२०५७ साउन २७ गतेगाउँमा लक्ष्मी चौधरीको पाडो म-यो।त्यसपछि स्थानीय सदा समुदायलाई सधैँझै मरेको पाडो फाल्न तत्काल आउनू भन्ने निर्देशन आयो। एकातिर पुर्खौँदेखि सिनो फ्याँक्दा पनि आफ्नो जीवन र जीविकामा कुनै अन्तर नआएकाले अब यो काम नगर्ने कि भनेर सदा गाउँमा छलफल चलिरहेको थियो। अर्कोतिर मरेको पाडो फ्याँक्न २–४ जनाले पुग्दैनथ्यो। यसका लागि कम्तीमा पनि १०–१२ जना चाहिन्थ्यो। त्यसैले तत्काल यति मानिस जुटाउनु सहज थिएन।
यस्तो अवस्थामा स्थानीय सदाहरूले निर्णय गरे कि अब सिनो फ्याँक्ने काम बन्द गर्ने। त्यसैले कोही पनि नजाने। यो खबर लक्ष्मीको घरमा पुग्यो। त्यसपछि त के चाहियो र ? सदामाथि चौतर्फी प्रहार हुन थाल्यो। पसलमा सामान किन्न दिइएन। धारो, कुवा बन्द गरियो। काममा बोलाउन छाडियो। सोझो अर्थमा भन्दा उनीहरूमाथि नाकाबन्दी लगाइयो र जीवन निकै कष्टकर बनाइयो। तर पनि सदा समुदाय भने आफ्नो अडानमा अडिग रहे। विकल्प खोजे तर सिनो नफ्याँक्ने अडानमा कायमै रहे।
सुन्दै पनि अत्यास लाग्ने र आक्रोश सिर्जना हुने यो व्यवहार सप्तरीको हालको अग्निसायर कृष्णासवरन गाउँपालिका–३ मा पर्ने मट्टिगढा गाउँमा भएको थियो। जहाँ ३२ घर सदा बस्छन्। अनि यसरी सदा समुदायलाई तल्लो स्तरको देखाउन काफी मानिएको सिनो फ्याँक्ने कार्यको बहिष्कार गर्ने अभियानको नेतृत्व स्थानीय दुःखीराम सदाले गरेका थिए। वार्षिक ५ किलोग्राम धान लिएकै भरमा भनेकै बेला सिनो फ्याक्न जानुपर्ने बाध्यता उनकै कारण हट्यो भनौँ।
यो अभियानमा संलग्न भएबापत गाउँका सबैले दुःख पाए। अझ दुःखीराम र उनको परिवारलाई त कति दुःख दिइयो भनेर साध्य नै छैन। त्यो घटनाको केही समयपछि गाउँ विकास समितिको कार्यालय जलेको थियो। मौका यही भनेर सिनो नफ्याँक्ने निर्णय गरेबापत आगो भएका स्थानीयले दुःखीराम माओवादी भएका र उनकै नेतृत्वमा गाविस जलाइएको आरोप लगाइयो। दुःखीराम र उनका जेठा छोरा विद्यानन्दलाई प्रहरीले थुन्न लग्यो।त्यसपछि गाउँभरका पुरुष जति जंगलमा लुक्न बाध्य भए। महिला र बालबालिकाको विचल्ली भयो। साँढे १५ महिना थुनिएपछि उनी छुटे र अदालतबाट समेत न्याय पाए अधिकारकर्मीको सहयोगमा।
दुःखीरामभूमि अधिकार प्राप्तिको आन्दोलनमा पनि क्रियाशील थिए। सिरहाको लहान र सप्तरीको राजविराजमा सिनो बहिष्कार आन्दोलनका क्रममा प्रतिकार भएपछि उनी दुःखीहरूको पनि संगठन चाहिने रहेछ भन्ने निष्कर्षमा पुगेका थिए। र, यही निष्कर्षअनुसारराष्ट्रिय भूमि अधिकार मञ्चमा संगठित भई सप्तरीको अध्यक्षसमेत भएका थिए।
उनको गाउँका सबैजसो सदा परिवार जस्तै दुःखीराम बसोबास गरेका सबै जमिन ऐलानीमै छ। सबै भूमिहीन भएकाले पनि उनलाई भूमि अधिकार प्राप्तिको आन्दोलनमा लाग्न उत्प्रेरणा मिलेको हो। दुःखीरामकै नेतृत्वमा भएको आन्दोलनले अहिले सप्तरीका धेरै सदा परिवार ठूलाबडाको हेपाइ, शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था तथा आदेश पालकको भूमिकाबाट मुक्त भएका छन्। आफैँलाई नाकाबन्दी लगाउने र दुःख दिने चौधरी तथा यादव समुदायसँग पनि राम्रो सम्बन्ध बनेको छ सदा समुदायको।
यसरी दलित अधिकारकर्मी तथा सामाजिक अभियन्ताको पहिचान बनाएका दुःखीराम सदा ८९ वर्षको उमेरमा बितेका छन्। २ वर्षदेखि मुखमा भएको प्यारालाइसिसका कारण पीडित रहेका उनी जोसुकैलाई पनि अधिकारका लागि संघर्ष गर्न तथा शिक्षा हासिल गर्न हौस्याउँथे। अब तिनै दुःखीराम हाम्रा अगाडि सम्झनामा मात्र बाँकी छन्। हार्दिक श्रद्धाञ्जलि !
प्रकाशित: २९ असार २०७६ ०२:२७ आइतबार