२७ श्रावण २०७७ मंगलबार
विचार

घरबाट सुरू हुनुपर्छ समानता

मदर टेरेसालाई सन् १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो–‘विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ?’ उनको जवाफ थियो– ‘सर्वप्रथम तिमी आफ्नो घर जाऊ अनि आफ्नो परिवारसँग प्रेम बाँड ।’ हरेक वर्षझैं यस वर्ष पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।

नेपालमा २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध चेतनामूलक कार्यक्रम गरी यो अभियान मनाउन सुरु गरिएको हो। यस वर्ष यस अभियानको अन्तर्राष्ट्रिय नारा ‘समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यबद्धता’ राखिएको छ । यही नारासहित नेपालमा पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइँदै छ ।

कुनै पनि महिलालाई हिंसा हुनु÷गर्नु भनेको कसैकी आमा÷दिदीबहिनी÷छोरी हिंसामा पर्नु हो भन्ने बोध नहुँदासम्म महिला हिंसा अन्त्य हुँदैन ।

सन् १९६० नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिक देशका तीन दिदीबहिनीले त्रुजिलो सरकारको शासनमा महिलालाई हुने गरेका भेदभाव र अन्यायविरुद्ध सशक्त आवाज उठाउँदै अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध दिवस सुरु गरेका हुन् भने १९९९ डिसेम्बर १७ तारिखका दिन संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस घोषणा गरेको हो । तत्पश्चात् संसारभर यो दिवस नाभेम्बर २५ देखि १६ दिनसम्म मनाउने प्रचलन सुरु भएको हो ।

आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा र विज्ञानले धेरै प्रगति गरिसक्दा पनि मानिस सुखी र खुसी छैनन् । तनाव र दौडधूप अनि केही कुराको अभाव मानिसले महसुस गरिरहेका छन् । मानिसले अझै आफूमा पूर्णता अनुभव गर्न सकेका छैनन्, यसको एक मात्र कारण हो– मानिसमा अशान्ति छ । विश्वमा अशान्ति भएकाले हरेक मानिसमा अशान्ति छाएको होइन कि हरेक मानिसमा, हरेक घरमा अशान्ति छ त्यसकारण विश्वमै अशान्ति छ ।

त्यसैले अशान्त मनले समानता र ऐक्यबद्धता प्राप्त हुन सक्दैन र घर, समाज अनि राष्ट्रमा बलात्कारलगायत हिंसात्मक गतिविधि अन्त्य हुन सक्दैनन् । हरेक घरपरिवारबाटै  शिक्षा, स्वास्थ्य, खानपान, जीवनशैली, स्वतन्त्रता र अवसरमा छोराछोरी दुवैलाई समान अधिकार दिने संस्कार विकास हुँदै जाने हो भने कुन समाजमा महिला हिंसा हुन्थ्यो होला र ? महिलालाई हिंसा गर्ने कुनै पनि पुरुषका घरमा आमा, दिदीबहिनी, भाउजू हुन्छन् भने उसले त्यही दर्जाका महिलालाई किन हिंसा गर्छ ? उसले घरबाट प्रेम पाएको छैन कि ? संस्कार पाएको छैन कि ? मानसिक स्थिति र मनोभावना पो सही छैन कि ? उसमा कुण्ठाहरू पो छन् कि ? हरेक घरपरिवारले ध्यान दिनुपर्ने कुरा हुन् यी ।

धेरै वर्षदेखिका अभियानहरूको परिणाम अहिले हिंसामा परेका महिला प्रतिरोध गर्न सक्ने, खुलेर बोल्न तथा कानुनी उपचार खोज्न सक्ने भएका छन् । तर अझै सोचेजति सुधार भएको छैन भन्ने कुरा निर्मला बलात्कार÷हत्याकाण्डलगायत महिला हिंसाका विभिन्न घटनाले पुष्टि गर्छन् । सञ्चालनमा रहेका अभियानको सार्थकता भविष्यमा देखिएलान् तर अपेक्षित उपलब्धिका लागि सरकार, नागरिक समाज, महिला अधिकारकर्मीलगायत विभिन्न निकायबाट घटनाको  गाम्भीर्य र व्यक्तिको मनोविज्ञान बुझेर योजना तथा कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ । लैंगिक हिंसा महिला विशेषको सवाल मात्र नभएर घर, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि सबै पक्षको पहल आवश्यक देखिन्छ र त्यो पहल चेतना जागृत गराउने कार्यक्रमहरूबाट सुरु गर्दा प्रभावकारी हुनेछ ।

लैंगिक हिंसालाई गहन रूपमा बुझ्न जरुरी छ । यो यौन शोषण मात्र नभएर महिलाविरुद्ध हुने सामाजिक÷सांस्कृतिक विविध विभेद नै समग्रमा लैंगिक हिंसाभित्र पर्ने भएकाले यसको अन्त्य गर्न घर, समाज र राज्यले संयुक्त पहल गर्नुपर्छ । नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ । महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौन, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसा वा शोषण गरे दण्डनीय हुने भन्दै संवैधानिक व्यवस्था र विभिन्न कानुनले महिलालाई सुरक्षित गरेको छ तर व्यवहारमा अहिले पनि महिलालाई घरेलुदेखि सामाजिकसम्म हिंसा भइरहेका घटना सार्वजनिक भइरहँदा महिला आफ्नै घर, आफ्नै व्यक्ति र आफ्नै समाजबाट सुरक्षित हुन नसकेका हुन् त भन्ने प्रश्न उठ्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान गर्दै आएको छ तर परिणाम देखिएको छैन । संविधानले व्यवस्था गरेअनुसार समावेशीकरणले महिलालाई राष्ट्रको सम्मानित, मर्यादित र निर्णायक तहको जिम्मेवारीमा पु¥याएको पनि छ । यसैगरी वडा तहदेखि केन्द्रीय संसद्सम्म महिला सहभागिता सुरक्षित गरिएकाले अधिकार र दायिŒव निर्वाहमा महिला भूमिका बढ्दै छ तर पिछडिएका महिला हिंसा भोग्न बाध्य छन् । आजको परिवर्तित, शिक्षित, आधुनिक र सभ्य समयसम्म आइपुग्दा पनि संसारभर नै भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शारीरिक, मानसिक विभिन्न तरिकाले महिलालाई हिंसा गर्ने प्रवृत्ति कायम रहनु दुर्भाग्य हो ।

आगामी दिनमा महिलालाई आत्मनिर्भर बनाउन सकिए उनीहरूविरुद्ध हुने घरेलु हिंसा न्यूनीकरण गर्न सकिनेछ । महिलाविरुद्ध हुने विभिन्न विभेद तथा हिंसा अन्त्य गर्न कानुन बनाएर मात्र हुँदैन त्यसलाई व्यवहारमै उतार्न जरुरी छ । महिला हिंसाका लागि जिम्मेवार अन्धविश्वास, कुरीति र कुसंस्कार न्यूनीकरण गर्ने अभियानमा लागेका संघसंस्थासँग पनि एकजुट भई कार्यक्रम गर्दा प्रभावकारी हुनेछ ।

नेपाली महिला सिर्जनशील, संघर्षशील, बहुप्रतिभाशाली, सहनशील, बाहिरी तथा भित्री सौन्दर्यले भरपुर अनि घरायसी एवं बाहिरी सबै क्षेत्रमा खट्न सक्ने साहसी छन् । तर पनि सामाजिक–आर्थिक पक्षबाट हेर्दा महिला सबै किसिमका अवसरबाट वञ्चित देखिन्छन् । बलात्कार, बोक्सीको आरोप, दाइजोका नाममा हुने घरेलु हिंसा यथावत् छन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि पारिएका छन् । मातृ मृत्युदर प्रति १० हजार जनामा करिब ५९० छ भने प्रत्येक दिन करिब ७० नवजात शिशुको मृत्युदर यथावत् देखिन्छ ।

आर्थिक सर्वेक्षणअनुसार ४२ प्रतिशत महिला साक्षर छन् भने ६० प्रतिशत महिला आर्थिक रूपमा सक्षम छन् तर यो प्रतिशत साक्षरतामा ६० र आर्थिकमा ८० नपुगेसम्म महिलाको जीवनस्तर माथि उठ्न सक्दैन । अनि जबसम्म महिलाको जीवनस्तर माथि उठ्दैन तबसम्म देशको विकास सम्भव छैन । किनभने हरेक क्षेत्रमा महिलाको नेतृत्व र सहभागिता अभावले नै देश आज संकटको भुमरीमा परेको छ । नेपालको विकास देख्न चाहने हो भने सबै ठाउँमा महिलाको सहभागिता जरुरी छ ।

कुनै पनि महिलालाई हिंसा हुनु÷गर्नु भनेको कसैकी आमा, दिदीबहिनी, छोरीलाई हिंसा हुनु÷गर्नु हो भन्ने बोध नहुँदासम्म महिला हिंसा अन्त्य हँुदैन । महिला हिंसा अन्त्य गर्न महिला र पुरुष दुवैमा चेतना विकास र व्यावहारिक शिक्षा हुन आवश्यक छ ।

प्रकाशित: १२ मंसिर २०७६ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App