१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

उपनिर्वाचनको सन्देश

अघिल्लो निर्वाचनको झन्डै आधाआधी समय पुग्न लाग्दा यसपटक देशभर विभिन्न तहका ५२ रिक्त पद पूर्ति भएका छन्। यस उपनिर्वाचनले सबै शक्तिलाई भावी राजनीतिक कार्यदिशाका निम्ति सन्देश दिएको छ। यसपटक सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुवैलाई फेरि पनि यो निर्वाचनले विजयी दलका रूपमा उभ्याएको छ। फरक यति हो– एउटा दलले निर्वाचन जितेको ठाउँमा अर्कोलाई जिताएर मतदाताले आफ्नो असन्तुष्टि प्रकट गरेका छन्। नेकपाले निर्वाचन भएका पदमध्ये आधाभन्दा बढीमा विजय हासिल गरेको छ। त्यसैगरी प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलले बाँकी स्थानमा जितेका  छन्। भक्तपुर र धरानमा यसपटक कांग्रेसलाई अनपेक्षित सफलता प्राप्त भएको छ। यसअघि लामो समयसम्म ‘लालकिल्ला’का रूपमा रहेको धरानमा कांग्रेसले आफ्नो झण्डा फहराउन पाउनु निश्चय नै गौरवको विषय हुन सक्छ। नेकपा र कांग्रेसप्रति असन्तुष्टि हुँदाहुँदै पनि मतदाताले यिनलाई नै पत्याएका छन्। यस हिसाबले बिस्तारै अन्य ठूला र पुराना लोकतान्त्रिक मुलुकमा जस्तै हाम्रो मुलुकमा पनि दुईदलीय प्रणाली अघि बढ्न सक्ने देखिन्छ। यी दुईबीच नै प्रमुख प्रतिस्पर्धा हुने अवस्था यसले देखाएको छ। यसबाहेक केही नयाँ दलले आफूलाई स्थापित गर्ने उद्देश्य यो निर्वाचनमा पनि राखेका हुन्। खासगरी विवेकशील र साझा पार्टी अहिले मुलुकमा रहेका बेथितिविरुद्ध आफूलाई उभ्याउने कोसिस गर्दै निर्वाचनमा सरिक भएका हुन्। तर, तिनलाई मतदाताले पत्याएको देखिएन। 

तत्कालका लागि अन्य वैकल्पिक राजनीतिक शक्तिका निम्ति मतदाताले आफ्नो अभिमत प्रकट नगरे पनि आफ्नो असन्तुष्टि भने देखाएका छन्। अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र दुवैले पाएको मतभन्दा पनि कम मत यसपटक प्राप्त भएको देखिएको छ। त्यति मात्र होइन, मतदाताको सहभागिता पनि अघिल्ला निर्वाचनमा भन्दा कम देखिएको छ। ऊबेलाको मतदानमा सरिक भएका मतदाताभन्दा अहिले कम हुनु आफैंमा चिन्ताको विषय हो। यति हुँदाहुँदै पनि तिनले यसअघि आफ्नो क्षेत्रबाट निर्वाचित नेकपाका उम्मेदवारलाई पराजित गरेर सरकारलाई जनमुखी काम गर्न थप दबाब दिने काम गरेका छन्। दुईतिहाइ बहुमतको सशक्त सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सपना साकार हुने गरी काम हुन सकेको छैन। सत्तारूढ दलप्रति आम नागरिकको चासोलाई गम्भीरतापूर्वक हेर्न अहिलेको निर्वाचनले सन्देश दिएको छ। अहिलेका काममा सुधार गर्दै अघि नबढ्ने हो भने आगामी निर्वाचन सत्तारूढ नेकपाका निम्ति सुखद हुन सक्ने छैन। त्यसैगरी प्रमुख विपक्षी कांग्रेसप्रति पनि अपेक्षाकृत आकर्षण देखिन सकेन। कांग्रेसका निम्ति जनमत परिवर्तन गर्न अहिले मौकैमौका छ। उसले आफूलाई अलिकति मात्रै सुधार गर्न सक्यो भने पनि जनमत परिवर्तन हुन सक्ने अवस्था छ। कांग्रेसले आन्तरिक राजनीतिक किचलो अझै चिर्न सकेको छैन। प्रमुख विपक्षमा रहेका बेला समेत आफ्नो आन्तरिक राजनीति सुधार गर्न नसक्नु दुःखद पक्ष हो। वास्तवमा यसपटकको निर्वाचन परिणाम सत्तारूढ र प्रमुख विपक्षी दुवैलाई आफ्नो कार्यशैली परिवर्तनका निम्ति मौका दिने ढंगले आएको छ। आम मतदाताको अपेक्षा समयमै बुझ्न सक्दा मात्र राजनीतिले अपेक्षित गति लिन सक्छ।

निर्वाचन परिणामले मुलुक दुई राजनीतिक शक्तिमा केन्द्रित हुने ढंगले अघि बढेको देखाएको छ। तत्कालका लागि वैकल्पिक राजनीतिक शक्ति आउन नसक्ने हो भने पनि आम मतदातालाई निराश हुन नदिन भएकै दलहरूले आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने अवस्था छ। वैकल्पिक राजनीतिक शक्ति बन्ने अपेक्षासाथ आएका साझा र विवेकशील दलले समेत आम मतदाताको अपेक्षा बुझ्न जरुरी छ। आम मतदाताले अघिल्लो निर्वाचनमा भन्दा कम मत दिनुको अर्थ यी दुई दलले आफूलाई एकताबद्ध बनाएर ठूलो शक्तिसाथ अघि बढ्नुपर्ने सन्देश हो। एउटा निर्वाचनमा भाग लिनासाथ विभाजित भएका यी दलप्रतिको आम विश्वास त्यसै पनि घटेको छ। त्यसैगरी वैकल्पिक राजनीतिक शक्तिका रूपमा उठ्नका निम्ति भइरहेका दलको काम गराइ नमिलेकातर्फ आम मतदातामा पुग्न सक्नुपर्छ। आफ्ना नीतिबारे आम मतदातालाई नबुझाई अपेक्षित परिणाम प्राप्त हुने छैन। त्यसकारण आफ्नो राजनीति बुझाउन पनि यी दलले आफूलाई सशक्त ढंगले अघि बढाउन आवश्यक छ। निर्वाचनलाई हाम्रा मतदाताले जहिल्यै एउटा उत्सवका रूपमा लिने गरेको देखिन्छ। यसपटक पनि तिनले जुन उत्साहसाथ परिणाम दिएका छन्, त्यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ। उपनिर्वाचन परिणामपछि सबै राजनीतिक शक्तिले आफूलाई सुधार गर्न सके पनि समग्रमा मुलुकको परिस्थिति सुधारमा समेत मद्दत पुग्नेछ।

प्रकाशित: १८ मंसिर २०७६ ०४:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App