७ वैशाख २०७८ मंगलबार
विचार

स्वस्थानी र सांसद सुवेदी

यस वर्षको स्वस्थानी व्रत साङ्गे (समापन) भइसकेको छ। तर यसबारेको बहस भर्खर सुरु भएको छ। उसो त यस विषयमा निकै पहिलेदेखि डा. अरुणा उप्रेती, रामेश्वरी पन्तजस्ता विद्रोही केही महिलाले बेलाबेला प्रश्न उठाइरहेकै हुन्। तर यसपटक स्वस्थानी बहसले अलि चर्कै रूप लिएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट सांसद यशोदा गुरुङ सुवेदीले संसद्मै स्वस्थानी व्रतकथा पुस्तकका पाना च्यात्नुपर्छ भन्ने अभिव्यक्ति दिएपछि यो विषय अलि बढी चर्चामा आएको हो।

धर्म–संस्कृतिका नाममा मान्छेले मान्छेविरुद्ध जतिसुकै ज्यादती गरे पनि पचाउने यो समाज त्यसविरुद्ध कसैले अलिकता पनि प्रश्न उठायो भनेचाहिँ पचाउनै सक्दैन। अहिले सांसद सुवेदीविरुद्ध भाइरल भइरहेको ‘सामाजिक सञ्जाल आक्रमण’ पनि त्यही प्रवृत्तिको निरन्तरता हो।

तर धर्म–संस्कृति–परम्पराका नाममा समाजमा व्याप्त विभेद, शोषण र अमानवीय हर्कतविरुद्ध यसरी कसैले पनि प्रश्न गर्ने आँट नगरेका भए आजसम्म कति महिला आफ्ना पतिको निधन हुनेबित्तिकै उसैको शवसँगै जिउँदै चितामा जलिरहेका हुन्थे, सतीप्रथाका नाममा। तर त्यो क्रूर प्रथा/प्रचलनविरुद्ध कसै न कसैले आवाज उठाउने आँट गरे। र, त्यो आवाज ठूलो हुँदै गएर अन्ततः १९७७ असार २५ गते तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सतीप्रथा अन्त्य घोषणा गरे। त्यसपछि मात्रै महिलाले आफ्नो ज्यान लिने तत्कालीन ‘छाउपडी’बाट मुक्ति पाएका हुन्।

जबसम्म धार्मिक ‘संविधान’ परिवर्तन/संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद/हिंसा हट्नेवाला छ न त जातीय  असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ।

अहिले स्वस्थानी कथाप्रति प्रश्न उठाउने सांसद सुवेदीविरुद्ध ‘आगो’हुनेहरूले यो इतिहास पनि स्मरण गर्न आवश्यक छ।
स्मरण रहोस्, स्वस्थानीप्रति प्रश्न उठाउने महिला (सांसद) कुनै गैरहिन्दू, कमिनी, दमिनी वा तामाङनी होइनन्, सुवेदी बाहुनकी छोरी हुन्। गुरुङसँग विवाह गरेपछि आफ्नो नाममा ‘गुरुङ’ पनि जोडेकी हुन्। अर्थात् उनी त्यस्ती समुदायकी छोरी हुन्, जसले जति स्वस्थानी कुन समुदायका महिलाले बुझेका÷भोगेका होलान् र ? यसैकारण संसद्मा उनले सुदूरपश्चिमेली महिलाका ‘छाउपीडा’ मात्र नभएर विगतका आफ्नै असह्य अनुभूति पनि पोखेकी हुन सक्छिन्।

उनले यो आक्रोश पश्चिम नेपालमा व्याप्त छाउपडी अर्थात् महिनावारी हुँदा महिलालाई ‘अपवित्र’ र ‘अशुद्ध’ मान्दै घरबाट अलग्गै, अत्यन्त असुरक्षित एकान्त स्थानमा बनाइएको छाउगोठमा राख्ने (कु)रीति अन्त्य अभियानका सन्दर्भमा व्यक्त गरेकी हुन्। हामीलाई थाहै छ– पश्चिम नेपालमा छाउगोठमा बस्ने क्रममा कैयौं महिलाले आफ्नो अमूल्य जीवन गुमाइसकेका छन्। कतिपय त बलात्कृतसमेत भएका छन्। यसलाई आधुनिक ‘सतीप्रथा’ भन्दा पनि हुन्छ। यसैकारण अहिले सरकार त्यो ज्यानमारा प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियानमा लागेको छ। तर मानिसको मानसिकतामा गाडिएर बसेको ‘छाउगोठ’ टसको मस नहुँदा त्यहाँका महिला लुकीलुकी भत्केकै छाउगोठ तथा बारीका पाटा र बाटाहरूमा स्याउलाका छाप्रो बनाएर भए पनि महिनावारी ‘मनाइरहेका’ छन्।

तसर्थ देखिने छाउगोठ मात्र भत्काएर छाउपडी कुप्रथा अन्त्य हुनेवाला छैन, त्यसका लागि नदेखिने (मानसिक) ‘छाउगोठ’ नै भत्काउन जरुरी छ भन्ने आवाज उठिरहेको छ। यही विषय उठान गर्ने क्रममा सांसद सुवेदीले अघिल्लो मंगलबार संसद्को शून्य समयमा बोल्दै माथि उल्लिखित अभिव्यक्ति दिएकी हुन्। आखिर उनले त्यस्तो किन भनिन् ?
सांसद सुवेदी भन्छिन्, ‘छाउगोठ भत्काएर मात्र हुँदैन। मानिसको दिमागमा रहेको छाउ पनि हटाउनुपर्छ। धर्मका नाममा रहेको विकृतिहरूको विरोध नगरी त्यो हटाउन सकिँदैन।’ उनी थप्छिन्, ‘मैले संसद्मा स्वस्थानी सबै च्यात्नुपर्छ भनेकी छैन। त्यसभित्र भएका कतिपय प्रसंगले नकारात्मक सन्देश दिइरहेका छन्। त्यसलाई बदलौं भनेकी हुँ। च्यात्नुपर्छ भने पनि त्यसको लाक्षणिक अर्थ बदल्नुपर्छ भन्ने हो।’

आखिर सबैभन्दा ठूलो धर्म भनेकै मानवता त हो। यसर्थ अहिलेको युगमा हाम्रो मात्रै होइन, संसारका कुनै पनि धर्म–संस्कृति मानवीय मूल्य/मान्यता कुल्चेर बाँच्न सक्दैनन्। यतातिर पनि ध्यान दिने कि ?

भर्खरै ललितपुरको सानेपामा भएको पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुनाको हत्यामा पनि उनी यही कुसंस्कार जिम्मेवार देख्छिन्। उनको तर्क छ, ‘उनी (पूर्वसचिव कार्की) पूजा लगाउन पशुपति गए पनि मिन्स (रजस्वला) भएका कारण श्रीमती लगेनन्। सँगै नलाँदा त्यो घटना भयो, सँगै गएको भए हुँदैनथ्यो कि ?’

सांसदजस्तो उच्च पदमा रहेकी महिलाले त परम्पराविरुद्ध बोल्दा यत्रो खप्की खानुपर्छ भने झन् दूरदराजका ती अकिञ्चन नारीले कसरी छाउपडीको विरोध गर्न सकुन् ? सुवेदी प्रकरण, महिला– यो परम्परावादी समाजको कति ठूलो घेराबन्दीमा छन् भन्ने एउटा गतिलो उदाहरण पनि हो।

धर्म–संस्कृतिको अलिकता पनि आलोचना हुँदा यतिसाह्रो दुख्ने मनहरू छाउगोठमा महिलाको मृत्यु तथा बलात्कार हुँदाचाहिँ किन पटक्कै दुख्दैनन् ? छुवाछूतको निहुँमा दलितविरुद्ध जतिसुकै जघन्य अपराध हुँदा पनि किन चह¥याउँदैन ? ‘छाउपडी किन बारेको ?’ देवता रिसाउँछन् भनेर। ‘दलितलाई घरभित्र किन नपसाएको ?’ यसको उत्तर पनि हो– देवताले सहँदैनन्, धर्म नासिन्छ। आखिर, हरेक मानिसको दिमागमा यो डरलाग्दो ‘देवता’ सिर्जना गर्ने स्रोत के हो ?

पछिल्लो समय एउटा फेसन चलेको छ– कसैले हिन्दू धर्मको अमानवीय पक्ष औंल्यायो भने उसलाई ‘पश्चिमा’को आरोप लगाइहाल्ने। सायद, यी हरफ लेख्दासम्म कतिपयले मलाई पनि ‘पश्चिमा’ले उचालेको व्यक्ति ठानिसकेका छन्। तर विनम्रतापूर्वक आग्रह गर्छु– म कुनै क्रिस्चियन होइन र कहिले हुदिनँ पनि। शंका नगर्नुस्, म हिन्दू धर्मावलम्बी नै हुँ र रहिरनेछु। तर म त्यस्तो हिन्दू सदस्य हुँ जस्तो नेकपामा भीम रावल छन्। जो जहिले पार्टीको (गलत कामको) आलोचना गरिरहेका हुन्छन्। वास्तवमा आफ्नो पार्टी वा धर्मको गलत पक्ष औंल्याउनु भनेको त्यसप्रति माया र अपनत्व भएरै हो। सुधारेर अझ राम्रो बनाऊँ भनेरै हो।

दलित पनि हिन्दू नै हुन्। तर आफ्नै धर्ममा तिनको स्थान कस्तो छ ? कृपया, छातीमा हात राखेर जवाफ दिनुस्। तिनलाई आफ्नै सहधर्मी (कथित उच्च जाति)ले देखिसहँदैनन्। आफ्नै सदस्य ठानेर सँगै पूजापाठ तथा भातभान्छामा सहभागी गराउने कुरा त परै छाड्दिऊँ, ‘मानव’ नै मान्दैनन्। अर्थात् पशुभन्दा पनि तल अछूत ठान्छन्। धारामा पानी छोइदियो भनेर पिट्छन्। मन्दिरभित्र पस्यो भनेर घोक्रेठ्याक लगाउँछन्। कसैगरी आफ्नी छोरी÷चेलीसँग प्रेम बस्यो भने त उसको इहलीला नै समाप्त पार्न पछि पर्दैनन्÷परिरहेका छैनन्। यी कुनै काल्पनिक कुरा होइनन्। सञ्चारमाध्यममा बारम्बार आइरहने तथ्य÷घटना हुन्। भन्नुस् त, यो ठीक छ ? जायज हो ? त्यसको विरोध गर्ने कि नगर्ने ? यो गलत छ, सच्याउनुपर्छ भनेर भन्न पाइने कि नपाइने ?

अर्काे आरोप छ– नेपालमा व्यापक धर्म परिवर्तन गर्ने/गराउने गलत अभियान चलिरहेको छ। पश्चिमाले बर्बाद पारे। यसमा पनि मेरो फरक मत छ। हिन्दू धर्म बर्बाद पार्ने काम अरू कसैले होइन, तपाईंहरूले नै गरिरहनुभएको छ। तपाईं आफ्नै सहधर्मी (दलित)लाई हेप्ने, छुवाछूत गर्ने, आफ्नै देउता पुज्न मन्दिर जाँदा लात्ताले हान्ने अनि अर्काे धर्ममा गयो भनेर कोकोहोलो मच्चाउने ! जुन धर्ममा रहँदा आफैंले आफूलाई अमानव (अछूत) स्वीकार गर्नुपर्ने हुन्छ, त्यस्तो अवस्थामा अरू कसैले कम्तीमा ‘मानव’को दर्जा मात्र दिन्छु भन्यो भने पनि स्वाभाविक रूपमा मानिस लोभिन्छ नै। आखिर आत्मसम्मान भन्दा ठूलो कुरा अरू के नै छ र ! कसैलाई पनि आफ्नो घरपरिवार छाड्ने रहर हुँदैन। तर देशमा बाँच्नै नसक्ने अवस्था भएपछि मानिस विदेश (वैदेशिक रोजगारीमा) जान बाध्य हुन्छ। हो, यतातिर पनि ध्यान दिने कि धर्मको विरोध भयो भनेर रुवाबासी गर्नेहरूले ?

प्रसंगवश एकजना विद्वान्सँग स्वस्थानी र सांसद सुवेदीको अभिव्यक्तिका विषयमा छलफल चल्यो। जसले सांसद सुवेदीविरुद्ध फेसबुकमा कडै स्टाटस पनि ठोकेका छन्। मसँग पनि उनले निकै आक्रोश पोखे। अनि बाइबलमा पनि यस्तो गलत कुरा छ नि भनेर देखाए। मैले भनें, ‘अरूका दाग देखाएर आफ्नो दाग मेटिन्छ र ? अरूका त्रुटि औंल्याएर आफ्ना कमजोरी छोपिन्छ र ?’ उनको आक्रोश बढ्दै गयो। उनले स्वस्थानी व्रतकथा नारीको शक्तिकै पक्षमा भएको जिकिर गरे। मैले प्रश्न गरें, ‘उसो भए हरेक वर्ष स्वस्थानी व्रत लिने महिलाको अवस्था किन उल्टो ?’ त्यसपछि उनले मलाई ‘पाखण्डी’को उपमा दिए। यो ‘धार्मिक’हरूको विशेषतै हो।

अचम्मको कुरा त उनी त्यस्ता स्थानमा छन् जहाँ देशकै ‘चेतनशील’ वर्गमा पर्ने तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अग्रगामी सोचका व्यक्ति बस्छन्, त्यस्ता व्यक्तिको मस्तिष्क त यति जड छ भने अन्य सामान्यजनको चेतनास्तर झन् कस्तो होला ? उसो त औपचारिक शिक्षाको उपाधि (डिग्री) लिँदैमा, उच्च ओहोदामा पुग्दैमा मानिसको मानसिकतै फेरिने त कहाँ हो र ! मानसिकता फेर्नका लागि त त्यस्तै खालको शिक्षा लिनुपर्छ÷पाउनुपर्छ। त्यसैले त सुदूरपश्चिममा पढेलेखेकैहरू छाउपडी मान्छन्, दाइजो दिएन भन्दै डाक्टरहरू नै श्रीमतीलाई जिउँदै जलाउँछन्। अनि उच्च शिक्षित भनाउँदाहरू नै जातीय भेदभाव/छुवाछूत गर्छन्।

स्वस्थानी मात्रै होइन, मनुस्मृतिलगायत हाम्रा कतिपय धर्मग्रन्थमा नारी र शूद्र (दलित)विरोधी थुप्रै कुरा छन् (ठाउँ सानो भएकाले अहिले उल्लेख गर्न सम्भव छैन, आवश्यक परे आगामी लेखमा गरौंला)। जसले लैंगिक तथा जातीय विभेद जगेर्नामा भूमिका खेलिरहेका छन् भन्दा अतियुक्ति नहोला। त्यसैले त जातीय विभेद अन्त्यका लागि भनेर हामीले कतिपटक कानुन फे¥यौं, दुई÷तीनपटक संविधान फे-यौं। त्यस्तो कसुर गर्नेलाई दण्डजरिवाना र जेल सजायसमेत व्यवस्था ग¥यौं। तर पनि समाजबाट खोइ भेदभाव हटेको ?

कारण हो– हामीले राजनीतिक संविधान त फे-यौं तर धार्मिक ‘संविधान’ फेरेनौं। परिणाम– देशमा २१औं शताब्दीको गणतन्त्र त छ तर समाजमा शासन, उही हजारौं वर्ष पुरानो ‘धर्मतन्त्र’ले गरिरहेको छ। तसर्थ अब बेला भएको छ– धार्मिक संविधान फेर्ने वा संशोधन गर्ने। जबसम्म धार्मिक संविधान परिवर्तन÷संशोधन गरिँदैन तबसम्म यहाँ न लैंगिक विभेद÷हिंसा हट्नेवाला छ न त जातीय असमानता र उत्पीडन नै अन्त्य हुनेवाला छ। यही यथार्थ बोध गरेर हुनुपर्छ– नेकपा नेतृ एवं सांसद यशोदा गुरुङ सुवेदीले संसद्मा स्वस्थानीविरुद्ध दिएको प्रतिक्रिया। कुनै पनि विधान÷संविधान परिवर्तन वा संशोधन गर्नु भनेको त्यसलाई अझ सर्वप्रिय र सर्वस्वीकार्य बनाउनु हो।

सबैलाई आफ्नो धर्म–संस्कृति अनुसरण तथा संरक्षण गर्ने स्वतन्त्रता छ। तर सँगसँगै सबैलाई स्वतन्त्र र सम्मानित मानव भएर बाँच्ने नैसर्गिक हक पनि छ। तसर्थ धर्म/संस्कृति/परम्पराका नाममा मानिसको त्यस्तो अधिकार हनन गर्ने छुट कसैलाई हुँदैन। आखिर सबैभन्दा ठूलो धर्म भनेकै मानवता त हो। यसर्थ अहिलेको युगमा हाम्रो मात्रै होइन, संसारका कुनै पनि धर्म–संस्कृति मानवीय मूल्य÷मान्यता कुल्चेर बाँच्न सक्दैनन्। यतातिर पनि ध्यान दिने कि ?

प्रकाशित: ६ फाल्गुन २०७६ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?