४ वैशाख २०८१ मंगलबार
विचार

दिल्ली चुनावको सन्देश

छिमेकी भारतको दिल्ली विधानसभाको निर्वाचन परिणामप्रति सबैको ध्यान आकृष्ट भएको छ। ७० सिटका लागि भएको चुनावमा अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टी (आप)ले ६२ सिट जित्यो। भाजपाले ८ स्थान सुरक्षित ग-यो। दिल्लीमा १५ वर्ष एकछत्र शासन गरेको पुरानो दल कांग्रेसले कुनै स्थान प्राप्त गर्न सकेन। कांग्रेसका कतिले जमानतसमेत जोगाउन सकेनन्।

आपले ८८.५७ प्रतिशत स्थानमा विजय प्राप्त गर्नु र केन्द्रीय सत्तामा बलियो उपस्थिति भएको भाजपाले १४.४३ प्रतिशत स्थानमा सफलता प्राप्त गर्नु र लामो इतिहास तथा विरासत भएको कांग्रेस शून्यतामा पुग्नु राजनीतिसम्बद्ध पक्षका लागि गम्भीर मन्थनको विषय हुन सक्छ।

आफ्ना बाबुआमाका ३ सन्तानमध्ये जेठा सदस्य हुन्– केजरीवाल। उनले निर्वाचन परिणामपछि भनेका छन्, ‘दुई करोड जनताको देशभक्त छोरा हुँ, दिल्लीका जनताले तेस्रोपटक पनि आफ्ना छोरालाई जिताएका छन्।’ दिल्लीमा भाजपाले आफ्नो दह्रो र सबल उपस्थिति देखाउन सकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियानले दिल्लीको मतदाताको मन पगाल्न सकेन। नागरिकमता संशोधन विधेयक प्रकरणले पनि त्यहाँ भाजपालाई धक्का दिएको कतिपयको विश्लेषण छ।

प्राविधिक शिक्षा र पृष्ठभूमि भएका पूर्वकर्मचारी केजरीवालले मात्र ५१ वर्ष उमेर काटेका छन्। अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानका एक सशक्त अभियन्ता थिए उनी। त्यही टेको समाउँदै राजनीतिमा प्रवेश गरे। तेस्रोपल्ट दिल्लीको बागडोर सम्हाल्दै गरेका उनी सन् २०१३ मा पहिलोचोटि मुख्यमन्त्रीमा चुनिएका थिए। त्यसबेला उनको कार्यकाल मात्र ४९ दिनको थियो। सन् २०१५ को निर्वाचनमा ७० मध्ये ६७ स्थानमा विजय प्राप्त गरेर सत्ताको बागडोर सम्हालेका केजरीवालको कार्यकाल सुशासनयुक्त रह्यो। भ्रष्टाचारको गन्ध आएन। त्यसैले आउँदो कार्यकाल सुरक्षित बनाउन उनी सफल भए। उनको यो जितले दक्षिण एसियामा जन्मने र जन्मेका नयाँ तथा साना दललाई हौसला दिएको छ। भविष्यप्रति आशावादी बनाएको छ।

ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा आपको जितले दिएको छ।

जनभावनाअनुसार कार्यक्रम दिन नसके पुरानो इतिहास तथा ठूलो दल हुँदैमा सधैं जनताले पत्याइराख्छन् भन्ने हुँदैन भन्ने शिक्षा पनि यो निर्वाचनले दिएको छ। हुन त अहिलेसम्म (२०४६ सालपछि) यो वा त्यो रूपमा कांग्रेस र कम्युनिस्टप्रति नै नेपाली जनमत आकर्षित भएको पाइन्छ, यथार्थ यही हो। २०४८ सालको आमनिर्वाचनमा कांग्रेस, २०५१ को मध्यावधि चुनावमा कम्युनिस्ट, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ संविधानसभा निर्वाचनमा कम्युनिस्ट, ७० को संविधानसभा निर्वाचनमा कांग्रेस र २०७४ को निर्वाचनमा कम्युनिस्टअगाडि वा पछाडि आउनुको अर्थ हो– जनता यो नभए त्यो भन्ने भावबाट मुक्त भएका छैनन्।

२०४६ सालपछि उदाएका कुवेर शर्मा, देवेन्द्रराज उपाध्यायको क्रमशः हरियाली पार्टी र लोकदलले दलीय प्रतिस्पर्धामा आफूलाई खरो रूपमा प्रस्तुत गर्न सकेनन्। त्यसै हराए। राप्रपालाई केही हदसम्म जनताले ठाउँ दिएका थिए। आफ्नै व्यवहार, कार्यशैली, सत्ता लोलुप्ताले आफ्नो स्वत्व पनि जोगाउन सकेन। अन्ततः दिल्लीमा कांग्रेसजस्तै अवस्थामा राप्रपा पुग्यो। अब ऊसँग जनताको विश्वास जित्ने आकर्षक नारा पनि छैन। नयाँ सोच र चिन्तन लिएर आएका साझाजस्ता नयाँ दलले पनि अपेक्षित परिणाम ल्याउन सकेनन्। तर छिमेकको निर्वाचन परिणामले जनअपेक्षित कार्यक्रम र व्यवहार प्रस्तुत गर्ने हो भने निश्चय पनि जनताले विवेक पु¥याउनेछन् भन्ने सन्देश दिएको छ।

निःशुल्क शिक्षा, बिजुली, पानीको शुल्क मिनाहा, सरकारी विद्यालयको सुधार र स्तरवृद्धि, सडकमा सिसिटिभी, कर नबढाउनु तर तर राजश्व वृद्धि हुनु, महिलाको सुरक्षाप्रति संवेदनशीलता देखाउनु, उनको समूहलाई भ्रष्टाचारको आरोप नलाग्नुजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यमा देखाएको तदारुकताले नै अन्ततः आप तेस्रोपल्ट पनि जनताको मन जित्न सफल भएको हो। ठूला र चामत्कारिक काम नगरे पनि जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सानातिना काम गरेर पनि जनताको मत जित्न सकिन्छ भन्ने शिक्षा पनि आपले दिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App