१५ आश्विन २०७७ बिहीबार
विचार

सकारात्मक संस्कार

सजगता, जागरुकता र सचेततासाथ जिउने कला जान्नु संस्कार हो। संस्कारबाट विकसित जीवन पद्धतिको नाम नै वास्तवमा संस्कृति हो। संस्कार घरपरिवारबाट सिकिने कुरा हो। जीवनको उद्देश्य, जिउनुको आनन्द र समाजमा त्यसले ल्याउने सकारात्मक रूपान्तरण संस्कारमा लुकेको हुन्छ। संस्कृति र मान्यता पछ्याउँदैमा जीवन सुसंस्कृत बन्छ र समाज सभ्य बन्छ भन्न सकिन्न।

समाजमा हुने हिंसा, हत्या र बलात्कार समाजको संस्कृतिबाट भन्दा पनि व्यक्तिको संस्कारबाट हुने हुन्। हाम्रो समाजमा अझै पनि व्यक्तिको संस्कार कस्तो हुनुपर्छ र कुन माध्यमबाट उसले सुसंस्कृत आचरण सिक्न सक्छ भन्ने शिक्षा दिन सकिएको छैन। सुसंस्कृत शिक्षाको अभाव नै आज समाजमा बढ्दै गएका अराजकताका कारण हुन्।

मनोविश्लेषकले व्यक्तिमा रहेका समस्या थाहा पाउन सक्ला, तर उसले समाधानको वास्तविक ज्ञान दिन सकेको देखिँदैन। समस्या थाहा पाउनु ठूलो कुरा होइन, समाधानको उपाय महत्वपूर्ण कुरा हो। मनोविश्लेषकले दमित र विक्षिप्त भावना कोट्याएर समस्याको जड पत्ता लगाउने कोसिस त गर्न सक्ला, तर जीवन आनन्दित बनाउने सीप ध्यानले मात्रै दिन सक्छ। ध्यान हाम्रो स्वभाव, स्वधर्म र संस्कार नबसेसम्म जीवन रूपान्तरण हुनेवाला छैन। समद्धि आउनेवाला छैन।

मानिसमा विकृत भावना जाग्नुको कारण के हो त ? कारण हो– मानिसले अन्तरहृदयबाटै आफूलाई सकारात्मक बनाउने संस्कार पाएन। आज समाजमा र राष्ट्रमा समस्यै समस्या र अराजकता मात्र बढ्नाको कारण के हो ? कारण हो– सरल र प्राकृतिक जीवनशैली छाडेर भड्किलो र देखासिकी गर्ने संस्कार विकास हुँदै जानु। खुसी र सम्पन्नता देखाउने नाममा भागदौड र प्रतिस्पर्धा बढ्दै जानु। जीवन आफ्ना लागि नभएर अरूलाई देखाउने चिजका रूपमा लिनु। कता, किन दौडिरहेको, जीवनको लक्ष्य÷उद्देश्य के हो, गन्तव्य कहाँ छ, थाहा नपाउनु।

वास्तवमा जीवन बेहोसीमै बिताउनु र होसरूपी संस्कार बिर्सिनाले मानिस अराजकतामा होमिन पुगेको छ। होस गुमाएर, आफ्नो संस्कार र स्वभाव बिर्सेर मानिस कुबाटोमा लागेको छ। त्यसैले आज मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्राकृतिक जीवनशैली अपनाउनु संस्कार हो, तर मानिस दिनानुदिन अप्राकृतिक बन्दै गइरहेका छन्। मर्यादा, अनुशासन, नियम, चरित्र, आचरण, शिक्षा सबै अस्वाभाविक र आदर्शका रूपमा मात्र सीमित भएका छन्। स्वाभाविक हुनु, आफ्नो स्वभाव र आचरणमा रमाउनु, प्रेमपूर्ण, सहयोगी, करुणावान् हुनु मानिसका वास्तविक संस्कार हुन्। चेतनशील र विवेकशील प्राणी मानिएको मानिसले आज समाजमा अचेत व्यवहार देखाउन थालेका छन्।

संस्कारको अर्थ हो– शुद्धीकरण। संस्कारका दुई स्वरूप छन्– आन्तरिक र बाह्य। बाह्य संस्कारले रीतिरिवाज र मान्यतालाई मात्र पछ्याउँछ भने भित्रैबाट जागृत हुनु आन्तरिक संस्कार हो। कर्मद्वारा आत्मा, बुद्धि, मन, शरीर र इन्द्रियलाई उत्तम कोटीमा राख्न सक्नु संस्कार हो। नैतिक मूल्य÷मान्यतामा आधारित कर्म गर्नु संस्कारयुक्त व्यक्तिको लक्षण हो। सदाचार, परोपकार, संयमता, आत्मिकता,   नैतिकता र इमान्दारिता व्यक्तिका सर्वोच्च संस्कार हुन्। कस्तो संस्कार अंगाल्ने व्यक्तिको रोजाइ हो, तर अब पनि जागृत र सचेत हुन सकिएन भने यो सुन्दर मानव जीवन व्यर्थमा बित्ने निश्चित छ।

प्रकाशित: ८ माघ २०७६ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App