३० असार २०७७ मंगलबार
विचार

सफलताको सूत्र

नेपालमा होस् वा अन्य देशमा, अचेल योग गर्ने प्रचलन बढेको छ। शारीरिक रूपमा तन्दुरुस्त, आकर्षक देखिन र निरोगी भएर बाँच्न योग आवश्यक छ भन्ने कुरा सबैले बुझेका छन्। तर जीवन अंकगणितीय हिसाबले मात्र चल्दैन। उफ्रिनु, दौडिनु, श्वासप्रश्वास र प्राणायामले शरीरलाई ठीक राख्न खोजेर मात्र योगको लाभ नमिल्न सक्छ। योगको अर्थ नै जोड भएकाले योग गर्ने व्यक्तिमा आउने रूपान्तरणमा के–के कुरा थप जोडिएर ऊ सार्थक जीवन जिउन सक्ने भयो, त्यो महत्वपूर्ण हुन्छ। बाहिरी योगसँगै आउने आन्तरिक योग अर्थात् ध्यानलाई ध्यान दिएनौं भने योगको मर्म पूरा हुँदैन। त्यसैले योग–साधनाले जीवन आन्तरिक र बाह्य दुवै रूपमा सन्तुलित र स्वस्थ बनाउनु नै योग र ध्यानको आर्जन हुनेछ। समग्रतामा योग र ध्यानको मर्म आत्मसात् गर्न यी ३ आयाम मात्र बुझ्यौं भने पनि जीवनोपयोगी हुन सक्नेछ ः

१. गुणात्मक निद्रा ः अचेल योग गर्ने व्यक्तिमा पनि गुणात्मक निद्रा नभएको पाइन्छ भने योग र ध्यान नगर्ने व्यक्तिमा त झन् यस्तो अवस्था हुँदै हुँदैन। गुणात्मक निद्रा भन्नाले ८–९ घण्टा सुत्नु मात्र होइन, कति गहिरो निद्रा लाग्यो भन्ने कुराले महŒवपूर्ण हुन्छ। ३–४ घण्टा निदाउने मान्छेले पनि गहिरोसँग निदाउन सक्छ र उठ्दा आनन्द र स्फूर्ति महसुस गर्न सक्छ। तर ८–९ घण्टा सुत्दा पनि गहिरो निद्रा परेन भने उठ्दा झन् थकान महसुस हुन्छ। त्यसैले योगद्वारा शारीरिक श्रम गरी मनलाई शान्ति र आनन्द मिल्ने कर्म गर्न सकियो भने मीठो निद्रा पाउन सकिन्छ। निद्रा स्वस्थ जीवनशैलीको एउटा महत्वपूर्ण पाटो हो।

उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ।

२. भावनात्मक स्वास्थ्य ः मानिसको जीवनमा तनाव, रोगलगायत जति पनि अराजकता आउँछन्, ती कुनै बाहिरी वातावरण र रोगबाट मात्र सिर्जना भएका हुँदैनन्। शारीरिक श्रमसँगै हामीमा आत्मविश्वास कत्तिको जागृत भएको हुन्छ, त्यो जान्न जरुरी हुन्छ। धेरैजसो रोग, तनाव बाहिरबाट होइन, व्यक्तिको मनस्थितिबाटै उत्पन्न हुन्छन्। ध्यान र योगबाट आफ्नो मनोभावलाई सम्यक्, सकारात्मक र ऊर्जावान् राख्न कोसिस ग¥यौं भने जीवन स्वस्थ रहन्छ। स्वास्थ्यको अर्थ– हामी कति औषधि सेवन गर्छौं, कति स्वास्थ्य जाँच गराउँछौं, कतिपटक विदेश गएर उपचार गराउँछौं भन्नेमा होइन, अरूसँग हाम्रो व्यवहार कस्तो रहन्छ, सम्बन्धमा मधुरता छ कि छैन, बोलीचालीमा शिष्टाचार झल्किन्छ कि झल्किँदैन, यस्ता कुरामा भरपर्छ। त्यसैले असल आचरणले नै हाम्रो स्वास्थ्य निर्धारण गर्छ।

३. आत्मानुशासन ः मेरो आचरण, अनुशासन, खानपान कस्तो हुनुपर्छ ? म जीवनमा के बन्ने र कसरी जीवन सफल बनाउने, त्यो निर्णय मेरै हातमा छ। त्यो नै आत्मानुशासन हो। मैले के गर्न चाहेको ? त्यसको परिणाम सकारात्मक आउँछ किन नकारात्मक ? त्यसले अरूको कल्याण गर्छ कि गर्दैन ? त्यसअनुसारका काम अर्थात् व्यवसाय र नोकरीमा लाग्नु जीवन सुखी राख्ने लक्षण हुन्। एउटा कुरामा सफल हुँदा जीवनका अरू आयाममा सन्तुलन हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नु पनि उत्तिकै जरुरी छ। भौतिक सम्पत्ति प्रशस्त भएपछि खानपान, मनोरञ्जन, औषधोपचार, शिक्षादीक्षा भई नै हाल्छ, अरू के चाहियो र भन्ने सोचाइले जीवनलाई अधोगतितिर लैजान पनि सक्छ।

भौतिक सम्पन्नता पनि आवश्यक छ, तर हाम्रो अनुशासन प्राकृतिक जीवनशैलीमा आधारित भएन भने जीवनमा भौतिक सुख त मिल्ला, तर आत्मिक शान्ति मिल्दैन। बाहिरी मान, सम्मान, पद, प्रतिष्ठा र पैसाले भित्री आनन्द, शान्ति, योग र ध्यान कायम राख्न सकिन्छ कि सकिन्न, त्यो महŒवपूर्ण कुरा हो। जीवनका बाहिरी कर्मका साथै स्वाध्यायलाई पनि समय दिन सक्नुपर्छ। अन्यथा, बाहिरी सफलताले भित्रको अभाव र अशान्ति अन्त्य हुँदैन। आफ्नो मनोविज्ञान र स्वभाव पत्ता लगाएर त्यसअनुसार सुख, शान्ति र समृद्धिको मार्गमा हिँड्ने कला ध्यान र योगबाट प्राप्त हुन्छ।

आफ्नो जीवनको मुख्य योजना नै सही मार्ग बनाउन सक्नुपर्छ। उपलब्ध समय, सम्पत्ति, सम्बन्ध, शिक्षा, ध्यान सबै जीवनका उर्जा हुन्। यिनको व्यवस्थापन गर्न जाने सफल र सुखी भइन्छ नजाने असफल भइन्छ। हामी सबै असाधारण प्रतिभा लिएर जन्मेका छौं। असाधारण मनोविज्ञानको परिणाम असाधारण नै सफलता हुन्छ भने असाधारण ऊर्जा र असाधारण संकल्पबाट असाधारण मनोविज्ञान निर्माण हुन्छ।

प्रकाशित: १७ माघ २०७६ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App