७ वैशाख २०८१ शुक्रबार
विचार

चीनमा जटिल बन्दै विवाह

गत मार्च ९ तारिख युरोप ब्रेकिङ न्युज अनलाइनले ‘तिम्रो छोराले मसँग बिहे गर्छ’ शीर्षकमा एउटा फिचर प्रकाशन ग-यो।  साङ्हाईमा लाग्ने विवाह मेलाबारे निकै रोचक तरिकाले प्रस्तुत गरिएको उक्त फिचरमा चीनमा बढ्दै गएको विवाहसम्बन्धी समस्या औंल्याइएको छ।  त्यसमा सबैभन्दा रमाइलो पक्ष के छ भने समाचार संकलन गर्न गएकी महिला पत्रकारलाई वर (केटा) खोज्न आएको भन्ठानेर स्थानीय अभिभावक आफ्नो बुहारी बनाउन तँछाडमछाड गर्दै उनलाई घेर्न पुगेका थिए।

साङहाईको केन्द्र भागमा रहेको जनपार्कमा उमेर पुगेका वा ढल्केका आफ्ना छोराछोरीको बिहेका लागि अभिभावकले विज्ञापन गर्ने चलन छ।  यसरी आफ्ना सन्तानका लागि जोडी खोज्न हरेक शनिबार र आइतबार अभिभावक भेला हुने भएकाले उक्त पार्क ‘म्याचमेकर कर्नर’ अर्थात् ‘जोडा मिलाउने कुनो’ का रूपमा परिचित छ।

माथि उल्लिखित फिचरमा वर्णन गरिएअनुसार उक्त स्थानमा अभिभावकहरू आफ्ना छोराछोरीका लागि जोडी खोज्न बल्छी लिएर बसेका माझीझैं लहरै बसेका थिए।  तातो पानी राख्ने थर्मसका साथ उनीहरू सानो फोल्डिङ टुलमा दैनिक ८ घण्टा बसेर बिहे गर्ने आफ्ना सन्तानको विज्ञापन गर्थे।  जसमा बिहे गर्ने छोरा तथा छोरीको उमेर, उचाइ, शिक्षा, मासिक कमाइसहित  अन्य विशेष गुण पनि उल्लेख गर्दै ती अभिभावकले सम्पत्ति विवरण पनि खुलाएका थिए।


सन् १९७८ देखि ३५ वर्षसम्म लागू ‘एक सन्तान’ नीतिले चीनमा लैंगिक जनसंख्याको असन्तुलन बढाएको छ।  अहिले यहाँ झन्डै २ करोड पुरुषले विवाहका लागि केटी नपाउने अवस्था छ।

सन् २०१७ जुनमा बेइजिङको केन्द्र भागमा पर्ने चोङसान पार्कमा पनि जोडी खोज्ने त्यस्तै मेला लागेको थियो।  ‘ब्लाइनडेट पार्क’ नाम दिइएको उक्त मेलामा बिहे गर्ने केटा अथवा केटीको योग्यता र आफूलाई आवश्यक जोडीको मापदण्ड तोकिएका विज्ञापनहरू प्रदर्शनीमा राखिएका थिए।  त्यसरी राखिएका विज्ञापनअन्तर्गत एकल महिला तथा पुरुषको प्रोफाइलमा बेइजिङमा घर भएको प्रमाण, आम्दानीको स्तर, सम्पत्ति, शैक्षिक गुणस्तर र थप केही जानकारी खुलाएर आफूलाई खोजेको जोडीका लागि पनि सर्तहरू राखिएका थिए।  एकजना उच्च वर्गकी महिलाका लागि चाहिएको केटासँग कम्तीमा ५६ लाख युआन रहेको, बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र तथा बेइजिङको केन्द्र भागमा आफ्नै घर भएको, स्तरीय कार र मासिक ५० हजार युआनभन्दा बढी आम्दानी गर्ने, स्नातकोत्तर अथवा विद्यावारिधि गरेको अथवा विदेशमा पढेको हुनुपर्ने सर्त राखिएका थिए।

  त्यसैगरी एक पुरुषले आफूसँग बिहे गर्ने केटी सुन्दर शरीर, बेइजिङमा स्थायी बसोबासको प्रमाणपत्र, बेइजिङकोे केन्द्रभागमा आफ्नै घर, स्तरीय कार, मासिक आम्दानी २० हजार युआन भएको तथा स्नातक अथवा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख थियो। वर्तमान चिनियाँ पुस्ता प्रेम विवाहमा रमाउँछन् तर  अघिल्लो पुस्ताका अभिभावकहरू भने आफ्ना छोराछोरीका लागि जोडी खोज्न दत्तचित्त भएर लाछन्।  कोरिया र  जापानमा जस्तै चिनियाँ युवा बिहे गर्ने विषयमा उदासीन बन्न थालेपछि अभिभावकरू चिन्तामा पर्न थालेका हुन्।  विश्वविद्यालयको पढाइ, रोजगारी खोजी, पाइसकेपछिको व्यस्तता, विवाह खर्चिलो हुनु, बिहेपछि हुने दाम्पत्य द्वन्द्व, बढ्दै गएको सम्बन्ध विच्छेद, पश्चिमा संस्कृतिको प्रभाव आदि कारण चीनका नयाँ पुस्ता वैवाहिक परम्पराबाट विमुख हुन थालेको छ।

चीनमा सन् २००० मा विवाह गर्ने उमेर सरदर २४ वर्ष थियो।  त्यो बढेर अहिले २८ वर्ष पुगिसकेको छ।  अझ ठूला र विकसित सहरमा त बिहे गर्ने उमेर ३३ वर्ष बनेको छ।  ३५ वर्ष उमेर कटेपछि अभिभावकहरू आफ्ना छोराछोरीको विवाहका विषयमा पिरोलिन थाल्छन्। चीनमा बिहेको चलन नेपालकोभन्दा ठीक उल्टो छ।  अर्थात् यहाँ विवाहका बेला केटा पक्षले चाहिँ केटीलाई कुस्त दाइजो दिनुपर्छ।  ठाउँ र अवस्था हरेरे अनिवार्य नयाँ घर र गाडी दिनुपर्छ।  बिहेमा लाग्ने सम्पूर्ण खर्च पनि केटा पक्षले नै बेहोर्नुपर्छ।  साङहार्ई, बेइजिङ, सनचन, नानचिङ, हाङचौै, क्वाङचौैजस्ता सहरमा घरको मूल्य असाध्यै चर्काे छ।  गाडी किन्न पनि उत्तिकै मुस्किल हुन्छ।  सवारीसाधनको अत्यधिक चाप र प्रदूषणका कारण स्थानीय सरकारले गाडी खरिदमा अत्यन्त कडा मापदण्ड तोकेको छ।

तोकिएका सर्त पूरा गर्न नसके पुरुष विवाहबाटै वञ्चित हुनुपर्छ।  चीनमा पुरुषलाई मात्र होइन, महिलालाई पनि बिहे गर्न उत्तिकै गाह्रो छ।  केटीको शैक्षिक योग्यता र आर्थिक हैसियत जति बढी भयो, उति नै उपयुक्त जोडी पाउन कठिन हुन्छ।

पछिल्लो समय निम्न वर्गका चिनियाँ पुरुषहरू बिहे गर्न भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल जान थालेका छन्।  दलालमार्फत विभिन्न प्रलोभन देखाएर नेपालका ग्रामीण क्षेत्रबाट विवाह गरी चीन ल्याइएका नेपाली चेलीकोे संख्या दर्जनांै पुगिसकेको छ।

चीनमा बिहे गर्न विशेषगरी पुरुषलाई नै महाभारत हुन्छ।  एकातिर हुनेवाला श्रीमतीलाई धेरै सम्पत्ति दिनुपर्ने बाध्यता छ भने अर्कातिर महिलाको संख्या कम भएकाले केटी पाउनै मुस्किल छ।  सन् १९७८ देखि ३५ वर्षसम्म लागू भएको एक सन्तानको नीतिले चीनमा लैंगिक जनसंख्यामा असन्तुलन आएको छ।  केही वर्ष अगाडिसम्म प्रतिसय महिलामा पुरुषको संख्या १ सय २० पुगेको थियो।  अहिले त्यो अनुपात केही कम भएर सय महिलामा पुरुष १ सय १६ जना भएका छन्।  यस हिसाबले चीनमा अहिले झन्डै २ करोड पुरुषले जोडी नपाउने अवस्था छ।

चीनमा बिहेभोजमा लाग्ने खर्च पनि थामिनसक्नु छ।  चीनमा बढ्दै गएको आर्थिक वृद्धिदरले सुविधा मात्र थपेको छैन, समस्या पनि निम्त्याएको छ।  सहरी र ग्रामीण क्षेत्रको  विकास असन्तुलन व्यापक रहेको चिनियाँ सरकारी प्रतिवेदनहरूमा उल्लेख छन्।  गरिब र धनीबीच बढ्दै गएको आर्थिक खाडलले चिनियाँ चरित्रको समाजवादी अर्थ व्यवथालाई गिज्याउँदै छ।

चीनमा सन् १९५० को दशकमा भर्खरै साम्यवादी शासन सुरु भएको थियो।  त्यतिबेला विवाह गर्न एउटा खाट मात्र भए पुग्थ्यो।  १९६० को दशकमा एक प्याक मिठाईका भरमा बिहे सम्पन्न हुन्थ्यो भने सन् १९७० को दशकमा चीनमा सांस्कृतिक क्रान्ति चलेका बेला अध्यक्ष माओका लेख संकलित भएको ‘रातो किताब’ विवाहका लागि अनिवार्य मान्न थालियो।  सन् १९८० देखि चीनमा खुलापन र सुधारका कार्यक्रम लागू भएपछि बिहेका लागि रेडियो, साइकल, सिलाइ मेसिन तथा हातमा लगाउने घडीजस्ता चार सामग्री आवश्यक हुन थाल्यो।  सन् १९९० को दशकदेखि वैवाहिक समारोहको परिधि फैलिँदै गयो र एक्काइसौं शताब्दीमा आएर त्यो निकै भड्किलो र महँगो भयो।

चीनका १० ठूला सहरमा विवाह खर्चबारे विभिन्न विश्वविद्यालयले सर्वेक्षण गरेका छन्।  ती सर्वेक्षणअनुसार बेइजिङ, साङहार्ई, सनचनलगायत चीनका महँगा सहरहरूमा विवाह खर्च २० लाख युआनभन्दा बढी पुगेका छन् भने हाङचौ, क्वाङचौ, नानचिङ आदि स्थानमा १० लाख युआन बराबर छ।

पछिल्लो समय निम्न वर्गका चिनियाँ पुरुषहरू बिहे गर्न भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल जान थालेका छन्।  दलालमार्फत विभिन्न प्रलोभन देखाएर नेपालका ग्रामीण क्षेत्रबाट विवाह गरी चीन ल्याइएका नेपाली चेलीकोे संख्या दर्जनांै पुगिसकेको छ।  बिहे गरेर चीन आएका विदेशी चेलीमध्ये सबैभन्दा बढी पीडा पाकिस्तानी महिलाले पाइरहेका छन्।  तुलनात्मक रूपमा नेपाली महिला कम दुःखमा छन्।  तर उनीहरू पनि शारीरिक तथा मानसिक हिंसा भोग्न बाध्य छन्।  तीन वर्षअगाडि चीनमा विवाह गरेर आएका केही नेपाली महिलालाई बेइजिङस्थित नेपाली दूतावासले उद्धार गरेर नेपाल फर्काएको थियो।  यसबाहेक अधिकतर नेपाली चेलीको अवस्था सन्तोषजनक छ।  यहाँका केही नेपाली महिला त आफूहरूको अवस्था नेपाली जीवनशैलीका तुलनामा उत्कृष्ट रहेको बताउँछन्।  मध्य चीनमा विवाह गरेर बसेकी एक नेपाली चेली आफ्नी बहिनीलाई पनि चिनियाँ युवकसँग बिहे गराइदिने विचारमा रहेको बताउँछिन्।  १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा केही नेपाली महिला बिहे गरेर आउँदैमा यहाँको वैवाहिक समस्या समाधान हुनेचाहिँ होइन।  आर्थिक तथा सामाजिक दबाबका कारण चीनमा विवाह जटिल बन्न थालेको छ।

(लेखक बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विषेशज्ञका रूपमा कार्यरत छन्। )

प्रकाशित: १२ भाद्र २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App