८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

अध्यात्म बुझाउने अक्षर

डा. नम्रता पाण्डे

हामीले कखरा सुरू गर्दा पढेका डाडु ज, बूढो य– अहिले ‘ज’बाट जोगी, ‘य’बाट योगी भनेर पढ्ने चलन छ। जसले जीवनमा प्रज्ञा विकास भएको अनुभूति दिलाउन सकेको महसुस हुन्छ। जोगी– जो घर छाडेर, कपडा बदलेर, कान छेडेर, संसारको विरोधमा हिँड्छ। जीवन तथा जगत्देखि विरक्त भएर आफ्ना सन्तानबाट समेत टाढा रहेर सत्यको खोजीमा निस्केको बहाना बनाउँछ। योग अर्थात् संसार र अध्यात्म जोड्ने काम योगीले गर्छ। योग भएन भने वियोग हुन्छ। ‘ज’को बिजोग र ‘य’को वियोगले गहिराइको बोध गराउँछन्। योगलाई कसरी जीवनमा उतार्ने, यसको महत्व के छ भन्ने जानिएन भने जीवनमा बिजोग हुने निश्चित छ, त्यो आज होस् वा जीवनको उत्तराद्र्धमा। स्वयंमा स्थित हुने र स्वयंको स्वभावमा जिउनु नै मनुष्यको स्वभाव हो, यही नै योगको मर्म हो।

योग शारीरिक क्रिया मात्र नभएर स्वास्थ्यको परम विज्ञान र कला हो। योगले हाम्रो सिंगो स्वास्थ्य रक्षा गर्छ र जीवनलाई सुखी, शान्त र समृद्ध बनाउन मद्दत गर्छ। योग– योगासन, प्राणायाम र ध्यानको संगम हो। मन सधैं अरूप्रति ध्यान दिन्छ भने ध्यान आफूप्रति ध्यान केन्द्रित गर्ने कला हो। स्वयंको स्वभावमा फर्किने कला ध्यान हो। हामीले आर्जन गर्ने सबैभन्दा महत्वपूर्ण धन आनन्द ध्यानबाटै प्राप्त हुन्छ। जतिसुकै भौतिक सम्पन्नता भए पनि, जति प्रतिष्ठा हासिल गरे पनि एकाधबाहेक आजका मानिस समस्या नै समस्याले जेलिएको पाइन्छ। क्रोध आउनु, रिस उठ्नु, बिर्सिने बानी, खराब संगत अर्थात् कुलतमा फस्नु, तनावमा जानु सबै ध्यानको अभाव हो। त्यसैले योग र ध्यान नै समस्याको समाधान हो भन्दा अनुपयुक्त हुँदैन। पतञ्जलि योग सूत्रमा भनिएको छ ः सांसारिक दुःखकष्टको एक मात्र औषधि योग हो। हाम्रो जीवनमा समस्या छन् भने ती सबको कारण हो– ध्यान नहुनु। ध्यानको अभ्यास नगर्नु र त्यसका लागि समय नछुट्याउनु। हाम्रो जीवनशैली योगमा आधारित हुनु प्राकृतिक स्वभाव हो, जसलाई व्यवहारमा उतार्न योगका विभिन्न आयाम जान्नुपर्छ:
राजयोग ः यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि गरी यसका ८ अंग छन्। तसर्थ यसलाई अष्टांगयोग पनि भनिन्छ।

जीवन, जीवनका हरेक क्षण, हरेक कर्मलाई आनन्दका रूपमा लिन जान्नु ध्यान हो। यसले कुनै जादुजस्तो परिवर्तन त ल्याउँदैन, तर तनावरहित हुन मद्दत गर्छ।

लययोगः यम, नियम, स्थूल क्रिया, प्रत्याहार, धारणा, ध्यान र समाधि यसका अंग हुन्। ज्ञानयोग ः साक्षीभावद्वारा विशुद्ध आत्माको ज्ञान प्राप्त गर्नु नै ज्ञानयोग हो। यही ध्यानयोग पनि हो। कर्मयोग ः कर्म गर्नु नै कर्मयोग हो। कर्ममा कुशलता ल्याउनु कर्मयोगको उद्देश्य हो। यही सहज योग पनि हो। भक्तियोग ः भक्ति–श्रवण, कीर्तन, स्मरण, पादसेवन, अर्चन, वन्दन, दास्य, सख्य र आत्मनिवेदन रूप– यी ९ अंगलाई नवधा भक्ति भनिन्छ। भक्तियोगअनुसार व्यक्तिले सालोक्य, सामीप्य, सारूप तथा सायुज्य प्राप्त गर्छ, यसलाई क्रमबद्ध मुक्ति भनेर उल्लेख गरिएको छ, योग विज्ञानमा।

कुण्डलिनी योग: कुण्डलिनी शक्ति सुषुम्ना नाडीमा नाभिको तल्लो भागमा निष्क्रिय अवस्थामा हुन्छ, जुन ध्यान गहि¥याउँदै गएपछि सबै चक्रबाट गुज्रिँदै  सहस्रार चक्रसम्म पुग्छ। यी चक्र ७ वटा हुन्छन् ः मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्धि, आज्ञा र सहस्रार। ७२ हजार नाडीमध्ये प्रमुख नाडी तीन छन् ः इडा, पिंगला र सुषुम्ना। इडा र पिंगला नासिकाका दुवै छिद्रसँग जोडिएका हुन्छन् भने सुषुम्ना भृकुटीको बीचमा हुन्छ। जसले स्वर परिवर्तन गर्ने, रोग दूर गर्ने, सिद्धि प्राप्त गर्ने र भविष्यवाणी गर्नेजस्ता शक्ति प्राप्त गर्ने विषयमा मार्गदर्शन गर्छन्। दुवै नासिकाबाट सास चल्नुको अर्थ के हो भने सुषुम्ना क्रियाशील छ। ध्यान, प्रार्थना, जप, चिन्तन र उत्कृष्ट कार्य गर्न यही समय सर्वश्रेष्ठ हुन्छ।
ध्यान जीवनको त्यस्तो आधार हो, जहाँ जेसँग मिलाए पनि यसले सकारात्मक ऊर्जा दिन्छ र हरेक कर्म सफल बनाउन मद्दत गर्छ। ध्यानलाई खेलका रूपमा लिन सक्यो भने बुद्धि र मनले बाधा पु¥याउन सक्दैनन्। ध्यानमा पनि बुद्धिको प्रयोग भयो भने त्यसले अहंकारको यात्रामा लाने सम्भावना हुन्छ। बुद्धिले सोचमग्न, गम्भीर बनाइदिन्छ र आफूलाई एक महान् ध्यानी भनेर प्रमाणित गराउन बल गर्छ।  इतिहासमा कैयौं तथाकथित सन्त, साधु, धार्मिक व्यक्ति आफूलाई ध्यानी भनाउन अहंकारको खेल खेल्न बाध्य भएका उदाहरण प्रशस्त पाइन्छन्।

त्यसैले परमगुरु ओशो सम्झाउनु हुन्छ– ‘ध्यान एउटा गीत हो, जसलाई गाउनुछ। ध्यान एउटा नृत्य हो, जसअनुसार नाच्नुछ। ध्यानलाई खेलका रूपमा लिन सकेमा दिन दुगुना, रात चौगुना प्रगति हुनेछ। ध्यान कुनै लक्ष्य होइन। शान्त बस्नु, आफ्ना अगाडि जे जस्ता क्रियाकलाप भइरहेछन्, साक्षी भएर हेर्नु, कुनै वकालत नगर्नु, बरु त्यो क्षणको आनन्द लिनु ध्यान हो। हामीलाई आफ्नावरिपरिका क्रियाकलाप एवं आफ्नो मनद्वारा सिर्जित विचारबाट पनि भाग्नु छैन। कुनै यौगिक शक्ति, सिद्धि वा चमत्कारको चाहना पनि छैन। सिद्धि, चमत्कार– यी सब पुरातनवादी धारणा र भ्रम हुन्। यिनमा कुनै सत्यता छैन।

जीवन, जीवनका हरेक क्षण, हरेक कर्मलाई आनन्दका रूपमा लिन जान्नु ध्यान हो। यसले कुनै जादुजस्तो परिवर्तन त ल्याउँदैन, तर तनावरहित हुन मद्दत गर्छ। यसले नजानिँदो तरिकाले भित्रभित्रै मौलिक रूपान्तरण ल्याउँछ। जीवनका ससाना सफलता र खुसीले महत्व पाउन थाल्छन्। हरेक चिज, व्यक्ति र परिस्थितिमा दिव्यता झल्किन थाल्छ। नयाँ सुवास, सुगन्ध र प्रकाश भेटिन थाल्छ। जसबाट व्यक्ति हिन्दू, मुस्लिम, इसाई, साना, ठूला, जातभात नभएर केवल जीवनको प्रेमी बन्न पुग्छ। जीवनमा आनन्दित हुनु नै परमार्थसम्म पुग्ने मार्ग तय गर्नु हो। अस्तित्वसँगै गाउनु, नाच्नु र खेल्नु नै ध्यानको नतिजा हो।

सजग बन्ने र मनलाई ध्यान नदिने, मनको कुरा नसुन्ने हो भने सिर्जनात्मक हुन मद्दत पुग्छ। जे पनि कर्म गर्नुछ– सजग भएर, होस पु-याएर गर्नु नै ध्यान हो। सजग भएर गरेका सानातिना काम नै पवित्र बन्छन्। योग्यताको परीक्षण गर्नु नै छ भने सधैं चेतना र होसलाई चुन्नुपर्छ। यसबाट ध्यानमा रहन सहज हुन्छ। जति होसपूर्ण हुन सक्यो, त्यति प्रसन्न र आनन्दित रहन मद्दत पुग्छ।

प्रकाशित: १ पुस २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App