६ वैशाख २०८१ बिहीबार
विचार

माटोको माया

२०१३ सालबाट नेपालमा पनि माटो दिवश मनाउँदै आएका छौँ। यस वर्ष कृषि मन्त्रालय, कृषि विभाग र राष्ट्रिय किसान आयोगले हाजिरीजवाफ, कविता वाचन, नीतिगत संवाद र प्रभातफेरि गरी यो दिवस मनायो। किसान आयोग गठन भएपछि अभियानकै रूपमा माटो दिवशलाई निरन्तर पर्वका रूपमा मनाइँदै आएको छ, जुन राम्रो कुरा हो।

माटोको विषय विज्ञहरूको प्रस्तुति अंग्रेजीमा भए पनि किसानलाई इशारा नै काफी भयो। मुसहर समुदाय विशेष गरेर सिरहा र सप्तरी जिल्लामा पर्वकै रूपमा मनाउँछन् यो दिवशलाई। यद्यपि त्यो जातिलाई माटोको महत्व उत्पादकत्व र जीवनकोसाइनोसँग जोडिएको राम्रोसँग थाहा छ।यो स्वाभाविक पनि हो किनकि माटो नै उनीहरूको जीवनयापनको सवाल बनेको छ। त्यसैले यो दिवश शहरमा कसरी मनाइन्छ भन्दा पनि माटोसँग नङ र मासुको सम्बन्ध भएकाले कसरी उत्साहपूर्वक यसलाई लिन्छन् भन्ने महत्वको विषय हुनुपर्छ।

विज्ञहरूको पढाइ र किसानको प्रयोग फरक छ। किसानलाई कुन माटोमा के खेतीपाती लगाउनुपर्छ भन्ने ज्ञान छ। उत्पादन वृद्धि गर्ने तरिका बुझेका छन्।कुन माटोमा गोठेमल कति राख्ने, बीउ राख्दा कस्तो मल प्रयोग गर्ने भन्नेबारे कन्ठै छ।तर विडम्बना, यसरी थाहा पाउने किसान पछाडि छन्, किताबी ज्ञान र गफ जानेका विज्ञले कृषि क्षेत्र नै खाइदिन्छन्। वास्तवमा नेपालको कृषि उभो लाग्न नसक्नुको मुख्य कारण यो पनि एउटा हो।

विकासे मल (युरिया, डिएपी, फस्फरस) आदि खरिद गर्न सरकारले अनुदान छुट्याउँछ। तर प्रांगारिक मल बनाउने कारखाना खोल्ने कुरा त परै जाओस्, यसका लागि कतै कसैले आवाज उठाएकोसमेत सुनिन्न। कृषिका कुरा गर्दा माटोको सामाजिक सम्बन्धका बारेमा बिर्सनु हुँदैन। जब ठूला चाड/पर्व आउँछन। आमाहरूलाई माटो जम्मा गर्नुपर्ने बाध्यता हुन्छ। अहिले पनि ग्रामीण भेगका ८० प्रतिशत घर÷परिवारमा माटोले रंगरोगन गरिन्छ। उज्यालो गाउँ हुन्थ्यो। केही वर्ष भयो। विभिन्न रंग (चुना र इनामेल) प्रयोग गरिन्छ। यसले मौलिकता हराउँदै गएको छ। यस्तो तालले दिवश मनाउँदैमा माटोको माया हुन्छ र ?

अझै पनि तराईका अधिकांश घरको बेरालाई माटोले लिपपोत गरी प्लास्टर गरेभन्दा बढी राम्रो बनाइन्छ। बिहान उठ्दा आमाहरू आगो जलाएर रातोमाटोले घर सफा गर्छन्। विवाह व्रतबन्ध, दसैँ तिहारमात्र हैन, धान चुट्ने खलो बनाउँदासमेत माटो प्रयोग गरिन्छ। माटोको महŒवले गर्दा नै माटोकै ढिस्कोले पुरिएर कति महिलाको ज्यान गएको सञ्चार माध्यममा नआएका हैनन्। त्यति हुँदा पनि उनीहरू माटोसँग पौँठेजोरी खेल्न पछि नहट्नुले पनि यसको महŒ उजागर हुन्छ।

जुन किसान खेतीपाती गर्छ उसलाई माटोको महत्व थाहा हुन्छ। जन्म माटोमा, मृत्यु माटोमा उत्पादन र जीविकोपार्जन समेत माटोकै भर हो। माटो हुनेलाई माटोको महत्व नै छैन। माटो नहुनेलाई भने माटोको महत्व बढी छ। उखानै छ–‘ढुंगाको भर माटोलाई माटोको भर ढुंगालाई। अधिकांश गाउँका घर माटो र ढुंंगाबाटै बनाइएको छ। शहरहरूमा माटोको आकार दिएर इँटा बनाएर घर निर्माण गर्ने काम गर्छन्। लाखौँ मजदूरको जीविका माटोसँग खेलेर निर्वाह भएको छ। संस्कृतिसँग पनि माटो जोडिन्छ। माटो पूजा गरिन्छ। माटोको अँगेनो बनाएर पूजा गरिन्छ। भूमि पूजा गरिन्छ। हामी किसानको रगत मुटु, प्राण सबै माटोसँग जोडिएको छ यस अर्थमा।
संरक्षक, राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल

प्रकाशित: ८ पुस २०७६ ०४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App