२३ असार २०७७ मंगलबार
विचार

शिक्षामा परीक्षण

शिक्षा क्षेत्रमा लगाएको मेहनत, प्रयास तथा लगानीको प्रतिफल अन्य क्षेत्रमा जस्तो तत्काल देखिँदैन। एक वा दुई वर्षमा नै राम्रा कार्यको सकारात्मक परिणामप्राप्त हुँदैन। परीक्षण गरेर हेरौँ, राम्रो परिणाम देखिए लागु गरौँला अन्यथा छाडौँला भन्न पनि लामो समय पर्खिनुपर्ने हुन्छ। असल नियतले गरिएका कार्यहरूको कहिलेकाँही अपेक्षित भन्दा फरक परिणाम निस्कन सक्छ।सुधार र विकासका विकल्प आप्mनै मौलिक परिवेशबाट खोजिनुपर्छ।

छोटो अवधिमा तीव्र आर्थिक उन्नति गर्ने जापान, कोरिया, फिनल्यान्ड, नर्वे, अस्ट्रेलिया, भियतनाम, चीन जस्ता देशको अध्ययन गर्ने र उनीहरूले केबाट काम सुरु गरे? कसरी पहिलो पाइला चाले? भनेर अध्ययन गर्दा उनीहरूको पहिलो प्रयास शिक्षा सुधार नै भएको भेटिन्छ। शिक्षा क्षेत्रकोपनि सार्वजनिक शिक्षामा सुधार गरी सबै बालबालिकाले समानरूपमा गुणस्तरीय शिक्षा पाउने अवस्था सिर्जना गरेको देखिन्छ। तीव्र विकास गर्ने सबै देशले सार्वजनिक शिक्षाको सुधारमा जोड दिएका पाइन्छ। आर्थिकरूपमा सम्पन्न र विपन्न परिवारका बालबालिकाले पाउने शिक्षामाभिन्नता हुन नदिइ आमनागरिकले पाउने शिक्षालाई राम्रो पार्न प्रयत्न गरेका पाइन्छ।

ती देशमध्ये केहीमा परम्परादेखिनै शिक्षण पेशा अपनाउने व्यक्ति तथा पढाउने शिक्षक मर्यादित मानिन्थे भने केही देशले शैक्षिक सुधारको अभियानका क्रममा शिक्षण पेशालाई मर्यादित बनाउन प्रयत्न गरे। फिनल्यान्डमा विश्वविद्यालय टपरहरूको रोजाइ शिक्षण पेशा हो। पछिल्लोपिसाटेस्टमा अमेरिका र बेलायतलाई चकित पार्ने गरी विश्वका धनी देशहरूको समूहमा सबैभन्दा उच्च नतिजा ल्याउन सफल चीनको सङ्घाइ शहरमा पनि शिक्षण पेशा अत्यन्त मर्यादित मानिन्छ। शिक्षक बन्न चाहने जोसुकैले पनि शिक्षा विषय तथा शिक्षक बन्ने कोर्स पढ्न र शिक्षक बन्न पाउँदैनन्। शिक्षकले पाउने तलब पनि अन्य पेशाकर्मीले पाउने भन्दा उच्च छ। त्यस्ता देशमा उच्च राजनीतिक प्रतिबद्धता तथा सरकारको प्रतिबद्धताशिक्षा सुधारमा परेको भेटिन्छ। शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सीमित व्यक्तिमात्र नभएर राष्ट्र प्रमुखदेखि राज्य शक्ति नै शिक्षा सुधारमा प्रविबद्ध भएर लागेका देखिन्छ। शिक्षा सुधारलाई राष्ट्रको मिसनका रूपमा लिएको पाइन्छ।

किन शिक्षालाई महत्व दिने ?शिक्षा तथा शिक्षणका लक्ष्य तथा उद्देश्यके हुने ? भन्ने कुरा पनि सर्वसाधरणले बुझ्ने गरी प्रस्ट पारिएको पाइन्छ। ती लक्ष्य र उद्देश्यमा के÷कति प्रगति भयो ? शिक्षा कुन अवस्थामा छ भनेर समय समयमा लेखाजोखा गर्ने, अध्ययन÷अनुसन्धान गर्ने,विद्यार्थीको सिकाइसम्बन्धी तथ्यहरू पारदर्शी हुने पद्धति स्थापना गरिएको पाइन्छ। शिक्षा क्षेत्रको जिम्मेवारी विद्यार्थीको सिकाइ उपलब्धिसँग जोडिएकोपनि पाइन्छ। लगानीको दृष्टिले पनि शिक्षालाई पहिलो प्राथमिकतामा परिएको देखिन्छ। शिक्षा सुधारका लागि राज्यको आम्दानीको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगाएको कुरामा पनि समानता पाइन्छ ।

समृद्धिका लागि शिक्षा

अमेरिका, बेलायत जस्ता आफूलाई पँुजीवादी भन्न रुचाउने देशहरूले समेत विगतदेखि हालसम्म शिक्षामा राज्यको लगानीलाई महत्व दिएका छन्। राज्यको लगानीमा सबै बालबालिकाले समानखालको शिक्षा पाउने अवस्था सिर्जना गरेकाछन्। हामीले गुणस्तरका नाममा शिक्षालाई बजारमा किन्ने, सक्नेले स्तरीय र नसक्नले कमसल खरिद गर्न बाध्य हुने अबस्था सिर्जना गर्‍यौँ।

पिसा परीक्षणमा उच्च सफलता प्राप्त गरेपछि फिनिस र सांघाइका शिक्षा क्षेत्रका व्यक्तित्वहरूले हामी परम्परादेखिनै शिक्षक तथा शिक्षण पेशालाई सम्मान गर्छाँै भन्ने अभिव्यक्ति दिए। हुन त हाम्रो संस्कृति पनि पितृदेवो, मातृदेवो र गुरुदेवो भव तथा जन्म दिने बाबु आमा र गुरु ईश्वरसरहका हुन् भन्ने हो। गुरुकूलसम्म ठूला शासक÷प्रशासकहरू पनि गुरुलाई भेट्न जाने, भेटी चढाउने, शासन सञ्चालनकालागि ज्ञान र सरसल्लाह लिने गर्थे। पछिल्ला दिनहरूमा जब शिक्षा सबैको पहुँचमा ल्याउने प्रयत्न भयो, शिक्षकहरू धेरै चाहिए तब ज्ञान, सिप, अभिवृद्धि र चरित्र कमजोर भएका व्यक्तिहरू पनि शिक्षकका रूपमा भित्रिए। शिक्षकमा जागिरे मानसिकता सुरुवात भयो। शिक्षण पेशाप्रतिको सम्मान र आकर्षणमा स्खलन हँुदै आयो।

 

प्रकाशित: १३ असार २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App