४ आश्विन २०७७ आइतबार
विचार

‘मान्छेले के भन्लान् !’

जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।

केही वर्षअघि तराईबाट म एयरपोर्टमा आउँदा हातमा सानो झोला मात्रै थियो। ट्याक्सीमा जाँदा धेरै पैसा पर्ने भएकाले आधा घण्टा नै हो, ३० रुपैयाँमै घर पुगिन्छ भनेर बस चढें। घरनजिकको चोकमा आइसकेपछि ओर्लेर अर्को बस चढ्न खोज्दा त बसको हिलो लुगामा लाग्यो। अलिकता त पानीले पखालेर बसमा चढेें। घर आएपछि ४ सय मिटर हिँड्नुपर्ने थियो, बाटोमा एक परिचितले सोधे– ‘कसरी लुगामा हिलो लाग्यो ?’ ‘बसमा चढ्दा’ भनें। मेरो उत्तर सुनेर उनले भने– ‘किन माइक्रोबसमा चढेको त ? आफ्नो ‘स्टाटस’ को त ख्याल राख्नुपर्छ !’ उनको तर्कले म छक्क परें। माइक्रोबस, बस चढ्दा मेरो स्टाटस खत्तम हुने हो र भन्ने विचार मनमा आयो तर केही बोलिनँ।

म अहिले ‘पठाओ’ र ‘टुटल’ पनि चढ्छु। मेरा कति परिचितलाई मन पर्दैन। उहाँहरू भन्नुहुन्छ– ‘ट्याक्सी चढ्नुपर्छ। बस चढ्दा मान्छेले के भन्लान् ?’ अझ कति जनाले त माइक्रोबस चढ्दा लोभ गरेर ‘ट्याक्सी नचढेको’ पनि भन्छन्। तर त्यसको मलाई मतलबै लाग्दैन। मेरो घरमा भएको ड्राइभर छैन, त्यसैले म कि माइक्रोमा वा हिँडेरै काम चलाउँछु। तर यसका कारण म गन्तव्यमा कहिल्यै कत्ति पनि ढिलो पुगेको छैन। अझ कतिपय ठाउँमा त गाडीमा आउनेहरू भन्दा समयमै पुग्छु। मलाई जरुरत नपरे पनि पैसा किन खर्च गर्नु भन्ने लाग्छ। हो, माइक्रो वा बसमा चढ्दा सहजचाहिँ हुँदैन, कतिचोटि त ठेलमठेल पनि गर्नुपर्छ । खलासीका अपशब्द पनि सहनुपर्छ, बेस्सरी आफूले कसैको खुट्टा कुल्चिइन्छ, कसैले आफ्ना खुट्टामा कुल्चिदिन्छन्, उसलाई ठेल्नुपर्छ। तर यसैले मेरो ‘स्टाटस’ कम भयो भन्ने लाग्दैन। मलाई चिनेकाले बसमा भलाकुसारी गर्छन्, रोकिएपछि ‘जाऊँ है’ भन्दै हिँड्छन्,। तर किन ‘माइक्रो बस चढेर कम स्टाटस भएकोे’ भन्दैनन् ? जसले मलाई चिन्दैन, उसलाई म जेमा चढे पनि के फरक भयो र ?  बस चढ्दा ठेलमठेल गरेको देखे पनि के वास्ता ?

मेरो ‘स्टाटस’ बढाउन भनेर म हिँड्न छाड्दिनँ, हिँडेर जान सकिने ठाउँमा ट्याक्सी चढेर जाँदिनँ। अरूसँग मागेर गहना लाउँदिनँ। त्यसैले मलाई विवाह भोजमा सहभागी हुँदा वा टिभीमा अन्तर्वार्ता दिन जाँदा नयाँ लुगा लगाउनुपर्छ भन्ने तनाव हुँदैन।

हो, तर ८० वर्षीया आमासँग ठूलीआमासँग हिँड्दा त म कि आफ्नो गाडीको प्रबन्ध गर्छु कि त ट्याक्सीमै जान्छु। उहाँहरूलाई माइक्रोबसमा ठेलमठेल गराउनु हँुदैन।  मेरी आमाले दुःखपूर्ण यात्रा गर्नुप¥यो भने त म एक सक्षम छोरी भएर पनि के काम लाग्यो भनेर मेरो स्टाटसमा धक्का लाग्थ्यो होला। म आफू स्वस्थ भएका बेला बस चढ्दा त किन इज्जत कम हुनु र ? स्विडेनमा मन्त्री पनि साइकल र बसमा यात्रा गर्छन् भन्ने समाचार सुनिन्छ। तर हाम्रो समाजमा मोटर र मोबाइलसँग स्टाटस गाँसिएको छ। यो सोचबाट मुक्त हुन गाह्रो हुन्छ। मैले ठीक गरिरहेकी छु, अरूले कुरा काटेर केही फरक पर्र्दैन भन्ने मानसिकता भए समस्यै हुन्न भन्ने मलाई लाग्छ।

चाडपर्वका बेला विभिन्न रेडियो र टिभीले मलाई खाना÷स्वास्थ्यबारे अन्तर्वार्ता लिन बोलाउँछन्। एकै दिन दुईवटा टिभीमा अन्तर्वार्ता दिँदा भने मेरो लुगा एउटै हुनेभयो। अन्तर्वार्ता हेरेका एक जनाले भने– ‘अन्तर्वार्ता त ठीकै थियो। तर दुवै अन्तर्वार्तामा लुगा एउटै थियो, फेरेको भए हुन्थ्यो नि !’ मैले भनें– ‘मलाई टिभीमा हरेकचोटि नयाँ लुगा लगाएर आउने नियम छैन। विचार सुन्न बोलाइन्छ। किन नयाँ लुगा फेर्ने र ?’ मेरो कुरा सुनेर ती परिचित त चुप लागे। तर मेरा भतिजाले  मलाई माया गरेर दसैंमा नयाँ लुगा ल्याइदिए। उनले ‘डिप्लोम्याटिक’ भाषामा भने– ‘टिभिमा तपार्इंले लगाएको लुगा हेर्दा तपाईंलाई कालो लुगा सुहाउँछजस्तो लागेर यो लुगा उपहार दिएको हुँ।’ मायाले दिएको उपहार पाएर म त दंग पो परें। तर टिभीमा जाँदा बारम्बार नयाँ लुगा लगाउनुपर्छ भन्ने लाग्दैन। मैले भतिजालाई धन्यवाद दिँदै मनमनै भनें। जाडोका बेला विवाह भोजमा जाँदा नयाँ लुगा लगाएर कामेको मान्छे देखेकी छु। अनि लाग्छ– सुन्दर लुगा देखाउन जाडोले कामेपछि के रमाइलो भयो र ? कतिचोटि विवाहमा साधारण पहिरन लगाएर जाँदा दिदी कति जनाको भनाइ पनि खाएकी छु– ‘विवाहमा जाँदा पनि सुतीको लुगा लगाउने ? हेर, सुनको गहना पनि नलगाएकी, आफ्नो स्टाटसको त ख्याल गर्नुपर्छ। के भन्लान् मान्छेले ?’ मेरो उत्तर रेकर्ड गरेझैं हुन्छ– ‘मलाई विवाहमा बोलाएको हो, मेरो लुगा÷गहनालाई होइन।’

मेरो स्टाटस बढाउन भनेर म हिँड्न छाड्दिनँ, हिँडेर जान सकिने ठाउँमा ट्याक्सी चढेर जाँदिनँ। अरूसँग मागेर गहना लाउँदिनँ। यसले मलाई धेरै सजिलो भएको छ। विवाह भोजमा सहभागी हुँदा तथा टिभीमा अन्तर्वार्ता दिन जाँदा नयाँ लुगा लगाउनुपर्छ भन्ने तनाव हुँदैन। कतिचोटि त मिटिङबाटै भोजमा जाने गर्छु। घर गई लुगा फेरेर जाँदा त कति समय नाश हुन्छ। तर सबैको सोच यस्तो नहुन सक्छ। जसलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो। अहिले मोबाइलसँग जोडिएर पनि ‘स्टाटस’ बन्न थालेको छ। केही महिनाअघि एक साथीले पुरानो मेरो मोबाइल नोकिया देखेर भने– ‘तपाईंले यस्तो मोबाइल प्रयोग गर्दा त तपाईंको स्टाटस कम हुन्छ नि !’

‘पत्रकार, व्यापारीलाई आफ्नो कामका लागि नयाँ–नयाँ मोडलका मोबाइल फोन जरुरत पर्छ। मलाई त यही नोकियाले जीवन सहज भएको छ,’ मैले उत्तर दिएँ। स्टाटस ख्याल नगरेर साधारण मोबाइल लिँदाको फाइदा नै छ भन्ने कुरामा म केही महिना पहिले झन विश्वस्त भएँ। एकपटक पाँचतारे होटलमा भएको सेमिनारमा सहभागी हुँदा मेरो मोबाइल त त्यहीं छुटेछ। घरमा ‘मोबाइल छुटेर अब कसैले लगिसक्यो होला’ भनें। तर परिवारका सदस्यले भने– ‘त्यो मोबाइल कसैले लाँदैन, ढुक्क भए हुन्छ। होटेलमा जाऊ त्यहीं हुन्छ।’

नभन्दै भोलिपल्ट जाँदा मोबाइल होटेलमै भेटियो। अनि मलाई लाग्यो– मेरो मोबाइल पुरानो भएकाले नै कसैले लगेनन्। र, मेरा सबै सम्पर्क नम्बर सुरक्षित रह्यो। अब झन् मैले स्टाटस बढाउन अर्को मोबाइल किन्ने नै छैन। किनभने चोरले पनि उच्च ‘स्टाटस’ भएका मोबाइलमा मात्र हात लामा पार्दारहेछन्। अहिले म ‘टुटल’ र ‘पठाओ’ चढ्छु। पहिले–पहिले यो चढ्दा टिप्पणी  भन्नेहरूले ‘अहिले ‘स्टाटस’ कम हुन्छ भनेका छैनन्। योचाहिँ समाजमा आएको सकारात्मक परिवर्तन नै मान्नुपर्छ। नयाँ लुगा, नयाँ मोबाइल लिएर मात्रै सुखी भइन्न भन्ने बुझे त जीवन सहज हुने थियो।

प्रकाशित: २९ मंसिर २०७६ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App