४ वैशाख २०८१ मंगलबार
विचार

महिला हिंसा रोक्न

हरेक वर्षझैं यस वर्ष पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ। जसको नारा ‘समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ छ। छलफल, अन्तरक्रिया, गोष्ठी, सेमिनार, तालिम, जनचेतनामूलक अभियान गरेर यस्तो अभियान मनाउन थालिएको वर्षाै भइसक्यो। तर नाराभित्र लुकेका सन्देशको गहिरो विश्लेषण गर्ने र व्यवहारमा उतार्ने काम भइरहेको छैन।

समानता कसरी आउँछ ? विभेद कसरी हटाउन सकिन्छ ? हिंसा रोक्न कहाँबाट कसरी थालनी गर्ने ? कसले बढी हिंसा गरेका छन् ? कसरी हिंसाका घटन बढ्दै गइरहेका छन्, किन महिलालाई बढी हिंसा हुने गरेका छन् ? यी र यस्ता विषयमा समीक्षा हुन÷गर्न गरुरी छ। घरघरबाट छलफल सुरु गरिनुपर्छ। तर हामीकहाँ सडक, सदनमा नारा लगाउने, आवाज उठाउने, त्यही कुरा घरमा चाहिँ आफैं व्यवहारमा नउतार्ने समस्या छ।

रसुवाको कालिका गाउँपालिकाको एउटा गाउँमा गएकी थिएँ। भूमि अधिकार अभियानमा काम गर्ने भएकाले जग्गा, जमिनको कुरा हुन्छ। ७० वर्ष पुग्नै आँटेकी आमासँग कुराकानी भयो। उनलाई सोधें, ‘तपाईंहरूले भोगचलन गरिरहेको जमिनको लालपुर्जा (स्वामित्व)कसको नाममा छ ? उनले सहजै जवाफ दिइन्, ‘श्रीमान्को नाममा।’ थपिन्, ‘मेरो नाममा पनि सम्पत्ति, घरजग्गा भएको भए त किन यति हेपिएर बस्नुप-थ्र्यो र !’ उनले परिवारमा आफ्नो स्थान श्रीमान्(पुरुष)सरह छैन भन्ने महसुस गरेकी रहिछन्। भनिन्, ‘सानो कुरामा झगडा हुँदा पनि श्रीमान्ले सीधै तेरो बाउको के ल्याएकी छस् ? मेरो सम्पत्ति र कमाइमा बस्ने भएपछि मैले भनेअनुसार गर्नुपर्छ भन्छन्।’ मैले भनें, ‘अहिले त सरकारले पनि जग्गामा पति–पत्निको समान स्वामित्व कायम गराउन संयुक्त लालपुर्जा बनाउने नीति ल्याएको छ, धेरैले बनाइसके, यसले भएको सम्पत्तिमा समान हैसियत कायम गर्न सहयोग पुग्छ, तपाईं पनि बनाउनुहोस् न।’ उनले भनिन्, ‘त्यसो भनें भने त मारिहाल्छन् नि ! बरु नानीले सम्झाइदेउन, मेरो नाममा पनि लालपुर्जा भयो भने मलाई श्रीमान्ले हेप्ने थिएनन् कि ?’

शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु-याउँछ।

मैले उनका श्रीमान्लाई पनि संयुक्त लालपुर्जाबारे बुझाएर ठूलो प्रयापछि राजी गराएँ। संयुक्त लालपुर्जा बनाउन पनि सहयोग गरें। यसको करिब १ वर्षपछि आमाले भनिन्, ‘नानी ! अहिले न ढुक्क छु, पहिलेजस्तो श्रीमान्ले हेप्दैनन्, केही गाली गर्न थाल्नुभयो भने म पनि बराबरी हकदार हुँ भन्दिन्छु, उनको बानीमा परिवर्तन आएको छ। अहिले त झगडा परे पनि मेरो पनि सम्पत्ति छ, धेरै नहपेप्नू, छुट्टिएर बसांैला भनेपछि बूढा अलि डराउँछन्।’

रसुवाकै अर्को गाउँकी ४५ वर्ष पुग्नै लागेकी दिदीका ३ छोरी र १ छोरा छन्। दिदीको कथा पनि मनछुने छ। ऊबेलाको जमाना पनि मन पराएर विवाह गरेकी दिदीको केही वर्ष राम्रै बिते। पछि बिस्तारै श्रीमान् रक्सीको लतमा फसे। जतिबेला पनि रक्सीकै नसामा हुने। दिनहुँ झगडा। दैनिक हिंसामा बाँच्नुपर्ने स्थिति बढ्दै जान थाल्यो। न आफ्नो नाममा केही छ न श्रीमान्ले भनेको मान्छन्। असाध्यै गाह्रो भयो। रक्सीको मातमा भएका बेला सम्पत्ति सकाइदिन्छन् भन्ने डरले उनी दैनिक चिन्तामा पर्न थालिन्। उनले जग्गाको लालपुर्जा लुकाएर राखेकी थिइन्। पछि उनी र उनका श्रीमान्लाई संयुक्त लालपुर्जाबारे बताएँ। संयुक्त लालपुर्जा बन्यो। ती दिदी धेरै खुसी भइन्, पछि भेट्दा दिदीले भनिन्, ‘अहिले मलाई डर छैन, भएको सम्पत्ति सुरक्षित भएको छ। पहिलेभन्दा हिंसाको व्यवहार पनि कम भएको छ। आफ्नो नाममा पनि लालपुर्जा भएर  भविष्यमा सन्तानका लागि समेत सम्पत्ति सुरक्षित गर्न सकिएकामा खुसी छु।’

घरभित्रै पनि महिलालाई विभिन्न हिंसा हुने गरेका छन्। हरेक घरमा महिलालाई हिंसा भइरहेका घटना हामी सुन्छौं। कहीं श्रीमान्ले रक्सी पिएर श्रीमती कुट्ने, कहीं भएको जग्गा÷जमिन बिक्री गरेर ठूलो ऋणमा डुबेर परिवारलाई तनाव दिने आदि।

जसरी परिवार, सृष्टि चल्न महिला–पुरुष दुवै चाहिन्छ, एकबिना अर्को अपुरो र अधुरो हुन्छ; त्यसैगरी शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु¥याउँछ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक र कर्तव्यको धारा १८ मा समानताको हकको व्यवस्था छ। संविधानमा पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ भनिएको छ। त्यसैगरी धारा ३८ मा महलिाको हकको व्यवस्था गरिएको छ। सोही धाराको ६ नम्बरमा सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ भन्ने व्यवस्था छ। यसरी राज्यले पनि महिला–पुरुष समान हो भन्ने मान्यताअनुरूप सम्पत्तिमा समान हक सुनिश्चित गरिदिएको हो।

हाम्रोजस्तो कृषिप्रधान देशमा जमिन– उत्पादनको साधन मात्र होइन, मान्छेको हैसियत मापनको आधार पनि बन्ने गरेको छ। जोसँग जमिन छ, उसको सम्मान र मर्यादा छुट्टै हुने गरेको छ। जमिनले पछिल्लो समय राजनीतिक र सामाजिक क्षेत्रमा समेत प्रभाव पार्ने शक्ति सिर्जना गरिरहेको हामी देख्छौं। यसैले पनि सबै ठाउँमा महिलाको पनि समान हैसियत, अस्तित्व र पहुँच वृद्धि गर्न भएको सम्पत्ति र स्रोतमा समानता भन्ने भावना जागृत गराउँदै व्यवहारमा पनि कार्यान्वयन गराउन अपरिहार्य छ। यसो हुन सक्यो भने हामीले अहिले भोग्दै, देख्दै र सुन्दै आएको महिलालाई हुने भेदभाव र हिंसामा धेरै कमी आउनेछ। यसले सुखी र खुसी पारिवारिक वातावरण निर्माणमा पनि भूमिका खेल्छ।

त्यसैले १६ दिवसीय अभियानका अवसरमा हामीले यस्ता सवाल पनि जोडले उठाउन आवश्यक छ। घरघरबाट समानता नारा लगाउने मात्र होइन, त्यसलाई व्यवहारमै उतार्ने अभ्यास थाल्न जरुरी छ। भएका स्रोत र सम्पत्तिमा सम्भव भएसम्म पति–पत्नी दुवैको नाममा गराउने अभियान थाल्नुपर्छ। आज बाबुआमाले सुुरुवात गरे, अवश्य भोलि छोरा–बुहारी तथा छोरी–ज्वाइँले पनि यसलाई अनिवार्य गर्छन्।

समानता, शान्ति र सद्भाव कायम गर्ने हो भने, विभेद र हिंसा रोक्ने हो भने गाउँ, समाज वा देश बनाउने कुरा मात्रै धेरै नगरौं। परिवर्तन आफैंबाट सुरु गरौं। पैतृक सम्पत्तिमा छोराछोरीलाई बराबर हिस्सेदार बनाऔं। शिक्षादीक्षा, पालनपोषण र अवसर बराबर दिऔं। विवाहित महिलाको हकमा पतिको सम्पत्तिमा दुवैको हक कायम गराऔं। मिहिनेत, उपयोग, नियन्त्रण र अधिकार सबै बराबर बाडौं।  हरेक घरबाट यति मात्र थालनी गर्ने हो भने छिट्टै समुन्नत समाज बन्नेछ। विभेद हटेर समानता आउनेछ।

महिला हिंसाविरुद्धको अभियान मनाउने नाममा लाखौं खर्च गरेर तामझाम गर्नुको साटो वास्तवमा अधिकार कसलाई चाहिएको छ ? को हिंसामा परेको छ ? र, तिनलाई कसरी अधिकार दिलाउन सकिन्छ ? यसतर्फ ध्यान दिऔं।

प्रकाशित: १७ मंसिर २०७६ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App