४ कार्तिक २०७७ मंगलबार
विचार

‘बाबा’ बबन्डर

यो साता नेपाली सञ्चारमाध्यममा ‘सिद्धबाबा’ नामले चिनिने कृष्णबहादुर गिरी (कृष्णदासजी)ले आफ्नै अनुयायी महिला ‘बलात्कार’ गरेको समाचारले राम्रै स्थान पायो। ती ‘बाबा’लाई प्रहरीले पक्राउ गरेको छ। ह्विल चेयरमा बसेर अस्पताल लैजाँदै गरेको उनको तस्बिर पनि अखबारमा छापिएको छ। नेपालमा प्रेस स्वतन्त्रता भएकाले चाहे सिद्धबाबा हुन्, चाहे  रौतहटका अफताब आलम अथवा कुनै ठूला व्यक्ति नै किन नहुन्, तस्बिर छापेर जनतालाई जानकारी गराइन्छ। जुन ज्यादै राम्रो कुरा हो। विद्वान्(?) ‘बाबा’लाई पनि जनताले चिने।

अदालतले कसुर प्रमाणित नगरुन्जेल उनलाई हामी बाबा कृष्णदासजीका रूपमा हेर्छौं। उनले पहिले आफूलाई ठूलो विद्वान्, आयुर्वेदमा विद्यावारिधि गरेको, भारतमा रहँदा विभिन्न विषयमा आचार्य गरेकोजस्ता बेतुकका कुरा बताएको समाचारमा पढ्न पाइन्छ। उनले सुनसरीको चतरास्थित कैयौं भूमि कब्जा गरेका, १२८ कोठे भवन करोड खर्च गरेर बनाएका कुरा पनि छन्। उनले सन्तको भेषमा अवैध गतिविधि गरेको देखेर उनका केही विश्वासपात्रले आश्रम छाडेका समाचार पनि आएका छन्। उनले अक्सिजनबिनै भूसमाधि बसेकोजस्ता चर्चा चलाइए पनि मानिसलाई मूर्ख मात्र बनाइएको उनका बखान गर्नेहरूले नै बताउन थालेका छन्।

ती ‘बाबा’ त नयाँदिल्लीको साउथ एक्सटेन्सनमा सञ्चालित ब्रोथेल (वेश्यालय)का मालिक पो रहेछन् !

गिरीले इटहरीको तरहरामा बसेका बेला सिंगापुर पठाइदिने भन्दै आफ्ना भाइमार्फत ११ जनाबाट ४४ लाख रुपैयाँ ठगी गरेको कथा पनि अखबारले लेखेका छन्। यिनले गरेको षड्यन्त्र हेर्दा यी यस्ता मामिलामा चाहिँ विद्वान् नै रहेछन् भन्नुपर्छ। यिनी कति बाठा रहेछन् भने यिनको आशीर्वाद थाप्न नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, नेता, मुख्यमन्त्री, सुरक्षा प्रमुख, उद्योगी/व्यापारीसमेत यिनको सेवामा पुगेका रहेछन्। यिनलाई भेट्नेमा पूर्वप्रधान न्यायाधीश, अख्तियार प्रमुख, पूर्वमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति पनि छन्।

स्वास्थ्य शिविर सञ्चालन गर्ने नाममा यिनले सिंहदरबार वैद्यखानाका निःशुल्क औषधि अर्कै प्याकेटमा राखेर भक्तजनलाई चर्को मूल्यमा बेच्दा पनि रहेछन्। यिनी बलात्कार आरोपमा पक्राउ परेपछि चतरास्थित करोडौंका संरचनामा नगरपालिकाले प्रदेशको वातावरण र पर्यटनसम्बन्धी मन्त्रालय राख्न अनुरोध गरेको कुरा पनि एक दैनिक पत्रिकामा छापिएको छ।

यस कथाबाट हामीलाई एउटा ठूलो ज्ञान प्राप्त भएको छ। यस्ता ठग ‘बाबा’हरू धर्म होइन, पाप गर्ने मात्र सोच्दा रहेछन्। सोझा नेपालीलाई पहेंलो वस्त्रधारी यस्ता ‘बाबा’ले आफ्नो वशमा पारेर ठग्छन् र सोझा दिदीबहिनीलाई बलात्कार पनि गर्छन् भन्ने कथा त भारतका टेलिभिजनमा धेरै हेर्न/सुन्न पाइन्छ। ठूलठूला चलचित्र पनि बनेका छन्, यस बिषयमा। सन्त कृष्णदासजी भनिने यी नेपाली बाबाको कथा पत्रपत्रिकामा पढेपछि मलाई एउटा यस्तै घटना सम्झना आयो ः म त्यसबेला नेपाल टेलिभिजनको समाचार निर्देशक थिएँ। तत्कालीन प्रधानमन्त्रीले नेपाल टेलिभिजनका महाप्रबन्धकलाई फोनमा– भारतबाट एकजना महान् बाबा नेपाल आएका छन्। जो अत्यन्तै विद्वान् र शक्तिशाली छन्। उनको  समाचार अथवा अन्तर्वार्ता के हुन्छ, दिनुपर्‍यो भनेछन्।

काठमाडौंमा उनीबारे यस्ता नपत्याउने चर्चा चल्न थालिसकेका थिए। मैले सोधें– ‘ती बाबा कहाँ बस्छन् ?’ उत्तर आयो– ‘दरबारमार्गको शेर्पा होटलमा बस्छन्।’ मेरो दिमागले सोच्यो– ‘साँच्चै यी बाबा, धर्मात्मा र विद्वान् हुन् भने तीनतारे होटलमा किन ? यिनको बास पशुपति मन्दिर परिसरका आश्रममा किन हुँदैन ?’ अनि आफ्नै मनले जवाफ दियोे– ‘धत् लाटा, त्यति पनि बुझ्दैनस् ! यस्ता बाबा आफ्ना अनुयायीबीच बेग्लै रूप देखाउँछन् र आफ्नो व्यक्तिगत जीवनमा अर्कै हुन्छन् ! बेलुका होटलमा बस्दा सुरा र सुन्दरी पान गर्ने अवसर पनि पाइन्छ भन्ने नै यस्ता बाबाको मनोकांक्षा हुन्छ। फेरि सरकारकै निम्तोमा आएपछि त के नपुग्दो हुन्छ र ! सुरा, सुन्दरी र द्रव्यका त्यस्ताका पिचास बस्ने नै होटेलमा हो।’

मैले आफ्नै स्रोतबाट के थाहा पाएँ भने यी बाबा त नेपालको पञ्चायत व्यवस्था थाम्न पो आएका रहेछन्। जतिबेला प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारको ठूलो विरोध हुन थालेको थियो।  यस्तो अवस्थामा बाबाले केही जादु गरिदिन्छन् भन्ने सोचेर सरकारले यिनलाई भारतबाट नेपाल निमन्त्रणा गरेको हो। मरिचमानको सरकार पनि ढल्यो। खोइ त, ती पहेंलो वस्त्रधारी बाबाले केही गर्न सकेनन् त ! त्यसबेला पक्कै पनि ती बाबाका लागि नेपालको ढुकुटीबाट शेर्पा होटलमा कति भुक्तानी गरियो। मलाई पहिलेदेखि नै यस्ता ढाेंगी बाबाहरूप्रति विश्वास थिएन। हो, म बेङ्लोर भारतका शाही बाबा, जितो बाबालाई मान्छु। किनभने तिनले भारतका कैयांै स्थानमा स्कुल÷अस्पताल स्थापना गरेर जनताका लागि निःशुल्क शिक्षा÷उपचार सेवा उपलब्ध गराएका छन्। तिनसँग जोडिएर कुनै बलात्कारका समाचार सुनिएन। तिनलाई संसारभरि मानिन्छ। मेरै जेठो छोराले दक्षिण भारतकोे पुटपर्दीमा साइबाबाको स्कुलबाट स्नातक गरेको हो। अहिले ऊ अमेरिकामा एमए गरेर आइटीमा काम गर्छ। साइबाबाको अस्पतालमा सस्तोमा ठूलै शल्यक्रिया गराउने मेरा मित्र श्याम चित्रकारले त्यहाँको कुरा सुनाउँदा म हाम्रा व्यापारिक मानसिकता भएका अस्पताल र डाक्टरहरूलाई सम्झन्छु।

ती विद्वान् बाबाले पञ्चायत त जोगाउन सकेनन् नै, शेर्पा होटलमा कति बोतल रित्याए, त्योचाहिँ थाहा पाउन सकिएन। अर्को कुरा, ती बाबा फर्केको केही महिनापछि मैले भारतबाट छापिने ‘मनोहर कहानियां’ मासिक हिन्दी पत्रिका फेला पारें। यसो भित्र पल्टाउँदै जाँदा तिनै पञ्चायत ‘जोगाइदिने’ भनेर नेपाल आएका बाबाको तस्बिर देखें। पत्रिका किनेर पढेपछि म छाँगाबाट खसेजस्तै भएँ। ती ‘बाबा’ त नयाँदिल्लीको साउथ एक्सटेन्सनमा सञ्चालित ब्रोथेल (वेश्यालय) का मालिक पो रहेछन् ! दिल्ली प्रहरीले उनलाई समातेको समाचार पढ्न पाउँदा मलाई खुसी लाग्यो। मैले त्यो पत्रिका दुईवटा किनें र एउटा, त्यसबेला ती बाबाको प्रशंसा गर्ने मित्रलाई पढ्न दिएँ। तर तिनको प्रतिक्रिया मैले अहिलेसम्म पाएको छैन।

हिन्दू धर्मको बदनाम गर्ने, निरक्षर सोझा मानिसलाई झुक्याउने, पैसा कमाउने र राम्रा युवतीलाई ललाईफकाई बलात्कार गर्ने यी बाबामा अचेल म ती बाबाको अनुहार देख्छु। यी त्यस्ता नहोलान्। तर जति पनि यस्ता बाबा छन्, तिनले हिन्दू धर्मको बदनाम मात्र गराएका छैनन्, हिन्दू प्रेम, सद्भाव, महिलालाई आफ्नै छोरी÷बुहारी ठान्ने र दीनदुःखीलाई सहयोग गर्ने हिन्दू दर्शनकै खिल्ली उडाएका छन्। त्यसैले म आम नेपालीलाई यस्ता बाबाको पछि नलाग्न सुझाव दिन्छु। हाम्रो धर्म–संस्कृति त्यस्तो छैन। तिनका पछाडि नलागी आफ्नो देश र परिवारको सेवा गर्न सिकौं, इमान्दार बनौं। सकिन्छ भने गरिब र दुःखीलाई सहयोग गरौं। किन चाहियो ‘बाबा’ ?

प्रकाशित: २७ मंसिर २०७६ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App