सुख प्राप्ति तथा सन्तुष्टिका लागि आतुर हुनु मानवीय स्वभाव हो। धन आर्जन, रवाफ तथा सन्ततिको उन्नतिका लागि मानिस बेचैन हुन्छ। छोराछोरी उत्कृष्ट विश्वविद्यालयमा पढून्, सज्जन बनून् भन्ने चाहना अस्वाभाविक होइन। आमा र बाबु दुवै अहोरात्र छोराछोरीको भविष्य बनाउन होमिँदासमेत सन्ततिले राम्रो बाटो नसमाउँदा दुःख नलाग्ने को हुन्छ र ? बच्चाका चाहना पूरा गर्न दिनभर खट्न बाध्य हुने बाबु र आधी रातसम्म गृहकार्य गर्न बस्ने सन्ततिलाई सहजीकरण गर्न जाग्राम बस्ने आमाको ब्यथा नभोग्ने को होला र ? छोराछोरीका लागि अत्यधिक समय दिँदा दम्पतीले आफ्नो हेरचाह गर्न नसकेर पति–पत्नीबीच दरार उत्पन्न भएको पनि देखिएकै हो।
बा–आमाबीचको पारस्परिक सुसम्बन्धले छोराछोरीको सफलता र खुसीमा के कस्तो भूमिका खेल्छ भन्ने विषयमा धेरै अनुसन्धान भए। त्यसमध्येको एउटा बेलायती अनुसन्धान चर्चायोग्य देखियो। लोग्ने–स्वास्नीबीचको मित्रताले बच्चाको खुसीमा के भूमिका खेल्छ भन्ने बिषयमा २०१४ मा बेलायतका ४० हजार परिवार समेटेर एउटा अनुसन्धान गरियो। उक्त सर्वेक्षणले आमा–बाबुबीचको हार्दिकता एवम् सामीप्यताले सन्ततिलाई जीवनमा सफलता हासिल गर्नमात्र होइन, खुसी प्राप्तिका लागि पनि सहायक हुने देखायो। माता–पिताबीचको प्रेमले छोराछोरीलाई पुलकित बनाएको पाइयो। बाबु–आमाबीच बच्चालाई कहाँ र कस्तो शिक्षा दिने भन्ने सम्बन्धमा भएका छलफलले विवादको रूप लिँदा त्यसले सकारात्मक परिणाम दिन नसक्ने देखियो। बाबु–आमाबीचको प्रेमले बच्चालाई सकारात्मक ऊर्जा दिने भएकाले युगल जोडीले अहोरात्र सन्ततिको भविष्यका लागि सोच्नेभन्दा आपसी सम्बन्ध मजबुतीकरणमा समेत ध्यान दिन आवश्यक देखिन्छ।
बुबा–आमाको प्रेमले बच्चाको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विवाहित जोडीले उक्त कुरामा चनाखो हुन आवश्यक देखिन्छ। बा–आमाबीचको तिक्तता सन्ततिको उन्नयनका लागि घातक हुने कुरा बिर्सनुहुँदैन।
संयुक्त राज्य अमेरिकाको कर्नेल विश्वविद्यालयका प्राध्यापक कार्ल पिल्मरले ७ सय परिवारका सदस्यको अन्तर्वार्ताको सहारामा प्रेममा आधारित सामाजिक मान्यताको पाठ लेखे। सन् २०१५ मा डा. पिल्मरले ‘प्रेमका ३० पाठ’ नामको पुस्तक लेखे। पाका मानिसलाई कसरी व्यावहारिक जीवन जिउने र माया प्रवाह गर्ने भन्ने विषयमा शिक्षा दिन उनको पुस्तक सहायकसिद्ध हुने लाग्छ। व्यक्तिगत आकांक्षा कुष्ठित गरी बच्चाका लागि आफ्नो जीवन बलिदान दिने आमा–बाबुभन्दा माता–पिताबीचका पारस्परिक प्रेमको प्रवाहले हुर्कँदो उमेरका बच्चालाई अधिक खुसी दिने देखियो।
वैवाहिक जीवन ‘माया र असमझदारी’ को प्रतीक हो। फिल्ममा देखिएजस्तो सदैव माया, प्रेम तथा द्वन्द्वात्मक पारिवारिक जीवन हुँदैन नै। जोइ–पोइबीचका हार्दिकता र दरार अस्वाभाविक होइनन्। तर तिक्तताको तुलनामा सामीप्यता वजनदार हुनुपर्छ। अन्यथा पारिवारिक जीवन सफल हुन सक्दैन। बुबा–आमाको प्रेमले बच्चाको भविष्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विवाहित जोडीले उक्त कुरामा चनाखो हुन आवश्यक देखिन्छ। बा–आमाबीचको तिक्तता सन्ततिको उन्नयनका लागि घातक हुने कुरा बिर्सनुहुँदैन।
यसै महिना न्युयोर्क विश्वविद्यालयका प्राध्यापक स्कट ग्यालबेले खुसीको व्यावहारिक ढाँचा समेट्दै ‘द अल्जेब्रा अफ् ह्याप्पिनेस’ नामक पुस्तक लेखे। व्यक्तिगत जीवन, साथीभाइ, पैसा, खुसी र पेशाबीचको अन्तरसम्बन्ध समेटिएको उक्त पुस्तक परिवारलाई कसरी स्वर्ग बनाउने भन्ने विषयमा सहायकसिद्ध हुनेखालको छ। व्यक्तिगत जीवन र पेशाबीच समतोल गर्नेले मात्र सफल जीवन बाँच्न सक्ने भन्छन् डा. ग्यलबे। दिनभर काममा खटिएर परिवारलाई समय दिन नसक्दा जागिरमा पदोन्नति त होला तर घर भने चकनाचुर हुन सक्छ भन्छन् उनी। घर÷जग्गा जोड्ने सपना साकार पार्न वर्षौँसम्म अरबको गर्मीमा दिन÷रात खट्ने कामदार फर्किएर घर आउँदा परिवार तहसनहस भएको देखिनुले समेत घर र कामको बीच तालमेल मिलाउने कुरालाई समर्थन गर्छ नै।
साथीसँग धेरै रुमलिँदा परिवारलाई समय दिन सकिन्न अनि घरायसी कलह पैदा हुन्छ। घर झगडा भएपछि पारिवारिक तनावका कारण पदिय दायित्व धान्न कठिन हुन्छ अनि पेशागत सफलतासमेत पछि धकेलिन्छ। त्यस्तै, परिवारलाई मात्र प्रधान ठान्दा साथीसंगत टाढिने अनि आफ्नो दायित्व निर्वाहका लागि पर्याप्त सहयोग प्राप्त नहुन सक्छ। सहकर्मीको सहयोगबिना समूहगतरूपमा निर्वाह गर्नुपर्ने दायित्व टाढाको विषय बन्छ। जागिरे जीवनको सफलता कठिन बन्छ। सफल जीवन बिताउन काम, परिवार तथा साथीभाइबीचको समतोल आवश्यक हुने भए पनि परिवारको भूमिका भने अति महŒवपूर्ण हुने ठान्छन् डा ग्यालबे। र, उनको निष्कर्षलाई ‘ह्याप्पिनेस’ का सम्बन्धमा संसारमा अहिलेसम्म भएको सबैभन्दा बृहत् अनुसन्धानले समर्थन गरेको देखियो। यही कारण त्यसको चर्चा सान्दर्भिक ठानिएको हो।
स्वयम् तथा बच्चाको बहुआयामिक हितका लागि बाबु–आमा मिलेर बस्ने तथा सुमधुर सम्बन्धको प्रदर्शन फाइदाजनक देखिएकाले तद्नुरूपको सामाजिक चेतना तथा चनाखोपन आवश्यक देखिन्छ।
हार्वार्ड विश्वविद्यालयले सन् २०१७ मा पारिवारिक सुमधुरताले व्यक्तिगत खुसी र शारीरिक स्वास्थ्यलाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा भएको आफ्नो ८० वर्ष लामो अनुसन्धानको निचोड पुनः उजागर ग¥यो। ८ दशक लामो उक्त अन्वेषणलाई खुसी र स्वास्थ्यको अन्तरसम्बन्ध कायम गर्ने संसारकै सबैभन्दा बृहत् अध्ययन मानिन्छ। उक्त उत्खनन्का निर्देशक एवम् हार्बार्डका प्राध्यापक डा. रोबर्ट बाल्डिड्गरका अनुसार पारस्परिक सुमधुर सम्बन्ध भएका जोडी विपरित धारका पति–पत्नीको तुलनामा अत्यधिक खुसीमात्र देखिएनन्, बरु उनीहरूको स्वास्थ्य अबस्थासमेत सवल देखियो। हाँसीखुसी रहने जोडीहरू शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहनुका अतिरिक्त दीर्घजीवीसमेत देखिए। सुखद दाम्पत्य जीवन लामो समय बाँच्ने आधार मानियो। हार्बार्डको अनुसन्धान तथा ‘द अल्जेब्रा अफ् ह्याप्पिनेस’ को निचोडलाई समेट्दा मानिसको ब्यक्तिगत सफलताका लागि पेशा, परिवार र साथीभाइको महŒवपूर्ण भूमिका रहने भए पनि पति–पत्नीबीचको गाडा सम्बन्धले मानिसलाई लक्ष्य भेदन गर्न मद्दत गर्ने, दीर्घजीवी बनाउनुका अतिरिक्त खुसी दिने देखिएको छ।
धन नभएको घरमा दैनिक आवश्यकता धान्न गाह्रो हुन्छ। अर्थ अभावका कारण घरमा कलह हुन्छ, पारिवारिक अवस्था सहज हँुदैन। न्यूनतम आवश्यकता पूर्ति नहुन्जेलसम्म धन र खुसीबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुन्छ। अर्थ आर्जनले परिवारमा खुसी ल्याउँछ तर जति जति धन बढ्दै गयो त्यति त्यति पारिवारिक प्रशन्नता ल्याउने भने होइन। आवश्यकता पूर्ति भएपछि मानिसमा लोभले बास गर्छ। अनि जति पैसा भए पनि त्यसले खुसी ल्याउनुको बदला अझ बढी धन कमाउने तृष्णा पैदा गर्छ। अनि मानिस उदास बन्दै जान्छ। आवश्यकता धानिएपछि धनको पछि लागेर खुसी हुन सकिन्न भन्ने देखियो।
खुसी प्राप्तिका लागि अल्कोहल पिउने चलन नयाँ होइन र त्यसको असर नेपालमा अलि बढी नै देखिन्छ। बिहा, व्रतबन्ध, भोजभतेरमात्र होइन, प्रशन्नता व्यक्त गर्न अनि दुःख पर्दासमेत सोमरस उपभोग गरिन्छ। रक्सी सेवनले मानव सभ्यतामा के कस्तो असर पारेको छ त्यसको अध्ययनलाई सुव्यवस्थित प्रस्तुत गरे सन् २०१८ मा युनिभर्सिटी अफ् वासिङ्गटनका प्राध्यापक इम्यानुयला गेकिडाउले। सन् १९९० देखि २०१६ को अवधिमा नेपाललगायत संसारका १९५ देशमा अल्कोहलको उपयोग र त्यसले स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको प्रभाव समेटिएको उक्त अनुसन्धानको निचोडका अनुसार सोमरस सेवनले संसारमा २८ लाख मानिस मर्ने गरेको भेटियो। अनि जतिसुकै न्यून मात्रामा सेवन गरे पनि रक्सीले मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको देखायो उक्त अन्वेषणले। साथै, अल्कोहलको उपयोगले मानिसमा खुसी ल्याउने होइन, बरु अम्मली बनाउने उक्त रिसर्चको निचोड देखियो। त्यसैले सोमरसको उपयोगले मानिसमा प्रशन्नता ल्याउने भन्ने कुरा आधारहीन पाइयो।
बा–आमा मिलेर बसेको अवस्थामा छोरा÷छोरीले आफूहरूलाई सुरक्षित महसुस गर्ने भएकाले कठिन अवस्थाको सामनामा उनीहरू सफल हुन्छन् भन्ने देखियो। साथै, एकल अभिभावकत्वमा हुर्किएका भन्दा आमा–बाको सामीप्यतामा रहेका बच्चा बढी प्रशन्न रहने हुँदा अनावश्यक सम्बन्ध विच्छेदमा समाजलाई घचेट्नु प्रत्युत्पादक हुने देखिएको छ। स्वयम् तथा बच्चाको बहुआयामिक हितका लागि बाबु–आमा मिलेर बस्ने तथा सुमधुर सम्बन्धको प्रदर्शन फाइदाजनक देखिएकाले तद्नुरूपको सामाजिक चेतना तथा चनाखोपन आवश्यक देखिन्छ। पति–पत्नीबीचको तिक्तता न्यूनीकरणमा सबैले ध्यान दिन आवश्यक छ।
प्रकाशित: ७ जेष्ठ २०७६ ०४:०९ मंगलबार