२० असार २०७७ शनिबार
विचार

दोहोरिँदै गणेशमानको कथा

नेपालको आधुनिक राजनीतिक परिवर्तनमा विचारक, समर्पित योद्धा, कुशल संगठकहरूको योगदान अविश्मरणीय छ। आजको नयाँ पुस्ता पातबाट जन्मेको राजनीतिक पुस्ता हो र यसले ती बलिदानका नायकहरूलाई न अनुभव गर्न पाएको छ न उनीहरूले भोगेका चरम यातना र विपत्तिहरूलाई आत्मसात् गर्नैसकेको छ। यी हरफ लेख्न बस्दा प्रगतिशीलताका विषयमा लेख्ने क्रममा मुर्धन्य साहित्यकार एवम् विचारक बिपी कोइरालाले लेखेका पंक्तिहरू मलाईस्मरण भएको छ। उनी लेख्छन्– क्रान्तिमा सक्रिय भाग लिने अवसर पाउनुभन्दा पहिले नै परिवर्तन आएकाले धेरैजसो हामीलाई परिवर्तन एकप्रकारको अपुताली परेजस्तो भयो। त्यसो हुनाले अपुताली पाएका व्यक्तिहरूको मनोवृत्ति हामीमा धेरैजसो पाइन्छ। परिश्रमद्वारा आर्जित वस्तुप्रति व्यावहारिक महत्ताको भावना मानिसमा रहन्छ। त्यसै उपलब्ध भएको वस्तुप्रति रहँदैन। नेपालीको राजनीतिक परिवर्तनप्रति पनि यस्तै प्रकारको लापर्बाहीको भावना वर्तमानमा छ।

साहित्यमा प्रगतिशीलताको अमर्यादापूर्ण प्रयोग यस्तै लापर्बाही मनोवृत्तिको द्योतक हो। करिब सात दशकपहिले बिपीले जे÷जसरी समाजलाई मूल्यांकन गरेका थिए त्यो आज पनि कमोवेस चरितार्थ हँुदैछ। प्रत्येक परिवर्तनपछिको राजनीतिक पुस्ता, समाज र समय समान हुन्छ। भइरहन्छ। आजको प्रसंग भने नेपाली राजनीतिमा जीवनपर्यन्त नथाकेका नेता गणेशमान सिंहसँग जोडिएको छ।

गणेशमान सिंह २०३६ सालपछि २०४६ को परिवर्तन हुनुपूर्वसम्म एउटा कथा दोहो¥याइरहन्थे। उनको कथावाचनशैली असाध्यै रमाइलो थियो। उनले निर्दलीय निरंकुश पञ्चायत र त्यसका समर्थक पञ्चहरूलाई लक्षित गरी यो कथा भनेका हुन्। कथा हो सर्प र भ्यागुताको। सर्पका मुखभित्र आधा शरीर पसिसकेको तर क्रमशः भित्र छिर्दै गएको भ्यागुताको जिव्रोले आफूसामुन्ने परेका मसिना कीराहरूलाई टपक्क टिप्दै जीउनकालागि उदरपूरणको प्रयास गरिरहेको हुन्छ। कीरा टिपेर मार्दा भ्यागुतो प्रसन्न हुन्छ। उसलाई सर्पले निलिरहेको कुनै ज्ञान हँुदैन र केही कीरा मार्न र खान पाएकामा गौरव अनुभव गरिरहेको हुन्छ।

सत्तामा बसेको कम्युनिस्ट पार्टीको सरकार र त्यसपार्टीका स्थानीय ठेट्नाहरू विपक्षीको भोजन गर्न आतुर देखिन्छन्। बिस्तारै देश र लोकतान्त्रिक प्रणाली सर्पको मुखमा पर्ने संकेत देखिँदैछ।

यो कथा नेपाली राजनीतिमा हिजो खासगरी २०१७ पहिले पनि जीवन्त थियो, पञ्चायतकालागि पनि सान्दर्भिक थियो, २०४६ को परिवर्तनपछिका दिनमा पनि शिक्षाप्रद् थियो। आजको राजनीतिमा पनि पढिरहनै पर्ने पाठ भएको छ। गणेशमानजी, किशुनजीहरूले जीवनभर मलजल गरी हुर्काएका भएपनिअन्तिममा अपमानित भएर मर्नुपर्ने अवस्था सिर्जनागर्ने कांग्रेसकर्मीहरूको झुण्डलाई पनि यो कथाको अर्थ लागेको थिएन। इतिहासका निर्णायक चरणको नेतृत्वगर्ने सबै इतिहासपुरुषहरू अपमानित भएका छन्। नेपालको भूगोलको रक्षा गर्दै राज्यहरूलाई संगठित गर्ने पृथ्वीनारायण शाहको स्मारक हामी ढालिरहेका छौँ। सिमानामा पिलर राखेर भूमिलाई सुरक्षित र बिस्तारित गर्ने जंगबहादुर त सदा निसानामा छँंदैछन्। भाषा सािहत्यका अग्रधरोहर र मिथिला संस्कृतिलाई नेपालीभाषी माझ फैलाउने भानुभक्तलाई मिथिलाको मुटु जनकपुरमा नै भाँंच्ने काम गरेका छौँं। भानुभक्तको तोडिएको सालिक अझै बनेको छैन।२००७को परिवर्तनका नायक बिपी कोइरालाले जेल र निर्वासनको कठोर यातना झेल्नुमात्र परेन, उनींमाथि दुशासनी प्रहार भई नै रहे। २०६३ का नायक गिरिजाप्रसाद, २०७२ का नायक सुशील र २०७४ को संविधान लागु गर्ने शेरबहादुर सबैको चिरहरण गर्ने प्रयास गर्दै बहादुरीका कथावाचन भइरहेका छन्। यो विडम्बना निरन्तर छ।

अहिले नेपाली कांग्रेसमा सदा नेतृत्वमा बस्ने, विगत तीस वर्षदेखि निरन्तर सुविधा भोग गर्ने, पदमा नै वस्ने,निर्वाचनमा जतिपटक पराजय भोगे पनि टिकट पाइरहने, देश÷विदेशको यात्रामा निरन्तर लाग्ने, आश्चर्यजनकरूपले अत्यन्त संक्षिप्त समयमा सुविधा र श्रीसम्पत्तिको ओइरो जुटाउनेहरूको पंक्ति नै सर्वाधिक सर्पको मुखमा अल्झिएको भ्यागुता पात्र जस्तो गरी आत्मरति हुने क्रिडामा सक्रिय छ। नयांँ पुस्ताको परिभाषा राजनीतिमा फरक हुन्छ। आफ्नै खुट्टामा बन्चरो प्रहार गर्ने विचारलाई कालिदास प्रवृत्ति भनिन्छ। रुखको टुप्पोमा बसेर फेदतिर बन्चरोले प्रहार गर्नु कालिदास प्रवृत्ति हो।कालिदास प्रवृत्ति व्याप्त छ। यस प्रवृत्तिलाई नयाँ पुस्ता र नयाँ विचार कसरी भन्ने ?हिजो लोकतन्त्रका निम्ति रगत पसिना बगाउनेहरू समयले धेरै पर किनारमा बसेका छन् तर उनीहरूमा पीडा छ, छट्पटी छ र आफ्नो निर्मितीको विनाश टुलुटुलु हेर्नु परिरहेको अवस्था छ। हो एउटा कुरा सत्य हो, आजको परिवर्तनले कोल्टे फे¥यो भने अबका दिनमा ती पुरानाहरू शायद जेलनेल र हत्कडीको यातनाबाट बाहिर हुनसक्छन्। खेप्नुपर्ने नयाँले नै हो। पुरानाले सचेत गराउने हो यस्तो यातना भोग्ने दिन नयाँ पुस्ताका लागि नआओस्। कामना गर्नुपर्ने योभन्दा फरक छैन।

गणेशमानजीले वाचन गर्ने यो कथा नेपाली कांग्रेसमा मात्र लागु हुँदेैन। अहिले सिंगो राष्ट्रका लागि उदाहरणीय छ। सत्तामा बसेको कम्युनिस्ट पार्टीको सरकार र त्यसपार्टीका स्थानीय ठेट्नाहरू विपक्षीको भोजन गर्न आतुर देखिन्छन्। बिस्तारै देश र लोकतान्त्रिक प्रणाली सर्पको मुखमा पर्ने संकेत देखिँदैछ तर सत्ताको उन्मादले कांग्रेसमाथि आक्रमण गरिरहेको छ र सन्तुष्टि लिइरहेको छ। बाँकेमा सञ्चालित नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रममा भएको कम्युनिस्ट आक्रमण र जिल्ला सभापति किरण कोइरालासहित विद्या खनाल र अरु सदस्यलाई लगाएको घाउबाट कम्युनिस्टकर्मीहरूलाई निकै आत्मसन्तोष मिलिरहेको होला। त्यो आत्मसन्तोष पनि सर्पका मुखमा परिसकेको भ्यागुताको भन्दा फरक छैन। किरण कोइराला एउटी नारी त हुँदै हुन् त्योभन्दा पनि उनी नेपाली राजनीतिमा निरन्तर सक्रिय, सशक्त व्यक्ति र परिवारकी सदस्य पनि हुन्। आजको कम्युनिस्ट सरकार जुन संविधानका कारण सत्तामा छ त्यसका निर्माण नायक सुशील कोइरालाकी बुहारी पनि हुन् उनी। कांग्रेसमाथि आक्रमण गरेर आत्मवञ्चना भोगिरहेको कम्युनिस्ट पार्टी र सत्ताकै कारण देश र लोकतन्त्र सर्पको मुखमा परेको भ्यागुताको अवस्थामा पुगेको देखिन्छ। कम्युनिस्टभित्रको आन्तरिक विवाद पनि कांग्रेसको भन्दा भिन्न लाग्देैन। फरक यत्ति हो– कांग्रेसमा यतिखेर सत्ताको उन्माद छैन, कम्युनिस्ट सत्ताकै कारण उन्मत्तउन्मादी भएका छन्।

आजको कम्युनिस्ट सरकार जुन संविधानका कारण सत्तामा छ त्यसका निर्माण नायक सुशील कोइरालाकी बुहारी पनि हुन् उनी। कांग्रेसमाथि आक्रमण गरेर आत्मवञ्चना भोगिरहेको कम्युनिस्ट पार्टी र सत्ताकै कारण देश र लोकतन्त्र सर्पको मुखमा परेको भ्यागुताको अवस्थामा पुगेको देखिन्छ।

गणेशमान सिंहको कथा संस्मरण गर्दा उनको पार्थिव अवशानका पनि निकै वर्ष व्यतीत भएको स्मरण भइरहेको छ। बिपी कोइरालाका अनन्य मित्र भएर २०३९ सम्म सक्रिय गणेशमान सिंहको नायकत्वमा २०४६ को परिवर्तन सम्भव भएको हो। परिवर्तनलगत्तै उनले राजनीतिक क्रान्ति समाप्त भएको हुनाले अब आर्थिक क्रान्ति गर्नुपर्ने उद्घोष गरेका थिए। यो उद्घोष आर्थिक विषयमा मात्र केन्द्रित थिएन, सामाजिक पक्षलाई समेत यसले संबोधन गरेको थियो। सिंहले समावेशिताको आग्रह गर्दा ब्राह्मणवाद वा नेवारवाद वा जातीयतावाद देख्ने त्यस समयका कांग्रेसजनहरू नै अहिलेका दिनमा समावेशिताको गौरव गरिरहेका सुनिन्छ। विचित्र छ संसार, मानिसका प्रवृत्ति थाहा पाउन पनि समयलाई नै पर्खिनुपर्ने हुन्छ। आर्थिक क्रान्तिको सपना र सामाजिक समावेशिताको अनिवार्य बोध गर्ने गणेशमानको पार्थिव अवशान भएको पनि एक्काइस वर्ष भएको छ। उनले २ असोज २०५४ मा इहलोक परित्याग गरेका थिए।

म अहिले गणेशमानजीका विषयमा लेखिएका कृतिहरूका बीचमा उनलाई पढ्ने र खोज्ने प्रयास गरिरहेको छु। मैले २०३५ सालदेखि २०५४ सम्म नै उनीसँगको सान्निध्य पाएको थिएँ। हाम्रो पुस्ता निकै भाग्यमानी छ। पत्रकारिताका सन्दर्भमा होस् कि राजनीतिक आन्दोलन र साहित्यको सिर्जनाका सन्दर्भमा होस्,बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, महेन्द्रनारायण निधी, सिके प्रसाई, तुल्सीलाल अमात्य, शेष इदृश, बलबहादुर राई, टंकप्रसाद आचार्य, मोहन कोइराला, नारायणगोपाल अनेक शीर्षहरूसँग भेट्ने, काम गर्ने अवसर पाएका छौँ हामीले। इतिहासका यी गौरवका कथाबाट अनुप्राणित हुनुपर्ने हो यो पुस्ता तर स्वार्थको पेटारोमा बसेर कूपमण्डूक नाच हामी हेरिरहेका छौँ। हाम्रो बाध्यता हो यो।

भर्खरैमात्र गणेशमानजीका सौर्यहरूको विवरण केही पुस्तकाकारमा प्रकाशनमा आएका छन्। ताप्लेजुङ जिल्ला को विकट गाउँ हाङदेवाबाट जीवनको यात्रा थालेका हरि गौतमले लेखेका गणेशमान सिंहका अनेक अनुभव, विचार, साहस, निष्कर्ष र उनले भोगेका परिघटनाहरूको बृहत्ग्रन्थ ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ प्रकाशित भएको छ। यो ग्रन्थले गणेशमान सिंह र नेपाली राजनीतिका अनेक अनुद्घाटित पक्षहरूलाई समेत खोतल्ने प्रयास गरेको छ। कर्णाली प्रदेशका सशक्त युवा हस्ताक्षर मोतिराज बमले समेत अतुलनीय क्रान्ति योद्धा गणेशमान सिंह नामक कृतिको लेखन र प्रकाशन यही समयमा गरेका छन्। यसअघि मलाई कवि जीवनाथ धमलाको गणेशमान सिंहमाथिको कृति पढ्ने, गणेशमान सिंहको आत्मकथालाई सांगोपांगो संग्रह र सम्पादन गरी प्रकाशनको कामगर्ने अग्रज पत्रकार माथवरसिंह बस्नेत र आफ्ना पिताजीका विषयमा कलम चलाउने मिता सिंहको कृति ‘बासँगका सम्झनाका क्षणहरू’ लाई अध्ययनको अवसर मिलेको थियो।

क्रान्तियोद्धाहरूका अनुयायी हुनुपर्छ। अनुयायी रहेनन् भने उनीहरूको उत्सर्ग, साधना, विचार, आविष्कार सबै नै इतिहासको कुनै कालखण्डको कुनै अध्यायको कुनै एक पृष्टमा खुम्चन पुग्छ। अनुयायीविहीनताले सभ्यताका नायकहरू ओझेलमा पर्छन्। अनुयायी रहेपनि अपव्याख्याका भरमा विचारहरू जविन्त हुन सक्दैनन्। अहिले विचारको अपव्याख्या भइरहेको छ। विचारमा गतिशीलता हुन्छ र हुनुपर्छ। कसैले जडसूत्रवादीय परिभाषा त कसेैले अराजकताको माला जपिरहेको सुनिन्छ। आफ्नो स्वार्थ अनुकूल परिभाषा गर्ने प्रचलन व्याप्त छ। गणेशमानजीले बारम्बार भन्ने गरेका त्यस सर्प र भ्यागुताको कथाको मर्मबोध गर्न सकेमा आज हामी धन्य हुने थियौँ।सर्प र भ्यागुताको यस कथाले स्वार्थीहरूको, अल्पद्रष्टाहरूको र एकप्रकारका मूर्खहरूको चिन्तन,चरित्र र व्यवहारलाई प्रतिनिधित्व गर्छ। वर्तमानका सबैमा चेतना भया।लोकतन्त्रका अथक योद्धा इस्पाती अडानका अनुपम प्रतीक गणेशमानजीप्रति आजका दिनमा यिनै शब्दकासाथ भावपूर्ण श्रद्धाञ्जलि।

प्रकाशित: १ आश्विन २०७६ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App