१४ फाल्गुन २०८० सोमबार
विचार

‘वैकल्पिक दल’ र चुनाव

प्रतिनिधिसभाका १ र प्रदेशसभाका ३ सदस्य तथा स्थानीय तहका विभिन्न तहका ४८ रिक्त पदाधिकारीका लागि मंसिर १४ गते भएको मध्यावधि निर्वाचनको परिणामले दलहरूका लागि फरक फरक सन्देश दिएको छ। सत्तारुढ नेकपाका लागि सन्देश चेतावनीयुक्त रह्यो– राम्रो काम गर, नगरे वा घमण्ड गरे अर्को चुनावमा अहिलेको बहुमत गुम्न पनि सक्छ भन्नेखालको। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका लागि सुध्रँदै गयौ भने फेरि पालो आउन पनि सक्छ तर सुध्रनुप¥यो भन्नेखालको। समाजवादी दल र राजपाले पहिलेको २ वडाध्यक्षमा क्रमशः अर्को २ र १ स्थान बढाए पनि उनीहरूका पहिचान र क्षेत्रीय राजनीतिको धार अब पहाडमा त के, मधेसमा समेत मन्द हुँदै गएको संकेत चुनावले दिएको छ। पहिचान राजनीतिलाई चर्कोसँग उठाउँदै आएका र अहिले समाजवादी पार्टीसँग एकता गरेका बाबुराम भट्टराई नेतृत्वको पूर्व नयाँ शक्ति पार्टीको हिस्साको योगदान वा भूमिका त चुनावमा देख्दै देखिएन।

तर चुनावमा सबभन्दा कमजोर प्रदर्शन मूलतः साझा र केही हदसम्म विवेकशील पार्टीको रह्यो। आपूmहरू सामाजिक सञ्जालमा सक्रिय र शिक्षित/शहरिया मध्यम वर्गमाझ परिचित रहेकै भरमा चुनाव जितिन्छ भन्ने ठानेको शहरी क्षेत्र पोखराको प्रतिनिधिसभालगायत कतैको चुनावमा पनि साझाले जमानतसमेत जोगाउन सकेन। त्यतिमात्र होइन, ठूला र पुराना दलले राम्रो काम गरेनन्, कहिल्यै कुनै पाठ सिकेनन् भन्दै त्यसैले आफूहरू उनीहरूको वैकल्पिक शक्तिका रूपमा आउन चाहेको बताउने साझादेखि पूर्व नयाँ शक्तिसम्मका ‘बौद्धिक’ र समाजमा सुपरिचित नेताहरूले चुनाव परिणामलाई शालीनतापूर्वक पचाउन सकेको पनि पाइएन। कतिपयले चुनावले सधैँ गतिलो परिणाम दिँदैन, चुनाव फोहोरी र खर्चिलो भएकाले हामीले चुनाव जितेनौँ, यहाँसम्म कि जनताले सही निर्णय दिएनन् भन्नेखालका अभिव्यक्ति दिए।

पहिचान राजनीतिलाई चर्कोसँग उठाउँदै आएका र अहिले समाजवादी पार्टीसँग एकता गरेका बाबुराम भट्टराई नेतृत्वको पूर्व नयाँ शक्ति पार्टीको हिस्साको योगदान वा भूमिका त चुनावमा देख्दै देखिएन।

साझा, विवेकशील (एकै उद्देश्य र अजेन्डाका दलहरू भन्दै कुनैबखत एक भएका र पछि फेरि फुटेका) र तत्कालीन नयाँ शक्ति नयाँ दल हुन्, स्थापित दलहरूबाट सुशासन र स्वच्छता सम्भव नहुँदा त्यो काम ‘हामी वैकल्पिक शक्ति’ ले गर्छौँ भन्दै खुलेका। हो, आजसम्म पटक–पटक सत्तासीन भएका नेकपा, कांग्रेस, राप्रपा र मधेसकेन्द्रित दलहरूबाट जनता असन्तुष्टमात्र होइन, निराशसमेत छन्। आफ्ना गल्ती र बदमासीमा पश्चाताप वा सुध्रने जमर्को कहिल्यै नगर्ने ती दलको विकल्प जनताले नखोज्ने कुरो पनि हुन्न। तैपनि उनीहरूका चुनावी प्रदर्शनचाहिँ यस्तो हुनुका कारण थुप्रै छन्।

पार्टी निर्माणका गतिविज्ञान
पहिलो कारण त आज जतिसुकै बिग्रिए पनि ठूला र पुराना दलहरू सानो मेहनत र त्यागले आजको स्थितिमा आइपुगेका होइनन्। वस्तुगत र आत्मगत अवस्थाका अनेक आरोह÷अवरोह पार गर्दै आएका हुन्। २००३ देखि २०१७ सालका बीचमा फटाफट निर्माण गरिएको कांग्रेसको संगठन आज पनि उस्तै छ। त्यसमा ठूलो संरचनात्मक वा गुणस्तरगत परिवर्तन भएको छैन। आजका साझा आदिलाई यति गाह्रो परेको संगठन त्यसबखत कांग्रेसले कसरी फटाफट बनायो त चुनावमै हराएर उसलाई समाप्त पारिदिने राजा महेन्द्रको योजना र आकलनका बाबजुद त्यही चुनावमा दुईतिहाइ बहुमत ल्याउने गरी ? यसको उत्तर हो– अर्को सशक्त दल मैदानमा नभएको र दलीय ‘स्पेस’ लगभग खालि (भर्जिन) भएको लाभ उसलाई मिल्यो। अहिले राजनीतिक स्पेस जति अरु स्थापित दलहरूले कब्जा गरिसकेको अवस्थामा उनीहरूबाट त्यो खोसिकन संगठन बनाउनु नयाँ र साना दलका लागि गाह्रो त हुने नै भयो।

हो, कांग्रेसका पनि पहिले प्रजा परिषद् र पछि गोर्खा परिषद् प्रतिद्वन्द्वी थिए तर उनीहरूको खासै संगठन थिएन। गोर्खा परिषद् जहाँ प्रतिक्रान्तिकारीहरूको मोर्चा जस्तो थियो, प्रजा परिषद् संगठित राजनीतिक दलभन्दा पनि राणालाई हटाएर राजालाई गद्दीमा ल्याउने एउटा आन्दोलन जस्तो मात्रै थियो। जबकि कांग्रेससँग २००७ सालको क्रान्तिको नेतृत्व गरेको गौरवमय इतिहासका अलावा संवैधानिक राजासहितको लोकतन्त्रको समयानुकूल अजेन्डा पनि थियो। युगनायक बिपी कोइरालाको जल्दोबल्दो नेतृत्व थियो। साझा, विवेकशील, नयाँ शक्ति कतैका कोही नेता पनि बिपी होइनन्। र, भएका नेतामा आकर्षक र आदर्श लाग्ने आफ्नै नारा कार्यान्वयन हुनसक्ने क्षमता र अनुभव छ भन्ने कुरामा मानिस विश्वस्त भएनन्।

त्यस्तै, आज आउँदा कांग्रेसलाई पछि पार्दै नेकपा कसरी नम्बर एक बन्यो त भन्ने कुराको आफ्नै कारण छ। आज आएर विश्वमै असफल सिद्ध भई आफैँ पनि सो विचारधाराबाट क्रमिकरूपमा टाढिँदै गएको भए तापनि नेकपा त्यस बखतको आकर्षक र शक्तिशाली विचारधारा साम्यवादको जगमा गठन भएको दल हो। उसको प्रमुख घटक एमाले कार्यकर्ता र संगठनका हिसावले त देशकै सर्वाधिक चुस्त दल हो। आज यी बेहोरामा क्रमशः ह्रास आउँदै र सत्ताशक्तिको मदले बिग्रँदै जाँदा पनि पूर्वएमाले कार्यकर्ता आज पनि अरु दलका तुलनामा जनतामा भिजेका, सक्रिय, ऊर्जावान र पार्टी अनुशासनमा बाँधिएका हुन्छन्। यी ‘स्ट्रेन्थ’ का अलावा समयानुसार बदलिँदै जान सक्ने खुबी नै सो दलको सफलताको रहस्य हो। जुन खुबी नभएका भारतीय कम्युनिस्टहरू यतिखेर संग्रहालयतर्फको यात्रामा छन्।

सत्ताशक्तिको मदले बिग्रँदै जाँदा पनि पूर्वएमाले कार्यकर्ता आज पनि अरु दलका तुलनामा जनतामा भिजेका, सक्रिय, ऊर्जावान र पार्टी अनुशासनमा बाँधिएका हुन्छन्। यी ‘स्ट्रेन्थ’ का अलावा समयानुसार बदलिँदै जान सक्ने खुबी नै सो दलको सफलताको रहस्य हो। जुन खुबी नभएका भारतीय कम्युनिस्टहरू यतिखेर संग्रहालयतर्फको यात्रामा छन्।

पार्टी निर्माण त्यसै पनि लामो र कठिन प्रक्रिया हो। यसमा सफल हुन आत्मगत र वस्तुगत दुबै परिस्थितिको योगदान चाहिन्छ। पुनः भारतकै उदाहरण, कुनै बखतको सानो जनसंघ (जो भाजपा बनेपछि पनि १९८४ मा लोकसभाको २ सिटमा खुम्चिएको थियो) आज ५–६ वर्षदेखि त्यस देशको संघीय र कतिपय प्रान्तीय सत्तामा दिग्विजय गरिरहेछ। जसमा वस्तुगत परिस्थितिका रूपमा प्रतिस्पर्धी भारतीय कांग्रेसको अकर्मण्यता तथा परिवारवाद र ऊलगायतका ‘प्रगतिशील र धर्म निरपेक्ष’ दलहरूले कुनै समीक्षाबिना निरन्तर र अन्धतापूर्वक अपनाएको मुस्लिम तुष्टीकरणको नीति त जिम्मेवार छ नै (जसले ठूलो संख्याका हिन्दुलाई भाजपाका मतदाता बनाइदियो), आत्मगत परिस्थितिका रूपमा उनीहरूको कडा मेहनत, धैर्य र सही रणनीतिको पनि ठूलो योगदान छ।

कुण्ठा होइन, वस्तुगत आत्मसमीक्षा
हो, राप्रपा सजिलोसँग बन्यो, निर्माण गर्नै परेन किनकि पञ्चायतका हस्तीमध्ये कांग्रेस एमालेमा जान नसक्ने÷नसकेकाहरू एक ठाममा जम्मा हुनासाथ नेताहरूका स्वार्थ र व्यक्तित्वका कारण बेलाबखत जुट्ने फेरि फुट्ने एउटा दुइटा पार्टी बन्न कुनै गाह्रो थिएन। तर सो पार्टी एउटा निश्चित आकारभन्दा ठूलो हुन भने असम्भव थियो÷छ। कारण– त्यो भविष्यको दल होइन। हिजोको विरासतीय दल हो। उसका कार्यकर्ता पनि थोरै छन् र नेता धेरै। कुनैबखत लामो समय सत्तामा बसेर आफ्ना चुनावी ‘कन्स्टिच्युएन्सी’ सपारेका ती नेताहरू जति सकिँदै जान्छन् त्यति नै त्यो दल खिइँदै गई अन्त्यमा विसर्जन हुनेछ। मंसिर १४ को चुनाव परिणामले पनि यही देखाएको छ।

मधेसी दलहरू मधेसी समुदायले भोग्नुपरेका वर्षौँदेखिका राज्यको अप्रकट अविश्वास र सामाजिक विभेदका प्रकट मुद्दालाई आन्दोलनका रूपमा उठाइ (र केही हदसम्म बढाइचढाइ गरी) जन्मेका दल हुन्। पहुँच, पहिचान र प्रतिनिधित्वका उनीहरूका माग र मुद्दा सम्बोधन हुँदै गएसँगै र पहिचान राजनीति आफ्नै कारण कमजोर हुँदै गएसँगै अब काम देखाएर राजनीति गर्नपर्ने चुनौतीका दौरमा उनीहरू आइपुगेका छन्। जुन चुनौतीमा खरो उत्र भन्ने सन्देश नै मंसिर १४ को चुनाव परिणामले उनीहरूलाई दिएको छ।

हाम्रो देशमा लोकतन्त्र र नागरिक अधिकारहरूका लागि १–२ पुस्ताकै जीवनकालमा धेरैपटक आन्दोलन भए। र, प्रमुख दलहरू तिनै आन्दोलनबाट जन्मिए। सात सालको क्रान्तिको नेतृत्व गरेको कांग्रेसले त्यसको क्रमशः चार र साँढे पाँच दशकपछिका जनआन्दोलनहरूको पनि नेतृत्व ग-यो। त्यसैले पटक–पटक राजनीतिक महाभूल गरिरहँदा पनि, संगठन भद्रगोल र नेतृत्व कमजोर हुँदा पनि, शासकीय क्षमताको कमजोर प्रदर्शनका बाबजुद पनि ऊ आज देशको प्रमुख प्रतिपक्षी छ।

अझै पनि एउटै परिवारमा चार पुस्तादेखिको कार्यकर्ता÷समर्थक हुने दल कांग्रेसै हो जो पार्टीले परिचालित नगरे पनि वा अघि÷पछि नखटे पनि चुनावका बेलाचाहिँ स्वःस्फूर्तरूपमा खट्छन्। कांग्रेस र नेकपाका गाउँ गाउँमा संगठन छन् जो चुनावमा खट्छन्। कांग्रेसको चार पुस्ता भएजस्तै एमालेका पनि ३ पुस्ता पुगिसके। माओवादी घटकका पनि २ पुस्ता पुग्दैछन्। साझाहरूमा जो÷जति नेता÷कार्यकर्ता छन् ती सबै पहिलो पुस्ता हुन्। यो स्थितिलाई एकथरि बुद्धिजीवीले भनेझैँ ‘फल्स ब्रान्ड ल्वायल्टी’ मात्र भनेर खारेज गर्न मिल्दैन।

हो, आन्दोलनबाटै जन्मेका दल भए तापनि मधेसी दलहरूको आन्दोलन निस्तेज र निष्प्रयोजन भइसकेको छ भने माओवादीको ‘जनयुद्ध’, एक त त्यसै पनि, र कथित उपलब्धिका तुलनामा पनि अनावश्यक र बर्बादीपूर्ण रहेको समयले सावित गरेको छ। तैपनि आन्दोलनबाट स्थापित दलहरू नै दिगो र व्यापक जनाधार, मतधारयुक्त हुने कुरा हामीकहाँको अनुभव छ। साझाहरू आन्दोलनबाट जन्मेका होइनन्, हाल एवं विगतमा सत्तामा रहेका दलहरूका गलत क्रियाकलापको प्रतिक्रियामा जन्मेका दल हुन्। उनीहरूका कतिपय कुरा सामयिक र जनचाहनानुसारकै कुरा भए तापनि उनीहरूका नेतृत्व, संगठन आदि कुरा हेरेर मान्छेले पत्याएनन् या कमजोर दलीय संयन्त्रका कारण मान्छेले तिनबारे थाहै पाएनन्। अरु दल जस्तै उनीहरूका दल पनि फुटेका तथ्य, उनीहरूका अनुभवहीनता, पृष्टभूमि, अनुहारलगायतका धेरै कुरा मतदाताले हेरे होलान्। कुण्ठा व्यक्त गर्न छाडेर जसको निष्पक्ष समीक्षा गरेमा पछिका लागि उनीहरूलाई नै राम्रो हुने थियो।

प्रकाशित: ३० मंसिर २०७६ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App