८ वैशाख २०८१ शनिबार
विचार

रोगको ‘व्यापार’

संसारभरि नै रोग र रोगी तीव्र गतिमा बढिरहेका छन्। हिजोआज बिरामी नभएका कुनै घरपरिवार छैन होला। ४०/५० वर्षअघि नेपालमा सिटामोल पनि नखाएर सय वर्ष बा“च्ने मानिस धेरै थिए। तर अहिले औषधि नखाने मानिस भेट्टाउन गाह्रो छ। दुई दशकयता नेपालमा पेटका रोग, बाथ, मुटु–रोग, उच्च तथा न्यून रक्तचाप, मधुमेह, थाइरोडिज्म, मोतिबिन्दु, जलबिन्दु, चिन्ता, डिप्रेसन, अल्सर, क्यान्सर तथा मिर्गौलासम्बन्धी आदि रोग निकै बढेका छन्। नेपाल मात्र होइन, वास्तवमा विश्व नै अहिले अनेकौं रोगले आक्रान्त छ।

पछिल्लो अध्ययनअनुसार विश्वका ९५ प्रतिशत मानिसलाई कुनै न कुनै स्वास्थ्य समस्या छ। अर्को शब्दमा– विश्वका २० मानिसमा १९ लाई कुनै न कुनै रोग छ। जो घरमै वा अस्पतालमा कुनै न कुनै रूपमा उपचाररत छन्, औषधि खाइरहेका छन्। त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात् ७,३०१ खर्ब पुगेको छ।

यसरी संसारभरि रोग÷रोगी बढ्नुमा प्रमुख ३ कारण छन्– पहिलो : तीव्र प्रतिस्पर्धा र भागदौडको जीवन, दोस्रो : गलत खानपान तथा प्रदूषित वातावरण र तेस्रो : स्वास्थ्य–बजार।

सबैभन्दा डरलाग्दो कुरा त के हो भने विश्वमा देखापरेका धेरैजसो रोग आफैं उत्पन्न भएका होइनन्, उत्पन्न गराइएका हुन्। पूर्णतया मेडिकल माफियाको हातमा रहेको स्वास्थ्य–बजारले आफ्नो बजार विस्तार गर्न विश्व राजनीतिलाई नै प्रभावमा पारेर रोग बढाउने मात्र होइन, नक्कली रोगसमेत पैदा गर्ने गरेका छन् भन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो।

विश्वका मेडिकल माफिया यति शक्तिशाली छन् कि तिनले आफ्नाअनुकूल कानुन बनाउने मात्र होइन, संविधान नै संशोधन गर्न सक्ने हैसियत राख्छन्। त्यसैले अहिले स्वास्थ्य क्षेत्रको अध्ययन/अनुसन्धान, चिकित्सा शिक्षा तथा औषधि उत्पादनमा  पूरै व्यापारीकरण भएको छ। स्मरण रहोस्, स्वास्थ्य–बजार विश्वको दोस्रो ठूलो बजार हो।

रोगमा क्षणिक राहत पाउन र दुखाइ कम गर्न औषधि सहायक हुन सक्छन् तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त गर्न सकिन्न।

अहिले स्वास्थ्य–क्षेत्र सेवा होइन, कमाउने व्यवसाय बनेको छ। र, यसको एक मात्र उद्देश्य नयाँ–नयाँ औषधि तथा स्वास्थ्य उपकरण बनाउने, बिरामी बढाउने र जसरी भए पनि पैसा कमाउने भएको  छ। नेपालको स्वास्थ्य–क्षेत्रमा त झनै खुलेआम गुण्डाराज नै छ। साधारण रुघाखोकी लागेर अस्पताल गएका बिरामीलाई भयंकर डर देखाई भर्ना हुन बाध्य गराउँछन् र ५/६ दिन राखेर ५०औं हजारको बिल थमाउने गर्छन्। अनि पैसा तिर्न नसकेका खण्डमा बिरामीलाई बन्दी बनाउने अस्पताल पनि थुप्रै छन्। साधारण रोगका लागि अनेक परीषण गराउने र उचित निदानबिना नै झोलाभरि हुने गरी औषधि लेखिदिने कुरा त सामान्य नै भइसक्यो। नेपालमा ‘होलबडी चेकअप’ धन्दा त झनै फस्टाएको छ।

हो, आधुनिक चिकित्सा–विज्ञान आफैंमा खराब होइन, खासगरी आकस्मिक समस्याका बेला यो वरदानै साबित भएको छ। तर दीर्घ रोगका हकमा मेडिकल माफियाका कारण रोग झन् बल्झाउने तथा बढाउने काम भइरहेका छन्। यस्तो किन भइरहेको छ भने चिकित्सा–विज्ञान नै मेडिकल माफियाद्वारा नियन्त्रित र निर्देशित छ।

एकजना हट्टाकट्टा स्वस्थ मानिसले यत्रतत्र सुन्छ। पत्रपत्रिका, सामाजिक सञ्जाल तथा टेलिभिजन पढ्छ/हेर्छ र थाहा पाउँछ– होलबोडी चेकअपका फाइदा। अनि उसले मोटो रकम तिरेर होलबोडी चेकअप गराउँछ। रिपोर्ट नर्मल आउने त कुरै भएन। उसको कोलस्ट्रोल बढेको देखिन्छ। त्यसपछि उसको सातोपुत्लो जान्छ। त्यो किनभने उसले बारम्बार सुनेको छ कि कोलस्ट्रोल बढे हृदयाघात हुन्छ। अनि ऊ अस्पताल दगुर्छ। चिकित्सले उसलाई कोलस्ट्रोल घटाउने स्टेटिन दिन्छन्। लामो समयसम्म त्यसको सेवनले गर्दा उसलाई मधुमेह हुन्छ। अनि मधुमेहको गोली खान थाल्छ। केही समयपछि गोलीले काम गर्न छाड्छ। अनि सुईद्वारा इन्सुलिन लिन थाल्छ। यसरी एकपछि अर्को रोग थपिँदै जान्छन्। त्यसपछि ऊ कहिले यो कहिले त्यो अस्पतालको चक्कर लागाउन थाल्छ। खानाभन्दा बढी औषधि खान थाल्छ। यो एक दृष्टान्त हो। मेडिकल माफियाका कारण आज अधिकतर मानिसले यस्तै नियति बेर्होनुपरिरहेको छ।

हामीले नबुझी नहुने कुरा हो के भने औषधिले होइन, उचित आहार–विहार(लाइफ स्टाइल)ले मात्र मानिस स्वस्थ रहन सक्छ। वास्तवमा निरोगी शरीरका लागि आहारको ठूलो महत्व छ। तर आहारको अर्थ व्यापक छ। मुख र जिब्रोले लिने खाद्य–पदार्थलाई मात्र आहार मान्नु हु“दैन । आहारको अर्थ हुन्छ– बाहिरको चिज शरीरभित्र प्रवेश गराउनु। जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो। भोजन आहार हो जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लान्छौं। तर आँखाद्वारा पनि हामीले बाहिरका दृश्य भित्र लान्छौं। दृश्य पनि आहार नै हो। कानले लिने आवाज, छालाले गर्ने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हुन्। त्यसैले त भनिन्छ– ‘जस्तो खान्छौं, उस्तै हुन्छौं।’ त्यसैले स्वस्थ जीवनका लागि सन्तुलित प्राकृतिक भोजन, असल आचरण, निद्रा–विश्राम तथा शुभ–विचारमा ध्यान दिनुपर्छ।

उचित आहार–विहार र प्राकृतिक नियम पालना नगरी मानिसलाई विश्वका कुनै पनि औषधिले स्वस्थ/निरोगी बनाउन सक्दैन। हो, रोगमा क्षणिक राहत पाउन र दुखाइ कम गर्न औषधि सहायक हुन सक्छन् तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त गर्न सकिन्न। मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहार–विहार ठीक हुन जरुरी छ। त्यसैले विश्वलाई रोगमुक्त बनाउन अस्पताल होइन, मानिसलाई उचित स्वास्थ्य शिक्षा दिन आवश्यक छ। हरेक मानिसले आफ्नो आहार–विहार ठीक राखी प्राकृतिक जीवनशैली अपनाउने हो भने ९० प्रतिशत अस्पताल, स्वास्थ्यकर्मी तथा औषधिको कुनै काम हुने छैन। मानिस स्वस्थ हुँदै गए रोगको व्यापार पनि स्वतः घट्नेछ।
(लेखक मनोविद् हुन्।)

प्रकाशित: १ फाल्गुन २०७६ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App