नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालले सगरमाथा र बुद्धबाहेक नयाँ पहिचान पाएको छ– गढीमाईको देश भनेर। नेपाल गढीमाईको मेला हुने देश हो, जहाँ हजारौं जनावरलाई चौरभित्र घेरा हालेर राखिन्छ, लखेटीलखेटी मारिन्छ र तिनको रगत लगेर एउटा देवीको मूर्तिमा चढाइन्छ। यसलाई यसरी बुझ्न सकिन्छ– नेपाल त्यस्तो देश हो, जहाँका देवीदेवता जनावरको रगत खान्छन् र तिनलाई खुसी राख्न भक्तजन हजारौं जनावर काटेर चढाउँछन्। अनि यो कामलाई एक मेलाका रूपमा, एक पर्वका रूपमा मनाउँछन्। अथवा भनौं, नेपाल त्यस्तो देश हो, जहाँका देवीदेवता जनावरको रगतबाट तृप्त हुन्छन् र जसले उनीहरूलाई खुसी राख्छ, तिनको काम फत्ते गरिदिन्छन्।
हामीले बच्चामा पढेको राक्षसको कथामा यस्तै पात्र, प्रवृत्ति र घटनाका वर्णन हुन्थे। यसरी पुजिने ढुंगा देवता हो कि दैत्य, छुट्याउनै गाह्रो।
जे होस्, राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियामा आएका समाचार, भिडियो र सामाजिक सञ्जालमा भइरहेका चर्चाले नेपालको नयाँ परिचयचाहिँ स्थापना गरिदिएको छ।
धेरै मानिसले गढीमाई मेलाको विरोध पनि गरे, तर त्यो विरोधको कुनै अर्थ भएन। मेला रोकिएन र मानिसको इच्छापूर्तिका लागि १० हजारभन्दा बढी जनावरले ज्यान गुमाउन पुर्यो। गढीमाई मेला आयोजक र समर्थकहरूले विरोध गर्नेको पिछा गरे र उनीहरूले ‘मटन भात’ खाएको तस्बिर तथा भिडियो ट्विटर र फेसबुकमा सार्वजनिक गर्दै खिल्ली उडाए– आफैं मासु खाने अनि बलिको विरोध गर्ने भनेर। त्यही लाइनमा नेपाली ट्विटर प्रयोगकर्ताहरूले ‘मासु खाने मानिसले गढीमाई मेलाको विरोध गर्नै नपाइने’ तर्क पनि प्रस्तुत गरिरहेका छन्। विदेशतिर थ्यांक्सगिभिङमा टर्की काटेर खाएको र बकर ईदमा बाख्रा खाएको अनि नेपालमै दसैंमा खसी काटेको उदाहरण दिँदै ‘हामीले चाहिँ गढीमाईमा जनावर काट्न किन नहुने ?’ तर्क सामाजिक सञ्जालभरि राखिएका छन्।
हिन्दू शास्त्रहरूमा यत्रतत्र अहिंसाको महत्व दर्शाइएको छ। त्यस हिसाबले आपूmलाई हिन्दू धर्मावलम्बी मान्ने मानिसले देवतालाई चढाउने नाममा पशुहरूको हत्या गर्नु कति जायज हुन्छ ?
तर्कमा दम नभएको त होइन, तर तर्क केका लागि गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। राम्रो काम गर्नाका लागि राम्रै उदाहरण सेश गरिन्छ, नराम्रो कामका लागि नराम्रै। चोरले आफ्नो कामलाई पुष्टि गर्न अझ ठूलो चोरको उदाहरण दिन्छ, डाँकुले अरू डाँकुको। सज्जनले सत्यको बाटोमा हिँड्न कुनै आदरणीय व्यक्तिको उदाहरण दिन्छ। रोजाइ आफ्नै हो– जुन बाटोमा हिँड्ने हो, त्यसैको नक्सा लिएर हिँडिन्छ।
तर्कहरू सुन्दा लाग्छ– मासु खानेले गढीमाई उत्सवको खुलेर स्वागत गर्नुपर्ने हो, यसलाई राष्ट्रिय गौरवका रूपमा मनाउनुपर्ने हो। अर्थात्, काठको कुर्सीमा कोही बस्यो भने उसले खुलेर वन विनाशको समर्थन गर्नुपर्ने हो, रूखहरू काट्ने कामको अनुमोदन गर्नुपर्ने हो र कसैले पर्वका रूपमा हजारौं रूख विनाश गरिरहेको छ भने त्यसको विरोधमा बिलकुलै नबोल्नुपर्ने हो। तर्क त्यस्तै छन्– मासु खानेले गढीमाईको विरोध गर्न पाइँदैन। यस्तै तर्कका लागि ‘कुतर्क’ भन्ने शब्द प्रयोग गरिएको होला।
तर्क यस्ता पनि हुन सक्छन्– तपाईं आफ्नो कोठामा ‘लाउडस्पिकर’मा गीत सुन्नुहुन्छ, त्यसैले अरूले विद्यालयको चौरमा गएर ‘फुल भोल्युम’मा गीत घन्काएर बस्न पाउनुपर्छ, त्यसको विरोध गर्न पाउनुहुन्न। शौचायलभित्र दिसापिसाब गर्नुहुन्छ, त्यसैले टुँडिखेलमा गएर सार्वजनिक रूपमा दिसापिसाब गर्ने पर्व मनाउन पाउनुपर्छ। तपाईं घरभित्र आफ्नो साथीसँग सहमतिमा यौनक्रीडा गर्नुहुन्छ, त्यसैले अरूले खुला चौरमा सार्वजनिक यौन–उत्सव मनाउन पाउनुपर्छ। गढीमाईका समर्थकले के यसरी सोच्नुहुन्छ ?
सवाल मासु खाने वा नखाने भन्दा पनि देवीदेवताका नाममा पशु हत्याको ‘मेला’ मनाउन हुने हो कि होइन भन्ने हो। यसले बुद्ध जन्मभूमिको छवि विश्वमा कस्तो बनाउँछ भन्ने हो।
यहाँ सवाल मासु खाने वा नखाने भन्दा पनि देवीदेवताका नाममा पशु हत्याको ‘मेला’ मनाउन हुने हो कि होइन भन्ने हो। यसले बुद्ध जन्मभूमिको छवि विश्वमा कस्तो बनाउँछ भन्ने हो। पशु हत्या र मांसाहार गैरकानुनी नभएकाले मासु खान पाउनु वा नपाउनु कसैको व्यक्तिगत स्वतन्त्रताको कुरा होला, तर खुला चौरमा पशु हत्याको उत्सव मनाउनु कतिको शोभनीय र उचित व्यवहार हो भन्ने सोच्नुपर्छ।
फेरि यो मेला हिन्दू धर्मका नाममा मनाइएको छ, जसले अहिंसालाई अत्यन्तै महŒव दिएको छ। महाभारतको आदिपर्वमा भनिएको छ :
अहिंसा परमो धर्मः सर्वप्राणभृतां स्मृतः
तस्मात् प्राणभृतः सर्वान् न हिंस्याद ब्राह्मणः क्वचित।
त्यस्तै महाभारतकै महाप्रस्थानिक पर्वमा भनिएको छ ः
अहिंसा परमो धर्मस्तथाहिंसा परो दमः
अहिंसा परमं दानम् अहिंसा परमस्तपः।।
अहिंसा परमो यज्ञस्तथाहिंसा परं बलम्।
अहिंसा परमं मित्रम् अहिंसा परमं सुखम्।।
छोटकरीमा यसको अर्थ हो– अरूको प्राणरक्षा सबैभन्दा ठूलो धर्म हो। अहिंसा नै परम धर्म, परम संयम, परम दान, परम तपस्या, परम मित्र, परम बल, परम सुख हो।
त्यस्तै योगको अष्टांगिक मार्गको पहिलो¬ अंग ‘यम’ को पहिलो चरण हो– अहिंसा। योग दर्शनमा पतञ्जलि भन्छन् : अहिंसासत्यास्तेयब्रह्मचर्यापरिग्रहा यमः। अहिंसाबाटै योग सुरु हुन्छ।
हिन्दू शास्त्रहरूमा यत्रतत्र अहिंसाको महŒव दर्शाइएको छ। त्यस हिसाबले आफूलाई हिन्दू धर्मावलम्बी मान्ने मानिसले देवतालाई चढाउने नाममा पशुहरूको हत्या गर्नु कति जायज हुन्छ ?
मांसाहारका लागि पशुहरूको प्रयोग गर्दा हुने बेफाइदाको आध्यात्मिक पक्ष एकातिर छ भने अर्कातिर वैज्ञानिक पक्ष पनि छ। मासुका लागि पशु प्रयोगले विश्वको वातावरण खलबल्याउने र जलवायु परिवर्तनमा सहयोग गर्ने अध्ययनहरूको ठहर छ। यसको कारण के भने ठूला पशुपालकहरूले वन विनाश गरेर जनावरलाई चर्ने मैदान बनाउँछन्, जसले पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढाउँछ। त्यस्तै मासुका लागि कृत्रिम प्रजनन गराई विशाल संख्यामा पालिने ठूला पशुहरूले मिथेन ग्यासको अत्यधिक उत्सर्जन गर्छन्, जुन विश्वभरिबाट संकलन भई वायुमण्डलमा पुग्दा निकै ठूलो परिमाणको बन्न पुग्छ। पृथ्वीको तापमान बढाउन मिथेन ग्यासको भूमिका कार्बनडाइअक्साइडभन्दा बढी हुन्छ। पशुहितका लागि कार्यरत संस्था पेटाका अनुसार मिथेन ग्यास वायुमण्डलमा तापलाई रोकिराख्न कार्बनडाइअक्साइडभन्दा ८४ गुणा बढी सक्षम हुन्छ।
मांसाहारका लागि केही जातिका जनावर मात्र पालन गरिँदा पृथ्वीको जैविक विविधतामा गम्भीर विचलन आउने र पशुपन्छीलाई दिइने एन्टिबायोटिकहरू मानिसले अप्रत्यक्ष रूपमा खाने हुँदा यी एन्टिबायोटिकले मानिसलाई काम गर्न छाड्ने र मानव स्वास्थ्यमा जटिलता आउने पनि आफ्नै ठाउँमा छ।
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले जलवायु परिवर्तनका असरहरू कम गर्न बिस्तारै मानिसले मासु खान कम गर्नुपर्ने सुझाव दिएको छ। प्यानलले हालै प्रकाशन गरेको ‘क्लाइमेट चेन्ज एन्ड ल्यान्ड’ प्रतिवेदनमा वनस्पति स्रोतबाट प्राप्त सन्तुलित भोजन सेवनले जलवायु परिवर्तनका असर कम गर्न र यसबाट बच्न हामीलाई सहयोग गर्न सक्ने उल्लेख छ। वैज्ञानिकहरूले सोचेअनुसार मानिसले खाने बानीमा परिवर्तन गरे भने सन् १९५० सम्म कार्बनडाइअक्साइड उत्सर्जनको दर ८ अर्ब टनले घटाउन सकिनेछ।
यी वैज्ञानिक तथ्यको आफ्नै महत्व छ। विश्वव्यापी रूपमा सरकारहरूले यसबारे सोच्न र उचित नीति अपनाउन आवश्यक छ। व्यक्तिगत रूपमा चाहिँ मासु खानु वा नखानु मानिसको खाने बानीसँग सम्बन्धित छ। शरीरको आवश्यकताभन्दा पनि स्वादका लागि मासु प्रयोग गर्ने गरिन्छ, जुन न त शारीरिक स्वास्थ्यका लागि उपयुक्त छ, न मानसिक। शरीरक्रिया वैज्ञानिक र भोजन विज्ञहरूले बारम्बार यो तथ्य औंल्याउँदै आएका छन्। आफ्नो स्वादका लागि देवीदेवता वा भगवान्का नाममा पशुको बलि दिनु आध्यात्मिक स्वास्थ्यका लागि त कुनै हिसाबले उपयुक्त होइन। फेरि गढीमाईमा मारिने धेरै जनावर त मासुका लागि प्रयोग गरिने पनि होइनन्। यसैपालि मात्र त्यहाँ मारिएका २५ सयभन्दा बढी राँगा खाल्डो खनेर पुरिएका छन्।
हुन त गढीमाईमा हुने पशु हत्या रोक्न प्रशस्तै आवाज नउठेका र पहल नभएका पनि होइनन्। तर सर्वसाधारणमा व्याप्त अन्धविश्वासका कारण पशु हत्या रोकिइहाल्ने लक्षण देखिएन। जे भए पनि नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दा नेपालको यो हिंस्रक तस्बिर विश्वसामु नपु-याएको भए हुने थियो। यो पर्वलाई रोकेकै भए हुने थियो। तर निकै सुझबुझयुक्त र प्रतिभाशाली व्यक्ति पर्यटनमन्त्री भएका बेला पनि पर्यटन मन्त्रालय वा सरकारको ध्यान यसतर्फ पुगेको देखिएन।
आशा गरौं– जुन देवीका लागि त्यत्तिका जनावर हत्या गरिए, उनले हत्या गर्ने मानिसलाई माफ गर्नेछिन् र उनीहरूको मनमा करुणा सञ्चार गरिदिनेछिन्। अनि अर्कोपटक हजारौं जनावर गढीमाई देवीका नाममा मृत्युको सिकार हुने छैनन्।
प्रकाशित: २० मंसिर २०७६ ०४:११ शुक्रबार