७ वैशाख २०८१ शुक्रबार
विचार

तनाव जित्ने तरिका

थाकेको शरीर। झुकेको टाउको। ओइलाएको पूmलजस्तो उदास, निरस र फुस्रो अनुहार। चमकहीन न्यास्रो आँखा।  कलेटी परेका ओठ। दबेको र का“पेको आवाज। ४५ वर्षीय श्यामले आफ्नो समस्या यसरी बताए– ‘डा. सा’ब, निद्रा लाग्दैन, भोक पनि लाग्दैन। सधै“ टाउको भारी हुन्छ। बेलाबेला धड्कन बढेर मुटु फुट्लाजस्तो हुन्छ। घरी यता दुख्छ त घरी उता। हु“दाहु“दा अहिले त मान्छे देख्दा पनि डर लाग्न थालेको छ। घर बाहिर निस्किन पनि गाह्रो हुन थालेको छ।’

कारण खोज्ने क्रममा उनको पारिवारिक, आर्थिक तथा पेसागत पृष्ठभूमि केलाउ“दा उनी व्यावहारिक कारणले गर्दा निरन्तर ‘स्टे«स’मा फसेको देखियो। र, जसको व्यवस्थापन समयमै गर्न नसक्दा उनी मानसिक समस्याको चरणमा पुगिसकेका थिए। जग्गा कारोबार गर्दै आएका श्याम चर्को आर्थिक संकटमा फसेका रहेछन्। बैंकको कुरै छाडौँ, उनले पैसा सापटी लिन कुनै आफन्त पनि बाँकी राखेका रहेनछन्। ऋणीहरूको दबाबका कारण सबैस“ग भाग्दै–लुक्दै हिँडेका श्याम महिनौँसम्म एक्लै कोठा लिएर बसेका रहेछन्। एक्लै बस्दा र निरन्तर चिन्ता गर्दा उनको आत्मबल ध्वस्त हु“दै गयो र समस्या देखियो।

श्याम मात्र होइन, हिजोआज मानसिक स्टे«स अर्थात् तनावले हरेक मानिस कुनै न कुनै किसिमले पीडित छन्। वास्तवमा हिजोआज आधुनिकीकरण, प्रतिस्पर्धा र भागदौडका कारण जताततै तनाव नै तनाव छ भने पनि हुन्छ। तनाव सिर्फ सहरबजारमा मात्र होइन, गाउ“घरतिर पनि छ। कलिला बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई तनाव नै तानव छ। दुई÷चार मात्र होइन, अनेक कुराको तनाव छ। विद्यार्थीलाई पढाइलेखाइको तनाव। युवायुवतीलाई रोजगारी, करिअर, अघि बढ्ने प्रतिस्पर्धा र प्रेम सम्बन्धको तनाव। गृहणीलाई घरायसी कामकाज र घर व्यवस्थापनको तनाव। पेसाकर्मीलाई पेसाको तनाव। उद्यमी–व्यापारीलाई कारोबारको तनाव। परिवारमा आफसी सम्बन्धको तनाव। वास्तवमा तनावले हिजोआज हरेक समाज, हरेक संस्कृति, हरेक वर्ग र लिंगलाई आक्रान्त पारेको छ।

समान्यतया आफ्नो क्षमता र हैसियतभन्दा ठूलो चुनौती वा संकट पैदा भयो र त्यसलाई सहन गर्ने क्षमता भएन वा आफ्नो स्रोत साधनले संकट समाधान गर्न नसकिने अवस्था आयो भने स्वाभाविक रूपमा मानिस तनावको चपेटामा पर्छ। मन, मस्तिष्क र शरीर सापेक्ष भएकाले तनावको प्रभाव मानिसको विचार, बोली र व्यवहारमा समेत पर्न सक्छ। न्युरो मनोविज्ञानका अनुसार जतिबेला मानिस तनावको चपेटामा परेको हुन्छ, त्यतिबेला शरीरमा अनावश्यक हर्मोन तथा रासायनिक पदार्थ निस्किन्छन्। जस्तो ः एडरेनल ग्लान्डबाट कोर्टिसोल नामको हर्मोन र एडरेनलिन नामक पदार्थ निस्किन्छन् भने पाचन थैलीबाट ग्यास्ट्रिक एसिड निस्कन्छ। यी पदार्थका कारण धड्कन बढ्छ र छातीमा असजिलो अनुभव हुन्छ, रक्तचाप बढ्छ। तनावकै बेला रगतमा चिनीको मात्रा पनि बढ्छ र ग्यास्ट्रिक एसिड बढ्नाले पेट पोल्न थाल्छ।

शरीरमा यस्ता परिवर्तन हु“दा डर लागेको अनुभव हुने, शरीरमा असजिलोपना हुने, घबराहट र छटपटी लाग्ने हुन्छ। लामो समयसम्म मानसिक तनाव भइरहे शरीरको रोग प्रतिरोध क्षमतामा पनि ह्रास आउ“छ। त्यसैले सधैँ तनावमा रहनु भनेको शरीरमा विभिन्न किसिमका इन्फेक्सन र रोग निम्त्याउनु पनि हो।

छोटो शब्दमा भन्नुपर्दा स्ट्रेस अर्थात् तनाव आधुनिक जीवनशैलीको उपहार हो। जति–जति विश्वमा आधुनिकीकरण हुँदै गएको छ, उति–उति तनाव पनि बढ्दै गएको छ। बजारवादका कारण हिजोआज मानिसको जीवन दिनप्रतिदिन मह“गो र चर्को हु“दै गएको छ। आम्दानी नबढ्ने, तर खर्च बढ्ने असन्तुलित अवस्थाका कारण मध्यम र निम्न वर्गका व्यक्ति निरन्तर तनावमा फसेका छन्। नेपालजस्तो गरिब देशको सहरिया जीवन त तनावको पर्याय नै हो भन्दा अत्युक्ति हु“दैन।
घरमा बत्ती छैन, धारामा पानी छैन, सधैँ पानीको हाहाकार छ, ट्राफिक जामको समस्या छ, धुवा“ र धुलो छ, खाल्डाखुल्डीयुक्त बाटा छन्, सार्वजनिक यातायातको अवस्था राम्रो छैन, इन्धन र ग्यास अभाव झेलिरहनुपर्छ। जब यस्ता सानातिना तनाव थुप्रि“दै जान्छन्, तब त्यसमाथि अलि जटिल प्रकारका तनाव पनि थपिन थाल्छन्। र, तनावको शृंखला सुरु हुन्छ, त्यस्तो अवस्थालाई लगातारको मानसिक तनाव (क्युमुलेटिभ स्ट्रेस) भनिन्छ। लगातार तनावले काम गर्ने, निर्णय लिने, नया“ कुरा सिक्ने क्षमता ह्रास भइरहेको हुन्छ। त्यसैले मानिसमा स–साना कुरामा रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने समस्या देखिएका हुन्। त्यसो त तनावले उमेर, समूह र वर्ग भन्दैन।

तर यहा“ उल्लेख्य कुरा के छ भने मानिस भावनात्मक रूपमा आफैँमा जटिल र संवेदनशील प्रकृतिको हुने हुनाले फरक–फरक व्यक्तिको स्वभाव पनि फरक–फरक हुन्छन्। अनि तनाव सहन गर्ने क्षमता पनि फरक–फरक हुन सक्छन्। खुसी सिर्जना गर्ने र आफूलाई सन्तुलनमा राख्ने परिस्थिति पनि सबैको एउटै नहुन सक्छ। तनाव गहिरि“दै जा“दा पनि धेरै व्यक्ति म बलियै छु, मलाई यस्ता समस्याले धेरै तनाव दिन सक्दैनन् भन्ने विश्वासमा त हुन्छन्, तर लगातार तनावले भित्र–भित्र असर पारिरहेको हुन्छ। यस्तो स्थितिमा शरीर र मन दुवैले हार मानिसकेका हुन्छन्। कुनै गाडी वा मेसिन चल्दा–चल्दा धेरै तातेर बन्द भएजस्तै शरीर र मनले पनि अति भइसकेपछि जवाफ दिन्छन् र यसैका कारण विभिन्न लक्षण देखिन सुरु गर्छन्। त्यसैले खानपान, जीवनशैली र व्यवहारको साइनो तनावस“ग सघन हुन्छ।

पीडित आफैँले तनावको स्रोत र समस्या समाधानको उपाय पहिल्याउन सके भने यसको दुष्चक्रबाट बाहिर आउन सजिलो हुन्छ। समस्याबारे सकारात्मक रूपमा अरूस“ग सल्लाह गर्ने, धैर्य गर्ने, सुझबुझ देखाउने र मनमा गलत कुरा नखेलाउने हो भने तनावले थप क्षति गर्दैन। तनावका बेला सास छिटो–छिटो चल्छ। श्वास फेर्दा लिएको अक्सिजनको ठीकस“ग उपयोग हु“दैन। त्यसैले यस्तो बेला नाकबाट लामो–लामो सास लिने र छाड्ने गर्दा फोक्सोको तलको भागमा समेत अक्सिजन पुग्छ र शरीरले यसको उपयोग राम्ररी गर्न पाउ“छ।  फलस्वरूप मन शान्त पार्न सहयोग गर्छ।

वास्तवमा तनाव व्यवस्थापनमा योग, ध्यान तथा प्राणायाम ज्यादै महत्वपूर्ण छ। यसैगरी दैनिक १५–२० मिनेटजति छिटो–छिटो हि“ड्ने, दौडिने, साइकल चढ्ने वा योग प्राणायाम गर्दा तनाव कम गर्न सहयोग मिल्छ।  ब्याडमिन्टन, टेनिस, बास्केटबल, भलिबल आदि कुनै खेल खेल्ने, फूलबारी वा बगै“चामा घुम्ने वा केही समय काम गर्ने, मनपर्ने गीत, भजन आदि सुन्ने वा आफूलाई मनपर्ने किताब पढ्ने तथा आराम गर्ने गर्दा पनि तनाव कम हुन्छ। स्वस्थ जीवनका लागि हामी कस्तो  खाना वा के खान्छौँ, कति खान्छौँ आदि कुराले धेरै महत्व राख्छ। फलफूल, सागपात, चिल्लो कम भएको दूध, दही आदि खानु राम्रो हुन्छ। चिनी तथा नुन सकभर कम खाएको बेस। बोसो बढी भएको तथा रातो मासु, तारे भुटेका खानेकुरा, क्रिम, चिज, चकलेट, आइसक्रिम आदि नखानु वा सकभर कम खानु राम्रो हुन्छ।

त्यस्तै रक्सी तथा चुरोट–सुर्ती आदिले स्वास्थ्यलाई हानि गर्र्ने हुनाले प्रयोग गर्नु हु“दैन। त्यसैगरी आफूलाई खुसी तुल्याउने स–साना रुचिका कुरामा मन बहलाउने, साथीभाइसँग भेटघाट गर्ने, योग, ध्यान तथा प्रणायाम गर्ने र दुःखका बेला पनि आफै“ले आफूलाई सम्हाल्न केही आदर्श भनाइप्रति विश्वास राख्नेजस्ता उपाय अपनाउने हो भने मन सधै“ काबुमा राख्न सकिन्छ। आफूले आफैँलाई सम्हाल्न नसक्ने अवस्था आयो भने त्यो रोग हो। यस्तो अवस्थामा भने ध्यान, साथीभाइसँग भेटघाट वा खुसी हुन गरिने कुनै पनि अभ्यासले काम गर्दैन, श्यामझैँ तुरुन्त चिकित्सककहा“ जानुपर्छ।

अतः दैनिक जीवनमा हरेक मानिसले साना–ठूला तनाव झेल्नुपरेकै हुन्छ। तर कुनै मानिस तनाव र समस्याले भन्दा पनि त्यसप्रति प्रतिक्रिया जनाउने आफ्नै दृष्टिकोणले पीडित भइरहेका हुन्छन्। त्यसैले सकारात्मक दृष्टिकोण राख्ने तथा संकट सहन सक्ने मानिस तनावबाट कमै पीडित हुने गर्छन्। यस्ता मानिसले ठूलठूला दबाब पनि सजिलै किनारा लगाउन सक्छन्। त्यसैले त उनीहरू जीवनको दौडमा अगाडि बढ्छन्। हुन पनि हो, तनावको अगाडि जित छ।
(लेखक मनोविद् हुन्।) 

प्रकाशित: १० श्रावण २०७६ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App