१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

‘गरिबको मुहारमा मुस्कान नै समृद्धि’

इलामको सूर्याेदय नगरपालिका पूर्वी पहाडकै ठूलो क्षेत्रफल (२५२.५३ वर्ग किलोमिटर) भएको नगर हो। १ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरेको यो नगर अन्तुडाँडा, कन्याम, पशुपतिनगर र फिक्कलजस्ता पर्यटकीय स्थलले मात्र होइन, जिल्लामा सबैभन्दा बढी चिया उत्पादन गर्ने कारणले पनि परिचित छ।

सोही नगरपालिकाका मेयर हुन्– रणबहादुर राई। उनले सूर्याेदयलाई देशमै समृद्धिको यात्रामा नयाँ ढंगले अघि बढिरहेको नगरका रूपमा चर्चामा ल्याएका छन्। प्रस्तुत छ– यही विषयमा इलामस्थित नागरिककर्मी भीम चापागाईंले मेयर राईसँग गरेको संवादको सम्पादित अंश :

मेयरका रूपमा अढाई वर्षको कार्यकाल कसरी बित्यो ?

अहिलेसम्मको अनुभवले स्थानीय सरकार साँच्चैको सरकार बन्न सक्छ भन्ने देखाएको छ। हामी जनप्रतिनिधिले चाह्यौं भने केही वर्षभित्रैमा विकासको क्षेत्रमा कायापलट नै गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।  

सूर्याेदय नगरपालिकाको समृद्धि यात्रा कसरी अघि बढेको छ ?

हामीले समृद्धिको आधार तयार गर्न शिक्षा, स्वास्थ्य, आवास, रोजगारीलगायत हरेक क्षेत्रका कार्यक्रम ल्याएका छौं। विद्यालय र स्वास्थ्य कार्यालयहरूमा शिक्षक–कर्मचारीको बायोमेट्रिक्स हाजिरी सुरु गर्नेमा सूर्याेदय नगरपालिका देशमै पहिलो हो भन्ने लाग्छ। नगरलाई गाईको जोन बनाएका छौं, ‘एक घर, एक उन्नत जातको गाई’ वितरण गरेर दिनको २ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यले काम गर्दै छौं।

गरिबी निर्मूल गर्ने अवधारणाअनुसार निम्न आर्थिक अवस्था भएका व्यक्तिको घरमा जस्ताको छाना लगाइदिएका छौं। अहिले देशका विभिन्न नगरपालिकाका जनप्रतिनिधि सूर्याेदयमा अवलोकन÷भ्रमणमा आइरहनुभएको छ।

नगरपालिकाले ल्याएका उल्लेखनीय र नयाँ कार्यक्रम के–के छन् त ?

हरेक वर्ष नयाँ कार्यक्रम ल्याएका छौं। दिगो र सन्तुलित विकासको लक्ष्य निर्धारण, राजनीतिक दल, स्थानीय र कर्मचारीको एकीकृत समन्वयात्मक प्रयास, औचित्यमा आधारित अनुसन्धानमूलक कार्यक्रम, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति सूर्याेदयको लक्ष्यमा समेटिएका छन्।

पहाडी क्षेत्र भएकाले यहाँका कच्ची सडकमा हिउँदमा गाडी चले पनि बर्खामा बन्द हुन्छ। त्यसलाई अन्त्य गर्न ‘एक वडा, एक बाह्रमासे सडक’ अवधारणा कार्यान्वयनमा छ। सूर्याेदय अब पूर्वाधारका काम गर्न बायो–इन्जिनियरिङमा जाँदै छ।
    
‘नगरपालिकाको इच्छा, महिलालाई शिक्षा’ कार्यक्रम पनि नयाँ खालको हो। विवाह भएर नगरमा आएका बुहारीका लागि निःशुल्क शिक्षा दिने यो कार्यक्रमबाट प्रत्येक वर्ष यहाँका ६० बुहारीले उच्च शिक्षामा छात्रवृत्ति पाएका छन्। ‘एक वडा, एक सस्तो सहकारी पसल’ पनि स्थापना गर्दै छौं।

नगरपालिकाले १ सय १६ घरका ३ सय ८२ एकल महिलाको परिवारलाई स्वास्थ्य बिमा गराइदिएको छ। लोपोन्मुख लेप्चालगायत समुदायमा रहेका गरिब परिवारलाई आवास व्यवस्था, अपांगता भएका व्यक्तिलाई स्वावलम्बी बनाउने, हिंसापीडित महिलालाई संरक्षण गर्न आवास गृह निर्माण हुँदै छ।

नगरका सबै परिवारको सबै खाले विवरण डिजिटल प्रविधिमै संकलन गरिन्छ। नगरका युवालाई रोजगारी दिन ‘सूर्याेदय नगर युवा दस्ता’ गठन गर्दै छौं। यी केही उदाहरण मात्र हुन्।

तपाईं मेयरमा निर्वाचित भएलगत्तै ५ वर्षपछि सूर्याेदय नगरलाई देशकै सर्वाेत्कृष्ट नगर बनाउने घोषणा गर्नुभएको थियो। तपाईंको  परिभाषामा समृद्धि के हो ?

समृद्धिको परिभाषा गर्न सजिलो छैन। दर्जनौं यस्ता कार्यक्रम ल्याएर कार्यान्वयन गरेका छौं, जुन साविकमा चल्ने स्थानीय निकायका कामभन्दा नितान्त नयाँ छन्। एकै वाक्यमा भन्नुपर्दा जब दूरदराज गाउँका गरिब परिवारको अनुहारमा मुस्कान छाउँछ, त्यो नै समृद्धिको संकेत हो।

इलामका चर्चित पर्यटकीय स्थल अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगरलगायत पनि यही नगरभित्र छन्, पर्यटन विकासका लागि चाहिँ के हुँदै छ ?

नेपाल सरकारले कन्याम–फिक्कल–अन्तु सर्किटलाई देशका उत्कृष्ट सय पर्यटकीय गन्तव्यभित्र राखेको छ। तिनको प्रचार गर्न यही मंसिर १४ देखि १८ सम्म सूर्याेदय पर्यटन महोत्सव आयोजना गर्दै छौं। पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि ५ लाख पर्यटक भिœयाउने लक्ष्यले अहिले महोत्सव आयोजना गर्न लागिएको हो।

संविधानले कल्पना गरेअनुसार स्थानीय तहले संघीय र प्रदेश तहबाट स्वतन्त्र रूपमा काम गर्न पाएका छन् ?

तीन तहका सरकार सहकार्य, सहअस्तित्व र समन्वयमा चल्ने हो। कतिपय कानुन अहिलेसम्म संघ र प्रदेशमा नबन्दा स्थानीय तहले काम गर्न पाएका छैनन्। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहलाई दिइएका सबै अधिकार प्रयोग गर्न पाइरहेको छैन। विशेषगरी शिक्षा, वनलगायत क्षेत्रमा यो समस्या छ। कहिलेकाहीं स्थानीय तहले पाएका अधिकारमा  हस्तक्षेप हुने गरेको छ। हामीले गरिरहेको काम संघीय सरकारको एउटा मन्त्रालयको चिठीले रोकिने अवस्था अहिले पनि छ।

एउटा स्थानीय तह के ग¥यो भने सफल हुन्छ ?

कार्यालयमा बसेर सबैले काम गर्नुप¥यो। जनताका कुरा सुन्नुप-यो। जनताको आवश्यकता र मनोविज्ञान बुझ्नुप¥यो। र, अरू ३ कुरा आवश्यक छन्– वार्षिक, आवधिक र दीर्घकालीन योजना बनाउनुपर्छ। यी कामले सफल हुन सकिन्छ।

प्रकाशित: १० मंसिर २०७६ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App