९ आश्विन २०७८ शनिबार
विचार

बच्चालाई बिगार्दै त हुनुहुन्न ?

तपाईं आफ्ना बालबालिकालाई स्कुल पठाउँदा ड्रेस लगाइदिने, कापी–किताब मिलाइदिने, अनि जुत्ताका तुना बाँधिदिने गर्नुहुन्छ ? कुनै कुनै अभिभावक त ५–६ कक्षामा पढ्ने छोराछोरीलाई मोबाइल वा गफमा भुलाएर एक–एक चम्चा गरी खाना खुवाउनेसमेत गर्छन्। स्कुलबाट घर आएपछि हातगोडा धुन धारो खोलिदिने, दाँत माझ्न ब्रसमा पेस्ट राखिदिने, ड्रेस खोल्न सघाउने, अनि गृहकार्य गर्न ट्युसन टिचरको व्यवस्थासमेत गरिदिने अभिभावक हाम्रो समाजमा छन्।

आफूले बाल्यकालमा दुःख पाएको भए पनि सन्तानले त्यस्तो अनुभव गर्न नपरोस् भन्ने चाहनाले बालबालिकालाई सुविधासम्पन्न पारेर उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नु अभिभावकका तर्फबाट गरिएको राम्रो काम हो। यसले बच्चालाई खुसी र अभिभावकलाई पनि सन्तुष्टि दिनु स्वाभाविकै हो, तर यसरी बच्चालाई कुनै पनि कामको अनुभव गर्न नदिई हुर्काउनु दीर्घकालीन रूपमा उनीहरूको मनोसामाजिक तथा साइकोसोम्याटिक विकास एवं आधारभूत जीवनोपयोगी सीप विकासमा सहयोगी हुन्छ त ? यो प्रश्न अहिले निकै विचारणीय बनेको छ।

पोसिलो खाना, स्वच्छ वातावरण, खुलेर कुरा गर्न सक्ने परिवेश तथा स्वस्थ अन्तरसम्बन्धको विकासमा अभिभावकले बच्चालाई सहयोग गर्नुपर्छ, किनभने उपर्युक्त कुराको अभावमा बच्चाको शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक विकास हुन सक्दैन। यही वातावरण निर्माण गर्न गरेको खर्च नै वास्तवमा बालबालिकामा गरेको लगानी हो, तर बच्चालाई धेरै सुविधा दिएर धेरै राम्रो बनाउँछु भन्नु उसलाई सामाजिक यथार्थबाट विमुख गराई असामाजिक र सदाका लागि आश्रित बनाउनु हो। बिहान उठेर आफंै हातमुख धुनु, आफ्नो ओछ्यान मिलाउनु, आफ्नो कोठा सफा गर्नु, घरका ससाना सामान मिलाएर राख्नु, आफ्ना कापी–किताब मिलाएर राख्नु, घरको आन्तरिक र बाह्य सरसफाइमा सहयोग गर्नुलाई बालबालिकाले श्रम गरेको मान्नु ठूलो भ्रम हो। यी कामबाट उसले सामाजिक व्यवहार, अंशतः शारीरिक व्यायाम तथा जीवनोपयोगी सीप सिकिरहेको हुन्छ। कक्षाकोठामा पढाइएका कुरा मात्र सिकाइ हुन् भन्ने गलत अवधारणाले गर्दा आधुनिक भन्न रुचाउने हाम्रो समाजको ठूलो समूह छ, जो बच्चालाई दैनिक क्रियाकलापमा सहभागी भई सिक्ने अवसरबाट वञ्चित गरिरहेको छ।

समाजबाट एक्ल्याएर सधैंभरि सुखसुविधामै उसलाई राख्न असम्भव छ, भविष्यमा यही समाजमै केही गर्नुपर्नेछ भने उसलाई बाल्यकालदेखि नै समाजका तीतामीठा पक्ष अनुभव गराउनु पो सच्चा अभिभावकीय कर्तव्य हो।

बाल्यकालीन अनुभव र अनुभूतिको समग्र जीवनमा निकै ठूलो प्रभाव पर्छ। मनोविश्लेषणवादी मनोवैज्ञानिकहरू त बाल्यकाल एवं किशोरावस्थाको वातावरण र अनुभवबाटै व्यक्तिको व्यक्तित्व निर्माण हुने मान्यता राख्छन्। यसैले बाल्यकाल सिक्नका लागि उत्साहित हुने समय, साथसाथै जीवनका अन्य अवस्थाभन्दा बढी संवेदनशील अवस्था हो। यतिखेर ससाना क्रियाकलापमा संलग्न भएर उसले जीवनोपयोगी सीप मात्र होइन, मानसिक विकास एवं जीवन र जगत्सम्बन्धी अवधारणा निर्माण गरेको हुन्छ। बच्चाले ‘म पनि बढार्छु’ भन्दा ‘होइन किन तिमीले गर्नुप¥यो, म गरिहाल्छु नि’ भन्ने, अनि म पनि फूल रोप्ने भनेर बच्चा उत्साहित हुँदा ‘भो भो पर्दैन, फोहोर लाग्छ, काम नपाएर माटो खेलाउने’ भनी निरुत्साहन गर्ने अभिभावक बच्चाले खाना पकाउन सहयोग गर्न खोज्दा वा लुगा धुन खोज्दा ‘यस्ता काम तिमीले गर्ने होइन’ भनी रोक्छन्।

अझ केही अभिभावक त बच्चाले कुनै काम गर्छु भन्यो भने ‘तिमी सक्दैनौ, तिमीले अहिले गर्ने होइन, पछि ठूलो भएर गरौला’ भनी उसको उत्साह र जिज्ञासा ठिँगु-याउने मात्र होइन, अज्ञात रूपमा बच्चामा ‘इन्फेरियर कम्प्लेक्स’ सिर्जना गरिरहेका हुन्छन्। जसले गर्दा बच्चाको आत्मबल कमजोर भई ‘म केही पनि गर्न सक्दिनँ’ भन्ने धारणा विकास हुन पुग्छ भने आफ्नो सामथ्र्य अभिभावकले बुझ्नै नसक्ने निष्कर्ष निकाली उनीहरूप्रतिको अविश्वास गर्न थाल्छ। यसले ‘जेनेरेसन ग्याप’लाई झनै फराकिलो पार्नसमेत सहयोग पु¥याउँछ। फलतः बच्चामा एक किसिमको मनोविकृति सिर्जना भई झर्किने, रिसाउने, सरसामान फुटाउने, परिवारका सदस्यको वास्ता नगर्ने, प्रभावकारी सिकाइ गर्न नसक्ने ‘डल’ प्रवृत्ति देखापर्छ।

बालबालिका आफ्नावरिपरि भएका गतिविधिमा संलग्न भएर रमाउने मात्र होइन, अपनत्व बोध गरी आत्मसम्मान एवं आत्मपहिचान वा आफ्नो अस्तित्व प्रमाणित गर्न खोजिरहेका हुन्छन्। उनीहरूमा रहेको ‘इगोसेन्ट्रिक’ प्रवृत्तिका कारण बालबालिका आफ्नो सहभागिता रहेका विषयमा निकै जिम्मेवार पनि हुन्छन्। यसैले भलै झनै काम बिगारुन्, तर घर सफा गर्ने, पाहुनालाई खाजा दिने, ससाना लुगाफाटा धुने, आफ्नो ओछ्यान, कापी–किताब मिलाउने, फुलबारी वा करेसाबारीमा काम गर्दा संलग्न गराउने, पूजापाठ–ध्यानयोगमा सहभागी गराउने, मठमन्दिर एवं अन्य धार्मिक–सामाजिक क्रियाकलापमा सामेल गराउने गर्दा उसको मानसिक विकासमा निकै मद्दत पुग्छ। यसले बालबालिकामा ‘म पनि समाजकै एक जिम्मेवार सदस्य हुँ, अनि धेरैजसो सामाजिक एवं घरायसी काम गर्न सक्छु’ भन्ने सकारात्मक र ऊर्जाशील भावना विकास हुन्छ। यसले अन्तरसम्बन्ध विकासमा टेवा पु-याई अरूका कुरा सुन्ने, भावना बुझ्न प्रयास गर्ने एवं आफ्ना अनुभव र अनुभूति अभिव्यक्त गर्ने अवसरसमेत बालबालिकालाई दिन्छ।

बच्चा बामे सर्ने बेला विचरा भुँइमा जोतिएको छ भनी हिँड्ने प्रयास गर्न नदिने हो भने बच्चा अपांग हुन्छ र अन्डा फुुटाएर बाहिर आउन प्रयास गरिरहेको चल्लालाई कठिन भयो भनी दया गरेर अन्डा फुटाइदिने हो भने अन्डाबाट चल्ला नकोरलिएर उसको जीवन नै समाप्त हुन्छ। यसैले शरीर र अवस्थाअनुसार श्रम गर्नु प्राकृतिक नियम हो। यो नियम बिर्सेर वा बलमिचाइ गरेर आफ्ना बच्चालाई जतिसुकै सुखसुविधा दिए पनि वा दुःख र अभाव कत्ति पनि अनुभव गर्न नदिए पनि, उसको जीवन त यही धर्ती एवं समाजमै बित्ने हो।

समाजबाट एक्ल्याएर सधैंभरि सुखसुविधामै उसलाई राख्न असम्भव छ, भविष्यमा यही समाजमै केही गर्नुपर्नेछ भने उसलाई बाल्यकालदेखि नै समाजका तीतामीठा पक्ष अनुभव गराउनु पो सच्चा अभिभावकीय कर्तव्य हो। दुःखको अनुभूतिबिना सुख बोध गर्न नसकिएझैं केही अभाव र असुविधा सामना गर्न नसके बच्चामा घरका सबै चिज मेरा लागि मात्र हुन् भन्ने धारणा विकास हुन्छ र कालान्तरमा समाजमा भएका सबै राम्रा चिज मेरै हुनुपर्छ भन्ने असामाजिक, असन्तोषी भावना विकास हुनाका साथै समाजका ससाना प्रतिकूल परिस्थितिसमेत सामना गर्न नसकी आवेशमा आत्महत्याजस्ता क्रियाकलापमा संलग्न हुने सम्भावना बढाउँछ।

काम गर्दा कठिनाइ मात्र होइन, काम पूरा गर्दा खुसी पनि बढ्ने भएकाले ससाना काम बालबालिकालाई गर्न दिँदा उसमा सफल हुन अत्यावश्यक एकाग्रता, तत्परता र अभ्यास विकास गर्ने बानी बस्छ भने सफल नहुँदा सकारात्मक सामना विधि प्रयोग गर्ने सहनशीलता र समायोजन सीप विकास हुन्छ। यसैले मस्तिष्क र शरीरका अंगबीचको तालमेल (साइकोसोम्याटिक कोडिनेसन), जीवनोपयोगी सीप, ससाना कामका माध्यमबाट आफ्ना भावनाको अभिव्यक्ति, अन्तरसम्बन्ध विकास, कल्पनाशीलता÷सिर्जनशीलता, आफू र परिवार तथा आफू र समाजको तादात्म्य बोध, सहकार्य एवं समाज, वातावरण र परिस्थितिको यथार्थ बोध र श्रमको सम्मान गर्ने भावना विकासका लागि पनि बालबालिकालाई उनीहरूको उमेरअनुसार ससाना घरेलु एवं सामाजिक काममा लगाउनु मनोसामाजिक दृष्टिले फाइदाजनक हुन्छ।
मनोवैज्ञानिक परामर्शदाता

प्रकाशित: ८ पुस २०७६ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App