१४ फाल्गुन २०८० सोमबार
विचार

चिनियाँभन्दा बढी ‘चिनियाँ’

विगत चार दशकदेखि देङ स्याओ पिङले हिँडाएको पुँजीवादको बाटोमा बेग हान्दै तीव्र आर्थिक विकास गरिरहेको चीनलाई संशोधनवादी र पुँजीवादी, अनि देङलाई गद्धार भन्थे हाम्रा यहाँका कतिपय कम्युनिस्टहरू कुनै बखत।  बीसौँ शताब्दीको अन्त्यसँगै भएको विश्व साम्यवादको पतन र ‘विश्व कम्युनिस्ट केन्द्र’ को विघटनपछि चाहिँ टुहुरा महसुस गरेका उनीहरू अचेल धेरै भो चीनको अन्धभक्त बनेका। अर्थनीति पुँजीवादी भए पनि राजनीतिक सत्तामा कम्युनिस्ट पार्टीको एकाधिकार कायमै रहेको हुँदा भक्तका लागि भगवान बनेको छ चीन। तर कहिलेकाहीँ चाहिँ उनीहरूको भक्ति चीनकै लागि पनि ‘.....लाई भन्दा देख्नेलाई लाज’ झैँ हुँदो हो जस्तो लाग्छ। जसको उदाहरण दुई कम्युनिस्ट नेताले हालै प्रस्तुत गरे।

दुईमध्ये एक हो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष भएर पनि चीनको उहानबाट हामीलाई नेपाल फर्काइदेऊ भनेर रोइकराइ गरिरहेका नेपालीलाई फर्काउने विषयमा एक शब्द नबोलेका पुष्पकमल दाहाल। र, अर्का हुन् त्यसरी फर्काइयो भने तिनलाई आफ्नो निर्वाचन क्षेत्रमा बस्न दिन्नौँ भनेर आन्दोलन गर्ने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे। उहान सहरमा महामारीको रूप लिई अन्यत्र पनि फैलन लागेको कोरोना भाइरस संक्रमणलाई ‘अस्वाभाविक’ भन्दै दाहालले त्यसलाई चीनका शत्रुहरूको षडयन्त्र बताए। महामारी फैलनुमा उनले ‘चीनको विकासको वेग रोक्ने प्रपञ्च हुन सक्ने’ र ‘राजनीति मिसिएको’ षडयन्त्र देखे। अमेरिका र पश्चिमा शक्तिहरूतर्फ संकेत गर्दै संक्रमणको अतिरञ्जित प्रचार गरेर वातावरणलाई त्रसित बनाइदिन खोजेको हुन सक्ने जिकिर गरे। बिजुक्छेले त अझ खुलेरै संक्रमणलाई चीनका विरुद्ध पश्चिमा देशहरूको षड्यन्त्र भन्दिए। अबको २५ वर्षमा चीनले अमेरिकालाई पछार्ने भएको हुँदा त्यही रिस र डाहाले चीनलाई दुःख दिन र बदला लिनका लागि अमेरिकाले कोरोना भाइरस संक्रमण गराएको हुन सक्ने उनको ठोकुवा थियो।

राजनीतिक आस्था वा कथित वैचारिक भातृ सम्बन्धका आधारमा एउटाको भक्ति गर्ने र अर्कोको खोइरो खन्ने भुल हामीले गर्नै हुन्न।

शीतयुद्धकालीन प्रोपोगन्डाको धङधङी
‘इन्डक्ट्रिनेसन र स्कुलिङ’ शीतयुद्धकालमै भएका अहिलेका धेरै कम्युनिस्ट नेताहरूको मनमस्तिष्कमा गडेको तत्कालीन प्रोपोगन्डाको असर गहिरै छ। त्यसैले देशको अन्तर्राष्ट्रिय सम्बन्ध नै दुष्प्रभावित हुन सक्ने गरी त्यसको धङधङी यसरी बेलाबेलामा बाहिर आउँछ। हो, शीतयुद्ध कालमा रासायनिक र जैविक हतियारहरूको परीक्षण, प्रयोग भएकै हुन्। जुन षडयन्त्र तर उनीहरूले भने जस्तो अमेरिकाले मात्र गर्दैनथ्यो, त्यस बखतको विश्व कम्युनिस्ट केन्द्र र उनीहरूका आदर्श सोभियत संघले पनि गथ्र्यो।  आजको विश्व अर्कै भइसक्यो। कोरोना भाइरसको संक्रमणबाट अमेरिकी नागरिकको पनि मृत्यु भइसकेको छ। र, भाइरसको उपचारात्मक/निरोधात्मक भ्याक्सिन पत्ता लाउन अहिले अमेरिकाका वैज्ञानिकहरू पनि लागिपरेका छन्, पूर्वाग्रही भई हावा कुरा गर्नु बेग्लै हो।

यस्ता अभिव्यक्ति वास्तवमा वामपन्थी संकीर्णता, कुपमण्डुकता र पछौटेपनका प्रतिविम्ब हुन्। कम्युनिस्टमध्येका पनि साँच्चैका प्रगतिशील र गतिशीलहरूले त्यसो भन्दैनन्। उनीहरू समयानुकूल परिवर्तन हुन्छन्। जसबाट उनीहरूले सफलता पनि प्राप्त गर्छन् र (अरुको) स्वीकार्यता पनि। चीनका देङपन्थी कम्युनिस्टहरूदेखि नेपालका मदनपन्थी एमालेहरूसम्मले आफूलाई समयानुकूल परिवर्तन गर्दै लगे। देङले ‘बिरालो कालो वा सेतो जस्तो भए पनि केही फरक पर्दैन, त्यसले मुसा मारे पुग्छ’ (अर्थात ‘वाद’ जे अपनाए पनि हुन्छ तर त्यसले विकास गर्नुपर्छ) भन्दै पुँजीवादी अर्थनीति अंगाले। एमालेहरूले सिद्धान्त जीवनका लागि हो जीवन सिद्धान्तका लागि होइन भनेर संसदीय प्रजातन्त्रको अभ्यासमा आफूलाई ढाले।

अमेरिका पनि विश्वकै एकमात्र महाशक्ति राष्ट्र हुनुका अलावा हजारौँ हजार नेपालीको बसोबास रहेको हाम्रो मित्र र दाता मुलुक हो। ऊलगायतका संसारका प्रमुख राष्ट्रसँग उत्तिकै मित्रवत् सम्बन्ध राख्नुमै हामी जस्तो सानो, गरिब र कमजोर देशको कल्याण छ।

तर सबै यस्तो परिवर्तन हुन सक्दैनन्, जस्तो कि उत्तर कोरियाका किम वंशीय कम्युनिस्ट शासकहरू वा लोकतान्त्रिक भारतका कम्युनिस्टहरू। समयअनुसार परिवर्तन हुन नसक्दा एउटा विश्वमै एक्लो बनेको छ भने अर्को आफ्नै देशको राजनीतिमा पूरै असान्दर्भिक भएको छ। किमहरू अमेरिकी साम्राज्यवादको डर पाल्दै (यथार्थमा डर देखाउँदै) मिसाइल परीक्षण र सैन्यकरणमा देशको सम्पूर्ण साधन खर्चिरहेछन्। उता भारतका कम्युनिस्टहरू गाउँमा कुलोको उदघाटन समारोहमा पनि ‘अमेरिकी साम्राज्यवाद’ लाई गाली नगरी आफ्नो भाषण सुरु गर्दैनन्। बिजुक्छे त किमहरूलाई आदर्श मान्ने नेता भइगए। किमहरू परिवर्तन नभएसम्म उनी परिवर्तन हुँदैनन्। दाहाल भने नेपाली राजनीतिका अहिलेसम्मकै सबभन्दा ‘अनप्रेडिक्टेबल खेलाडी’ हुन्। भीड हेरेर बहकिने र बोल्ने उनको यो ‘जिब्रो चिप्लिएको’ मात्रै हो वा उद्देश्यपूर्ण (जस्तो कि एमसिसीको अनुमोदनमा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने उद्देश्यको) भनाइ, अहिले भन्न सकिँदैन।

‘चीन घेर्ने’ हावादारी संकथन
वास्तवमा हाम्रा कम्युनिस्टहरूको चीन चिन्ता कोरोना भाइरस संक्रमणमा मात्र सीमित छैन। उनीहरू  चीनलाई घेर्नकै लागि पश्चिमा शक्तिहरू खासगरी अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको, त्यस प्रयोजनले अमेरिकाले नेपालमा घूसपैठ गरिरहेको कुरा बारम्बार बताइरहन्छन्। तर यो घेर्ने भनेको के हो, सैन्य घेराबन्दी हो कि, आर्थिक नाकाबन्दी हो कि, जासुसी गर्नु हो कि प्रष्ट पार्न सक्दैनन्। सैन्य घेराबन्दी किन आवश्यक छ र कसरी सम्भव छ ? करिब २२ लाख संख्याको संसारकै सबभन्दा विशाल सेना र ९६ लाख वर्ग किलोमिटर क्षेत्रफल भएको विश्वकै दोस्रो ठूलो र शक्तिशाली देशलाई विपरित गोलाद्र्धमा रहेको करिब १३ लाख सेना भएको अमेरिकाले कसरी सैन्य घेराउ गर्छ ? यस्ता प्रश्नको त उत्तरै छैन। आर्थिक नाकाबन्दी हो भने चीन अमेरिकाको सबभन्दा ठूलो व्यापार साझेदार कसरी भयो त इयुसँग भन्दा पनि बढी ? भन्यो भने जवाफ छैन। हो, व्यापारका क्रममा उनीहरूबीच व्यापारका सर्त, आयात वा काउन्टरभेलिङ शुल्क, ‘एन्टी डम्पिङ’ वा ‘नन–ट्यारिफ ब्यारियर’ जस्ता कुरालाई लिएर ठ्याकठुक परिरहन्छ। जसको समाधान उनीहरू जेनेभामा वार्ता गरेर विश्व व्यापार संघको नियमानुसार हल गर्छन्। त्यसका लागि नेपाल पसेर घेर्नु पर्दैन अमेरिकालाई।

अमेरिका र चीनबीच सामाजिक, सांस्कृतिक र जनस्तरका आदान–प्रदान पनि त्यत्तिकै भइरहन्छन्। अमेरिका चिनियाँ विद्यार्थीको सबैभन्दा प्रिय गन्तव्य हो। कमरेडहरूलाई थाहा छ कि छैन कुन्नि, अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमध्ये पूर्वी र दक्षिणपूर्वी एसिया क्षेत्रमा गस्ती गरिरहने अमेरिकी नौसेनाको युद्धपोतका सैनिकहरूको छुट्टी मनाउने सबभन्दा प्रिय गन्तव्य चीनको हङकङ हो। जहाँको तटमा लंगर हालेर हप्तौँ पार्क गरिएका अवस्थामा ती युद्धपोत भेटिन्छन्। विदेश मामला भएकाले ‘विशेष स्वायत्त प्रदेश’ को दर्जा प्राप्त हङकङले यद्यपि बेइजिङसँग सोधेर मात्र यस्तो स्वीकृति दिन्छ। र, बेइजिङ अमेरिकी सेनाले हामीलाई घेर्ला भनेर डराउँदैन, सहमति दिन्छ। किन त भने २–३ हप्तासम्म ७–८ हजार अमेरिकी सैनिकले हङकङको रात्रिक्लबदेखि सपिङ मल र रेस्टुरा गएर खर्च गर्दा त्यहाँको अर्थतन्त्रमा योगदान पुग्छ। हङकङमा नेपालको महावाणिज्य दूत भएर बस्दा यो पंक्तिकारले त्यस्तो युद्धपोतमा गएर धेरैपटक युद्धक विमानहरूको अवलोकन गरेको छ।

प्रतिस्पर्धा : विचारधाराको होइन, हितहरूको
वास्तवमा विश्वको पहिलो र दोस्रो ठूलो अर्थतन्त्र अमेरिका र चीन एकअर्काका साझेदार र प्रतिस्पर्धी दुवै हुन्। अमेरिका चाहन्छ– आफ्नो देश हरेक कुरामा १ नम्बरमै रहिरहोस्, त्यसबाट तल नझरोस्। तर ऊ आफ्नै नागरिकको ठूलो मात्रामा लगानी रहेको चीनको नास चाहँदैन। त्यसैगरी चीन पनि अमेरिकाको नास चाहँदैन। किनकि नासको त के कुरा, अमेरिकामा मन्दी मात्र आउँदा पनि चीनको निर्यात र उत्पादन घट्न जान्छ र अर्थतन्त्र पूरै डावाँडोल हुन्छ। हो, उनीहरू एक÷अर्कामाथि निगरानी जरुर गर्छन्। जुन कुरा शक्तिराष्ट्रले गरिरहेकै हुन्छन्। अमेरिकाले आफ्नो प्राविधिक श्रेष्ठताको उपयोग गर्दै अन्तरिक्षमा रहेको आफ्नो उपग्रहबाट चीनको अनेक गोप्य कुराको जानकारी, फोटो लिएको होला। त्यसैगरी चीनले पनि अमेरिकाको गुप्तचरी गरेको होला। स्मरणीय छ, खासगरी साइबर भेदनका माध्यमबाट यस्तो जासुसी गरेको भन्दै हुवावेइ नामक चिनियाँ टेलिकम कम्पनीलाई अमेरिकाले प्रतिबन्धै लगाएको छ। तर उनीहरूको प्रतिस्पर्धा एक अर्कालाई सिध्याउने प्रतिस्पर्धा होइन, कक्षामा प्रथम हुन दुई जना सबभन्दा अब्बल विद्यार्थीका बीचमा हुने पढाइको प्रतिस्पर्धा जस्तो हो। जुन प्रतिस्पर्धामा हामीले एउटाको पक्ष लिनु र अर्कोलाई गाली गर्नु जरुरी छैन, अरु बाँकी छात्र जस्तै तटस्थ बस्दा हुन्छ। 

त्यसो किनकि दुवै हाम्रा मित्र हुन्। आफ्नो अवस्था, आवश्यकता र हितका दृष्टिले पहिले भारत र चीनसँग सुमधुर सम्बन्ध राख्नु त अपरिहार्यै भैगो। अमेरिका पनि विश्वकै एकमात्र महाशक्ति राष्ट्र हुनुका अलावा हजारौँ हजार नेपालीको बसोबास रहेको हाम्रो मित्र र दाता मुलुक हो। ऊलगायतका संसारका प्रमुख राष्ट्रसँग उत्तिकै मित्रवत सम्बन्ध राख्नुमै हामी जस्तो सानो, गरिब र कमजोर देशको कल्याण छ। राजनीतिक आस्था वा कथित वैचारिक भातृ सम्बन्धका आधारमा एउटाको भक्ति गर्ने र अर्कोको खोइरो खन्ने भुल हामीले गर्नै हुन्न।

अनि, चीन आफूले त कहिल्यै अमेरिकाले आफूलाई घेर्न नेपाललाई प्रयोग गर्न खोजेको गुनासो गरेको छैन। ‘घेर्नै परे’ पनि नेपालकै भूमि प्रयोग गर्नुपर्ने चीन माओको बखतको बन्द चीन पनि होइन। त्यतिबेला चीनको जासुसी गर्न अमेरिकाले नेपालको भूमि प्रयोग गर्न पनि खोज्थ्यो होला तर आजको चीन त खुला चीन हो जहाँ बेरोकटोक जान, बस्न, व्यवसाय गर्न पाइन्छ। यस्तोमा आफ्ना जासुसलाई सोझै चीन नपठाएर, चीनको फोटो खिच्नका लागि आकासको उपग्रह प्रयोग नगरेर, केही कुराको सुविधा नहुने यो नेपालबाट केचाहिँ जासुसी गर्ने अमेरिकाले ? आजको चीनमा लगानीकर्ता, व्यवस्थापक, विज्ञ, प्राविधिक, प्रोफेसर, चिनियाँ भाषादेखि विविध विषय पढ्ने विद्यार्थी इत्यादि गरी लाखौँ अमेरिकी बसोबास गर्छन्। के सोझै तिनमा आफ्नो मान्छे घुसाउन सक्दोरहेनछ सिआइएले र हिमालपारिको नेपालबाट चीनको जासुसी गर्नुपर्दोरहेछ उसलाई ? फेरि के चीन त्यस्तो सानो, निरीह, कमजोर वा हुस्सु रहेछ नेपाललाई प्रयोग गरेर उसलाई घेर्न आउँदा पनि थाहा÷पत्तो नपाउने वा थाहा पाएर पनि केही गर्न नसक्ने र हाम्रा कमरेडहरूले सतर्क गराइरहनु पर्ने ?
त्यसो होइन भने आइन्दा यस्ता हाँस्यास्पद कुरा गर्न र चिनियाँ भन्दा पनि बढी चिनियाँ हुन हाम्रा कमरेडहरूले छाड्नुपर्छ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App