६ वैशाख २०८१ बिहीबार
विचार

चीन भ्रमणको सफलता

यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।

दोस्रो उद्देश्य थियो– राष्ट्रपति भण्डारीको भ्रमणलाई राजकीय बनाएर नेपाल र चीनबीच लामो समयदेखि अवरुद्ध राष्ट्रनायकबीच भ्रमण आदानप्रदानको गाँठो फुकाउनु। नेपाली राष्ट्रपतिको भ्रमणलाई राजकीय बनाएर चीनले दक्षिण एसियामा विकास र स्थिरता चाहेको संकेत दिएको छ। नेपालमा सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङचमिनले भ्रमण गरेपछि कुनै चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएका छैनन्। वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका धेरै देश भ्रमण गरिसकेका छन्। कुनै देश उनले दोहो¥याएर पनि भ्रमण गरेका छन्। नेपालमा उनले गर्ने भनेको भ्रमण नेपालकै आन्तरिक किचलो र प्राकृतिक प्रकोपका कारण रोकिएको थियो। नेपालका राष्ट्रपतिले चीनको भ्रमण गरिसकेपछि अब चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चअन्तर्गत वैशाख १३ गते उद्घाटन सत्रको उच्चस्तरीय शिखर सम्मेलनलाई राष्ट्रपति भण्डारीले गरेको सम्बोधनमा वर्तमान चिनियाँ राष्ट्रपति सीले अगाडि सारेका भावना गहन ढंगले समेटिएको छ। अन्य देशका राष्ट्रनायक र सरकार प्रमुखले जस्तो सोझै चिनियाँ राष्ट्रपतिको प्रशंसाभन्दा पनि आफ्नै लिखित मन्तव्यमा चिनियाँ नीतिका वाक्यांश राखेर सम्बोधन गर्नु कूटनीतिक चातुर्य र सफलता हो। यसले नेपाल–चीन सम्बन्धमा दीर्घकालीन प्रभाव पार्छ। यसैगरी वैशाख १४ गतेको राउन्ड टेबुल बैठकमा संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्य र जलवायु परिवर्तन विषयमा नेपाली राष्ट्रपतिको सम्बोधन चिनियाँ नेताका भनाइमा सोझै साझेदारी गर्ने आशयको थियो। जलवायु परिवर्तनले हिमाललाई पारेको प्रभावमा नेपाल र चीनबीच साझा समस्या र  चुनौती छन्। यस विषयमा नेपाल र चीनले गर्ने साझेदारीमा विश्वले सघाउने कुरामा कसैको दुई मत हुन सक्दैन। राष्ट्रपति भण्डारीका दुवै सम्बोधन प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा चिनियाँ रेल नेपाल प्रवेश गराउने विषयको अभिव्यक्ति थियो। फलस्वरूप बिआरआईको सम्पन्न शिखर मञ्चको संयुक्त घोषणा पत्रमा चिनियाँ रेलसेवा नेपालसँग जोड्ने कुरा समेटियो। यो, राष्ट्रपति भण्डारीको चीन भ्रमणको सफलताको पहिलो मापन हो।

राष्ट्रपति भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङसँग भेट सर्वाधिक महŒवको क्षण थियो। वैशाख १६ गते सोमबार अपराह्न बेइजिङको केन्द्रभागस्थित थिआनआनमन स्क्वायरको पश्चिमपट्टि रहेको जनबृहत् सभाभवनमा राजकीय सम्मानका साथ दुई राष्ट्रपतिबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो। सो भेटमा नेपालले अगाडि सारेका विकासका काममा सघाउने बताउँदै चिनियाँ रेल नेपालसम्म लाने कुरा सीले दोहो¥याए। चिनियाँ नेता सीको भनाइ नेपाली नेताको जस्तो त्यत्तिकै फुत्त मुखबाट निस्किएको थिएन। आफ्ना तल्ला निकायले दिएको विभिन्न प्रतिवेदन तथा अध्ययनको निचोड थियो त्यो।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका दुई उद्देश्यमा चिनियाँ रेलसेवा नेपालसँग जोड्ने कुराले निकै जोडदार रूपमा प्रवेश पाएको छ। छोटो रूपमा भन्नुपर्दा राष्ट्रपति भण्डारीको चीन भ्रमण रेलमय रूपमा सम्पन्न भएको छ। हुन त यसभित्र अन्य थुप्रै कुरा पनि छन्। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण, नेपाल र चीन यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर, नेपाललाई दिइँदै आएको चिनियाँ आर्थिक सहयोगमा उल्लेख्य वृद्धि, विभिन्न क्षेत्रमा नेपाल चीनबीच सहकार्य आदि। तर समग्रमा भ्रमणको केन्द्रभागमा चाहिँ चिनियाँ रेल उभिएको छ।    नेपालका दुई छिमेकी मुलुकमा रेल कुदेको एक शताब्दी भइसेको छ। नेपालीले यदाकदा भारतमा तीर्थयात्रा गर्दा रेल चढ्थे। रेल चढ्दा प्रयोग भएका बाक्लो टिकट कोटको गोजीमा ल्याउँथे। सुत्केरी व्यथा लागेर बच्चा पाउन कष्ट भएकी महिलालाई रेलको टिकट धोएर पानी खुवाएपछि सजिलै बच्चा जन्मन्छ भन्ने मान्यता अहिले पनि गाउँघरतिर छ। चलचित्रमा देखेको भरमा र कहिलेकाहीँ भारतमा चढेको भरमा रेलबारे थुप्रै नेपाली गीत सिर्जना भएका छन्। बाक्लो धुवाँ फाल्ने पुरानो प्रविधिको भारतीय रेल नेपालीका मनमस्तिष्कमा प्रगाढ बने पनि अर्को छिमेकी मुलुक चीनले संसारकै सबैभन्दा तीव्र गतिमा गुड्ने विद्युतीय रेल बनाएको छ भन्ने कुराबाट नेपाली बेखबर थिए। संसारकै सबैभन्दा उच्च भूगोलबाट हिउँले अवरोध नगर्ने गरी आकाशे पुल बनाएर र अग्लाअग्ला चुचुरा छेडेर बनाइएका सुरुङ मार्गबाट सफा ऊर्जा प्रयोग गर्दै सुलुलु गुड्ने रेल चढ्ने सपना नेपालीले देख्ने कुरै भएन।

धेरै नेपाली गीतमा प्रयोग भएको र उपचारमा प्रयोग हुनसक्ने मिथक मानिएको भारतीय रेल तुरुन्तै चिनियाँ रेलले त्यतिबेला ओझेलमा पा¥यो जतिबेला प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले ४ वर्षपहिले चीन भ्रमण गरे। सो भ्रमणका बेला भएका सम्झौतामध्ये एउटा बुँदा दुई देशबीच विभिन्न यातायात सञ्जाल विस्तार गर्नेमा रेलवे कनेक्सन पनि थियो। त्यसपछि नेपालमा चियापसलदेखि संसदसम्म चिनियाँ रेलबारे बहस हुन थाले। निर्वाचनका समय सबै दलले आफ्ना घोषणापत्रमा चिनियाँ चरिचुच्चे रेलको चित्र आवरण पृष्ठमा बनाउन बाध्य भए। मतदाताले चिनियाँ रेल नेपाल ल्याउने तिम्रो पार्टीको के धारणा छ भनेर प्रश्न गर्छन् भन्ने कुरा सबै राजनीतिक दलका सबै नेतालाई थाहा थियो। निर्वाचनपछि सञ्चारमाध्यममा चिनियाँ रेलका पक्ष विपक्षमा लामा–लामा लेख प्रकाशन भएका छन्।

भलै यी ४ वर्षमा नेपालमा चिनियाँ रेलका कुरा धेरै काम नगन्य भएको कुरा कतैबाट छिपेको छैन। केरुङदेखि काठमाडौँसम्म रेलवे लाइनको सम्भावना अध्ययनसम्म चाहिँ भएको छ। सरकारले उल्लेख्य रूपमा चिनियाँ रेल नेपाल भिœयाउने काम गर्न नसकेको अथवा नगरेको अवस्था भए पनि आम नेपालीका आँखामा भने चिनियाँ रेल चढ्ने सपना अझ सक्रिय बनेको छ। वर्षौँदेखि भारतीय रेलको छाप परेको नेपाली मस्तिष्क ३ वर्षमै चिनियाँ रेलले पखालेको छ।

नेपालमा गणतन्त्र आएको १० वर्षपछि नेपाली राष्ट्रपतिले गरेको चीन भ्रमणले चिनियाँ रेलको नेपाली सपनालाई थप ऊर्जा दिने काम गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमण नेपालका राष्ट्रपतिको पहिलो राजकीय चीन भ्रमण हो। यसले दुई देशबीच राजनीतिक सम्बन्धमा निकै अर्थ राख्छ। यसभन्दा पहिले नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पनि चीन भ्रमण गरेका थिए। चीनकै निमन्त्रणामा भएको उक्त भ्रमणलाई राजकीय बनाइदिन नेपालले अनुरोध नगरेको होइन। तर नेपालका प्रथम राष्ट्रपति यादवलाई बेइजिङको रातो कार्पेटमा सलामी दिन चीन तयार भएन। नेपालको अत्यन्त तरल राजनीति र चीनसँगको सम्बन्धमा गाम्भीर्य अभावले यसो भएको हुनसक्छ। जब नेपालमा निर्वाचन सम्पन्न भएर संक्रमणकाल अन्त्य भयो र दुईतिहाइ बहुमतको स्थिर सरकार बन्यो तब चीनले नेपालको नयाँ सत्तालाई बेइजिङमा स्वागत गर्ने मनसाय राख्यो।

चिनियाँ राष्ट्रपति सीले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य प्राप्त गर्ने कुरामा सघाउने विचार पनि व्यक्त गरेका छन् भने चिनियाँ रेल नेपालसम्म पु¥याउने कुरालाई बेल्ट एन्ड रोड इनिसिएटिभको संयुक्त घोषणापत्रमा समेटिएको छ। यसभन्दा अगाडि चिनियाँ रेलसेवा नेपालसँग जोड्ने कुरा नेपाल र चीनबीच भएका सम्झौतामा मात्र समेटिएका थिए। बहुपक्षीय र विश्वकै सबैभन्दा धेरै मुलुक सहभागी भएको आर्थिक जागरण कार्यक्रमको संयुक्त घोषणा पत्रमा चिनियाँ रेल नेपालसम्म लाने उल्लेख हुनु राष्ट्रपति भण्डारीले गरेको चीन भ्रमणको ठूलो सफलता हो।  लेखक चिनिया“ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन्।

 

प्रकाशित: १९ वैशाख २०७६ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App