सभ्यताको द्वन्द्व भन्ने विचार अमेरिकाका मध्यपूर्व विशेषज्ञ बनार्ड लुइसले प्रचलनमा ल्याएका थिए। लुइसको तर्क थियो– इस्लामिक सभ्यता कहिल्यै प्रजातान्त्रिक हँुदैन। यो जहिल्यै पश्चिमी मूल्य/मान्यताविरुद्ध हुन्छ।

यही आधारमा हन्टिङटनले सभ्यताको द्वन्द्व भन्ने अवधारणा विकास गरे। प्रारम्भमै आलोचना गरिएको यो अवधारणा उत्तर शीतयुद्ध अमेरिकालाई निर्देशन दिन ल्याइएको थियो। आखिर सभ्यताको द्वन्द्व के हो ? हन्टिङटनका अनुसार संसारमा प्रमुख ८ सभ्यता छन्। ती हुन्– इसाई, यहुदीको पश्चिमी सभ्यता, कन्फुसियाली सभ्यता, जापानी सभ्यता, इस्लामिक सभ्यता, रुसको अर्थाेडक्स सभ्यता, भारतको हिन्दू सभ्यता, अफ्रिकी सभ्यता र ल्याटिन अमेरिकी सभ्यता। यी सभ्यताबीच इतिहासदेखि नै द्वन्द्व, प्रतिस्पर्धा र वैरभाव छन्। सभ्यताका आधारमा अन्तर्राष्ट्रिय राजनीति र कूटनीति सञ्चालन हुन्छन्। जुन भाषा र संस्कृतिमा आधारित हुन्छ। यस्तै विचार अमेरिकी विद्वान्हरू जोन मियरसिमर र रोबर्ट डि काप्लानले पनि राखेका छन्। कम्तीमा शीतयुद्धका बेला अमेरिका र सोभियत संघबीच शक्ति सन्तुलन थियो। अब त्यो रहँदैन। उत्तर शीतयुद्धमा शक्ति सन्तुलन हुँदैन।

विश्व बहुध्रुवीय हुँदै छ र राष्ट्रहरू सभ्यता, संस्कृति र भाषाका नाममा प्रतिस्पर्धा गर्नेेछन्जस्ता अवधारणा थिए। किनभने प्रमुख सभ्यताका राष्ट्रहरूबीच अमेरिका युरोप, रुस, चीन र भारतसँग आणविक हतियार पनि छन्। यो हेर्दा आकर्षक लागे पनि शीतयुद्ध समाप्त भएको ३० वर्षयता प्रभुत्व राष्ट्रहरूबीच सभ्यताको द्वन्द्व भएको छैन। यसर्थ यो सिद्धान्त गलत लाग्छ। सन् २००१ मा अलकायदा आतंकवादी संगठनले अमेरिकामा आक्रमण गरेपछि सभ्यताको द्वन्द्व प्रस्तावना चर्चामा आयो तर अलकायदा कुनै राष्ट्र थिएन। यो गैरराज्य पात्र थियो। अमेरिका इस्लामिक आतंककवाद मास्न आतंकवादविरुद्ध युद्धमा होमियो। अन्ततगोत्वा बिन लादेन पाकिस्तानमा मारिए। अलकायदा अहिले प्रभावकारी छैन। उसकै निहुँमा अमेरिकाले इराक र अफगानिस्तानमा आक्रमण ग¥यो। इराकका राष्ट्रपति सदाम हुसेन मारिए।

इराक आक्रमण, गलत सूचनाका आधारमा भएको थियो। इराकासँग नरसंहार गर्ने हतियार भएको आशंकामा आक्रमण गरिएको थियो। त्यस्तै अफगानिस्तानमा तालिवानलाई अपदस्थ गरियो। अफगानिस्तानमा १९ वर्षदेखि अमेरिकी सेना छ। तर तालिवान परास्त भएको छैन। अहिले युद्ध–विराम भएको छ। यी युद्धमा अमेरिकाले जनताले कर तिरेको करबाट अर्बौं डलर खर्च ग¥यो। इराक र सिरियामा इस्लामिक स्टेटलाई हराउन सक्यो। तर यी आतंकवाद र इस्लामिक अतिवादीविरुद्धका युद्धलाई सभ्यताको द्वन्द्व भन्न मिल्छ ? अर्बौं इस्लामिक नेता शान्त र सरल जीवन यापन गर्न चाहन्छन्। अमेरिकामा उल्लेखनीय संख्यामा आप्रवासी मुसलमान छन्। जो मध्यपूर्वबाट गएका हुन्। सभ्यताको द्वन्द्वको प्रस्तावना आएको यतिका वर्ष हँुदाहुँदै पनि कसैले सभ्यताको द्वन्द्वको घोषणा गरेको छैन। किनभने राष्ट्र÷राज्यहरू आआफ्नै स्वार्थमा चलिरहेका छन्।

सभ्यताको द्वन्द्व हुन्थ्यो भने दुवै मुस्लिम–राष्ट्र हुँदाहुँदै इरान र साउदी अरेबियाबीच किन द्वन्द्व हुन्थ्यो ? इस्लाम शत्रु हुन्थ्यो भने इजिप्ट किन अमेरिकाको सहयोगी राष्ट्र भएर करोडौं डलर सेना सहायता लिन्थ्यो ? अलकायदाविरुद्ध आक्रमणमा संलग्नमध्ये कैयौं व्यक्ति साउदी अरेबियाका थिए। तर साउदी अरेबिया अहिले अमेरिकाको मध्यपूर्वमा प्रिय रणनीतिक साझेदारी राष्ट्र बनेको छ। प्यालेस्टाइन समस्याका विषयमा अहिले पक्कै पनि मध्यपूर्वमा अमेरिकाविरोधी भावना छ। ट्रम्प प्रसाशनले इजारयलका अजेन्डाहरू एकपछि अर्को गर्दै बढाएपछि यो समस्या चर्केको हो। प्यालेस्टाइनहरूले भूमि पाउनुपर्ने कुरा न्यायोचित हो। इजरायलविरुद्ध रहेको इस्लामिक विश्वमा अहिले नयाँ ध्रुवीकरण देखापरेको छ। इरानविरुद्ध साउदी अरेबिया र इजरायल नजिक हँुदै छन्। कसरी भयो सभ्यताको द्वन्द्व ? मध्यपूर्वमा सिरिया संकटसँगै रुसको प्रभाव बढेको छ। रुस इस्लामभन्दा पश्चिमसँग मिल्ने सभ्यता हो। कसरी भयो सभ्यताको द्वन्द्व ? यसर्थ हन्टिङटनको यो प्रस्तावना गलत अध्ययन र मूल्यांकनको उत्पादन हो।

चीन कन्फुसियाली हँुदाहुँदै युरोप र अमेरिकासँग सहकार्य गरेर अगाडि बढिरहेको छ। इस्लामको इतिहासमा इसाईसँग धर्म–युद्ध गरेका घटना छन्। टर्कीको अटोमन साम्राज्य अस्ट्रियाको भियनासम्म पुगेको हो। भारतमा पनि हिन्दू–मुसलमान द्वन्द्वको इतिहास छ। तर यी घटनाकै आधारमा विश्व, सभ्यताको द्वन्द्वमा जान्छ भन्नु अतिशयोक्ति हो। बरु सभ्यताभित्रै आन्तरिक द्वन्द्व छ ः इसाईमा कयाथोलिक र प्रोटेस्टेन्ट, इस्लाममा सिया र सुन्नी, बौद्धमा महायान र हिनयाना तथा हिन्दू धर्ममा विभिन्न सम्प्रदायबीच। यसर्थ प्रमुख सभ्यताअन्तर्गत नै प्रतिस्पर्धा देखिन्छ। यसलाई ध्यान नदिने हन्टिङटनको यो अवधारणा अति सामान्यीकरण गरेर लेखिएको छ। उनले यस अवधारणालाई पछिबाट पुस्तकका रूपमा विकास गरे। सभ्यताहरू द्वन्द्व पनि गर्छन्। तर त्यो प्रमुख रूपमा होइन, किनभने सभ्यताबीच समन्वय, सहकार्य र सहभाव पनि हुन्छ।

नत्र अमेरिका बहुसांस्कृतिक र बहुजातीय राज्यका रूपमा कसरी बाँच्थ्यो र ? उनले आफ्नै देश हेरे पनि पुग्थ्यो। पछिबाट हन्टिङटनले अमेरिकी जनता र संस्कृति केलाउँदै –हु आर वी ? पुस्तक पनि लेखे। जसमा उनले अमेरिकामा गोरा जाति संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन। यसर्थ राष्ट्रहरू जुनसुकै सभ्यतामा भए पनि राष्ट्रिय स्वार्थ हावी हुन्छ। नत्र किन आज अमेरिका र युरोपबीच मतभेद छ ? चीनको उदयलाई निश्चय पनि पश्चिमाले नयाँ सभ्यताको उदय ठानेका छन्। चीनको उदय उसको क्षमता र योग्यताका आधारमा भएको हो। निश्चय पनि ४ सय वर्षदेखि इसाई यहुदी सभ्यता विश्वको सञ्चालक बनेको छ। यो उसको अर्थतन्त्र, विज्ञान–प्रविधि, आविष्कार गर्ने क्षमता र विश्व व्यवस्थापन गर्ने योग्यताले सम्भव भएको हो। सभ्यताका आधारमा गठबन्धनभन्दा राष्ट्रिय स्वार्थ र सामुदायिक हित नै आजको आवश्यकता हो। विज्ञान–प्रविधीको विकासले पनि राष्ट्र÷राज्यलाई आफ्ना स्वार्थ पूरा गर्नबाट अलग पारेको छैन। यसर्थ विद्वान् हन्टिङटनको सभ्यताको द्वन्द्वलाई समयले यथार्थ होइन कि एउटा भ्रमपूर्ण अवधारणा प्रमाणित गरिदिएको छ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App