८ वैशाख २०८१ शनिबार
विचार

किन हुन्छ पश्चाताप ?

केही प्रतिशत मानिसमात्र होलान्, पश्चातापरहित जीवन बाँचेका। नत्र सबैजसो व्यक्ति जीवनमा केही न केही कुरामा पश्चाताप महसुस गरिरहकेकै हुन्छन्। नोकरी, व्यवसाय, सम्बन्ध, शिक्षा, विवाह, धर्म आदि कुनै न कुनै विषयमा कुनै क्षणमा आफूले चाहेअनुसार गर्न नसकेकाले पश्चातापमा रहेको उनीहरू बताउने गर्छन्। जीवनलाई पनि परिकल्पना गरेका कुनै आयोजनाजस्तै ठान्दै यसका उद्देश्य र लक्ष्य के हुन् भनेर खोज्न र विचार गर्न थाल्छौँ हामी। प्रत्येक मनुष्यलाई जीवनमा पटक–पटक, मेरो उद्देश्य के हो ? म कहाँ पुग्नुपर्ने हो ? के हुन् जीवनका उपलब्धि ? आदि प्रश्नले सताउने गर्छन्।

सानो समस्याले मानिसलाई जरैबाट हल्लाइदिन्छ र बाँच्नुको उद्देश्य, जीवित रहनुको अभिप्राय र कर्मका उपलब्धिबारे ऊ पटक–पटक चिन्तित हुने गर्छ। बाहिरबाट जतिसुकै आत्मविश्वासको खोल ओढिए पनि ऐन मौकामा मन डगमगाउन थाल्छ र सोच्न तथा पुनर्विचार गर्न बाध्य हुन्छौँ– हामीले अपनाएको मार्ग ठीक हो कि होइन ? यी प्रश्नका उत्तर नखोज्ने र आफूभित्र घोत्लिन नसक्नेले जीवनलाई व्यर्थ, दुःख र अभावको संज्ञा दिन्छ र आत्महत्याको प्रयाससम्म गर्न पुग्छ। जीवनको लक्ष्य, जिउनुको उद्देश्य, सही मार्गको ज्ञान भित्रबाट मात्र खुल्छ। जीवनलाई परिभाषामा बाँध्न सकिन्न।

व्याख्यामा पनि समेट्न सकिन्न। कुनै किताब पढेर पनि जीवन जान्न सकिन्न। कैयौँ ठूला अनुसन्धान र वैज्ञानिकले समेत परिभाषामा समेट्न सकेनन् जीवनलाई। जीवन जुन अनन्त आकाशभन्दा ठूलो र फराकिलो छ, कसले यसलाई छोटो परिभाषाले वर्णन गर्न सक्छ र ! सदियौं बिते तर जीवनको परिभाषा दिन सम्भव हुन सकेको छैन। जीवन कुनै वस्तु होइन, जसलाई कसी लगाएर प्रमाणित गर्न सकियोस्। तर कसरी बाच्यौँ वा बाचेनौँ, त्यसको खुलासा भने जीवनको उत्तराद्र्धमा सबै व्यक्तिलाई हुनेगरेको अनुसन्धानले देखाएको छ। किन, जीवनको उत्तराद्र्धमा मानिस पश्चाताप गर्छ त ? जान्ने कोसिस गरौँ र पश्चातापरहित जीवन बाँच्ने प्रयास गरौँ।

आफ्नो रुचिको काम जे गरे पनि पूजा बन्छ भने अरुचिको– आफैँलाई सजाय दिएजस्तो तनावपूर्ण बन्छ।

प्रसिद्ध अस्ट्रेलियाली लेखिका ब्रोनी वेयर, जो आफ्नो जीवनभर विशेष नर्स पेसामार्फत बिरामीको सेवामा समर्पित थिइन्। आफ्नो नोकरीको अवकाशपछि उनले लेखेको ‘द टप फाइभ रिग्रेट्स अफ द डाइङ’ पुस्तकमा मृत्युको नजिक पुगेका आफ्ना हजारौँ बिरामीसँग गरेको अन्तरक्रिया र अनुभवका आधारमा उनले जीवनभर व्यक्तिले झूटो बोले पनि मर्ने बेला साँचो बोल्छ भन्ने निष्कर्ष निकाल्दै सामान्यतया सबै मानिसले मृत्युको समयमा पाँच पश्चताप गर्ने उल्लेख गरेकी छन् ः

१. आफ्नो ढंगले जीवन नबाँचेकोः हुन पनि हो, हामी अभिभावकको रुचि, समाजको मान्यता, अरूले थोपरेको संस्कारमा हुर्कँदै आएका हुन्छौँ र आफूलाई सही नलागेको कुरा पनि अरूले भनेका र मानेका आधारमा अवलम्बन गर्न बाध्य हुन्छौँ। आफ्नो जीवनशैली आफूले चाहेअनुसार बनाउन नपाएका धेरै मानिसका गुनासा अहिले पनि समाजमा, घरमा नसुनिने होइनन्। आफूलाई रुचि नभएको, आफूले सही नदेखेको कुरामा पनि आवाज उठाउन नसकेको र अरूकै इशारामा, नियममा, मान्यतामा जीवन बितेका, बिताउनेहरूको अनुभवबाट हामीले अहिलेबाटै आफ्नो जीवनमा पश्चाताप गर्न नपरोस् भनेर शिक्षा ग्रहण गर्न सकिन्छ।

२. व्यर्थमा कडा मेहनत गरेकोः जीवन बाँच्न र रोजीरोटीका लागि निष्ठापूर्वक र उद्देश्यअनुरूप सम्यक श्रम आवश्यक छ तर धेरै पाउने, धनी हुने र अरूभन्दा अगाडि पुग्ने अभिलाषाले जीवनमा कडा मेहनत गरेँ भनेर पछुताउनेहरू त्यति नै भेटिए। जीवनमा यति परिश्रम गर्नुपर्ने कुनै जरुरी थिएन, आरामले जीवन जिउन सकिने रहेछ। दुई छाक जाउलो र सामान्य जीवनका लागि अनेक अराजकताका साथ कर्म नगरे पनि हुने कुरा जीवनको उत्तराद्र्धमा थाहा हुन्छ  र पश्चाताप लाग्छ। यसो हेर्दा सबै मानिस व्यस्त, व्यस्ततामात्र होइन, अस्तव्यस्त भएर मेहनत गरेको पाइन्छ। तर कस्ता काममा हामीले श्रम लगाइरहेका छौँं ? त्यो पनि ख्याल गर्नुपर्छ। असल, सत्य, बहुजन हितायका कर्ममा श्रम लगाउँदा आफूलाई पनि सन्तोष हुन्छ।

३. आफ्ना भावना अभिव्यक्त नगरेकोः जीवनभर आफ्ना भावना कसैसँग अभिव्यक्त नगरी दबाएर, भित्रभित्रै कुण्ठित भएर बसेका मासिनमा पनि जीवनको उत्तराद्र्धमा पश्चाताप हुने रहेछ। दमित हुँदा त्यसले मानसिक अशान्ति पनि दिन्छ। यसैकारण लागेका कुरा खुलेर अभिव्यक्त गर्न सकेको भए जीवनको अन्तिम क्षणमा पश्चाताप हुने थिएन। कतिपय अवस्थामा पत्तै नभई विभिन्न घटना, विचार र दृश्य व्यक्तिभित्र दमित भएर बसेका हुन्छन्। ती कुरा पोख्न चाहँदाचाहँदै पनि इज्जत, प्रतिष्ठा र अरूले के भन्लान् भनेर बाहिर नल्याई दबाएका हुन्छन्।

४. आफ्नो नजिकको प्रियजनसँग सम्पर्कमा नरहेकोः मित्रता आफैँंमा एक पवित्र गुण हो तर मानिस सदैव सचेत रहन सकेको पाइँदैन। आफ्नो खास प्रियजन जसलाई खुलेर भावना अभिव्यक्त गर्न सकिन्छ, सुखदुःख साट्न सकिन्छ र सहयोगको निवेदन गर्न सकिन्छ। त्यो मित्रसँग सम्पर्क टुटाउनु पनि पश्चातापको एउटा कारण रहेछ।

५. आफ्नो इच्छा पूरा नगरेकोः अरूको इच्छा पूरा गरी अरूलाई खुसी बनाउन खोज्दा आफ्ना इच्छा अधुरै रहेको कुरा जीवनको उत्तराद्र्धमा थाहा हुँदोरहेछ। आफूलाई नाच्ने, गाउने, खेल्ने, सिर्जनात्मक काम गर्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको इच्छाअनुसार डाक्टर, इन्जिनियर बन्न खोज्दा यता न उता हुनेहरूको संख्या कम छैन समाजमा। आफ्नो रुचिको कर्म जे गरे पनि पूजा बन्छ भने अरुचिको, आफैँलाई सजाय दिएजस्तो तनावपूर्ण बन्छ।

प्रकाशित: ३१ वैशाख २०७६ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App