११ आश्विन २०७७ आइतबार
विचार

अमर्यादित अभिव्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओली भाषिक मर्यादाबारे अत्यन्त चासो राख्नेमध्येमा पर्छन्। उनले असार ३ गते आयोजित पत्रकार सम्मेलनमा सञ्चारमाध्यमले प्रयोग गरेको तिमी शब्दावलीप्रति टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीको टिप्पणी छ– ‘नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ। बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी, यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन।’ बोलीचालीमा तपाईँ, हजुर भनेर संवोधन गरे पनि प्रेसले सबैलाई संवोधन गर्ने सजिलोका लागि ‘तिमी’ आदरार्थी शब्द प्रयोग गर्दै आएको छ। लेखाइमा तपाईं लेखियो वा तिमी भन्नेमा समेत ख्याल गर्न सक्षम प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रयोग गरेको ‘छौँडा’ शब्दले यतिबेला सामाजिक सञ्जाल तताएको छ। कसैलाई ‘बोक्सी’ आरोप लगाउनुसमेत गैरकानुनी भइसकेको यो मुलुकमा प्रधानमन्त्रीकै प्रमुख सल्लाहकारले प्रयोग गरेको भाषामा यसको प्रयोग भएको छ। यस्तो अमर्यादित भाषा बोल्ने रिमालमाथि कुनै कारबाही हुने छैन। कारण यही भाषा प्रधानमन्त्री आफैँले प्रयोग गरिसकेका छन्। उनले २०७३ साउन १४ गते ‘छौँडा’ शब्द प्रयोग गरेका थिए। उनले भनेका थिए– ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो।’

ओलीले ‘छौँडा’ शब्द प्रयोग गरेको तीन वर्ष पुग्नै लाग्दा सल्लाहकारले आफ्नो ट्विटमार्फत् लेखेर शब्दावलीको पुनर्ताजगी गरेका छन्– ‘भनिन्छ, छौँडाहरू आफैँ चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौँडाहरू आफैँ चलमलाएका हुन् कि कसैले छोडेका ?’ उनले यो कसलाई भनेका हुन् खुलाएका छैनन्। तर दलभित्र र बाहिरका सबै, जसले सरकारको आलोचना गरेका छन्, तिनका प्रति यो लक्षित छ। उनले यसरी लेखिसकेपछि आफ्नै दलसम्बद्ध नेता तथा कार्यकर्ताले समेत यस्तो अभिव्यक्ति प्रमुख सल्लाहकारको पद सुहाउँदो नभएको टिप्पणीसमेत गरेका छन्। ओलीले भने ‘छौँडा’ शब्द त्यतिबेला छिमकी भारततर्फ लक्ष्य गरेका थिए। त्यतिबेला सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले उनका यी अभिव्यक्तिलाई सार्वजनिक गरेको थियो। सत्तामा हुनेले बाहिर रहेका आलोचकलाई यस्ता शब्द प्रयोग गर्नु नौलो होइन। पञ्चायतकालमा इतर राजनीति गर्नेहरूलाई ‘भेंडाको छाला ओढेका ब्वासा’, ‘मुठ्ठीभर’, ‘अराष्ट्रिय तŒव’ जस्ता शब्द प्रयोग गरिन्थ्यो। लोकतान्त्रिक शासन व्यवस्था सुरु भएपछि आलोचनालाई स्वाभाविकरूपमा लिइन्छ भन्ने विश्वास यतिबेला भत्किसकेको छ। सरकारप्रति आलोचनात्मक दृष्टि राख्नेहरूले अब ‘छौँडा’ का रूपमा चित्रित हुनुपर्ने दिन आएका छन्। यस्ता शब्दावलीको प्रयोगले सरकारप्रति आमनागरिकको विश्वासमा समेत धक्का लाग्ने देखिएको छ।

अहिलेको सरकार लोकतान्त्रिक विधिबाट निर्वाचित भए पनि कम्युनिस्ट दर्शनलाई यसले बोकेको छ। सामान्यतः कम्युनिस्टहरू भाग्य, धर्म, भूतप्रेत, बोक्सीजस्ता पक्षमा विश्वास गर्दैनन् भन्ने ठानिन्छ। अन्धविश्वासविरुद्ध आफूलाई उभ्याउने भएकाले तिनले आफूलाई ‘प्रगतिशील’ ठान्छन्। त्यतिमात्र होइन, आफूलाई अत्यन्तै ‘वैज्ञानिक’ माक्र्सवादको अनुयायी सम्झन्छन्। तर अहिलेको सरकारका प्रधानमन्त्री, केही मन्त्री र सल्लाहकारले प्रयोग गरेका शब्दले यो मर्यादाको हुर्मत लिएको छ। लोकतान्त्रिक शासन व्यवस्थामा सरकारको आलोचना हुन सक्छ। पदाधिकारीमाथि आमनागरिक र प्रेसले खबरदारी पनि गर्छ। नागरिकले तिरेको करबाट तलबभत्ता र सुविधा लिने यस्ता वर्गले आफूलाई नागरिकको सेवककै रूपमा उभ्याउनुपर्छ। आफूलाई सेवकको ठाउँबाट शासकमा उभ्याएपछि त्यसले समस्या सिर्जना गर्छ। सरकारप्रति हुने आलोचनालाई स्वाभाविकरूपमा लिंँदै सच्याउने प्रयासमा आफूलाई लगाउनुपर्छ। त्यसमा पनि सल्लाहकारले अझ बढी मर्यादित हुनुपर्छ। भाषा र प्रस्तुतिका कारण प्रधानमन्त्री, मन्त्री र अन्य पदाधिकारीको मर्यादा घट्ने स्थितिमा तिनले आफूलाई संयमित ढंगले प्रस्तुत गर्नुपर्ने हुन्छ। अरुको आङको भैँसी देखिरहँदा आफ्नो आङमा पनि के हिँडिरहेको छ ? ध्यान पुग्नु अवश्यक छ। सरकारमा रहेका व्यक्तिहरूले आमनागरिकलाई जिस्क्याउने अभिव्यक्ति दिनुलाई उचित मान्न सकिन्न। यहाँ पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै हावा चलेको देखिन थालेको छ। सबै पक्ष मिलेर मुलुकलाई अग्रगतिमा लैजानुपर्नेमा यस्ता अमर्यादित अभिव्यक्तिकै चर्चामा रङ्मंगिने अवस्था उचित हुँदैन।

प्रकाशित: २४ असार २०७६ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App