६ वैशाख २०७८ सोमबार
विचार

प्रजातान्त्रिक योद्धा अरविन्दकुमार

रश्मी ठाकुर
मुलुकमा अहिले संघीय शासन व्यवस्था छ। मुलुक यहाँसम्म ल्याउन हजारौं सहिदले बलिदानी दिनुप¥यो। कैयौं नेपाली आमाका सपुतहरूले जेलमा नारकीय जीवन बिताउनुपरेको थियो। तर आज राज्यसत्ताको स्वाद लिइरहेका नेताहरूको मनस्थिति, कार्यशैली र व्यवहार हेर्दा लाग्छ– उनीहरूले इतिहास बिर्से र आफूलाई नै सर्वेसर्वा मानेका छन्। 

नेताहरूको यस्तो चरित्र सच्याउन केही मात्रामा भए पनि योगदान पुगोस् भनेर केही इतिहास सम्झाउन प्रजातन्त्रको लडाइँमा होमिएका मेरा पिता अरविन्दकुमार ठाकुरको छैटौं स्मृति दिवसका अवसरमा केही लेख्ने जमर्काे गरेकी हँु। मेरा पिता अरविन्दकुमार ठाकुरको जन्म २००६ फागुन, धनुषाको साविक लोहना गाविस–४ मा भएको थियो। उहाँ गाउँको पढाइ सकेर भारतको विहार राज्यको उमगौव हाइस्कुलमा १० कक्षामा पढ्दै गर्दा तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसको राजनीतिमा लाग्नुभएको थियो।

अहिले वर्तमान सरकारका क्रियाकलाप र स्वयं पिता संलग्न पार्टी नेपाली कांग्रेसको व्यहार हेर्दा उहाँजस्ता योद्धा र सहिदको बाटो अनुसरण नगरेको महसुस हुन्छ।

नेपाली कांग्रेसलाई क्रान्तिकारी युवाहरू चाहिएको थियो। एकदिन प्रवासी नेपाली विद्यार्थीलाई छलफलका लागि कांग्रेसको कार्यालयमा डाकेर सहयोग एवं समर्थन मागिएको थियो। पिता अरविन्दकुमारलगायत सबै विद्यार्थीले तनमन धनले सहयोग गर्ने वाचा गर्नुभयो। त्यसपछि उहाँहरूसँगै निर्वासनमा रहेका नेपाली कांग्रेसका नेताहरू राति सिमाना पार गरी नेपालस्थित प्रहरी कार्यालय, भन्सार कार्यालय एवं पुल भत्काउने गर्न थाले।

पिता अरविन्दकुमारको मनमा प्रश्न उठ्योे– यस्ता सानोतिना कामले न निरंकुश राजा महेन्द्रको पतन हुन्छ न पञ्चायती व्यवस्था अन्त्य नै। यसै क्रममा २०१८ माघ ६ गते कांग्रेसका युवा नेता महोत्तरीको डाम्ही निवासी रामचन्द्र सिंहले उहाँलाई भोलि जयनगर जान्छौ भनी सोध्नुभयो। उहाँले किन भनी प्रश्न गर्दा केही जवाफ पाउनुभएन। एक दिनपछि फेरि त्यही प्रश्न गरेपछि उहाँले हुन्छ भन्नुभयो। कांग्रेसको सशस्त्र क्रान्तिमा होमिएकाले मेरा पिताले स्कुल पढ्नसमेत छाड्नुभएको थियो।

सोही वर्ष माघ ७ गते बिहान रामचन्द्र सिंहसँगै उहाँ जयनगरका लागि पैदलै जानुभयो।  साँझपख जयनगरस्थित नेपाली कांग्रेसको कार्यालय पुग्नुभयो। भोलिपल्ट माघ ८ गते करिब ८ बजे एउटा जर्दाको ठूलो टिनको डब्बा जसलाई तारको डन्डीले हातले बोक्ने बनाइएको थियो, त्यो पिता अरविन्दकुमारलाई दिँदै रामचन्द्र सिंहले यसलाई बिस्तारै उचाली लैजानुहोेला साथै भुइँमा राख्दा बिस्तारै राख्नुहोला भन्नुभयो। त्यसपछि पिताले के हो भनी सोध्दा उहाँले केही जवाफ दिनुभएन। पिता आज्ञाकारी भएकाले त्यसमा केही विस्फोटक पदार्थ होला भनेर लख काट्नुभयो। त्यसपछि पिताले त्यसलाई बिस्तारै उचाली हातमा लिई उहाँको पछि–पछि हिँड्न थाल्नुभयो। साँझपख उहाँहरू उमगौवस्थित नेपाली कांग्रेसको कार्यालयमा आइपुग्नुभयो। रातिको खाना खाइसकेपछि नेताहरूसँगै क्रान्तिकारी विद्यार्थीको ठूलो बैठक बस्यो।

बैठकमा उहाँहरूलाई राजा महेन्द्र भोलि जनकपुर आउँदै छन् त्यसकारण भोलि ९ बजे जनकपुर एयरपोर्टमै राजा महेन्द्र आउनेबित्तिकै बम प्रहार गर्नुपर्छ। त्यहाँ असफल भए जानकी मन्दिर दर्शन गर्न जाने क्रममा प्रहार गर्नुपर्छ। जनकपुरदेखि परकौंली ब्यारेकसम्म राजाको स्वागतार्थ बनाइएका तोरणद्वारहरू भत्काउने÷जलाउने गर्नुपर्छ। यसका लागि को–को जानुहुन्छ भन्नी प्रश्न गरियो। तर कसैले जान्छु भनेनन्।

कोही पनि नबोलेको देखेर पिताले कुनै हालतमा राजा महेन्द्रलाई बम प्रहार गर्नैपर्ने ठानी त्यो ऐतिहासिक अवसर गुम्न दिनु हुँदैन भन्ने सोच्नुभयो। बम फाल्ने क्रममा अवश्य फाँसीमा झुन्डिन पुग्छु अनि नेपाली युवाले आफूबाट प्रेरणा लिई राजा र राजतन्त्र सदाका लागि समाप्त पार्नेछन् भन्ने विचार उहाँमा आयो। अनि उहाँले जनकपुर एयरपोर्टमा राजा महेन्द्रलाई प्रथम बम प्रहार गर्न जान्छु भन्नुभयो। त्यसबाट उत्साहित भएर जानकी मन्दिरमा दोस्रो बम प्रहार गर्न दुर्गानन्द झा जान तयार हुनुभयो। त्यसपछि स्वागतद्वारहरू भत्काउन÷जलाउन जान युवाहरू तयार भए।

माघ ९ गते नेपाली कांग्रेसको कार्यालयमा सबैलाई बोलाइयो। त्यसपछि पिताले बम बोकेर कसरी राजा महेन्द्रमाथि फ्याँक्न सकिन्छ भन्ने योजना बाटोमा हिँडदै गर्दा बनाउन थाल्नुभयो। सुरुमा पिताले मानिसको भीडमा उभिइरहन्छु अनि राजा आउनेबित्तिकै बम प्रहार गरिहाल्छु भन्ने सोच बनाउनुभयो तर एयरपोर्ट पुगेपछि त्यहाँको परिस्थिति बिलकुल भिन्न देखियो। उहाँले विस्फोटक पदार्थ लिएर त्यसभित्र जबर्जस्ती पस्न उचित ठान्नुभएन। त्यसो गर्दा त्यहाँ उपस्थित नेपाली जनता र आफूलाई नै क्षति हुने देख्नुभयो। एकछिनका लागि अलि पर लुकेर बस्नुभयो। राजा आउनेबित्तिकै नजिकबाट बम प्रहार गर्ने योजनासाथ आफू समातिने अवस्था देख्दादेख्दै उहाँ एयरपोर्टमै रहन विवश हुनुभयो। दुर्भाग्य ! राजा फेरि त्यहाँ आइपुगेनन् र फेरि भीडमा छिर्र्ने क्रममा पितालाई दुइटा सिआइडी आएर दुवै पाखुरामा समातेर गाडीमा राखी एसपी मानबहादुरको थुनुवा कोठामा काठको तुरुङमा दुवै गोडा राखी ताल्चा लगाइदिए।

पिता पक्राउ परेपछि राजाको आगमन नै स्थगन हुन पुगेको थियो। तर पछि ३ः३० बजे एयरपोर्टमा राजा आइपुगे। पिता चढेको गाडीलाई त्यहाँबाट छिटै थुनुवा कक्षमा लगियो। उहाँ त्यहीं चिन्तित अवस्थामा हुनुहुन्थ्यो– आफू पक्राउ परेपछि राजामाथि दोस्रो बम प्रहार हुन्छ कि हुँदैन ? त्यत्तिकैमा उत्तरतर्फबाट विस्फोटको आवाज सुनियो। त्यसपछि उहाँ खुसी हुनुभयो। यो प्रहार राजा महेन्द्रमाथि भएको हुनुपर्छ भन्ने अनुमान गर्न गा¥हो भएन। त्यसपछि पितालाई मानबहादुर एसपीले कुर्सीमा बसाइ यातना दिन थाले। त्यसपछि पितालाई जलेश्वर जेल हँुदै हनुमानढोका खोरमा ल्याइयो।

दिउँसो भोकै बस्ने र राति जाडोले जाग्राम बस्ने देखेपछि हवल्दारद्वय मानबहादुर राई एवं हवल्दार जबरबहादुर गुरुङ दुवैको हृदय पग्लिन पुग्यो। जबरबहादुरले दिउँसो–दिउँसो ठूलो नेपाली मूला आफूलाई खाने निहुँ गरी ल्याई त्यो मूलाबाट १–२ टुक्रा आफैं खाने अनि त्यसबाट केही प्रहरीलाई बाँडी बाँकी ठूलो टुक्रा पितालाई फ्याँकी लौ खा ! मोरा भन्थे। तर त्यो मूलाले पिताको भोक के हराउँथ्यो र ! उहाँ हनुमानढोका खोरको पीडालाई नेपाल र नेपाली जनताको निरंकुश राजाबाट मुक्ति एवं स्वतन्त्रताको मूल्य चुकाइरहेको सम्झीई भोक र जाडोको पीडाले अलिकता पनि विचलित हुनुभएन।

यसैबीच भारतको दार्जिलिङ बस्ने दलसिंह थापा एवं पर्सा निवासी दुखा सहनी दुवै जनालाई वीरगन्जमा राजालाई मार्न आएको भन्ने झुटो आरोप लगाई हनुमानढोका खोरमै ल्याइएको थियो। ५–६ महिनापछि दुर्गानन्द झालाई पनि पक्राउ गरी पितासँगै राखियो। २०१९ भदौ २१ गते सर्वाेच्च अदालतले पिता, दुर्गानन्द झा एवं दलसिंह थापालाई विस्फोटक पदार्थ लिई राजाको गाथ, गद्दी ताक्ने अभियोग लगाई मृत्युदण्ड सजाय सुनायो। दुखा सहनी र दलसिंह थापालाई बाटो देखाएको भनी आजन्म कारावास सजाय सुनाइयो। चारै जनालाई त्यही दिन केन्द्रीय कारागारको कालो कोठाभित्र लगियो। दुखा सहनीबाहेक तीन जनालाई गर्धनमा साङ्लो, हातमा हत्कडी र खुट्टामा नेलसहित एउटै फलामे साङ्लोले बाँधेर यातना गृहको सेल कक्षमा चौबिसै घण्टा ताल्चा लगाई राख्न थालियो। यसरी करिब १८ महिना बस्नुभयो।

निरन्तर यातनाका कारण चारै जना बिरामी पर्नुभयो। पौष्टिक र प्रोटिनयुक्त खानाका लागि दुर्गानन्द झाले आफू सानो छँदा मुसाको मासु खाएको सम्झी मीठो हुन्छ भनी सबैलाई खान सिकाउनुभयो। त्यसपछि त्यहाँ भात पकाउने भाँडाको सहयोगबाट राति–राति मुसा पक्रेर खान थाल्नुभयो। दलसिंह थापाले गोलघरभित्रको चिसोमा चिप्लेकीरा देखेर त्यो फ्राइ गरेर खाए जीउ दुखेकोमा फाइदा गर्छ भनेकाले सबैले चिप्लेकीरा पनि खान थाल्नुभयो। २०२० माघ १५ गते मध्यरातमा उहाँहरूबाट छुटाई दुर्गानन्द झालाई झुन्ड्याएर गोली हानी हत्या गरियो। त्यसपछि करिब १६ वर्षपछि २०३४ सालमा पिता जेलमुक्त हुनुभयो।

पछि २०५४ सालमा पिता राष्ट्रिय सभाको सदस्य हुनुभयो तर पुरानै पञ्चायती बाटोमा शासन व्यवस्था चलिरहेको देखेर उहाँले लेख÷रचनामार्फत विरोध र आलोचना गर्नुभयो। नेपाली जनताले चाहेको प्रजातन्त्र र अधिकार नपाएकामा उहाँ ज्यादै चिन्तित हुनुहुन्थ्यो। पछि उहाँले कांग्रेसको लक्ष्मण रेखा तोडेरसमेत मधेसी जनताको विशाल जनप्रदर्शनमा भाग लिनुभयो। मधेसी जनताको अधिकारका लागि बोल्नभुयो र मधेसका जानकार एवं विद्वानहरूलाई पनि बोल्न लगाउनुभयो। जेल जीवनका क्रममा यातनाले उहाँको शरीर कमजोर भएको थियो। यसै क्रममा रोगकै कारण २०७० मंसिर १० गते उहाँको निधन भयो। आज उहाँको छैटौं स्मृति दिवस मनाइरहँदा वर्तमान सरकारका क्रियाकलाप र स्वयं पिता संलग्न पार्टी नेपाली कांग्रेसको व्यवहार हेर्दा उहाँजस्ता योद्धा र सहिदको बाटो अनुसरण नगरेको महसुस हुन्छ। पूर्वसभासद

प्रकाशित: १० मंसिर २०७६ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?