१६ चैत्र २०८० शुक्रबार
विचार

महिलाको थर

लक्ष्मी सापकोटा

‘तपाईँ फुयाल होइन र !’
‘होइन, म त सापकोटा। मेरो श्रीमान्को थर फुयाल मचाहिँ सापकोटा।’
एउटै गाउँमा विवाह भयो। प्रायः गाउँका कार्यक्रममा मलाई फुयाल भनेर सम्बोधन गरिन्छ। तर कार्यस्थलमा मेरो आफ्नो बाबुको थर अथवा मैले प्रयोग गर्ने थरले नै म चिनिन्छु। थर समयसापेक्ष छ। थरको विषयलाई म सामान्य रूपमा लिन्छु। यो विवादको विषय होइन। किनकि नाम थरले मानिसको परिचय दिने त हो।
बैंकमा चेक साटेर पैसा लिन जानुस्, तपार्इँलाई जबाफ आउँछ– ‘नाम बीचमा कुमारी छुटेछ अथवा थर फरक प¥यो अर्को चेक ल्याउनू।’ अब त्यहाँ आइपर्ने झन्झट हामी अनुमान लगाउन सक्छौँ। यस्तो बेला नाम थरको विषय सामान्य होइन। किनकि नाम र थरले तपाईँको कानुनी परिचय दिन्छ। कुनै वस्तुको स्वामित्वमा होस् अथवा कानुनी परिचय दिँदा तपाईँको थर सही हुनु आवश्यक छ।

थर राख्ने सम्बन्धमा समाज बदलिँदै गएको छ जसअनुरूप कानुन पनि परिवर्तन हुँदै गएको छ। मेरो विवाह २१ वर्षमा भयो। त्यस समय कानुनमा विवाह १८ वर्ष उमेरमा गर्ने प्रावधान थियो। नागरिकता कानुनअनुसार १६ वर्षमा लिइएको थियो। मेरो नागरिकता बाबुको नामबाट लिएकी थिएँ। त्यसैले थर पनि श्रीमान्को नभई बाबुकै राखिएको छ। मेरी ममीले उहाँको माइती र मेरो बाबाको थर प्रयोग गर्नुभएको छ। जिल्ला प्रशासन कार्यलय गएर उहाँले कोष्ठमा राखेर मेरो बाबाको थर पनि थप्नुभयो। उहाँको विवाह १७ वर्षमा भएको थियो रे।

मुलुकी देवानी संहिता २०७४ ले थरसम्बन्धी साह्रै राम्रो व्यवस्था गरेको छ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ। त्यस्तै विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबु वा आमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्छिन् भनी साह्रै राम्रो व्यवस्था बनाइएको छ।

मेरी हजुरआमाले आफ्नो माइतीको थर नराखी हजुरबुबाको थर राख्नुभयो। उहाँको विवाह १४ वर्षमा भएको थियो रे। उहाँले नागरिकता हजुरबुबाको अर्थात् उहाँको पतिको थर राखेर लिनुभयो। ८० वर्षअघि बालविवाह गर्ने चलन थियो। अहिले मुलुकी अपराध संहिता, २०७४, दफा १७३ अनुसार बालविवाह स्वतः बदर हुने व्यवस्था छ र त्यस्तो कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

समयसँगै कानुन परिवर्तन भएको छ र यसले सामाजिक चेतनामा पनि परिवर्तन ल्याएको छ। केही समय पहिले नागरिकता प्राप्त गर्नुभन्दा अघि नै विवाह गर्ने चलन थियो। महिलाको विवाहपछि उनको गोत्र परिवर्तन हुन्छ भनिन्थ्यो। अनि जुन घरमा विवाह गरेर गएको छ उही घरबाट अर्थी अथवा लास उठ्नुपर्छ भनिन्थ्यो र अझै यस्तो मान्यता नभएको होइन तर यस्ता विषय अहिले केही फराकिलो दृष्टिले हेर्न थालिएको छ। पहिला विवाहका लागि उमेर २० वर्ष भनेर तोकिएको थिएन; विवाहको उमेर १६, १८ हुँदै अहिले २० वर्ष हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ।

अलि अगाडिको समाजले सम्बन्ध विच्छेदलाई सहज रूपमा परिकल्पना गरेको थिएन। तर अहिले महिला वा पुरुष दुवैले जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गर्न पाउने  व्यवस्था गरेको छ। साथै पहिलाको समाजमा बहुविवाह पनि सामान्य मानिन्थ्यो। तर समयअनुसार भएको कानुनी परिवर्तनले हाल आएर बहुविवाहलाई स्वीकारै गर्दैन। र, त्यस्तो कसुर गर्नेलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

एकातिर कानुनमा परिवर्तन आइरहेको देखिन्छ भने अर्कातिर समाज पनि शिक्षित हँुदै गइरहेको छ। आखिर नाम र थरमा के छ र त्यस्तो माथापच्चीस गरिरहनुपर्ने ? नाम त नामै हो। थर पनि थरै हो नि भन्ने मत पनि आउन सक्छ। तर व्यवहारमा यो विषय निकै महŒवपूर्ण छ। त्यसैले त मुलुकी देवानी संहिता, २०७४ को दफा ३१ मा नामको अधिकार व्यवस्था गरिएको छ। प्रत्येक व्यक्तिलाई जन्मनासाथ नामको अधिकार हुने र उसले आफ्नो नाम सम्मानजनक तरिकाले उपयोग गर्न पाउने तथा कसैले पनि अन्य व्यक्तिको नाम दुरुपयोग गर्न नपाउने उल्लेख छ। त्यसकारण यो कानुनी क्षेत्रसँग गहिरो सरोकार राख्ने विषय हो भन्ने प्रस्ट हुन्छ।

अर्को कुरा, थरका विषयमा सोही ऐनको दफा ११, उपदफा ३ मा के व्यवस्था छ भने प्रत्येक व्यक्तिले जन्मेपछि आफ्ना आमाबाबुको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसके उसको बाबुको थर आफ्नो नामपछाडि प्रयोग गर्न पाउनेछ। तर पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नामपछाडि आमाको थर प्रयोग गर्न पाउनेछ। कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ भन्ने कानुनमा व्यवस्था छ। यो साह्रै राम्रो व्यवस्था हो। कुनै व्यक्तिको थरका सम्बन्धमा प्रश्न उठेमा, अन्यथा प्रमाणित भएमा बाहेक निजले आफ्नो बाबुको थर प्रयोग गरेको मानिने तर कुनै व्यक्तिका बाबु वा आमा दुवैको ठेगान नलागे उसलाई जसले हेरचाह गरेको छ उसको थर राख्न पाउने कानुनी व्यवस्था छ।

दफा १७९ अनुसार धर्मपुत्र वा धर्मपुत्री भएका व्यक्तिले आफूलाई ग्रहण गर्ने बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछन्। तर धर्मपुत्र हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबुआमाको थरसमेत प्रयोग गर्न सक्नेछ र धर्मपुत्र वा धर्मपुत्री बदर भएमा सो व्यक्तिको थर उसलाई जन्माउने बाबु वा आमाको हुनेछ भन्ने कानुनी प्रावधानले पनि थरको सम्बन्धमा व्यक्तिलाई स्वतन्त्रता दिएको छ।

मुलुकी देवानी संहिता, २०७४, दफा १११ अनुसार कुनै व्यक्तिले चाहेमा आफ्ना बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ। त्यस्तै, सोही ऐनको दफा ८१ अनुसार विवाहित महिलाले आफ्नो विवाहपश्चात् बाबुआमाको थर अथवा पतिको थर पनि प्रयोग गर्न सक्नेछिन्। थरका सम्बन्धमा प्रश्न नउठेसम्म, अन्यथा प्रमाणित नभएसम्म उनले पतिको थर प्रयोग गरेको मानिनेछ। सोही ऐनमा यदि विवाहित महिलाको सम्बन्ध विच्छेद भएको अवस्था छ भने उनले चाहेमा बाबु वा आमाको थर प्रयोग गर्न सक्ने व्यवस्था छ। यसले पनि महिलालाई थरका सम्बन्धमा स्वतन्त्रता दिएको छ।

अहिले त सरकारले अनिवार्य शिक्षा ऐन, २०७५ पनि ल्याएको छ र महिलाको शैक्षिक प्रमाणपत्रमा पनि उसको नाम थर उल्लेख गरिएको हुन्छ। महिलाले शैक्षिक प्रमाणपत्रमा आफ्नो इच्छाअनुसार बाबु वा आमा वा दुवैको थर राख्न सक्छिन्।
एउटा व्यक्तिले नागरिकता बालिग भएपछि अथवा १६ वर्षमा प्राप्त गर्छ। मुलुकी देवानी संहिता, २०७४ दफा ७० बमोजिम विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्छ। २०औँ वसन्त पार गरिसक्दा थर एउटा अनि त्यसपछि अर्को ! साँच्चै, यसका धेरै झन्झट छन्। कानुनले तिम्रो थर फेर्नुपर्छ भनेको छैन। अब सोचौँ– आजको युगमा २० वर्षपछि विवाह गरौँला अनि श्रीमान्का थर राखेर नागरिकता लिउँला भनेर त महिला बस्दैनन् होला नि !
उपप्राध्यापक, काठमाडौँ स्कुल अफ ल

प्रकाशित: ३ असार २०७६ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App