९ आश्विन २०७७ शुक्रबार
विचार

धेरै वर्षपछि पोखरा

धेरै वर्षपछि यसपटक पश्चिमको सुन्दर नगरी पोखरा जाने अवसर मिल्यो। त्यसतर्फ जान लाग्दा राजधानी काठमाडौं प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा प्रसंगले तातेको थियो। आफ्नो दलले उनलाई राजीनामा दिएर अर्को पार्टीका उम्मेदवारका लागि मार्गप्रशस्त गरिदिन आग्रह हुँदै थियो भने उनीचाहिँ आफूले कुनै गलत काम नगरेको र संविधानबमोजिम पनि आफ्नाबारे पार्टीले नसोचेको भन्दै दुखेसो गर्दै थिइन्।

प्रधानमन्त्री कतै जाँदा उपप्रधानमन्त्री, प्रधानन्यायाधीश भए, अदालतको दोस्रो वरीयताको न्यायाधीश अर्थात् कुनै पनि कार्यालयका प्रमुख बाहिरिँदा त्यहाँको उपप्रमुखले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्ने चलनै छ। महिलालाई सम्मान गर्दै उनीहरूलाई शासनको माथिल्लो तहमा पु-याउनुपर्छ भनेर हाम्रै नेताहरू कुर्लेको सुनेको छु। तर अहिलेसम्म प्रायः पुरुषले नै अवसर पाइरहेको सभामुख पदमा कानुनविद् एवं विद्यावारिधिसमेत गरेकी शिवमायालाई निमित्त नै किन नहोस्, सभामुखका रूपमा पाउँदा सबै नेपाली खुसी नै थिए।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई आफ्नै कार्यालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि खाली हुन पुगेको त्यो पदको जिम्मेवारी तुम्बाहाङ्फेले पाएकी थिइन्। त्यस क्रममा उनले कसैले औंला ठड्याउने काम गरेको थाहा छैन। राम्रो काम गरिरहेको मान्छेलाई झट्ट निकाल्नु नेपालीपन होइन। उनीबाट कुनै गल्ती तथा सभा सञ्चालन क्रममा पक्षपाती काम/कारबाही भएका भए, बेग्लै कुरा।

अहिले त पोखराले काँचुली नै फेरेछ। मौसम सफा भएकाले चारैतिर अन्नपूर्ण र माछापुच्छ«ले पर्खाल बनाएर सुरक्षित राखेको छ, पोखरालाई।

झन्डै ४ दशक लामो आफ्नो राजनीतिक जीवनमा उनले नेपाली राजनीतिमा हुने दाउपेच राम्ररी बुझेकैले होला, सुरुमा उनी राजीनामा नदिने पक्षमा थिइन्। उनको जोड आफू नै सभामुख बन्ने थियो। तर यहाँ योग्यता र  संविधानको प्रवाधानभन्दा शीर्ष नेताले के सोचेका छन् र तिनको हिसाब–किताबमा आफू पर्छु कि पर्दिनँ भन्ने कुरा पत्ता लगाउन उनी समर्थ भइनन्। अन्तमा उपसभामुख पदबाट राजीनामा दिनैप¥यो। आफ्नै पार्टीको निर्देशनमा। यो नेपाली संविधान र परम्परामा गलत नजिर बसेको छ। दुईतिहाइ बहुमत छ भन्दैमा संविधान नाघेर निर्णय गर्नु गल्ती हो। संविधानमा सभामुख र उपसभामुख दुवै एउटै राजनीतिक दलबाट हुन हुँदैन भन्नेछ। अब उनलाई थुमथुम्याउन मन्त्री बनाउने पनि चर्चा छ।

सभामुखको सम्भावित उम्मेदवारमा सुवासचन्द्र नेम्वाङको पनि नाम आएको थियो। उनी आफ्नो कार्यकालमा सफल सभामुख मानिन्छन्। उनको अनुभव पनि छ। तर हाम्रो राजनीतिक प्रणालीमा र खासगरी पार्टी पद्धतिमा संविधानभन्दा पनि पार्टीको स्वार्थ हेर्ने परम्परा भएकाले नेम्वाङ फेरि सभामुख हुन पाएनन्। उनी सभामुखका लागि योग्य उम्मेदवार हुन सक्थे। तर जनयुद्धमा हत्या आरोप लागेका नेकपा नेता अग्नि सापकोटालाई सभामुखमा ल्याउँदा नेपालको न्याय र संविधानको खिल्ली उडाउने अवसर स्वदेशी र विदेशी दुवैले पाएका छन्।

यो राजनीतिक डोरी तानातानको प्रसंग यहीं रोकेर अब लागौं एकछिन पर्यटकीय सुन्दर नगरी पोखरातर्फ। जहाँ पुग्नासाथ विमानस्थलमै तपाईंकैअगाडि चुच्चे टोपी लगाएर हाँस्तै गरेझैं लाग्ने माछापुच्छ«े हिमालसँगै पोखराको सुन्दरताले मोहित पार्छ। जहाँ यो पंक्तिकार धेरैअगाडि साराङकोटमा नेपाल टेलिभिजनको कार्यालय खडा गर्दा गएको थियो। त्यसबेलाको र अहिलेको साराङकोटको तुलनै गर्न सकिँदैन।

अहिले त पोखराले काँचुली नै फेरेछ। मौसम सफा भएकाले चारैतिर अन्नपूर्ण र माछापुच्छ«ले पर्खाल बनाएर सुरक्षित राखेको पोखराले हालै मात्र नेपाल भ्रमण वर्षको उद्घाटन गरेको थियो। यो पंक्तिकारलाई सात दिनको बसाइ र घुमाइबाट राजधानी काठमाडौंले पोखराबाट सिक्नुपर्ने धेरै कुरा छन् भन्ने लाग्यो। काठमाडौंको धुलो र धुँवाबाट उम्केर पोखरा पुग्नेलाई स्वर्ग नै पुगेको महसुस हुँदोरहेछ। पोखरामा धुलो÷धुँवा छैन। खाल्डाखुल्डी परेका सडक पनि छैनन्। सडक फराकिला भएकाले ट्राफिक जामको समस्या छैन। सडकपेटी मिचेर पसल खोल्ने पनि देखिएनन्।

पोखराका फेवाताल, वेगनास ताल, साराङकोट र अहिले बन्दै गरेको काहुँडाँडाजस्तै पर्यटकीय स्थलले पर्यटकलाई आकर्षण गरिरहेका छन्। त्यहाँको वातावरण र हावापानी पनि स्वच्छ छ। पर्यटकलाई नेपाल चिनाउने पर्वतीय संग्राहलय खुलेको छ, जसमा नेपालका हिमाल आरोहण, विभिन्न जाजातिका वेशभूषा र संस्कृति झल्किने तस्बिर हेर्दा देशका धेरै कुराको अनुभव र ज्ञान हुन्छ।

भारतको दार्जिलिङमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति हिलारी र तेन्जिङ शेर्पाका नाममा स्थापित माउन्टेनेरिङ इन्स्टिच्युटकै रूपमा तर अझ आकर्षक किसिमले तयार पारिएको उक्त ‘म्युजियम’ले पोखरा आउने पर्यटकलाई अवश्यै लोभ्याउने छ।

प्रकाशित: १० माघ २०७६ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App