५ कार्तिक २०७८ शुक्रबार
विचार

उपेक्षामा स्वदेशी

देशमा अहिले  नेपाल भ्रमण वर्ष– २०२० चर्चाको एउटा प्रमुख विषय बनिरहेको छ। तर भ्रमण वर्ष नेपालका लागि नयाँ विषय होइन। सन् १९९८ र २०११ मा पनि यस्ता अभ्यास भएका थिए। सन् २०२० भएकाले होला– यही संख्यासँग मिल्नेगरी २० लाख पर्यटक नेपाल भिœयाउने जुन लक्ष्य लिइएको छ, त्यो त्यति चुनौतीपूर्ण होइन, कुरा र कामबीच तालमेल मिलाउन सकियो भने। तर नेपालमा यी दुईबीच तालमेल नहुनु नै सबैभन्दा ठूलो चुनौती बन्ने गरेको छ, सधैं।

यो भ्रमण वर्ष मात्र होइन, कुनै पनि महत्वपूर्ण कार्यक्रम सही अर्थमा सफल बनाउन नारा र भाषण, एकोहोरो प्रचार र खर्चिलो  तामझामले खासै योगदान पु-याउँदैनन्। बरु सानातिना काममा ध्यान दिए बढी प्रभावकारी हुन सक्छ। जस्तै ः भ्रमण वर्ष शुभारम्भका बेला लाखौं खर्च गरेर सयौं स्वागतद्वार बनाउनुभन्दा सडक मर्मत गर्नु र सफासुग्घर राख्नु प्रभावकारी हुन्छ। पर्यटकले के–के मन पराउँछन् मात्र होइन, के–के मन पराउँदैनन् भन्नेतर्फ पनि हेक्का राख्न आवश्यक छ। गाउँ, सहर र पर्यटकीय क्षेत्रमा सार्वजनिक शौचालयसमेत नभएको स्थिति कुनै पनि पर्यटकलाई राम्रो लाग्दैन। हचुवाका भरमा सिंगै देशलाई खुला दिसामुक्त घोषणा गर्दैमा सबैतिर शौचालयको उचित व्यवस्था हुन सक्दैन भन्ने तथ्य अहिले ७७ वटै जिल्लामा पुष्टि भइरहेको छ।

विदेशी पर्यटकलाई नेपालमा उचित मूल्यमा सेवा र वस्तु पाइन्छ, ठगिनु पर्दैन भन्ने अनुभूति दिलाउन सक्नु अर्काे महत्वपूर्ण विषय हो। तर यहाँ मूल्यको परिपाटी देख्दा पर्यटक अक्सर आफू ठगिएको अनुभूति लिएर फर्कन बाध्य छन्। नेपालका कुनै पनि बजारमा कुनै पनि सेवा र वस्तुको उचित मूल्य यही हो भनेर निक्र्योल गर्न  नेपालीकै लागि त सम्भव छैन भने विदेशीका लागि त झन् टाढाको कुरा !

भारत, चीन, जापान, थाइल्यान्डलगायत मुलुकमा पर्यटन उद्योगको ठूलो हिस्सा आन्तरिक पर्यटनले नै धान्ने गरेको पाइन्छ। तर नेपालमा अहिलेसम्मै सरकारदेखि चिया पसलसम्मले पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने सोच पालिरहेको पाइन्छ।

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने भनिरहँदा स्वदेशी अर्थात् आन्तरिक पर्यटकलाई भने भुसुक्कै बिर्सिएको वा उपेक्षा गरेको देखिएको छ। तर दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन अपरिहार्य मानिन्छ। केही वर्षयता खासगरी सशस्त्र द्वन्द्व रोकिएपछि नेपालीमा नेपालकै विभिन्न स्थान घुमफिर गर्ने बानी उत्साहजनक रूपमा विकास भएको देखिन्छ। सबैको नभए पनि करिब एकतिहाइ नेपालीको क्रयशक्तिमा राम्रै वृद्धि भएको छ। रोजगारी, स्वरोजगारी, विप्रेषण आदिका कारण नेपाली नागरिक पनि अचेल घुमफिरमा केही खर्च गर्न सक्ने हैसियतमा पुगेको देखिन्छ।

नत्र त केही वर्षअघिसम्म काठमाडौं उपत्यकाका मानिसको घुमफिर– गोरखाको मनोकामना मन्दिर दर्शन र सिन्धुपाल्चोकको तातोपानी स्नानसम्ममा सीमित थियो। तर अहिले त्यो दायरा निकै फराकिलो भई उच्च हिमाली भेगमा साहसिक पदयात्रा गर्नेदेखि मोटरसाइकलमा रारा ताल, तिलिचो ताल भ्रमणसम्म पुगिसकेको छ। तर भ्रमण वर्षले स्वदेशी पर्यटनको यो उत्साहजनक स्थितिलाई अझ प्रवद्र्धन गर्नेतर्फ कुनै सोच बनाएको देखिँदैन। भ्रमण वर्षका हर्ताकर्ता विदेशी पर्यटकको संख्या गिन्ती (हेड काउन्टिङ)मै रमाउन चाहन्छन्, सायद। नत्र त एक ठाउँको नेपाली घुम्नकै लागि नेपालकै अर्को ठाउँमा पुगेकोबारे  किन स्पष्ट अभिलेखसमेत राखिँदैन ?

विदेशमा रहेका नेपाली स्वदेश आएको मौकामा नेपालका विभिन्न रमणीय स्थानको भ्रमण गर्ने वा पदयात्रा गर्ने गतिविधि उत्साहजनक रूपमा बढेको पाइन्छ। तर उनीहरू पर्यटकको गणनामा पर्छन् कि पर्दैनन् ? नेपालमा पहिलेदेखि नै विदेशीलाई मात्र पर्यटक मान्ने, स्वदेशीलाई नमान्ने संकुचित चलन छ। विदेशीमा पनि गोरो छाला भएकालाई पहिलो, अन्य विदेशीलाई दोस्रो अनि छिमेकी मुलुक भारतका नागरिकलाई तेस्रो दर्जाको पर्यटक मान्ने परिपाटी छ। त्यसपछि मात्र स्वदेशी पर्यटक गणनामा आउँछन्। यस हिसाबले स्वदेशमा घुमफिर गर्ने नेपालीलाई चौथो दर्जाका पर्यटक मान्ने गरिएको छ। तर नेपाली पनि अहिले देश दर्शनका लागि निकै उत्साहित छन् र स्वाभाविक खर्च गर्न तयार छन्। त्यति मात्र होइन, अहिले नेपाली विभिन्न प्याकेज टुर, पारिवारिक वा समूहगत रूपमा विभिन्न देशका दर्शनीय स्थलमा पर्यटन गर्न जाने क्रम बढ्दो छ। तर नेपालमा विदेशी पाएसम्म स्वदेशीलाई पाहुनै नमान्ने र सेवा दिन अनकनाउने प्रवृत्ति जीवितै छ। ‘बीस लाख विदेशी पर्यटक भिœयाउने’ सरकारी लक्ष्यले पनि यो प्रवृत्तिलाई नै प्रोत्साहन गरेको देखिन्छ। होइन भने स्वदेशी पर्यटन प्रवद्र्धनबारे पनि स्पष्ट धारणा आउन जरुरी थियो।

विदेशी पर्यटकका भरमा मात्र पर्यटन उद्योग चलाउन खोज्ने हो भने त्यो ज्यादै जोखिमपूर्ण हुनेछ। किनकि सानो एउटा कारण मात्रले पनि विदेशी पर्यटकले आफ्नो गन्तव्य परिवर्तन गर्न सक्छन्। कुनै मिडियाले कुनै ठाउँका बारेमा अलिकति नकारात्मक कुरा लेखिदियो वा देखाइदियो भने विदेशी पर्यटकका भ्रमण–योजना (ट्राभल प्लान) नै परिवर्तन हुन्छ। सन् १९९७ तिर एक अन्तर्राष्ट्रिय पत्रिकाले नेपालको बिगँ्रदो पर्यावरण र फोहरको डंगुरलाई इंगित गर्दै प्रकाशन गरेको ‘गुडबाई सां–ग्रिला’ लेखका कारण धेरै विदेशी पर्यटक, नेपाल आउने कार्यक्रम रद्द गरी अन्यत्र लागेका थिए।

अहिले चीनबाट फैलिएको कोरोना भाइरसको सन्त्रासले पनि विशेष गरी चिनियाँ पर्यटकको बाटो नराम्ररी छेकिदिएको छ। कुनै सानो घटना वा नकारात्मक विषय हुनासाथ कतिपय विकसित मुलुकले त्यस्तो घटना भएको मुलुकमा भ्रमण गर्न नजानू भनेर आफ्ना नागरिकलाई सचेत गराउन ट्राभल एडभाइजरी जारी गर्छन्। त्यसले बाह्य पर्यटनमा निकै ठूलो असर पार्छ।

भारत, चीन, जापान, थाइल्यान्डलगायत मुलुकमा पर्यटन उद्योगको ठूलो हिस्सा आन्तरिक पर्यटनले नै धान्ने गरेको पाइन्छ। तर नेपालमा अहिलेसम्म सरकारदेखि पदयात्रा–मार्गमा रहेका चिया पसलसम्मले पर्यटक भनेका विदेशी मात्रै हुन् भन्ने सोच पालिरहेको पाइन्छ। पर्यटन गतिविधिका माध्यमबाट स्थानीयदेखि राष्ट्रियस्तरसम्मको अर्थतन्त्र चलायमान राख्नमा स्वदेशी पर्यटनको निर्णायक भूमिका रहन्छ। स्वदेशी पर्यटनलाई प्रोत्साहन गर्न स्थानीय र प्रदेश सरकारले आफ्ना क्षेत्रका पर्यटनस्थलमा आउने स्वदेशी पर्यटकको पनि आधिकारिक तथ्यांक राख्नु र उनीहरूलाई पनि पर्यटकसरहको व्यवहार गर्न जरुरी छ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि केन्द्रीय सरकारले गर्नैपर्ने एउटा महत्वपूर्ण काम छ। नेपालमा सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, स्कुलहरूमा हरेक शुक्रबार पूरा दिन काम नगर्ने चलन चलेको धेरै भइसक्यो। यसबाट राज्य, सम्बन्धित निकाय र सेवाग्राहीलाई वास्तवमा घाटासिवाय केही भइरहेको छैन। इन्धनलगायत साधन÷स्रोत उति नै खर्च हुने तर काम आधा पनि नहुने ! जस्तै ः बुधबार, बिहीबार कुनै कार्यालयमा काम विशेषले गएका सेवाग्राहीलाई कर्मचारीले शुक्रबारको हिसाबै नगरी एकैचोटि आइतबार बोलाउनु सामान्य भइसकेको छ। शुक्रबार चाँडै कार्यालय बन्द हुने भएकाले त्यो दिन काम हुँदैन भन्ने मानसिकता सेवा–प्रदायकदेखि सेवाग्राहीसम्म सबैमा व्याप्त छ। यसमा सुधार ल्याउन शुक्रबार पूरै दिन कार्यालय सञ्चालन गर्ने तर महिनाको अन्तिम शुक्रबार भने पूरै दिन बिदा गर्नु हरेक दृष्टिले उचित हुने देखिन्छ।

यसो गर्दा महिनाको अन्त्यतिर कर्मचारीले शुक्रबार र शनिबार गरी दुईदिन लगातार बिदा पाउने छन् र त्यसलाई देशभित्र घुमफिर गर्न, परिवारलाई समय दिनलगायत धेरै काममा सदुपयोग गर्न उनीहरूलाई सहज हुनेछ। यसले गर्दा आन्तरिक पर्यटनका लागि निकै राम्रो वातावरण बन्छ।  राज्यको पनि महिनामा एक शुक्रबार स्रोत÷साधन पूरै जोगिनेछ भने अन्य तीन÷चार शुक्रबार पूरै काम भई सेवाग्राहीलाई समेत सजिलो हुनेछ।

स्वदेशी पर्यटनलाई समेत प्रवद्र्धन गरी दिगो पर्यटन विकासका लागि ठोस नीति र कार्यक्रम लागू गर्न यो भ्रमण वर्ष निकै उपयुक्त अवसर हो। तीनै तहका सरकारले आआफ्ना तर्फबाट आम रूपमा महसुस हुने गरी कदम चाल्न सके मात्र भ्रमण वर्षबाट सार्थक परिणाम प्राप्त हुन सक्नेछ।
(पूर्वमहाप्रबन्धक, रासस)

प्रकाशित: ४ फाल्गुन २०७६ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App