८ वैशाख २०८१ शनिबार
विचार

आफ्नो विकास प्रदर्शन गर्दै चीन

आगामी अक्टोबर १ तारिख चीनको राजधानी बेइजिङको केन्द्रभागमा रहेको थिआनआनमन स्क्वायरमा नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सव भव्य रूपले आयोजना हुँदै छ। सन् १९४९ अक्टोबर १ तारिखका दिन जनगणतन्त्र चीन घोषणा भएको हो। चिनियाँहरू जनगणतन्त्र चीनलाई नयाँ चीन भन्छन्। हरेक वर्ष अक्टोबर १ लाई चीनमा राष्ट्रिय दिवस मनाइन्छ र यस अवसरमा ३ दिन सार्वजनिक बिदा पनि दिइन्छ। यस वर्षको राष्ट्रिय दिवस सामान्य र निमयत मात्र नभई ७०औं वार्षिकोत्सव हो। हरेक १० वर्षको फरकमा चीनमा राष्ट्रिय दिवसलाई धूमधामसँग मनाउने चलन छ।

आगामी मंगलबार आयोजना हुने राष्ट्रिय दिवसलाई मुख्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै छन्। सीको सम्बोधनपछि सैनिक परेडको प्रदर्शन हुनेछ भने बेलुका सांगीतिक गाला प्रस्तुत हुनेछ।    परेडमा १ लाख जना सहभागी हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै सांगीतिक गालालाई ६० हजार व्यक्तिले हेर्नेछन्। राष्ट्रिय दिवसका अवसरमा सोही दिन ३६ जनालाई राष्ट्रिय हिरो अवार्ड दिइनेछ भने जनगणतन्त्र चीन स्थापनामा विशेष योगदान दिनेहरूलाई उच्च सम्मान स्वरूप पदकहरू वितरण गरिनेछ।

राष्ट्रिय दिवसका अवसरमा डेढ महिना अगाडिदेखि चिनियाँ कम्युनिस्ट पार्टीले गरेको क्रान्ति झल्काउने क्रान्तिकारी सामग्री प्रसारण भइरहेका छन्। चिनियाँ टेलिभिजन तथा रेडियो र अन्य विभिन्न माध्यमबाट देशभक्ति बाहेकका सामग्री र अधिक मनोरन्जन दिने सामग्री रोकेर क्रान्तिकालीन चलचित्र, टेलिशृखला, गीत–संगीत, नाटक, ओपेरा, विज्ञापनलगायत प्रसारण भइरहेका छन्। राष्ट्रिय दिवसका अवसरमा सरकारले टेलिभिजनहरूलाई प्रसारण गर्न क्रान्तिकारी सामग्रीका ८६ सूची वितरण गरेको छ। त्यस्ता सामग्रीमा चीनको विकास, शक्ति आर्जन, राष्ट्रिय हिरोका प्रेरणात्मक कथा, क्रान्तिकारी चलचित्रलगायत छन्।

अक्टोबर १ तारिख बेइजिङमा आयोजना हुने महोत्सव ७० वर्षमा चीनले प्राप्त गरेका विकास, प्रगति, आविष्कार, गौरव र शक्तिको प्रदर्शन पनि हो।

सधैं देशभक्तिको नारा लगाउने चीन र चिनियाँमा अमेरिकाले सुरु गरेको व्यापार युद्ध र हङकङमा भइरहेको प्रदर्शन तथा प्रदर्शकारीले अमेरिकी झण्डा फहराएपछि देशभक्तिको भावना अझै प्रखर भएर आएको छ। इतिहासदेखि चिनियाँ रगतमा बग्ने देशभक्ति भावनालाई सी चिनफिङले सत्तामा आएपछि थप विस्तार गरेका छन्। १ अर्ब ४० करोड जनसंख्या भएको मुलुकमा मुस्किलले ९ करोड जना मात्र चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य छन्। देशको जनसंख्याको ६ प्रतिशत मात्र चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य रहे पनि कम्युनिस्ट शासन रहेको चीनमा देशभक्तिको भावनाचाहिँ प्रत्येक नागरिकमा रहेको पाइन्छ।

चिनियाँ राष्ट्रिय दिवसमा आयोजना हुने समारोहको सबैभन्दा ठूलो आकर्षणचाहिँ चिनियाँ सैनिक सामथ्र्यसँगै हातहतियार र युद्ध सामग्री प्रदर्शन हुनेछन्। नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसर पारेर चीनले आफ्नो सैनिक शक्ति प्रदर्शन गर्दै छ, जसलाई अमेरिकाले निकै चासोका साथ निगरानी गरिरहेको छ।

मंगलबार थिआनआनमन स्क्वायरमा हुने सैनिक परेड एक्काईसौं शताब्दीकै सबैभन्दा ठूलो हुने चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसभन्दा अगाडि सन् २००९ मा नयाँ चीन स्थापनाको ६०औं  र सन् २०१५ मा जापानविरोधी युद्धमा विजय प्राप्त गरेको ७०औं वार्षिकोत्सव मनाउने क्रममा थिआनआनमन स्क्वायरमा विशाल सैनिक परेड आयोजना भएका थिए। यो अक्टोबर १ तारिख हुने परेड सन् २००९ र २०१५ कोभन्दा ठूलो हुने चिनियाँ जनमुक्ति सेनाका मेजर जनरल छाइ चिचुनले २ साताअगाडि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा बताएका थिए। उनी उक्त सैनिक परेड कार्यालयका उपप्रमुख पनि हुन्। उक्त सैनिक परेड कुनै पनि मुलुक अथवा क्षेत्र वा कुनै सम्बन्धप्रति लक्षित नहुने छाईले पत्रकार सम्मेलनमा स्पष्ट पारे। उनले यसरी स्पष्टीकरण दिनुको खास कारण चीन र अमेरिकाबीच बढिरहेको व्यापार युद्ध तथा ताइवानलाई अमेरिकाले हतियार बेच्ने निर्णयपछि दुई देशबीच बढेको तनावप्रतिको संकेत थियो। सैनिक परेडको मुख्य उद्देश्य चीनको सार्वभौम रक्षा गर्न चिनियाँ सेना सक्षम छ भन्ने देखाउनु रहेको उनले बताए।

परेडमा केही अत्याधुनिक हतियार पनि प्रदर्शन गरिनेछ। ती हतियार चीन आफैंले बनाएका र हाल चिनियाँ जनमुक्ति सेनाले प्रयोग गरिरहेका युद्ध सामग्री हुन्। चीनले निर्माण गरेको अन्तरदेशीय बालेस्टिक मिसाइलको नयाँ पुस्ता तोङफङ ४१ पनि प्रदर्शन गर्ने हो भन्ने प्रश्नमा छाईले यसका लागि धैर्य गर्न भने। चीनले विकास गरेको तोङफङ ४१ ले १२ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ। यसले १० फरक लक्ष्यमा प्रहार गर्ने मिसाइल एकैचोटि बोक्न सक्छ। यसको अर्थ के हो भने यसमार्फत चीनले विश्वका जहाँसुकै पनि प्रहार गर्ने क्षमता राख्छ। तोङफङ ४१ को सफल परीक्षणपछि चीन र अमेरिकाबीचको आणविक दुरी घटाएको बताइन्छ। यसैगरी चीनले भर्खरै विकास गरेको टाइप १५ ट्यांक, जेड २० हेलिकप्टर, जे २० फाइटरजस्ता सैनिक सामग्री पनि प्रदर्शन गरिनेछ। डेढ महिना अगाडिदेखि चिनियाँ जनमुक्ति सेनाका १२ वटा हेलिकप्टर एकैचोटि आकाशमा उडाएर अंग्रेजी अंक ७ र शून्यको आकार बनाउने अभ्यास गरिरहेका छन्। थिआनआनमन स्क्वायरमा विशाल अस्थायी संरचना बनाइएका छन्। बेइजिङको सुरक्षा व्यवस्था १ महिनादेखि निकै कडा बनाइएको छ। विशेषगरी थिआनआनमन स्क्वायर क्षेत्रमा सुरक्षा जाँचका लागि प्रविधि र जनशक्ति विस्तार गरिएको छ। थिआनआनमनको सजावट पनि भव्य रूपले गरिएको छ। स्क्वायरको उत्तरपूर्वी र उत्तर पश्चिम भागतिर विशाल डिजिटल डिस्प्ले बनाइएको छ। यही सेप्टेम्बर ७ तारिख राति चिनियाँ जनमुक्ति सेनाले स्क्वायरमा पूर्वअभ्यास प्रदर्शन गरेको थियो। पूर्वअभ्यास प्रदर्शनका क्रममा सर्वसाधारण तथा सवारी साधनलाई स्क्वायर क्षेत्रमा प्रवेश गर्न दिइएको थिएन। पूर्वअभ्यासमै १ लाख व्यक्ति सहभागी भएका थिए।

थिआनआनमन मात्र नभई बेइजिङका प्रायः चोक आकर्षक ढंगले सजाइएको छ। जतासुकै ७०औं वार्षिकोत्सवको लोगो अंकित चिह्न राखेर फूलहरूको सजावटले बेइजिङ पूरै बेहुलीजस्तै चिटिक्क परेको छ।    राष्ट्रिय दिवसका अवसरमा समाचार संकलनका लागि बेइजिङमा आएका चिनियाँ तथा विदेशी पत्रकारहरूका लागि ७०औं  वार्षिकोत्सव प्रेस केन्द्र यही सेप्टेम्बर २३ तारिखदेखि औपचारिक रूपमा सञ्चालित छ। सो केन्द्रले देशी र विदेशी पत्रकारहरूका लागि पत्रकार सम्मेलन आयोजना गर्ने, अन्तर्वार्ता मिलाउनेलगायत मुख्य गरी सूचना सम्प्रेषण गर्नेछ। प्रेस केन्द्रको आफ्नो वेवसाइट र विच्याट पनि सञ्चालनमा ल्याइएको छ।

अक्टोबर १ तारिख बेइजिङमा आयोजना हुने महोत्सव ७० वर्षमा चीनले प्राप्त गरेका विकास, प्रगति, आविष्कार, गौरव र शक्तिको प्रदर्शन पनि हो। यसका मुख्य दुईवटा उद्देश्य छन्। चीनले यो प्रदर्शनमार्फत बाह्य खतरालाई चुनौती दिनेछ। चिनियाँ भूमि रक्षा गर्न आफूले आर्जेको शक्ति देखाएर चीन बाह्य शत्रुलाई हच्क्याउन चाहन्छ। सोझो रूपमा भन्दा चीनको बाह्य चुनौती अमेरिका नै हो। अमेरिकाले ताइवानलाई बारम्बार हतियार आपूर्ति गर्ने र दक्षिण चीन सागरमा अमेरिकी युद्धपोतहरू अनधिकृत रूपमा प्रवेश गर्ने कुरालाई चीनले ठूलो चुनौतीका रूपमा लिइरहेको छ।

आन्तरिक रूपमा देशभक्तिको भावना जागृत गराएर चिनियाँ सपना साकार पार्न यसको अर्को उद्देश्य हो। सत्तामा आएपछि सी चिनफिङले चिनियाँ सपनालाई अगाडि सारेका छन्। राष्ट्रिय पुनर्जागरण गराउन यस प्रकारका कार्यक्रमले महŒव राख्ने र जनतामा उमंग, खुसी, जोस, जाँगर बढाउँदै विकासको गतिमा समाहित गराउनेछ। चालु वर्ष चीनबाट गरिबी उन्मूलनको अघिल्लो वर्ष र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकी पुग्न २ वर्ष बाँकी रहेको वर्ष हो। तसर्थ चीनले यो अवसरमा आफ्ना चौतर्फी विकास विश्वलाई देखाउँदै छ। २०औं शताब्दीभरि सुषुप्त रहेको चीन २१औं शताब्दीसँगै सुनिन र देखिन थालेको एउटा उदाहरण यो महोत्सव पनि हो।
आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।     

 

प्रकाशित: ९ आश्विन २०७६ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App