३ पुस २०८१ बुधबार
image/svg+xml
विचार

भूकम्पले सिकाएको पाठ

‘हेलम्बु’ पर्यटकीय स्थल र मेलम्ची खानेपानीले परिचित छ। हिमालयन गे्रटट्रेलले झन् यसको चर्चा थपिएको छ। ह्योल्मो धर्मधरोहर पुराना गुम्बा र छोर्तेनले सजिएको हेलम्बुमा सिमिसिदाङ हिमालको हिउँको रोमाञ्चक दृश्यले सबैको मन लोभ्याउँछ। पाकेडाँडा, घ्याङ्ग्युल, तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथान पर्यटकीय पदमार्गसहित ह्योल्मो संस्कृतिले प्रख्यात छ– हेलम्बु।

ह्योल्मो समुदायको बाहुल्य रहेको यो क्षेत्र प्राकृतिक र सांस्कृतिक रूपमा धनी छ। भूबनोटका हिसाबले कमजोर र भौगोलिक हिसाबले विकट मानिने यस क्षेत्र पछिल्लो चरणमा सबै समुदाय ग्रामीण सडकले जोडिएका छन्। सबैका घर खानेपानी, शौचालय र बासका हिसाबले सुरक्षित छन्।

सिन्धुपाल्चोकको उत्तर–पश्चिम भेगमा रहेको हेलम्बु गुम्बैगुम्बाले भरिएको छ। अधिकांश भूभाग पहाड अनि सुन्दर डाँडाकाँडाले घेरेको यस क्षेत्र समुद्री सतहबाट १००० देखि ५००० मिटरसम्मको उचाइमा छ। कृषि, पर्यटनस्थल, जैविक विविधता र ह्योल्मो संस्कृति यहाँको आर्थिक पुनर्निर्माणका खम्बा हुन्। यहाँको भूबनोट, वनजंगल, चराचुरुंगी, रेड पाण्डासहित दोर्जे लाक्पा, जुल, गौरीशंकरलगायत दर्जनौं हिमालको मनोरम दृश्यले आन्तरिक तथा बाह्य पर्यटक लोभिन्छन्।

हेलम्बुको परिचय यतिले मात्र पुग्दैन। यहाँबाट महिला र पुरुषको समानता पनि सिक्न सकिन्छ। परिवारमा कामको बाँडफाँड छ। परिवारका सदस्यबीच एकअर्काप्रति सहयोगको भावना छ। त्यसैले पनि हरेक परिवार खुसी देखिन्छन्। महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

भूकम्पपछि हेलम्बुको परिचय थपिएको छ। हेलम्बु गाउँपालिका वडा नम्बर १, तेम्बाथाङ र वडा नम्बर २, नुर्बुलिङका एकीकृत बस्तीले हेलम्बुको परिचय बढाएको हो। तेम्बाथाङका ४३ र नुर्बुलिङका ४० घरपरिवारको बस्तीले त्यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक र भौतिक रूपमा एकीकृत बस्ती व्यवस्थापन गरी सामूहिक भावनालाई संस्थागत गरेको छ। सामुदायिक र व्यक्तिगत संरचनाहरूलाई मौलिकतासहितको कृषि र पर्यटन विकास गरी समुन्नत र समृद्ध समुदाय निर्माण गर्ने प्रक्रियामा हेलम्बु अग्रसर देखिएको छ। त्यति मात्र होइन, सरकारले ल्याएको भूउपयोग ऐन, २०७६ अनुसार समुदायको सहभागितामा जमिनको उपयोग र व्यवस्थापनसहितको नमुना एकृकीत बस्ती निर्माण गर्न यसले सहयोग पु-याएको छ।

नुर्बुलिङको एकीकृत बस्तीमा ह्योल्मो र तामाङ समुदायबीच पाँच घर दलित परिवारका छन्। तर उनीहरू लामा, ह्योल्मो, तामाङ सबै जातका मानिसले गर्ने रीतिरिवाजमा सहभागी हुन्छन्। एकीकृत बस्तीमा पनि ती पाँचै घर दलित परिवारले घर बनाएका छन्। तामाङ अथवा ह्योल्मो जातिको ठल (ह्योल्मो जातिको धर्म– संस्कृतिअनुसार गरिने पूजा)मा अनिवार्य रूपमा उनीहरूको सहभागिता रहन्छ। साथै दलित परिवारबाट गरिने हरेक कार्यमा पनि ह्योल्मो जातिका मानिसको सहभागिता हुने गरेको छ। नुर्बुलिङका ७३ वर्षका नुर्बुलामाका अनुसार त्यो समुदायमा कहिल्यै छुवाछुत हुँदैन। एकीकृत बस्तीले सामुदायिक सद्भाव झन् बढेकामा उनी खुसी छन्।

भूकम्पमा सबैका घर भत्किए। खुला आकाश र त्रिपालमुनिको बास। गोलभेंडा र तरकारीका टनेल र कुखुरा पाल्ने टहरा नै तत्कालका बास भए। गाउँनजिकै खुला स्थान र सामुदायिक घर हुनुपर्ने पाठ प्रभावित समुदायले त्यतिखेर सिके। भूकम्पपश्चात् सबै परिवारको एकै ठाउँमा बास भयो। महिला, बालबालिका, ज्येष्ठ नागरिक सबै सकसमा बसे। तर त्यस्तो बेलामा अलि कमजोर व्यक्तिलाई सुरक्षित स्थानको आवश्यकता थियो। जुन भूकम्पको पराकम्पनसँगै समुदायले महसुस गरे। अनि समुदायकै अगुवाइमा नुर्बुलिङ र हल्दे समुदायले सामुदायिक घर बनाए। सामुदायिक घरले विापद्का बेला मात्रै काम गरेन, समुदायका  चाडपर्व, रीतिरिवाज, धर्म र संस्कृतिअनुसार क्रियाकलाप गर्न पनि उपयोेगमा आयो। सामुदायिक भवनवरपर तामाङ र ह्योल्मो समुदायको बसोबास रहेकाले उनीहरूले त्यसमा घेवा, छेवार, विवाह र पूजाजस्ता सामाजिक कार्य गर्छन्।

ग्याल्जेन लामाका अनुसार सामुदायिक घरले हल्दे समुदायका बासिन्दालाई सामाजिक काम गर्न निकै सहज भएको छ। भूकम्पपछि धेरैको घर साँघुरिएका छन्। कसैको एउटा कोठा मात्र छ। धरैजसोको दुई कोठाका घर छन्। भेला हुने ठाउँ छैन। तामाङ तथा ह्योल्मो समुदायले आफ्नो संस्कृति र रीतिरिवाज मनाइरहँदा प्रत्येक घरबाट सहभागी हुनुपर्छ। त्यसका लागि बस्न, खान ठूलै स्थान चाहिन्छ। त्यसैले गाउँमा विवाह, छेवार, घेवा र पूजामा त्यही सामुदायिक घर प्रयोग भएको छ।

सामुदायिक घर बनेकामा समुदायका सबै खुसी छन्। त्यसमा झन् महिला अझ खुसी भएका छन्। सीता गुरूङका अनुसार सामुदायिक घर निर्माणपश्चात् महिला–पुरूष दुवैको समय बचत भएको छ। विवाह, घेवा र छेवारलगायत सामाजिक काममा जस्तापाता र त्रिपालको अस्थायी टहरा बनाउनमा धेरै जनशक्ति चाहिन्थ्यो। त्यो समय बचत भएको छ। हावाहुरी र पानी आउँदाको सास्ती अहिले बेहोर्नुपरेको छैन। भाँडालगायत आवश्यक सामग्री सामुदायिक घरमै व्यवस्थापन गरिएको छ। सामुदायिक भेला र जमघट हुने स्थान त्यही घर भएको छ। धेरै पाहुना हुँदा घरमा ठाउँ पुग्दैन। त्यही घर पाहुनाको विश्राम गर्ने थलो बनेको छ।

हेलम्बु गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष छिरिङ्ग्याल्बु लामा भन्छन्, ‘सामुदायिक घर निर्माणपश्चात् ह्योल्मो तथा तामाङ समुदायको हरेक रीतिरिवाजअनुसार कार्यहरू सञ्चालन गर्न मात्र सजिलो भएको छैन, ४० घरपरिवारको एकीकृत बस्ती निर्माण गर्ने अवधारणा तयार भई निर्माण सुरू गरिएको छ।’

सरकारले यस वर्ष ल्याएको भूउपयोग ऐन, २०७६ ले पनि भूउपयोगसम्बन्धी १० वटा क्षेत्र वर्गीकरण गरेको छ। तर हेलम्बुका केही क्षेत्रमा भूउपयोग ऐन लागू हुनुअघि नै भूकम्पपश्चात् केही अभ्यास सुरु भइसकेका छन्। जुन समुदायमा यस्ता अभ्यास सुरु भएका छन्, त्यस समुदायमा सरकाले भूउपयोग ऐनका १० क्षेत्रमध्ये कुन–कुनलाई विस्तार गर्न सकिन्छ, त्यसको अभ्यास तत्काल गरी अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ।

प्रकाशित: २७ पुस २०७६ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App